इन्काउन्टरमा मारिए भैरहवाका डन

- माधव ढुंगाना

माघ ६, २०७५

प्रहरीको तथ्याड्डमा सहनी २०६५ सालदेखि नै अपराधिक गतिविधिमा संलग्न रहेको देखिन्छ । सहनीले जनतान्त्रिक मुक्ति मोर्चा आजाद समुहमा समेत आवद्ध रही अपराधिक आतड्ड मच्चाएका थिए । प्रहरीका अनुसार, २०६५ साल असार २३ गते उनी कपिलबस्तु जिल्लामा स्वचालित पेस्तोलसहित पक्राउ परेपछि हातहतियार तथा खरखजाना मुद्दामा कपिलवस्तु कारागारमा थुनामा परेका थिए ।

२०७१ सालको भदौ २८ गते सिद्धार्थनगर नपा–८ की उषाकिरण गुरुङको घरमा बज्रपात पर्‍यो । उनका एकमात्र छोरा आकाशको अपराधिक समूहले अपहरण गरेको दिन थियो त्यो । त्यस दिनपछि उनका छोरा घर फर्केर आउन पाएनन् । फिरौतीबापतको १ करोड रुपैयाँ नपाएको निहँुमा छोराको हत्या गरिएपछि ६८ वर्षीय बावु तेजबहादुर थला परे । पुत्र वियोगकै कारण उनले खाना खान छाडे । त्यसको केही दिनपछि उनको मृत्यु भयो । 

यो घटनापछि ६७ वर्षीया आमा उषाकिरण गुरुङको आँखा अहिलेसम्म ओभाएको छैन । छोराको वियोग, पति गुमाउनुको पीडा मात्र होइन, उषाकिरणको जीवनमा दुई/दुई जना नाति सम्हाल्नुपर्ने जिम्मेवारी पनि थपिएको थियो । 

गत आइतबार दिउँसो भैरहवास्थित जिल्ला प्रहरी कार्यालय परिसरमा भेटिएकी उषाकिरणको मन अन्य दिनभन्दा केही हलुको भएको आभास हुन्थ्यो । ‘आज मेरो मन अन्य दिनभन्दा केही हलुको भएको छ,’ उषाकिरणले भनिन्, ‘छोराको मृत आत्मालाई पनि केही शान्ति मिल्यो होला ।’ 

आइतबार बिहानैदेखि स्थानीय र राष्ट्रिय स्तरका सबैजसो सञ्चारमाध्यममा प्रहरीसँगको दोहोरो गोली हानाहानमा एक अपरिचित व्यक्तिको मृत्यु भन्ने समाचारले सनसनी मच्चाएको थियो । मृतकको पहिचान खुलेको थिएन । कतिपय मिडियामा तस्करको मृत्यु भन्ने समाचार आयो । मारिने को रहेछ ? भन्ने कौतूहलता र जिज्ञासा जताततै थियो । जब मारिने व्यक्ति केदार सहनी हुन् भन्ने कुरा खुल्न आयो त्यसपछि विभिन्न चर्चा–परिचर्चाले भैरहवा र आसपासका क्षेत्र तात्न थाल्यो । केदार सहनी अर्थात् कुख्यात अपराधी । 

मारिने व्यक्ति केदार सहनी हुन् भन्ने गाइँगुइँ सुनेपछि उषाकिरण पनि यतार्थता बुझ्न प्रहरी कार्यालय पुगेकी थिइन् । उनको छोरालाई अपहरण गरेपछि बन्धक बनाएर यातना दिएको र तत्कालीन नवलपरासी जिल्लाको जंगलमा छोरालाई दौडिन लगाउँदै थाकेर भुइँमा पल्टिएका बेला गोली प्रहार गरेर हत्या गरेको दृश्यसहितको सिडी सहनीले उषाकिरणको घरमा पठाइदिएका थिए । ‘अहिले पनि म दुई जना नातिलाई आफूखुसी बाहिर पठाउदिनँ, जता गए पनि साथमै लान्छु,’ उनले भनिन् । 

केदार सहनी कसरी मारिए ? भन्ने विषयमा सबैका आ–आफ्नै तर्क छन् । फरार सहनीका बारेमा पत्तो पाएपछि प्रहरीले भारतबाटै नियन्त्रणमा लिई यहाँ ल्याएर इन्काउन्टर गरेको भन्नेहरूको जमात पनि ठूलै छ । तथापि प्रहरीले भने उनी मुठभेडमा मारिएको दाबी गर्दै आएको छ । 

प्रहरी उपरीक्षक ह्दय थापाले चोरी तस्करी नियन्त्रणका लागि खटिएको टोलीलाई लक्षित गरेर उनीहरूले सुरुमा गोली चलाएपछि प्रहरीको जवाफी कारबाहीमा सहनीको मृत्यु भएको बताए । ‘सुरुमा मारिने व्यक्तिको पहिचान नभएकाले अन्यौल भएको थियो,’ थापाले भने, ‘पछि उनको सनाखतका लागि विभिन्न सोधखोज गर्दा ऊ फरार र कुख्यात अपराधी सहनी भएको कुरा खुल्न आयो ।’

थापाका अनुसार भारतीय सिमानानजिकै पर्ने सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा मध्यरातमा भारतीय नम्बरको मोटरसाइकलमा दुई जना व्यक्ति सवार थिए । यूपी५३एच २०२८ भारतीय नम्बरको मोटरसाइकल नजिकै आएपछि सादा पोसाकमा रहेका प्रहरीले रोक्न लगाउँदा उनीहरूमध्ये एकले एक्कासि प्रहरीलाई लक्षित गरी गोली प्रहार गरेका थिए । उनीहरूले प्रहार गरेको गोलीबाट प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन् । उनको बायाँ पाखुरामा गोली लागेको छ भने प्रहरीले प्रयोग गरेको बा२ब ५८५४ नम्बरको मोटरसाइकलमा पनि गोली लागेको छ ।

