नेपालमै अथाह सम्भावना छ

- जनक तिमिल्सिना, भिषा काफ्ले

माघ ८, २०७५

हामीजस्ता धेरै अध्ययनसँगै राम्रो अवसरको खोजीमा पनि आएका हुन्छौं । कानुनी अधिकार खोज्ने प्रयास गर्छौं, त्यसो गर्दागर्दै १० वर्ष बित्छ । १० वर्षमा कागज पाइन्छ, त्यतिन्जेल लगानी मात्र हुन्छ । कागज पाइसकेपछि केही गरौं भनेर व्यवसाय सुरु गर्‍यो, घर किन्यो, किस्ता तिर्‍यो, बच्चाबच्ची जन्मिन्छन उनीहरूलाई पढाउन थालिन्छ । तैपनि उनीहरूले नेपाललाई बिर्सिएका हुँदैनन् ।

सन् १९९१ मा विद्यार्थीका रूपमा बेलायत प्रवेश गरेका हुन्– गुल्मी हुगामा जन्मिएका पशुपति भण्डारी । पढाइ र बेलायतको आवासीय भिसा प्रक्रिया पूरा भएपछि उनले सन् २००३ मा रेष्टुरेन्ट व्यवसायमा हात हाले ।  बेलायतमा मात्र उनका राम्रा चलेका चारवटा रेस्टुराँ छन् । भण्डारीले यो व्यवसाय साझेदारीमा न्युजिल्यान्डमा समेत विस्तार गरेका छन् ।

भण्डारीले नेपालमा जलविद्युत् तथा होटल व्यवसायमा समेत लगानी गरेका छन् । सन् २०१५ को भूकम्पपछि अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवद्र्धन गर्न सरकारले सन् २०१६ मा उनलाई बेलायतका लागि पर्यटन दूत नियुक्त गरेको थियो । उनले पर्यटन दूतका रूपमा सन् २०१६ देखि २०१८ सम्म बेलायतका साथै युरोपेली देशहरूमा पर्यटन प्रवद्र्धनको काम गरे । बेलायत बसाइ, बेलायतीको नेपाल हेर्ने दृष्टिकोण, पर्यटकीय सम्भावना आदि विषयमा केन्द्रित रहेर साप्ताहिकका लागि भिषा काफ्ले र जनक तिमिल्सिनाले भण्डारीसँग गरेको कुराकानी : 

बेलायत जानुको मुख्य उद्देश्य के थियो, पैसा कमाउनु वा पढ्नु ? 

वास्तवमा भन्नुपर्दा दुवै थियो । स्नातक गरिसकेपछि उच्च शिक्षा हासिल गर्ने र व्यवसाय तथा अवसरको खोजीमा म बेलायत पुगेको थिएँ । 

सुरुमा बेलायतको बसाइ कस्तो रह्यो ? 

नयाँ परिवेश, नयाँ देश, आर्थिक रूपमा सबै कुरा व्यवस्थापन गर्नुपर्ने भएकाले एक वर्षजति गाह्रो भयो, त्यसपछि बिस्तारै साथीहरू बनाउन थालियो अनि काम पनि सहज हुँदै गयो । बेलायतको नेपाली समाज अहिलेको जस्तो फराकिलो भैसकेको थिएन । सम्पर्क गर्न पनि गाह्रो, अहिलेको जस्तो इन्टरनेट थिएन । यी सबै कारणले घरको निकै सम्झना आउँथ्यो । 

सुरुका दिनमा कति कमाउनुहुन्थ्यो ? 

बेलायत पुगेपछि सुरुमा मैले एउटा रेस्टुराँमा काम गरे । त्यतिबेला मेरो कमाइ साताको १ सय पाउण्ड थियो । त्यसले गुजारा चलाउन पनि गाह्रो पथ्र्यो । आफू मेहनति भयो भने बेलायतमा काम पाउन त्यति गाह्रो थिएन । आफूलाई चाहिएको समयमा काम पाइन्थ्यो । त्यसैले काम गरेरै खर्च पुर्‍याउने र फी पनि घरबाट सकेसम्म नमाग्ने भनेर निकै मेहनत गरियो । 

गएको कति वर्षपछि संकटबाट सहजतातिर पुग्नुभयो ? 

