के अघोरीहरू साँच्चै डरलाग्दा हुन्छन् ? 

  • कुम्भ मेलाको प्रसंग

- स्वामीनाथन नटराजन, बीबीसी वल्र्ड सर्भिस 

माघ ६, २०७५

 

उत्तरप्रदेशको प्रयागराजमा कुम्भमेला सुरु हुन अब केवल एक दिन मात्र बाँकी छ (अहिले सम्पन्न भैसकेको छ ।) । गंगा नदीमा डुबुल्की लगाउन देश–विदेशबाट संगम नदी किनारमा तमाम सम्प्रदायका हजारौं हिन्दू साधु–सन्त एकत्रित भएका छन् । यिनै साधुहरूमा एउटा वर्ग यस्तो पनि छ, जसलाई लिएर आम जनमानसबीच भयको अवस्था सधैं कायम रहन्छ । साधुको यो वर्गलाई अघोरी समुदाय भनिन्छ । मानिसहरू भन्छन्– अघोरीहरू मसानघाटमा बस्छन्, जलिरहेको लासको बीचमा खाना खान्छन् र त्यही सुत्छन् । अर्को पनि एउटा भनाइ छ– अघोरीहरू नांगै घुम्छन्, मानिसको मासु खान्छन्, खोपडीमा राखेर खाना खान्छन् र दिनरात गाँजा तानिरहन्छन् । 

को हुन अघोरी ? 

लन्डन स्कुल अफ अफ्रिकन एन्ड ओरिएन्टल स्टडीजका संस्कृत प्राध्यापक जेम्स म्यालिन्सन भन्छन्– ‘अघोरी दर्शनको सिद्धान्तअनुसार आध्यात्मिक ज्ञान हासिल गर्नु छ र ईश्वरलाई भेट्नु छ भने शुद्धताको नियमभन्दा टाढा जानुपर्छ । अक्सफोर्डमा अध्यापन गर्ने म्यालिन्सन स्वयं एक महन्त र गुरु हुन् । यद्यपि उनको समुदायमा अघोरी सम्प्रदायका प्रक्रियाहरू बर्जित छन् । 

केही अघोरी साधुहरूसँग कुराकानी गरेका म्यालिन्सन भन्छन्– अघोरीहरू स्वभाविक कुराहरूलाई मान्दैनन्, नियम–कानुनहरू तोड्छन् । उनीहरू राम्रो र नराम्रोको सामान्य नियमलाई पछ्याउँदैनन् । आध्यामिक प्रगतिको उनीहरूको बाटो मानिसको मासु र दिशा खानुजस्तो अनौठो प्रक्रियाबाट पूरा हुन्छ । उनीहरू अरूले त्याग गरेका यी चीजहरू लिए वा सेवन गरे परम चेतना प्राप्ति हुने कुरामा विश्वास गर्छन् ।’ 

अघोरीको इतिहास 

यदि अघोरी सम्प्रदायको इतिहासको कुरा गर्ने हो भने यो शब्द १८ औं शताब्दीमा चर्चामा आएको पाइन्छ । यो सम्प्रदायले ती प्रक्रियाहरू अपनायो, जसका लागि कुनै समय कपालिका सम्प्रदाय कुख्यात मानिन्थ्यो । कपालिका सम्प्रदायमा मानिसको खोपडीसँग जोडिएका तमाम परम्पराका साथै मानिसको बलि दिने प्रथासमेत थियो । अहिले यो सम्प्रदाय अस्तित्वमा छैन भने अघोरी सम्प्रदायले कपालिका सम्प्रदायका तमाम चिजहरूलाई आफ्नो जीवनमा सामेल गरिसकेको छ । 

हिन्दू समाजमा धेरैजसो पन्थ र सम्प्रदाय तय गरिएका नियमअनुसार चल्छन् । सम्प्रदाय मान्नेहरू संगठनात्मक ढंगले नियम पालना गर्छन्, आम समाजसँग सरोकार राख्छन् । अघोरीहरूको हकमा भने त्यस्तो हुँदैन । यो सम्प्रदायसँग जोडिएका साधुहरू आफ्नो घरसँगको सम्पर्क तोड्छन् र बाहिरी मानिसहरूको विश्वास समेत गर्दैनन् । यस्तो पनि मानिन्छ कि अधिकतर अघोरी तथाकथित सानो जातबाट आउँछन् । 

म्यालिन्सन भन्छन्– अघोरी सम्प्रदायका साधुहरूको बौद्धिक कौशलमा पर्याप्त फरकपन पाइन्छ । केही अघोरी यति तीक्ष्ण बुद्धिका थिए कि तिनले तत्कालीन राजाहरूलाई समेत राय दिन्थे । एक अघोरी त नेपालका एक तत्कालीन राजाका सल्लाहकार पनि थिए ।

कुनै घृणा छैन 

अधोरीमाथि केन्द्रित ‘अघोरी: अ बायोग्राफिकल नोबल’ पुस्तकका लेखक मनोज ठक्करका अनुसार मानिसहरूबीच अघोरीहरूका बारेमा धेरै थरिका भ्रम छन् । ठक्कर भन्छन्– अघोरीहरू एकदमै सरल हुन्छन्, उनीहरू प्रकृतिसँग रम्न रुचाउँछन् । उनीहरू कुनै पनि प्रकारको केही माग गर्दैनन् । 

