निर्मला हत्या काण्ड : बम दिदी बहिनीकी आमा भन्छिन् मलाई न्याय चाहिएन ?

- साप्ताहिक संवाददाता

माघ १३, २०७५

निर्मला हत्याकाण्डको कुरा आउनासाथ बबिता बम (२० वर्ष) र रोशनी बम (१४ वर्ष) आफैं जोडिएर आउने नाम भएका छन् । मानव अधिकारकर्मी, युट्युब तथा सामाजिक संजालमा निर्मला हत्यासँग जोड्दै उनीहरूको चरित्रका विषयमा पनि अनेक प्रश्न उठाइए । चरित्रका विषयमा अफवाह फैलाएर आफ्ना छोरीको बेइज्जती गरेको भन्दै उनीहरूकी आमा इन्दिरा बम न्यायका लागि अहिले काठमाडौं आइपुगेकी छन् । निर्मला हत्याको खवर सुन्दा उनी कहाँ थिइन् ? त्यसपछि उनले के–के गरिन र छोरी माथि लागेका आरोपले उनलाई कस्तो स्थितिबाट गुजार्‍यो भन्ने विषयमा साप्ताहिकले इन्दिरासँग गरेको कुराकानी :

 

तपाईंहरू दार्चुला र कञ्चनपुर दुवै ठाउँ बस्नुहुन्छ ? 

छोरा–छोरी महेन्द्रनगरमा छन्, बिदामा कहिलेकाही हामी पनि तल झर्छौ । दसै तिहारमा लामो बिदा हुँदा पनि हामी बूढाबूढी महेन्द्रनगर आउँछौं । काम पर्दा वर्षको ३–४ पटक हामी तल झर्छौं । हामी धेरैजसो दार्चुलामै बस्छौं । 

कति जना छोराछोरी छन् ? 

एउटा छोरा छ, जेठो २६ वर्षको भयो । त्यसपछि यी दुई छोरी हुन् । 

तत्कालीन कन्चनपुरका एसपी विष्टलाई घटनाअघि चिन्नुहुन्थ्यो ? तपाईंको नातेदार भन्ने चर्चा पनि चलेको थियो ? 

यो सबै झूटा कुरा हो । अहिले पनि म ब्यक्तिगत रुपमा एसएसपी विष्टलाई चिन्दिनँ । एकदिन चाँदनी बहिनी, केशव अवस्थी सर र तीन चार जना गार्ड पनि थिए, मुद्दा फाँटमा त्यतिबेला एक जना असई सा’प हुनुहुन्थ्यो, उहाँले कुरा राख्नुभयो, म्याडम तपाईंकी छोरीको स्कुल र ट्युसन छुटेको एक डेढ महिना भैसकेको अवस्था छ, हामीले त आदेश पनि दिन सक्दैनौं, एसपी सरलाई भेटेर के गर्ने भनेर एक पटक सल्लाह गर्नुहोस भन्नुभयो । त्यतिबेला मैले उहाँसँग भेटेर दुई–तीन मिनेट कुराकानी गरें । त्यो भेटमा पनि उहाँले छोरीलाई यहाँ कसरी राख्नुभयो, छोरीहरूलाई किन यसरी छाडेको भनेर सोध्नुभयो । छोरीहरूलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय लगेपछि व्यक्तिगत रूपमा मैले उहाँलाई भेटेको छैन ।

कसरी नातेदार भनिए त ? 

धेरै झूटो हल्ला चलाइयो । हाम्रो नातेदार त परैको कुरा हामीले चिनेका पनि होइनौं । घटनाको ३०–३५ दिनपछि किरण विष्ट र आयुष विष्टको नाम पनि आयो । बीचमा आयुष विष्टको नाम हरायो, अहिलेसम्म पनि किरण विष्टको नाम मेरा छोरीहरूसँग जोडिरहेका छन्, हामीलाई बदनाम गरिएको छ । एउटा पत्रिकाले डिल्लीराज विष्ट मामा पर्थे, त्यहाँ जान्थे, खानपिन गर्थे भनेर लेखेको छ, तर हाम्रो एसपी विष्टसँग कुनै प्रकारको नाता छैन, किरण विष्टलाई हामीले चिनेका पनि छैनौं । 

बिष्ट पनि तपाईंकै गाउँका हुन् ?