तीन–चार वर्षपछि काममा पनि स्थिरता देखा पर्‍यो । मैले म्यानेजरको जिम्मेवारी पाए, आम्दानी पनि त्यही रूपमा बढ्दै गयो । 

व्यवसायमा कसरी आउनुभयो ? 

सुरुदेखि नै आफै केही गरौं भन्ने थियो । विद्यार्थी हुँदा नै साझेदारी गर्ने अवसरहरू पनि आए, तीन–चार जना साथी मिलेर रेस्टुराँ चलायौं । आफ्नै व्यवसाय सुरु गर्न कानुनी अधिकार हुनुपर्छ । मैले बेलायतमा बस्ने आवासीय अधिकार २००३ मा पाए । सन् २००३ मा आफ्नै केही गरौं भनेर परिवार र साथीभाइको सहयोगले एभरेस्ट इन नामको एउटा रेस्टुराँ ब्रान्ड सुरु गर्‍यौं । बेलायतको केन्टमा गोर्खा आर्मी क्याम्प नजिकै ८० हजार पाउण्डमा हामीले एभरेस्ट इन सुरु गरेका थियौं । सुरुमा १०–१२ जनाको टिम थियो । हामी सफल पनि भयौं । अहिले एभरेस्ट इनसँग जोडिएका ८–९ वटा रेस्टुराँ छन्, हाम्रै मात्र ४ वटा छन् । हामीले न्युजिल्यान्डमा पनि एभरेस्ट इनकै अवधारणामा एमलाल (राजु) ढकालको परिवारको अग्रसरतामा रेस्टुराँ खोलेका छौं । 

न्युजिल्यान्ड किन जानुभयो ? 

हामी नेपाली परिकारको प्रवद्र्धन, थोरै रोजगारी र नेपाली पर्यटनको प्रवद्र्धन गर्ने हिसाबले न्युजिल्यान्ड गएका हौं । म बेलायतबाट गएर २०१४ मा मेरो व्यवसायिक साझेदार एमलाल ढकालसहित न्युजिल्यान्डको वकलेण्ड पार्नेल रोडमा रेस्टुराँ खोल्यौं । त्यसको उद्घाटन एडमन्ड हिलारीकी कान्छी श्रीमती जुने हिलारी र मैले गर्‍यौं । अहिले उहाँहरूले निकै मेहनत गरेर अहिले त्यसलाई प्रतिष्ठित रेस्टुराँ बनाइसक्नुभएको छ, हालसालै हामीले त्यहाँ एउटा पुरस्कार पनि प्राप्त गर्‍यो । त्यहाँको प्रधानमन्त्रीको परिवार पनि हाम्रो रेस्टुराँको ग्राहक हुनुहुन्छ । एडमन्ड हिलारीको परिवारसहित त्यहाँका प्रतिष्ठित परिवारहरू हाम्रो रेस्टुराँमा आउनुहुन्छ । सर एडमण्ड हिलारीका छोरा पिटर हिलारीले खोल्नुभएको हिमालयन ट्रस्टको धेरैजसो कार्यक्रम हामीकहाँ हुन्छन्, जसले त्यहाँको लोकल नेटवर्क पनि राम्रो भएको छ । सन् २०२० को पर्यटन वर्षका लागि हामीले त्यहाँबाट समेत पहल गर्दैछौं । 

सुरुका व्यवसायिक दिनहरू कस्ता रहे । कसरी मेनु डिजाइन गर्नुभयो ? 