‘प्रत्येक चीजलाई ईश्वरको अंशका रूपमा हेर्छन् । उनीहरू न कसैलाई घृणा गर्छन्, न त कुनै चीजको विपरीत धारणा बनाउँछन् । यही कारणले गर्दा उनीहरू मानिस र जनावरको मासुका बीच भेदभाव गर्दैनन् । यसका साथै जनावरको बलि उनीहरूको पुजा पद्धतिको एउटा प्रमुख अंग हुन्छ ।’ उनीहरू गाँजा पिउँछन् तर नशामा रहँदा पनि आफ्नो पूरै ख्याल राख्छन् । 

अघोरीको संख्या एकदमै कम

म्यालिन्सन र ठक्कर दुवै के मान्छन् भने संसारमा यस्ता ज्यादै थोरै साधु छन्, जो अघोरी पद्धतिलाई सही ढंगले पालना गरिरहेका छन् । उनीहरू भन्छन्– कुम्भ मेलामा भेटिने अधिकांश साधु स्वघोषित अघोरी हुन् र उनीहरूले कुनै पनि दीक्षा लिएका हुँदैनन् । कतिपय त अघोरीको भेषमा पर्यटकहरूलाई मनोरञ्जन मात्र गराउँछन् । संगममा स्नान गर्न आएका मानिसहरू उनीहरूलाई खाना र पैसा दिन्छन् । ठक्कर भन्छन्– यद्यपि अघोरीले नगद दान लिँदैनन्, उनीहरू सबैको कल्याणका लागि प्रार्थना गर्छन् । उनीहरू सन्तान प्राप्ति वा घर निर्माणजस्ता आशीर्वाद दिने कुरामा विश्वास गर्दैनन् । 

कसको पूजा गर्छन् अघोरी ? 

अघोरीहरू सामान्यतया: हिन्दू देवता शिवको पूजा गर्छन्, जसलाई विनासको देवता मानिन्छ । यसका साथै उनीहरू शिवकी पत्नी शक्तिको पनि पूजा गर्छन् । ठक्कर भन्छन्– धेरैजसो मानिस मृत्युसँग डराउँछन् । मसानघाट मृत्युको प्रतीक हो । यद्यपि अघोरी जीवनको 

सुरुवात यहीं हुन्छ । अघोरीहरू सामान्य मानिसहरूको मूल्य–मान्यता नैतिकतालाई चुनौती 

दिन चाहन्छन् । 

समाज सेवामा संलग्न 

अघोरी साधुहरूको समाजलाई सामान्यतया: स्वीकार गरिँदैन् तर, बितेका केही वर्षदेखि भारतमा उनीहरूको समुदाय समाजको मूलधारमा सामेल हुन खोजिरहेको छ । कैयौं ठाउँमा अघोरीहरूले कुष्ठरोग नियन्त्रणका लागि अस्पताल निर्माण एवं सञ्चालन गरेका छन् । मिनेसोटा आधारित मेडिकल संस्कृति र एन्थोपोलोजिस्ट रान्स बारेटले इमोरी रिपोर्टको आफ्नो अन्तर्वार्तामा भनेका छन्– अघोरीहरू ती मानिसहरूसँग काम गरिरहेका छन्, जसलाई समाजले अछुत मान्छ । एक प्रकारले कुष्ठरोग उपचार क्लिनिकले मसानघाटको ठाउँ लिइसकेको छ र अघोरीहरूले बिरामीको डरमाथि जित हासिल गरिरहेका छन् । 

सामान्यत: के मानिन्छ भने अघोरीहरू समाजबाट अलग–थलग रहन्छन् । यद्यपि अहिले केही अघोरी साधुहरू फोन तथा पब्लिक यातायातसमेत प्रयोग गरिरहेका छन् । यसका अतिरिक्त सार्वजनिक स्थानमा जाँदा केही अघोरी साधुहरू कपडा पनि लगाउँछन् । 

मान्यता छैन 

संसारमा एक अर्बभन्दा बढी हिन्दू धर्मका अनुयायी छन् । यद्यपि ती सबै मानिस एकै प्रकारको मान्यतामा विश्वास गर्दैनन् । हिन्दू धर्ममा कुनै पैगम्बर वा त्यस्तो ग्रन्थ छैन, जसको सबै मानिसले समान रूपमा पालना गर्छन् । यस्तै अघोरीको निश्चित संख्या आँकलन गर्न मुस्किल छ तर, विशेषज्ञहरू यो हजारको संख्यामा भएको मान्छन् । केही अघोरीले सार्वजनिक रूपमै मृत शरीरसँग यौनसम्पर्क गरेको कुरा स्वीकार गरेका छन् । यद्यपि उनीहरू पुरुष समलिङ्गी यौन सम्बन्धलाई स्वीकार गर्दैनन् । खास कुरा के हो भने एउटा अघोरीको मृत्युपछि अर्को अघोरीले उसको मासु खाँदैन । अघोरीको मृत्युपछि सामान्यता: गाडेर वा जलाएर उसको अन्तिम संस्कार गरिन्छ । 

(भावानुवाद)

प्रकाशित :माघ ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्