भदौ १२ गते छोरीलाई जिल्ला प्रहरी कार्यालय लगिएपछि म १४ गते दार्चुलाबाट आएर सिधै त्यहाँ गएँ, भदौ २० गते एउटा प्रहरीले भनेपछि मात्र मैले विष्ट पनि दार्चुलाकै हुन् भन्ने कुरा थाहा पाएकी हुँ । उहाँको घर गोकुलेश्वर रहेछ । मेरो घर ब्रहमदेव हो  । कसरी एउटै गाउँका भयौं ?

तपाईले घटना भएको कहिले थाहा पाउनुभयो ? 

निर्मला साउन १० गते हराएकी रै’छिन् । पहाडमा अँध्यारो भैसकेको थियो, बबिताले फोन गरी । उसले कतिबेला फोन गरेकी थिई भन्ने कुरा सीबीआईको टोलीले रेकर्ड समेत राखेको छ । बबिताले फोन गरेपछि उनका बुवाले उठाए, कान नसुनेपछि मैले फोन लिए । के हो बबिता भनेर सोधें । आमा, रोशनीकी साथी निर्मला आएकी थिई, हराइछ भनी । मैले सोधे ‘कहाँकी हो त्यो ?’ उल्टाखामकी हो भनी । मैले नाम पनि त्यतिबेला नै सुनेकी हुँ । म झूटो बोल्दिनँ, म छोरीको कसम खाएर भन्छु, त्यो केसमा हामीले केही लुकाएका छौं भने हाम्रो कसरी भलो होला ?  निर्मला र रोशनी दुवै साथी हुन् । निर्मलाकी आमाले चाहिन् भने निर्मला नै मानेर रोशनी हेर्ने हो नि । रोशनी मरेकी भए, म निर्मलालाई पनि त्यही रूपमा हेर्थें । मैले त्यतिबेलै भनेकी थिएँ, शंका लाग्छ भने कुकुर अनि मेसिनहरू ल्याएर अनुसन्धान गर, मैले कुचो पनि लगाएकी छैन । मेरो घर बेचिए बेचियोस, म पनि सहयोग गर्छु, मलाई पैसा होइन्, इज्जत चाहिएको छ । तैपनि हामीलाई बदनाम गरियो । 

फोनमा त्यसदिन बबिताले अरु के–के भनेकी थिइन ? 

बबिताले फोनमा राति ११ बजेतिर निर्मला आएकी थिई, सवा दुई बजे घर गएकी हो भनिन् । मैले त्यसपछि सोधे, निर्मलाकी आमा कहाँ छिन् ? बबिताले गेटमा आएकी थिइन्, गइन्, हामीलाई गाली गरिन् भनिन् । तिमीलाई किन गाली गरिरहेकी छिन् त निर्मलाकी आमाले प्रहरीकहाँ जाऊ, प्रहरीले आफैं हेर्छ, मैले त्यतिमात्र भनेकी हुँ । त्यतिबेला उनमा पीडा थियो, गाली गरिन् । मेरी छोरीले बोल्दा त यति कुरा बिग्रियो, उनको त जल्दोबल्दो समस्या नै थियो । त्यही पीडामा जोडले बोल्नुभएको होला, मैले त्यो बेला गरेको गालीमा दु:ख मानेकी छैन । हाम्रो फोनमा पनि शंका छ भने अझै अनुसन्धान होस् । मैले सधैं एउटै नम्बर चलाउँदै आएकी छु । 