हामीले सुरुमा रेस्टुराँ खोल्दा एक अनुभवी र पुरानो सेफ दाइलाई लियौं । गाह्रो के भयो भने हामी अलि आधुनिक र नयाँ गर्न खोज्ने, उहाँ पुरानै तरिकाबाट गरौं भन्ने । अलिअलि द्वन्द्व पनि भैरहेको थियो, पछि उहाँले खुशीका साथ छाड्नुभयो । पछि हाम्रो एक जना पारिवारिक सदस्य नै नेपालमै तालिम लिएर आउनुभयो, उहाँले मेनु डिजाइन गर्नुभयो । हामीले नेपाली खानालाई फ्युजन गरेर युरोपेली स्तरमा पस्किनेदेखि लिएर प्रस्तुतीकरणसम्म धेरै कुरामा ध्यान दियौं । अहिले गर्वका साथ भन्नुपर्दा बेलायतका सांसददेखि लिएर मन्त्री, प्रधानमन्त्रीका सल्लाहकार सबै हाम्रा ग्राहक हुनुहुन्छ । त्यहाँका पूर्वउपप्रधानमन्त्रीले हाम्रो रेस्टुराँमा आएर चुनावका बेला एउटा कार्यक्रम गर्नुभयो, बेलायतका तत्कालीन अध्यागमनमन्त्री डामिन ग्रीन तथा स्थानीय मेयर आएर नेपाली परिकार बनाउन सिक्नुभयो । उक्त अवसरलाई त्यहाँका सञ्चारमाध्यमले समेत राम्रो कभरेज गरेका थिए । हामीले रेष्टुराँमार्फत समय—समयमा नेपाललाई प्रवद्र्धन गर्न त्यहाँ विभिन्न च्यारिटी कार्यक्रमहरू गर्‍यौं, प्रसिद्ध अभिनेत्री जोआना लुम्लेलाई पनि हाम्रो रेस्टुराँमा ल्याएर २–३ वटा कार्यक्रम गर्‍यौं । हलिउड, बलिउड र नेपालबाट जाने कलाकारदेखि धेरैलाई स्वागत गर्दै नेपाल—बेलायत जोड्न पाइएको छ, गर्व लाग्छ । 

बेलायतीहरूले नेपाली परिकार कत्तिको मन पराउँछन् ? 

हाम्रा ९९ दशमलव ९ प्रतिशत ग्राहक बेलायतीहरू नै हुन् । हाम्रो मेनु अलि महँगो छ । हामी फ्युजन गरेर परिकार बनाउँछौं, हाम्रा मुख्य मसला भारतीय र नेपाली नै हुन् । मसला हामी आफंै ब्लेन्ड गर्छौं । घरकै शैलीमा हामी कम चिल्लो, पिरो खानेकुराहरू बनाउँछौं । मसालेदार खानेहरूका लागि छुट्टै परिकार सर्व गर्छौं । तरकारी, माछा तथा मासुका विभिन्न परिकार नै बढी रुचाइन्छ । हामीले नेपाली परिकार पनि अलि फरक शैलीमा पस्किरहेका छांै । 

अहिले बेलायतमा कति नेपाली रेस्टुराँ होलान् ? 

अहिले बेलायतमा झन्डै डेढ–दुई सय नेपाली रेस्टुराँ छन् । हामीले मात्र सातामा प्रत्येक रेष्टुरेन्टमा ४–५ सय बेलायतीलाई आतिथ्यता प्रदान गर्छौं । त्यसमध्ये ६० प्रतिशत नियमित र ४० प्रतिशत नवआगन्तुक हुन्छन् । त्यसबाहेक हामी होम डेलिभरी पनि दिन्छौं । बेलायतमा दिनभरि काम गरेपछि साँझ रेस्टुराँमा खाने चलन छ । थाकेर आएपछि उनीहरू घरमा खाना पकाउन झन्झट मान्छन् । त्यसकारण बेलायतमा रेस्टुराँ व्यवसाय राम्रो मानिन्छ । 

बाहिर बस्ने नेपालीहरूले बढी रेस्टुराँ तथा होटल–व्यवसायमा हात हालेको पाइन्छ, किन ? 

