करिश्माको दोस्रो इनिङ

- किशोर नेपाल

माघ १०, २०७५

 

सिनेमामा फर्कने समय सीमा तोकिएको त छैन, तैपनि उनी गम्भीर छिन् । किनभने उनी व्यवसायी हुन । यो चाहिं पक्का छ– उनको पढाइको पहिलो चरण टुंगिएपछि उनी सिनेमाको संसारमा फर्कनेछिन् । ‘फर्कने त निश्चित छ । हाम्रा पार्टीका नेता भट्टराईजीले पनि मेरो निर्णयमा खुसी व्यक्त गर्नुभएको छ । राजनीति मात्र गरेर भएन । राजनीतिमै रहेर आफ्नो पेसा–व्यवसायसमेत सञ्चालन गर्नुपर्‍यो । नेपालमा यस्तो चलन देखिएन, तर संसारभरि नै छ यस्तो चलन । राजनीति र कलाकारितालाई सँगै हाँक्न गार्‍हो त हुन्छ तर त्यसरी हाँक्न सक्ने नै कलाकारितामा पनि सफल हुँदो रहेछ ।’

हामी सांग्रिला होटलको शम्बाला गार्डेनमा थियौं, धमिलो घाममा कफी पिउँदै गफ गरिरहेका । करिश्माले बताइन्, ‘अब म राजनीतिबाट पछाडि फर्कनेवाला छैन । यो मेरो जीवनको उद्देश्य बनिसक्यो । वैशाख, २०७२ को भुइँचालोपछि उद्धार कार्यका लागि देशका कुना–कन्दरा पुगेपछि मलाइ लाग्यो, एउटा नेपाली अर्को नेपालीसँग आत्मीय हिसाबले आबद्ध छन् परस्परमा । यो राजनीतिकै करामत थियो । यही देखेपछि राजनीतिले मेरो ध्यान तान्न थाल्यो । मेरो संगत भयो, डा. बाबुराम भट्टराईसँग । मलाई उहाँका विचार मन परे । मैले उहाँको नजिक हुने मौका पाएँ । जब उहाँले नयाँ शक्ति पार्टीको संस्थापन गर्नुभयो, त्यतिबेला म निकै खुसी भएँ । माओवादी पार्टीभित्रको आसन्न परिस्थितिमा डा. भट्टराईले लिएको निर्णय सही थियो ।’

डा. भट्टराईले नयाँ शक्ति पार्टीको स्थापना नगर्नुभएको भए करिश्मा राजनीतिमा आउने थिइनन् । यो कुरा त पक्कै हो । अहिले उनी राम्रैसँग जमेकी छिन् राजनीतिमा । उनी ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति भए देशको द्रुततर विकास सम्भव छ’ भन्ने डा. भट्टराईको विचार र मान्यताबाट साह्रै प्रभावित छिन् । यो त भनिसकियो कि करिश्मा अभिनयको संसारमा फर्किए पनि राजनीतिमा सक्रिय रहनेछिन् । किनभने, उनले समाजका प्रति आफ्नो कर्तव्यबोध गरेकी छिन् राम्रोसँग । अभिनयको संसारमा उनी हतार गर्न चाहन्नन्, टुक्राटाक्री भूमिकामा हराउन चाहन्नन् । उनमा सिंगो सिनेमाको नेतृत्व गर्ने क्षमता छ । त्यसैले उनी गतिशील भूमिकाको खोजीमा छिन् । उनको उमेर पनि त घर्किएको देखिँदैन । आउँदा दिनमा नायिकाका रूपमा आफूलाई प्रमाणित गर्ने तयारीमा लागेकी छिन् करिश्मा ।

करिश्मा कुन र कसको राजनीतिमा लागिन् ? प्रश्न यो होइन । उनी राजनीतिमा यति गहिरिएर लाग्लिन् भन्ने त कसैले सोचेकै थिएनन् । घर–परिवारमा उनको चञ्चल स्वभाव हाँसोको विषय थियो । छोरी कविता बताउँछिन्, ‘परिवारको सबैभन्दा कान्छी सदस्य त म नै हुँ । मभन्दा पनि कान्छी हुनुहुन्छ ममी । ममी अनेक पेसा–व्यवसायको कुरा गर्ने, टिक्नचाहिं कतै नटिक्ने । तपाईंलाई भनिदिउँm ? ममी सर्टिफाइड बार टेन्डर हो, सर्टिफाइड ब्युटिसियन र सर्टिफाइड हेयर ड्रेसर पनि हो । नेल र ट्याटुमा पनि राम्रो दख्खल राख्नुहुन्छ । उहाँले यीमध्ये कुनै पनि पेसा अपनाउनुभएको छैन । उहाँले केही नयाँ गर्ने भन्नेबित्तिकै हामी हाँसिहाल्छांै ।’

