आच्छु जाडो !

- अविरल थापा

माघ ७, २०७५

कामअनुसार जाडो–गर्मी जे भए पनि आफ्नो समयमा उठेर हिंड्नैपर्छ । तर जो आनन्दसँग सिरकभित्र सुतेर बसेको हुन्छ, उसलाई लाग्छ कि त्यो बेला अरू पनि उसैगरी सुतेरै बसेका होलान् । बिहान अखबार बाँड्नेहरू, तरकारीको व्यापार गर्नेहरू आदिले जति जाडो भए पनि सखारै उठेर कर्मक्षेत्रमा जानैपर्ने हुन्छ । एकफेर आफू सुत्ने समयमा अरू के गर्दा रै’छन् बुझ्न कुनै दिन उठेर डुल्न निस्कने हो भने आफुले नदेखेको संसार देखिन्छ । 

हरेक वर्ष जाडो आउँछ हरेक वर्ष गर्मी आउँछ । हरेक पटक मानिसहरूलाई जाडो धेरै भएजस्तो लाग्छ । यसपालाको जाडो चाँडो आयो यसपाला त यस्तो–उस्तो भयो जस्ता कुरा गर्ने विषय धेरै हुन्छन् । हरेक मौसमका आ–आफ्नै विशेषता हुन्छन् । हरेक मौसमले जिन्दगी जिउन सिकाउँछ र समय सधैं एकनास हुँदैन भन्ने ज्ञान दिएर जान्छ ।

उही घाम हो, हामी जाडोमा कति बेला घाम लाग्छ र तापौं भनेर कुर्छौं, गर्मीमा त्यसबाट भाग्छौं । खासमा जाडो होस् वा गर्मी, घामले उत्ति नै र उही तातो फाल्छ तर जाडोको घाम कम, गर्मीको चर्को लाग्छ । घाम मधुरो र चर्को लागेको होइन, पृथ्वीको हावा बरु धेरै चिसो र तातो भएको हो । आज घाम लागेन भन्छौं, वास्तवमा घाम सधैं लाग्छ, बरु बादलले छेक्छ । घामको न्यानो तातो पृथ्वीमा आउने बेलासम्म अरू कुराले अवरोध पुर्‍याउँछन् वा छेक्छन्, त्यसैले जाडोको घाम न्यानो र गर्मीमा कडा लाग्छ । यस्ता धेरै कुरा हुन्छन् जिन्दगीमा पनि, कारण अर्कै हुन्छ, हामी गहिरिएर सोच्दैनौं, विचार गर्दैनौं र दोष अन्य कुरालाई दिइरहेका हुन्छौं । बाहिरको जाडो छल्न न्याना लुगा, घाम, आगो चाहिएजस्तै जिन्दगीको जाडो छल्न माया, स्नेह र स्वस्थ खाना चाहिन्छ । 

कहावत पनि छ, जाडो छल्न रुई, फुई र दुई चाहिन्छ । यसको अर्थ लगाउने वा ओढ्ने कुरा, फुई अर्थात् आगो र दुई अर्थात जोडी । जाडो महिनामा तातो तातो खान र न्यानो भएर सुत्न मज्जा हुन्छ तर चिसो पानीमा काम गर्न र चिसोमा बाहिर निस्किएर काममा जान गार्‍हो हुन्छ । प्रकृतिको नियम मान्दिनँ भनेर कसैले पाउँदैन । जाडो वा गर्मी हटाउन सकिँदैन, तर विज्ञानको आविष्कारले छल्न र घटबढ गराउन सकिन्छ । ल्याकत हुनेले हिटर बाल्न सक्छन्, नहुनेले आगोको जोहो गर्न सक्छन् । न्यानो कपडा र मौसम अनुकूल हुने सुप र अन्य खानेकुरा पनि सहायक हुन सक्छन् । ठाउँअनुसार पनि धेरथोर जाडो हुन्छ । हुनेखानेहरू जाडो छल्न न्यानो ठाउँमा गएर पनि बस्छन् । कतिपय गरिबले लगाउने न्याना कुरा, ओढ्ने कुरा तथा खानेकुरा नभएर प्राण त्यागेका समाचार पनि आइरहेका हुन्छन् । घरमा धेरै र पुराना लुगाफाटा हुनेले नहुनेलाई पठाइदिने हो भने उनीहरूले पनि बाँच्न पाउनेछन् । यसतर्फ युवाहरू जागरुक भएर आवश्यक ठाउँमा आवश्यक वस्तु पुर्‍याउनेसत्कर्म गर्न सक्छन् । 