नेपालीहरू आतिथ्यता प्रदान गर्न मन पराउने स्वभावका भएकाले होला, धेरै नेपाली यही व्यवसायमा छन् । विदेशका सबैजसो नेपाली रेस्टुराँहरूले नेपालको पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका निर्वाह गर्दै आएका छन् । विदेशमा नेपाली रेस्टुराँ भनेर बोर्ड टाँस्नेबित्तिकै नेपालीलाई माया गर्ने र कुनै न कुनै रूपमा नेपालसँग जोडिएकाहरू एकपटक भए पनि आउँछन् । त्यहाँ गएर नेपाली खाना रुचाउँछन्, त्यही बीचमा नेपाल र नेपालीसँग जोडिने कुरा हुन्छ । त्यसकारण नेपाली रेस्टुराँ खुल्ँदै जानु नेपालकै लागि राम्रो हो । अरू व्यवसायबाट नेपाललाई चिनाउनुभन्दा रेस्टुराँ वा खानाले धेरैलाई हामीले नेपाली परिकार पनि अलि फरक शैलीमा पस्किरहेका छांै । 

बेलायतमा नेपालीहरूलाई गोर्खालीका रूपमा हेरिन्थ्यो । पछिल्लो समय त्यो दृष्टिकोणमा केही परिवर्तन आएको छ ? 

बेलायत र हाम्रो दौत्य सम्बन्ध स्थापना भएको दुई सय वर्षभन्दा बढी भैसकेको छ । उनीहरूले हामीलाई भिन्न किसिमले सम्मान गर्छन् । झट्ट हेर्दा हामी अन्य कुनै एसियाली मुलुकको जस्तो पनि देखिन सक्छौं, जब उनीहरूसँग हामी नेपाली हौं भन्ने कुरा हुन्छ, तब उनीहरू एकदमै राम्रो व्यवहार गर्छन् । कुनै न कुनै रूपमा त्यहाँका नागरिकको नेपालसँगको नाता, अनुभव र धारणा राम्रो छ, त्यही लाभ हामीले पाउँछौं । उनीहरूले हामीसँग छुट्टै सामीप्यता महसुस गर्छन् । 

बेलायतीहरू जो नेपाल आएका हुन्छन्, उनीहरूले नेपालको बढी सम्झने कुरा के–के हुन् ? 

सामान्य नागरिकको आतिथ्यतालाई उनीहरू उच्च सम्मान गर्छन् । त्यसले उनीहरूलाई नेपालप्रति आकर्षित गर्छ । अर्को, नेपालको प्राकृतिक सुन्दरताको निकै प्रशंसा गर्छन् । प्रत्येक वर्ष मैले आफ्ना नजिकका बेलायती साथीहरूलाई नेपाल पठाउने गरेको छु । 

बेलायतसँगै युरोपबाट पर्यटक बढाउने सम्भावना के–के छन् ? 