त्यसपछि मलाई पनि तनाव भयो, भोलिपल्ट मैले नै बबितालाई फोन गरे । निर्मलाको केही खबर आयो कि भनेर आफ्नै भाषामा सोधें । बबिताले केही खबर आएको छैन भनी । १० बजे कार्यालय गएपछि ११ बजे मैले पुन: फोन गरे । साइकल भेटिएको कुरा चलेको थियो, लास पनि भेटिएको रहेछ । मैले त्यतिबेला के कुरा गरे भन्ने कुरा मेरो कार्यालयका तीन जना अन्य सहकर्मीलाई पनि थाहा छ । अब रोशनीलाई पनि मार्ने हुन् कि भन्ने डर लाग्यो । मैले डराए होलान् भनेर म आऊँ भनेर फोन गरे । बबिताले किन आउनुपर्‍या छ आमा हाम्रो केही दोष छैन, हाम्रो घरबाट दिउँसै गएकी हो, हामीले केही गरेको पनि होइन्, केही डर छैन् नआउनु भने । त्यो संवाद अहिले पनि सुन्दा हुन्छ । 

अनि, तपाईंहरू कसरी विवादमा तानिनुभयो त ? 

मैले अहिलेसम्म कुनै कुरा झूट बोलेकी छैन्, मैले भगवानसँग पनि सत्य चाँडै बाहिर आओस् भनेर हात जोडेकी छु । शारदा चन्दले भगवान छन् र भोलि निर्मलाको आत्माले यिनीहरूलाई तडपाउँछन् भनेकी छिन् । मैले उनको कुरा मज्जाले स्वीकार गरेकी छु, यदि निर्मलाको आत्मा मेरा छोरीहरूले गलाएका छन् भने त्यसको सजाय यिनीहरूले भोग्नुपर्छ । निर्मला हत्याकाण्डमा हाम्रो संलग्नता छ भने हाम्रो नाश हुन्छ, अन्यथा बदनाम गर्नेहरूको नाश हुन्छ । 

तपाईं कञ्चनपुर कहिले आउनुभयो ? 

जतिबेला त्यो कुरा सुने त्यहींबाट तनाव सुरु भयो । मैले फोनबाटै आफ्नो गाउँपालिकाका अध्यक्षलाई जानकारी गराएँ । प्रशासकीय अधिकृतले मेरो विदा स्वीकृत गरिदिनुभयो । भदौ १४ गते म कञ्चनपुर आएँ, भदौ १५ गते जिल्ला प्रहरी कार्यालय पुगेँ । मैले सरकारले सत्यतथ्य छानविन गर्ने हो, हाम्रो कुनै कसुर सावित हुँदैन भन्ठानें । त्यहाँ जुलुस भयो । प्रहरीले सत्यतथ्य निकाल्छ भन्ने विश्वास थियो । म भदौ १५ गतेदेखि २५ गतेसम्म त्यहीँ छु । बबिता १८ दिन हिरासतमा बसी, रोशनीलाई ६ दिन हिरासतमा राखियो । 

तपाईंहरूको त ठूला नेताहरूसँग सम्बन्ध छ रे नि त ? 

अहिलेसम्म मैले न कुनै नेतालाई फोन गरेकी छु, न कसैलाई भेटेको छु, तर यिनीहरूले त्यहाँ ठूलो भ्रम फैलाएका छन् । हाम्रो नेताहरूसँग चिनजान भएको भए त प्रहरीलाई थाहा होला नि । सिआईबीको टोलीले हाम्रो मोबाइल पनि अनुसन्धान गरिसकेको छ । त्यसमा पनि सम्पर्क नम्बरहरू भेटिए होलान् । हाम्रो नाम कुनै नेता र पार्टीसँग जोड्नु सरासर गलत हो । मलाई घरमा मानिसहरू सोध्न पनि आउँथे, तपाईं राजनीतिक रुपले पेलानमा पर्नुभएको हो कि ? भन्नुहोस् भन्थें, म पेसागत कर्मचारी हुँ, सरकारको निर्देशन पालना गर्छु भन्थें । मेरा कुनै आफन्त नेता छैनन् । व्यक्तिगत आबद्धता अर्को कुरा हो । भगवान्ले आफ्नो खुट्टामा उभिएर एक छाक रोटी खान दिएका छन्, त्यति हो । हामी हाइफाइ कर्मचारी पनि होइनौं, सानोतिनो जीवन गुजार्ने जागिरे मात्र हौं । खै हामीमाथि त्यस्तो आरोप किन लगाइएको हो ?