करिश्मा छोरीलाई हेर्छिन् र मुसुक्क मुस्कुराउँछिन् । आँखामा भाव छ : हत्तेरी छोरी, त्यसरी ममीको पोल खोल्न हुन्छ ? आमालाई हेरेर कविता हाँस्दै बताउँछिन्, ‘राजनीतिमा लागेपछि भने ममी त्यसैमा दृढ भएर अडिनुभयो । हामी छक्क पर्‍यौं ।’ रमाइलो पारामा कविता बताउँछिन् : सुरुमा त करिश्मा राजनीतिमा लाग्ने कुरा विनोदलाई मन परेको थिएन । पछि उनले पनि कुरा बुझे । त्यसपछि उनले करिश्मालाई सघाउन थाले । परिवर्तनका भोका त विनोद पनि थिए ।

कविता कलाकार ममीको उत्तराधिकार सम्हाल्न आफूलाई तयार पार्दैछिन् । उनी प्रख्यात अभिनेता शिव श्रेष्ठको सिनेमा ‘एउटा यस्तो प्रेम कहानी’ मा अभिनय गर्दैछिन् । कारणवश अहिले त्यो सिनेमाको निर्माण रोकिएको छ । बन्छ कि बन्दैन थाहा छैन, तर शिव श्रेष्ठ हार खाने कलाकार होइनन् । उनको मनोबलप्रति जनताको विश्वास छ ।

वार्ता एकपटक फेरि राजनीतितिरै फर्कन्छ । करिश्मा चाहन्छिन्, केपी ओली नेतृत्वको वर्तमान सरकार पूरै पाँच वर्ष टिकोस् । अहिलेसम्म एउटा पनि सरकार पाँच वर्ष नटिकेको अभिशापले ग्रस्त छ हाम्रो देश । त्यो अभिशापको गहिरो छायाँ परेको छ देशको राजनीतिमा । त्यो छायाँ मेटिनुपर्छ । डाक्टर भट्टराइको भनाइ पनि यही छ, तर सरकारको ताल हेर्दाचाहिँ पाँचै वर्ष टिक्लाजस्तो लाग्दैन । उही रोई–रोई टिकाउने हो भने कुरा अर्कै हो ।

करिश्माका लागि चलचित्र क्षेत्र विश्वविद्यालय हो । उनी बाल्यकालमै यो क्षेत्रमा प्रवेश गरेकी हुन् । उनले चौध वर्षको उमेरमा पहिलो फिल्ममा अभिनय गरेकी थिइन । उनको जन्म भएको थियो, सन् १९७२ मा । करिश्माको फिल्मी करियर सोचेभन्दा सफल थियो । अहिले उनी त्यही सफलताको आनन्द भोगिरहेकी छिन् । ‘केही वर्ष चलचित्र क्षेत्रलाई छाडेर अमेरिका गएकी हुँ, जीवनमा अलिकति परिवर्तनका लागि । सिनेमामा असफल भएर भागेकी होइन । उनी अमेरिका जानुको प्रमुख कारण पैसा मात्र पनि थिएन । उनी कहिले पनि बढी महत्वाकांक्षी भइनन् । करिश्मा भन्छिन्, ‘अमेरिका जानुको मुख्य कारण यहाँको जीवनको नियमितताबाट ब्रेक लिनुबाहेक केही थिएन । हल्ला गर्नेले जेसुकै गरिराखून् । लामो समयसम्म एकै प्रकारको काम गर्दा म निराशामा डुब्न थालेकी थिएँ । त्यो निराशालाई निकास दिने माध्यम भयो अमेरिकाको छोटो निर्वासन ।’ 

उनी भन्छिन्, ‘त्यतिन्जेलसम्म मलाई एक्सन–कट भन्ने शब्द र सिनेमा क्षेत्रका केही मानिसका बारेमा बाहेक दुनियाँका अरू विषयमा कुनै ज्ञान थिएन । बिहान एक्सन, साँझ कट । अरु केही थाहा भएन त्यतिबेला । म सिनेमा क्षेत्रभन्दा अलग बाहिरको दुनियाँ चहार्न चाहन्थें । सहर–बजार र गल्लीहरू हेर्न चाहन्थें । देशको गरा, खेत र डाँडामा नाच्दै हिंडेको अनुभव भन्दा बेग्लै अनुभव 