सन् २०१६–१९ को चुनौतीपूर्ण समयमा मैले टुरिज्म बोर्डको एउटा अनरी पब्लिक रिलेसन रिप्रिजेन्टिभ भन्ने जिम्मेवारी पाए । यो जिम्मेवारी ग्रहण गरेका युरोपका साथीहरू आयरल्यान्डमा दिपेशमान शाक्य, डेनमार्कमा सोम सापकोटा र मैले बेलायतबाट म सहित युरोपभरिका मानार्थ प्रतिनिधी र दूतावासहरूसँग सहकार्य गरेर काम गर्‍यौं । हामी सबै मिलेर सन् २०१७ लाई लेट्स फोकस भिजिट नेपाल इयर–२०१७ युरोप भनेर युरोपका सबै सहरमा कार्यक्रम गर्‍यौं, आफ्ना संसाधनमार्फत त्यहाँका विश्वविद्यालयहरूमा कार्यक्रम गर्‍यौं, उपलब्ध प्लेटफर्महरूमा नेपालको पर्यटनका सम्बन्धमा प्रचार गर्ने काम गर्‍यौं । त्यसले युरोपका पर्यटक अत्यधिक बढे । यो वर्षको अन्त्यसम्म हामीले १४ लाख पर्यटक भित्र्याउने योजना बनाएका छौं, त्यसमा सफल पनि हुन्छौं । पर्यटन वर्ष—२०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुन्छ, तर त्यसका लागि भौतिक पूर्वाधार निर्माण एवं व्यवस्थापनमा ध्यान पुर्‍याउनुपर्छ । पर्यटनमन्त्री एवं पर्यटन बोर्डका कार्यकारी प्रमुखसम्म पनि मैले हामीले भित्र्याउने पाहुनालाई सुन्दर अनुभूति कसरी दिलाउने भन्नेमा सचेत हुनुपर्छ भन्ने कुरा राखेको छु । त्यसैले हाम्रा स्रोतसाधनहरूलाई पर्याप्त उपयोग गरेर अघि बढ्नुपर्छ । अतिथीहरूलाई सुन्दर अनुभव दिने र जलविद्युत्मार्फत अघि बढ्न सकियो भने नेपाललाई धेरै अगाडि बढाउन सकिन्छ । पर्यटन एवं जलविद्युत् नै हाम्रो मुलुकको समृद्धिको मुख्य आधार हुन् । 

बेलायतबाट लगानी भित्र्याउने सम्भावना के–के छ ? 

बेलायतबाट लगानी भित्र्याउने विषयमा ब्रिटेन–नेपाल चेम्बर्स अफ कमर्स तथा नेपाल–ब्रिटेन चेम्बर्स अफ कमर्सले कार्यक्रम गरिरहेका छन् । केही वर्षअघि हामीले १३ वटा कम्पनीको ट्रेड डेलिगेसन पनि गरेका थियौं, जसमा एउटा कम्पनी हाम्रो पनि थियो । त्यतिबेला हामीले नेपालको उच्चस्तरीय भ्रमण गर्‍यौं, नेपालमा लगानीसम्बन्धी जटिलताका विषयमा छलफलसमेत भयो । हामीले सरकारलाई पनि सहज वातावरणका लागि अपिल गर्‍यौं । 

नेपालबाट युरोप, अमेरिका जाने भनेको अध्ययनका लागि हो, तर जानेहरूमध्ये ९० प्रतिशत उतै सेटल हुने मनस्थिति बनाउँछन्, किन होला ? 

बेलायत, अमेरिका, क्यानाडा, जापान, अस्ट्रेलियाजस्ता देशमा बसेका नेपालीहरू सुरुमा अध्ययनका लागि गएका हुन्छन् । पढेर फर्कन्छु भन्ने धनाढ्य एवं व्यवसायी घरानाका सदस्यहरू मात्र हुन्छन् । हामीजस्ता धेरै अध्ययनसँगै राम्रो अवसरको खोजीमा पनि आएका हुन्छौं । कानुनी अधिकार खोज्ने प्रयास गर्छौं, त्यसो गर्दागर्दै १० वर्ष बित्छ । १० वर्षमा कागज पाइन्छ, त्यतिन्जेल लगानी मात्र हुन्छ । कागज पाइसकेपछि केही गरौं भनेर व्यवसाय सुरु गर्‍यो, घर किन्यो, किस्ता तिर्‍यो, बच्चाबच्ची जन्मिन्छन उनीहरूलाई पढाउन थालिन्छ । तैपनि उनीहरूले नेपाललाई बिर्सिएका हुँदैनन् । व्यवसायले राम्रो गर्न थालेपछि आफ्नै घरबाट भाइभतिजाहरू कसलाई राम्रो अवसर दिने भन्ने हुन्छ । त्यसपछि आफूले कमाएको रकमबाट नेपालमा लगानी गर्ने हो । अहिले धेरैले यही गरिरहेका छन् । त्यहाँ रहँदा पनि मन नेपालमै हुन्छ, बिहानै नेपालकै समाचार हेरिन्छ । बाहिर पुगेर नेपालीले कमाएका मात्र छैनन्, ज्ञान र सीप पनि सिकेका छन् । त्यहाँ रहेका नेपालीहरूले नेपाललाई विदेशीसँग जोड्ने र चिनाउने काम गरिरहेका छन् । 

गैरआवासीय नेपाली संघ स्थापना भएपछि नेपालमा लगानी गर्ने वातावरण बनेको हो ? 