छोरीमाथि यस्तो अभियोग लागेपछि कस्तो महसुस हुन्थ्यो ? 

युट्युबमा यस्तो आयो, यसले यस्तो लेख्यो भन्थे । मेरो घरमा इन्टरनेट थिएन, छिमेकीको घरमा वाइफाइ छ, पल्लो घरकी बहिनीहरूले दिदी यस्तो लेखेको छ भनेर सुनाउँथे । यस्तो झूटो लेखिरहेका छन्, तिमीहरू केही गर, किन त्यत्तिकै बसिराख्या छौं, मुद्दा हाल भन्थे । एक जनाले लेखेको भए पो मुद्दा हाल्नु, संसारले नै लेख्न थालेपछि कसलाई मुद्दा हाल्ने ? 

आफ्नी छोरीको चरित्रमाथि प्रश्न उठ्दा कस्तो हुन्थ्यो ? 

यताउता हिड्न शरम लाग्न थाल्यो । छोरीहरूका लागि आफूले बनाएको योजना असफल भयो, जिन्दगी बर्बाद भयो, स्कुल पढ्न नपाउने भएँ भन्ने लाग्यो । म कसैका अगाडि बोल्न नसक्ने भएँ । हामीले त्यस्तो अवस्थामा पनि कसैको सहारा पाएनौं । सरकारले न्याय दिन्छ भन्ने मान्छे समेत पाएनौं । 

विवाह गर्न ठिक्क पारेकी छोरी, यही कुराले विवाह पनि टरेको हो ? 

आफ्नो मनको कुरा त मनमै छ कि त भगवान्लाई थाहा छ । मंसिरमा छोरीको विवाह गरिदिने योजना बनाएका थियौं, तर विवाह भाँडिए पनि मलाई टेन्सन छैन, आफ्नो इज्जत छ त सबै कुरा छ, त्यसको मात्र चिन्ता हुन्छ । आमा भएपछि यतिको दु:ख झेल्नैपर्दो रहेछ । 

यो घटनापछि निर्मलाकी आमासँग तपाईको सम्पर्क भएको छ कि छैन ? 

अहिलेसम्म सम्पर्क भएको छैन् । सम्पर्क गर्ने हो ? यो प्रश्न जायज हो । मैले अन्यथा सोचेकी पनि छैन । यद्यपि सम्पर्क र कुराकानी गर्नेजस्तो वातावरण नै भएन । उहाँले मेरा छोरीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिनुभयो, उहाँले मेरा छोरी पनि निर्मलाजस्तै हो भन्ने भावना राख्नुभएन, उहाँले त्यो भावना राखेको भए म पनि उहाँ कहाँ मेरी छोरीको व्यवहारका लागि माफी माग्न जान्थे । यो सबै बबिताको बोलीका कारण भएको हो । बबिताले त्यस्तो बोल्नु हुँदैनथ्यो । बबिताले ‘तपाईंकी छोरी पोइल गै कि कहाँ गै’ भनेर भन्न नहुने हो । बबिताले नै आन्टी (निर्मलाकी आमा) ले बारम्बार आरोप लगाएपछि मैले त्यसो भनेकी हुँ भनेकी छे । बबिताको इन्गेजमेन्ट भएको थाहा पाएका उल्टाखामका मानिसहरूले विवाह तोड्न यो कुरालाई मुद्दा बनाएका हुन् । निर्मलाकी आमाले मेरा छोरीहरू जेलनेल गर्ने भए, त्यही दिन गर्थिन् । पहाडबाट आउँदा छोरीहरू पक्राउ परेर जिल्ला प्रहरी कार्यालय हिरासतमा भएका कारण म उहाँ (निर्मलाकी आमा) कहाँ जान नसकेकी हुँ । 

बबिताको इन्गेजमेन्ट भएको कुरा सत्य हो ? 

सत्य हो, इन्गेजमेन्ट भएको केटाको परिवार पनि हाम्रो नाता पर्ने हुन्, त्यो नातागोता भएकाले अरू बेला पनि हाम्रो भेटघाट भैरहन्छ । 

घटनामा कसैले दबाब पनि दिए कि ? 