लिन चाहन्थें ।’ 

सन २००० मा पहिलो पटक अमेरिका पुग्दा उनलाई त्यो देश प्रचुर सम्भावनाहरूको देश भन्ने लागेको थियो । त्यहाँ बसेर जीवनको अनुभव गरुँ–गरुँ जस्तो लागेपछि करिश्मा त्यहीं बसिन् । जीवन निर्वाह गर्न आफैं सानातिना काम गर्न थालिन् । उनमा विदेश बस्ने रहर भएको भए बेलायत बस्ने थिइन् । त्यहाँ उनको परिवारको व्यवसाय थियो, घर थियो । दशैँमा सासु–ससुरासँग टीका लगाउन गएको बेला दुई महिना लन्डनमा बस्थिन् । 

फिल्म क्षेत्रमा करिश्माको प्रवेश सुनियोजित थिएन । उनका साथीहरूको प्रेरणा थियो यसमा । कलिलो उमेरमा फिल्म क्षेत्रमा पसेकी करिश्माको पहिलो चलचित्र थियो— ‘सन्तान’ । यसका निर्देशक पनि चानचुने थिएनन् । प्रकाश थापा अब्बल मानिन्थे नेपाली सिनेमा निर्देशनमा । त्यतिबेला सबै सिनेमा चल्थे । कुन चल्यो र कुन चलेन भन्ने कुण्ठा थिएन । 

पुराना हिन्दी चलचित्र हेर्छिन् करिश्मा । नेपाली सिनेमा हेरौं भन्यो भने पनि सहज उपलब्ध हुनै गार्‍हो छ । उनको रायमा पुरानो फिल्मको विशेषता के हो भने यसमा कथानक बलियो हुन्छ । त्यति बेलाका हरेक फिल्म एउटा स्वतन्त्र कलाकारिता जस्तो लाग्छ करिश्मालाई । उनले भर्खरै मात्र स्वर्गीय राजकपुरको ‘संगम’ र ‘जिस देशमे गंगा बहती है’ हेरिन । ती साह्रै कलात्मक थिए । उनी अभिभूत भइन । अहिलेका धेरैजसो नेपाली टेक्निसियनले भारतमा तालीम लिएका छन् । त्यसैले त्यहाँको प्रभाव हाम्रो फिल्ममा देखिन्छ । यसलाई नौलो कुरा मान्दिनन् करिश्मा । 

करिश्माले सधैं नयाँ सोचिन आफूलाई । उनलाई अहिले पनि आफू नेपालको चलचित्र क्षेत्रमा नयाँ नै हुँ जस्तो लाग्छ । उनले अहिलेसम्म बेस्ट एक्टर अवार्ड पाएकी छैनन् : आफूलाई सिकारु कलाकार नै सम्झन्छन् । उनी आफूले अभिनय गरेका फिल्मबाट पनि त्यति सन्तुष्ट छैनन । आफूलाई उत्कृष्ट सोच्ने घमन्ड कहिल्यै आएन उनमा । करिश्मालाई लागेको छ ‘वसन्ती’ र ‘अल्लारे’ सिनेमामा उनले जुन अभिनय गरिन् ती मात्र राम्रा छन् ।

जतिबेला यो अन्तर्वार्ता हुँदै थियो, करिश्मा सामान्य पुलओभर र पाइन्टमा सजिएकी थिइन्, तर उनलाई मन पर्ने पहिरन साडी हो । उनी साडीमा सजिन रुचाउँछिन् । किनभने साडीमा स्त्रीको सम्पूर्ण सुन्दरता झल्कन्छ । साडीलाई संसारकै ‘सेक्सिलो ड्रेस’ भन्छिन् उनी । उनको विचारमा, साडी महिलाका लागि नै डिजाइन गरिएको पहिरन हो । 