गैरआवसीय नेपाली संघ स्थापना नहुँदा नेपालबाहिर बस्नेहरूको सामान्य सोचाइ पैसा कमाएर काठमाडौंमा एउटा घर बनाउँm, घडेरी किनौं भन्ने हुन्थ्यो । गैरआवासीय नेपाली संघ स्थापनापछि प्रशस्तै साना/ठूला ब्यक्तिगत र सामूहिक रुपमा काम भएका छन् । सानो उदाहरण सामूहिक लगानीको अवधारणासहित तत्कालीन अध्यक्ष जीवा लामिछानेको नेतृत्वमा २७ मेगावाटको दोर्दी जलविद्युत्मा करिब १ हजार लगानीकर्ता छन्, त्यसको स्थानीय साझेदार आइएमई ग्रुप हो । त्यसमा एनआरएन इन्भेस्टमेन्ट कम्पनीको ५१ प्रतिशत सेयर छ । त्यसमा हामीले सबैलाई जोड्न खोजेका हौं । त्यसमा १ लाखदेखि १ करोडसम्म लगानी गर्न पाइन्छ । सामान्य रोजगारी गर्ने साथीले १ लाख रुपैयाँ लगानी गरेर म गैरआवासीय नेपालीहरूको भाग हुँ भन्न सक्छन्, उपेन्द्र, जीवा र शेषजीले पनि सबैलाई समेट्नका लागि यो प्रोजेक्टमा १ करोड रुपैयाँभन्दा बढी लगानी गर्नुभएन । हामीले सबैलाई जोड्न यो पहल गरेका हौं । त्यस्ता अरु धेरै काम भैरहेका छन् । गैरआवासीय नेपाली संघ नभएको भए, हामी यसरी जोडिँदैनथ्यौं । 

ठूला सपना बोकेर विदेश जाने युवाहरूलाई के सुझाव दिनुहुन्छ ?

मेरो घरमै परेको समस्या के हो भने आफू गएर जमेको यसले हामीलाई नजा भन्छ भन्ने छ । ०४६–४७ सालमा म बेलायत पुग्दा नेपालमा त्यति अवसर थिएन । अहिले बेलायतमा विदेशीहरूले नै काम पाउन गाह्रो हुँदैछ । अहिले विद्यार्थीका रूपमा कुनै राम्रो कम्पनीमा रोजगारी पक्का गरेर जाने हो भने त राम्रै छ, तर त्यो सम्भावना धेरै कम छ । विद्यार्थीका रूपमा गएर त्यहाँ सम्भावना र अवसर खोज्छु भन्नु चुनौतीपूर्ण छ, छँदै छैन चाहिँ भन्दिन, तर नेपालमा अहिले सबै क्षेत्रमा सबै सम्भावना छन् । त्यसैले यहीँ अध्ययन गरेर राम्रा योजनाहरूमा काम गर्नुपर्छ । ठूला–ठूला होटलहरू खुलिरहेका छन्, तर काम गर्ने श्रमशक्तिको अभाव छ । समाजले पनि छोराछोरीको विवाह भएपछि ‘ज्वाइँ कहाँ ?’ भन्दा ‘यहीं’ भन्दा ‘हँ, विदेश होइन ?’ भन्ने हेय भाव राखेको पाइन्छ, यस्तो मनस्थितिमा परिवर्तन आउनुपर्छ । नेपालमै अथाह सम्भावना छ ।  

प्रकाशित :माघ ८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्