त्यसपछि प्रहरीले जवाफी कारबाही सुरु गरेको थियो । केही बेर दुवै पक्षबीच गोली हानाहान भयो । प्रहरीको तीनवटा गोली लागेपछि एक व्यक्ति भुइँमा ढले भने अर्का व्यक्ति फरार भए । गोली लागेर भुइँमा ढलेको व्यक्तिलाई उपचारका लागि युनिभर्सल शिक्षण अस्पताल पुर्‍याइएपछि उपचारका क्रममै उनको मृत्यु भयो । उक्त रात बाक्लो हुस्सु लागेको थियो । घटनास्थलबाट लोड गरिएको स्वचालित एक थान पेस्तोल बरामद भएको छ । 

मृतकको लास सनाखतका लागि दिनभरि भीम अस्पतालमा राखिएको थियो, तर पहिचान हुन सकेको थिएन । धेरैले केदार सहनीको नाम लिएपछि प्रहरीले आइतबार साँझ उनका भाइ गोबिन्द सहनीलाइ झिकाएर हेर्न लगाएपछि मृतक केदार सहनी नै भएको पुष्टि भएको थियो । केदार सहनी जिल्ला प्रहरी कार्यालय सामुन्नेको भित्रि बस्तीका निवासी हुन् । उनी एक दशक भन्दा अघिदेखि हत्या, अपहरण, चन्दा असुलीजस्ता विभिन्न अपराधिक घटनामा संलग्न रहँदै आएको आरोप छ । प्रहरीको तथ्याङ्कमा सहनी २०६५ सालदेखि नै अपराधिक गतिविधिमा संलग्न रहेको देखिन्छ । सहनीले जनतान्त्रिक मुक्ति मोर्चा आजाद समुहमा समेत आवद्ध रही अपराधिक आतङ्क मच्चाएका थिए । प्रहरीका अनुसार, २०६५ साल असार २३ गते उनी कपिलबस्तु जिल्लामा स्वचालित पेस्तोलसहित पक्राउ परेपछि हातहतियार तथा खरखजाना मुद्दामा कपिलवस्तु कारागारमा थुनामा परेका थिए । 

२०६६ साल माघ २ गते कपिलवस्तु कारागारबाट सुरुङ खनेर भाग्नेमध्ये सहनी पनि थिए । ‘कारागारमा सुरुङ खनेर भाग्ने योजनाका मुख्य योजनाकार उनी नै थिए,’ रुपन्देही जिल्ला प्रहरी कार्यालयका डिएसपी कुमुद ढुंगेल भन्छन्, ‘सहनीले मच्चाएको आतंक हेर्ने हो भने मनोज पुनको भन्दा भयानक छ ।’

सुरुङबाट भागेपछि सहनीले जनतान्त्रिक मुक्ति मोर्चा आजाद समूहमा आबद्ध भै रुपन्देही, कपिलवस्तु, नवलपरासी आदि जिल्लाका व्यवसायीहरूलाई धम्क्याउँदै चन्दाआतंक मच्चाएका थिए । प्रहरीले बिछ्याएको जालोमा परेर भारतबाट फेरि एकपटक पक्राउ परेपछि हातहतियार खर–खजानाअन्तर्गतको ५ वर्षको सजाय काटेर जेल मुक्त भएलगत्तै सहनीले २०७१ भदौ २८ गते आकाश गुरुङको अपहरण गरी हत्या गरेका थिए । त्यसयता उनी फरार रहँदै आएका थिए । 

प्रहरी इन्काउन्टरमा मारिएकाहरू

२०७३ साउन २१ गते धादिङ र काठमाडौंको सिमाना नागढुंगामा गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ प्रहरी इन्काउन्टरमा मारिए । त्यसको अर्को वर्ष राजधानीका अर्का चर्चित गुन्डा नाइके कुमार घैंटे पनि इन्काउन्टरको सिकार भए । चरी र कुमार घैटेको इन्कान्टरपछिको एक वर्ष पुराना ठूला गुन्डाहरू अन्डरग्राउन्डजस्तै भए । यसबीच मनोज पुन र समीरमान बस्नेत मिलेर क्राइम र्‍याकेट चलाउन थाले । उनीहरूले फिरौती माग्दै व्यवसायीहरूलाई धम्काएनन् मात्र, फिरौती नदिने व्यवसायीमाथि गोली प्रहार तथा हत्या गर्नेसम्म काममा सक्रिय भए । विदेश बसेर अन्डरवल्र्ड शैलीमा क्राइम र्‍याकेट चलाइरहेका मनोज र समीरमानको शैली प्रहरीको टाउको दुखाइ बन्यो । अन्तत: समीरमानले प्रहरी समक्ष आत्मसमर्पण गरे, अहिले उनी जेलमा छन् । यता मनोज पुन भने आफ्ना सहयोगी सोम आलेसहित रुपन्देहीको देवदहमा २०७४ फागुन ९ गते बिहान झिसमिसेमै प्रहरी इन्काउन्टरमा मारिए ।

२१ साउन २०७१     दिनेश अधिकारी ‘चरी’    नागढुंगा 

३ भदौ २०७२     कुमार घैटे    काठमाडौं

९ फागुन २०७४ मा     मनोज पुन र सोम आले     रुपन्देही 

२३ साउन २०७४    प्रवीण खत्री     ललितपुर 

२१ साउन २०७५    गोपाल तामाङ र अजय तामाङ    भक्तपुर     

प्रकाशित :माघ ६, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्