करिश्माको गुनासो छ : नेपाली फिल्मका कलाकारहरूलाई आफ्नो बुद्धि प्रयोग गर्ने अधिकार छैन । निर्देशकले जे भन्छन् त्यही गर्न विवश छन् उनीहरू । त्यसैले त नेपाली फिल्महरू चाहिने भन्दा बढी नै फिल्मी देखिन्छन् । निर्देशकलाई यहाँ कुनै कलाकारले, कसैले पनि सुझाव दिन सक्दैन । ‘तिम्रो नाम के हो ?’ भन्ने प्रश्न गर्न पनि यति ठाउँमा ब्रेक लिनु पर्छ कि त्यो पुरै फिल्मी हुन जान्छ । त्यही डायलगलाई साधारण तरिकाले बोल्ने हो भने त्यो साँच्चिकै स्वाभाविक सुनिन्छ । डाइरेक्टरलाई यस्तो कुरा पच्दैन । खुशीको कुरा हाल आएका नयाँ कलाकार तथा निर्देशक दुवैथरीले यसमा ध्यान दिन थालेका छन् । 

खरिददारी र पोसाकमा करिश्माको चाख पहिलेदेखि नै थियो । अहिले त्यो चाख घटेर गएको छ । उनमा समाजका विभिन्न पाटाका बारेमा जान्ने उत्सुकता बढेर गएको छ । खास गरेर राजनीतिमा लागेपछि उनका उत्सुकता थपिँदैछन् । उनी समाजलाई बुझदैछिन् र सिक्दैछिन् । करिश्मा नयाँ–नयाँ मानिसहरू भेट्न मन पराउँछिन् । घण्टौं राजनीतिक गफमा रमाउँछिन् । कहिलेकाहीं त मानिसहरू मलाई एवनर्मल पनि भन्छन्, तर म नर्मल छु । 

विनोद (मानन्धर) सँग विवाह भएपछि करिश्माले आफूलाई निकै सुरक्षित भएको सोचिन् । जीवन निश्चित ढंगले आफनो बाटोमा हिंडेपछि उनी खुसी भइन् । उनको विचारमा : विवाह भनेको अन्डरस्ट्यान्डिङ र कमिट्मेन्ट हो । अन्डरस्ट्यान्डिङ र कमिट्मेन्टस भए पछि अरू सबै कुरा गौण हुन्छन् । करिश्मालाई लाग्छ, ‘विनोद र म सामान्य दम्पत्ति मात्र होइनौं । हामी त असाधारण साथी हौं ।’ विनोदले करिश्मालाई हरेक परिस्थितिबाट पारलगाएका छन् । मद्दत गरेका छन् । 

धर्म–कर्ममा अत्यन्तै विश्वास गर्ने करिश्मा विगत केही समयदेखि अलिक अल्छी भएकी छिन् । पहिले बिहान ४ बजे उठेर बगलामुखी मन्दिर जान्थिन्, लाइनमा बसेर दर्शन गर्थिन् । अहिले त्यो क्रम टुटेको छ । उनले भगवान्का अगाडि पुगेर ‘मेरो फिल्म हिट होस’ भनेर कहिल्यै वरदान मागेकी छैनन । मनमा यो माग्नुपर्ला भनेर सोचेपनि मन्दिर पुगे पछि उनी सबै कुरा बिर्सिन्छिन् । 

करिश्माको विचारमा, नेपाली सिनेमामा एउटै शैली र तरिका अपनाइएकाले धेरै कलाकार फिल्म इन्डस्ट्रीबाट हराए । जे–जति इन्डस्ट्रीमा जीवित छन्, त्यसको कारण तिनले नयाँ–नयाँ प्रयोग गरेकाले हो । फिल्म चले पनि नचले पनि हामी कहाँ विभिन्न प्रयोग हुन भने छाडेको छैन । यो नेपाली सिनेमाको राम्रो पक्ष हो । उनी आफ्ना बारेमा भन्छिन, ‘जुन भूमिकाबाट दर्शकको अपेक्षा पूरा हुँदैन, म त्यस्तो भूमिकामा अभिनय गर्दिनँ । पूरै सिनेमालाई नेतृत्वदिने भूमिका पाएँ भने म त्यसलाई छाडदिन् ।’

करिश्मा आफूलाई राम्रो नर्तकी मान्दिनन् । उनी नाच्न भने निकै रुचाउँछिन् । उनलाई बेली डान्स मनपर्छ । किनभने, यो नृत्यमा नारीको सम्पूर्ण सुन्दरता झल्किन्छ । करिश्मा भन्छिन्, नियमित एक्सरसाइज गर्ने मानिस थिएँ म । तीन वर्षदेखि छुटेको एक्सरसाइज आजैदेखि सुरु गर्न थालेकी छु । करिश्मा भन्छिन्, ‘हेर्नुहोस, जीवन त एउटै छ । यो जीवनमा मन लागेको कुरा नगरे कहिले गर्नु ?’

 

प्रकाशित :माघ १०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्