चौका दाउ : लगानी उठाउन धौ–धौ

- साप्ताहिक संवाददाता

माघ ५, २०७५

अघिल्लो बिहीबार साँझै एउटा समाचार सार्वजनिक भयो, चलचित्र चौका दाउ मुलुकभरका सात दर्जन सिनेमा हलबाट एक साथ प्रदर्शन । झन्डै ५० वटा सिनेमा हलबाट प्रदर्शन प्रारम्भ भएको तथा प्रसस्त प्रचार–प्रसार गरिएको यो चलचित्रको व्यवसाय भने औसत छ । माघे संक्रान्तिलाई लक्षित गर्दै प्रदर्शनमा आएको यो चलचित्रले गत शनिबार तथा माघे संक्रान्तिको दिन राम्रै दर्शक पायो । काठमाडौंको लोकप्रिय मल्टिप्लेक्स क्यूएफएक्समा हिजो बिहीबारसम्म यो चलचित्रलाई चारवटा शो उपलब्ध गराइएको छ भने गोपीकृष्णसहितका सिनेमा हलमा पनि चलचित्र प्रदर्शन भैरहेको छ । 

कस्तो छ कथा ? 

एउटै कोलनीमा बस्ने चार भिन्न पृष्ठभूमिका प्रौढको कथा यो चलचित्रमा छ । उनीहरूमध्ये एक जना पूर्वमन्त्री, अर्का म्यानपावर कम्पनीका मालिक, तेस्रा जग्गा दलाल तथा चौथा क्यासिनो सञ्चालक हुन् । उनीहरूबीच के समानता छ भने उनीहरू सबै यौनको प्रसंगमा कुण्ठित छन् । आफ्नो पेसाबाट रिटायर्ड भैसकेका उनीहरू तास खेलेर दिन कटाउँछन् । त्यही कोलनीमा बस्न आएकी एउटी युवतीको रूपबाट मोहित भएपछि चलचित्रको कथा मोडिन्छ । चारै जना पुरुष ती सुन्दरीप्रति लट्ठ मात्र हुँदैनन्, आ–आफ्नो शैलीले उनलाई आफ्नो बनाउने योजनामा सक्रिय हुन्छन् । तीनै युवतीसँग सम्बन्ध स्थापित गर्ने क्रममा उत्पन्न परिस्थितिमा चलचित्रको बाँकी कथा केन्द्रित छ । 

वरिष्ठ संगीतकार शम्भुजित बासकोटा यो चलचित्रका कथाकार तथा निर्माता हुन् । बासकोटाले यसअघि दर्जनौं चलचित्रका लागि कथा लेखिसकेका छन् । चलचित्रमा आजको सहरको विकृति प्रस्तुत गर्ने जमर्को गरिएको छ । चौका दाउमा घर–परिवारलाई ढाँटेर घर बाहिर मोजमस्ती गर्न पल्किएका पचास वर्ष कटेका प्रौढ पुरुषहरूको चरित्रलाई हास्य शैलीमा उदांगो पारिएको छ । यद्यपि दर्शकहरूलाई हँसाउने बहानामा निर्देशकले दोहोर अर्थ लाग्ने संवाद तथा दृश्यहरूमा बढी जोड दिएका छन् । चौका दाउको सांगीतिक पक्ष आकर्षक छ । चलचित्रमा राधा पियारी तथा मेरो माया कतारमा शीर्षकका दुई गीत छन् र ती दुवै गीत लोकप्रिय छन् । 

निर्माताको दाबी 

चलचित्रका निर्माताहरूमध्येका एक जनाले चौका दाउले बुधबारसम्म झन्डै डेढ करोड रुपैयाँको व्यवसाय गरेको दावी गरेका छन् । उनका अनुसार चलचित्रमा झन्डै १ करोड ४० लाख रुपैयाँ लगानी भएको थियो । यो चलचित्रले आशा गरे अनुरुप व्यवसाय गर्न नसकेको ती निर्माताले स्वीकार गरेका छन् । उनको भनाइ छ– ‘पुसको अन्तिम साताको चिसोले बिहानीका शोहरूमा दर्शकको संख्या न्यून भएको कुरा सत्य हो, यद्यपि दिउँसो र साँझका शोमा दर्शकको उपस्थिति राम्रै छ ।’ ती निर्माताका अनुसार अघिल्लो शुक्रबारको बिहानीको शो निकै खुकुलो भए पनि दिउँसोको शोबाट चलचित्रले पिकअप लिएको हो । ‘शनिबार मल्टिप्लेक्स र सिंगलगरी सबै थिएटरमा हाउसफुल भयो, माउथ पब्लिसिटी राम्रो भएका कारण आइतबारको व्यापार पनि राम्रो भएको छ । मंगलबार माघे संक्रान्ति दिन पनि चलचित्रले राम्रो व्यवसाय गर्‍यो ।’  

समीक्षकको प्रतिक्रिया 

चलचित्र समीक्षक गोकर्ण गौतमले शुक्रबार साँझै चलचित्रका बारेमा छोटो स्टाटस लेखे–‘कमेडीकै कत्लेआम । चौका हैन, चौपट । दाउ हैन, घाउ ।’ उनको स्टाटसमा चलचित्र निर्माता तथा निर्देशक नरेश पौडेलले प्रतिक्रिया जनाए–सुपर फ्लप । उनलाई जवाफ फर्काउँदै गौतमले पुन: लेखे–‘बक्स अफिस रिपोर्ट बुझ्न पाएको छैन ।’ गौतमले नेपाल पत्रिकामा गरेको पत्रिकाको समीक्षाको सार छ– ‘अर्थ र कारणबिना कोरा कमेडी रुचाउने र पचाउनेलाई समेत चौका दाउले सन्तुष्ट बनाउन हम्मे–हम्मे पर्छ । यस्ता चलचित्रले न बजार बढाउँछ, न त मौलिक दृश्य निर्माणमा सघाउ पुग्छ ।

निर्देशक : पूर्णेन्दु झा निर्माता : सौर्यजित बासकोटा 

कलाकार : वर्षा राउत, सन्तोष पन्त, रविन्द्र झा, तैयब शाह, विल्सन विक्रम राई, अजश्र ढुंगाना आदि ।

प्रकाशित :माघ ५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्