कामअनुसार जाडो–गर्मी जे भए पनि आफ्नो समयमा उठेर हिंड्नैपर्छ । तर जो आनन्दसँग सिरकभित्र सुतेर बसेको हुन्छ, उसलाई लाग्छ कि त्यो बेला अरू पनि उसैगरी सुतेरै बसेका होलान् । बिहान अखबार बाँड्नेहरू, तरकारीको व्यापार गर्नेहरू आदिले जति जाडो भए पनि सखारै उठेर कर्मक्षेत्रमा जानैपर्ने हुन्छ । एकफेर आफू सुत्ने समयमा अरू के गर्दा रै’छन् बुझ्न कुनै दिन उठेर डुल्न निस्कने हो भने आफुले नदेखेको संसार देखिन्छ । मन्दिरका सत्तलहरूमा भांग्रो ओढेर वा पातलो कम्बल ओढेर मस्त निदाइरहेका दु:खीहरू देख्दा जिन्दगीमा सहनुको विकल्प छैन भन्ने गहिरो बोध हुन्छ ।

घरभित्र दुइटा सिरक खप्टेर पनि जाडो भयो भनेर कुरा गर्नेले त्यो दृश्य देखेपछि सायद संसार बुझ्छ । मान्छेको स्वभाव जति सुविधा, जति सुख भए पनि पुग्दैन । पाउन्जेल धेरै पाउन खोज्छ, सकेसम्म राम्रो रोज्न खोज्छ, तर नपाएपछि जे छ त्यसमै पनि काम चलाउँछ । हुनेखानेको घरमा लुगा धुने मेसिन तथा तातो पानी आउने व्यवस्था हुन सक्छ, तर धेरैलाई जाडोमा लुगा धुन र भाँडा माझ्न पानी चिसो भएर गार्‍हो हुन्छ । यस्तो बेला घरका सबै सदस्यले आफूले खाएको भाँडा आफैंले माझ्ने, आफ्नो लुगा आफैं धुने हो भने एउटै मानिसमाथि कामको भार पर्दैन । आफूलाई जाडो भएजस्तै यस्ता काम गर्ने मानिसलाई पनि उत्तिकै गार्‍हो हुन्छ, चाहे ऊ परिवारको कुनै सदस्य वा काम गर्न राखेकै मानिस किन नहोस् । 

कुनै पनि कुरा गर्नुअघि वा भन्नुअघि एकफेर मनन गर्ने हो भने जिन्दगी र सम्बन्धमा धेरै फरक आउँछ । अरूको ठाउँमा आफूलाई राखेर हेर्ने हो भने धेरै समस्या र तनावको निराकरण हुन्छ, जुन कुरा गर्दा आफूलाई दु:ख–पीडा हुन्छ, अरूलाई पनि उस्तै हुन्छ । स्वार्थभन्दा माथि उठेर समभावले संसारलाई नियाल्न सकियो भने जीवन सुन्दर लाग्छ, संसार रमाइलो लाग्छ, अन्यथा जता पनि समस्या देखिन्छ । त्यसैले आफू असल, अरू खराब भन्ने चेतनाबाट माथि उठौं । 

गर्मी र जाडो जस्तै जिन्दगीमा सुख र दु:ख पनि आइरहन्छ, गैरहन्छ । आत्तिनु र मात्तिनु हुँदैन । अरूलाई हेप्नु हुँदैन, आफ्नो पनि पालो आउन सक्छ । हरेक मानिसको जिन्दगी सुखको खोजबाहेक केही होइन । भोग्न जान्नेहरू घरबारमै पनि सुखी छन्, नजान्नेहरू दरबारमा पनि दु:खी छन् । जाडो त पोहोर पनि उस्तै थियो, तर यसपालाकै जाडो धेरै जस्तो लाग्छ । आच्छु ! कस्तो जाडो हगि ?

 

प्रकाशित :माघ ७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्