हामीले चिनेका मानवअधिकारवादी पनि कोही छैन् । मानवअधिकारवादी भएर पनि केहीले मेरी छोरीको चरित्रहत्या गर्न खोजे । कञ्चनपुरको एउटा पत्रिका र त्यसका पत्रकारले चरित्रहत्या हुने गरी धेरैपटक लेखेका छन् । तिनको आत्मालाई थाहा होला बमको घरमा घटना घटेको हो कि होइन् भन्ने कुरा । म आफ्ना दुइटै छोरी दिन तयार छु । फाँसी दिउन् न मेरो घरमा घटना घटेको भए । मानवअधिकारवादी हुँ भन्ने एकतर्फको अधिकार खोज्ने अनि मेरा छोरीको अधिकार हनन गर्ने ? के हो मानवअधिकार भनेको ? जिम्मेवार ब्यक्तिले एजेन्डा बोकेर बोल्नु हँुदैन । ६ महिना भैसक्यो, उनीहरू एकदिन पनि हामीसँग कुरा गर्न आएका छैनन् । उनीहरूले हामी पक्का अपराधी हौं भन्ने भावना कसरी बनाए ? 

अपराध नगरेको भए, कसरी तपाईहरूलाई उनीहरूले अपराधी देखे होलान् त ? 

त्यो उनीहरू नै जानुन् । व्यक्तिगत रिसइबी छैन भने उनीहरू अड्डा अदालतमा किन गैरहेका छैनन् । त्यहाँ गएर कानुनसम्मत ढंगले लड्नुपर्‍यो । म तयार छु । उहाँ मेरो छिमेकी पनि होइन, किन उहाँले हामीमाथि रिसइबी साँधिरहनुभएको छ थाहा छैन । एउटा पत्रिकाले कञ्चनपुर र महेन्द्रनगरमा धेरै भ्रम फैलायो । मैले यिनलाई किन स्पष्टीकरण दिने ? दिनैपरे सरकारी निकायलाई दिन्छु । नारा–जुलुस गरेर हाम्रो अधिकार हनन गर्ने, लेखेर चरित्रहत्या र मानवअधिकार हनन गर्ने ? जहाँ गएर पनि मुद्दा लेखाउन पाउने हाम्रो अधिकार हो । म सरकारलाई पनि विशेष रुपमा अनुरोध गर्न चाहन्छु, भोलिको दिनमा हाम्रो जीवनमा केही भयो भने त्यसको जिम्मेवार उनीहरू नै हुनेछन् । 

छर–छिमेकीसँगको सम्बन्ध अहिले कस्तो छ ?

मेरा छिमेकीहरूलाई पनि थाहा छ, हामी कस्ता मान्छे हौं ? मेरा सबै छिमेकीले भनिरहेका छन्, यी दुई बूढाबूढी न अपराध गर्ने, न लगाएको आरोप स्वीकार गर्ने । हामी त्यही बसेका भए यस्तो हुँदैनथ्यो, हामी त्यहाँ नबस्ने भएकाले इज्जतमाथि यति ठूलो धक्का लाग्यो, बदनामी भयो । हामीलाई जिउदै मारिएको छ । मेरो घर तोडफोड हुँदा न हामीले पत्रकार पायौं, न मानवअधिकारवादी । 

न्याय हुन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ ? 

अहिले पनि म न्याय पाउने कुरामा पूर्ण आशावादी छु । १० वर्ष लागोस वा २० वर्ष लागोस्, मेरा छोरीहरू निर्दोष छन्, न्याय त पाउँछन्–पाउँछन् । हामी निर्दोष छैनौं भने सरकारले हामीलाई गोली ठोकिदिए हुन्छ । हामीलाई हत्यारा छोरी चाहिएको छैन, आज निर्मलाको हत्या गरेका हुन् भने भोलि अर्को पनि हत्या गर्न सक्छन्, यस्ता छोरी हामीलाई चाहिएको छैन । म र मेरा छोरीको अहिले त बाहिर निस्कने अधिकार समेत छैन । कसरी बाँच्ने ? मलाई चाहिएन न्याय ? 

प्रकाशित :माघ १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्