अमान्डासँग यात्राको अर्को चरण

- अधिकारी रवीन्द्र

माघ ५, २०७५

त्यसपछि अमान्डा परपरसम्मको दृश्यभित्रै हराई । ऊ आन्दोलित छे । मनभित्र गुम्सिएका, थुनिएका कुण्ठाहरूको क्याथर्सिस थियो सायद त्यो भ्रमण उसका लागि । मैले पनि उसलाई डिस्टर्ब गर्न चाहिनँ । एक जम्बो कप मोचा कफी सुरुप–सुरुप आवाज निकाल्दै पिई । मार्लबोरो सल्काई । ऊ अरूभन्दा धेरैअघि हिंड्न तयार भैहाली । हामी नेपाली साथीभाइको ग्रुप एकातिर झुप्प बसेका थियाँै । ३ सय रुपैयाँले एउटा मोबाइलमा पासवर्ड हालेर सबैले लग–इन गर्दै केही बेर चलाउँदै लग–आउट गर्दै फेरी अर्कोले चलाउँदै थियौ । आ–आफ्नो महत्व र व्यक्तित्वअनुसार कसैले फेसबुक, कसैले ट्विटर, कसैले इन्स्टाग्राम र एक जनाले टिकटक चलाए ।

बिहानको नौ बज्दैछ, तर हामीलाई भातको न्यास्रो लाग्न थालिसकेको थियो । कतै छाप्राछुप्री देख्यो कि पेटभरि भात बजाएर हिंड्न मन लाग्ने, किनभने त्यहाँबाट छुटिसकेपछि के भर खान पाइने हो कि होइन ? उजाड पहाड, सुनसान खोला, डरलाग्दो जङ्गल र चट्याङले चिरिएका भीमकाय रूखका ठुटाबाहेक देखिने केही छैनन्, तर यात्राका कुरा रसिक हुन्छन् ।

सम्झनामा यात्राका दु:ख निकै सुन्दर लाग्छन् । अमान्डाहरूले यात्राको मजालाई अझ उचाइमा पुर्‍याइदिन्छन् । मानव बथानको अग्रता लिँदै अमान्डा लम्की । हामी उसलाई भेट्न हतारियौं । उसको रफ्तारमा हिँडिरहन ठूलै इच्छाशक्ति चाहिन्छ । उसकै संगतको लोभले मलाई त्यो शक्ति आएजस्तो भयो । उसको तौल मेरोभन्दा दुईगुना थियो, वेग मेरोभन्दा दुई पाइला अघि । 

अमान्डासँग पिठ्युमा एउटा ब्याकप्याक छ । ब्याकप्याकको पछाडि पोर्टेबल सोलार प्यानल छ । त्यसले ऊ दिउँसोभरि हिँड्दा उसको पिठ्युँमा पर्ने जत्तिको घामको शक्ति सञ्चय गरेर ब्याटी्र चार्ज गर्छे । त्यो ब्याट्री ऊ बिहान र बेलुका टर्च बाल्न प्रयोग गर्छे । पहाडका माथिल्ला भागहरूमा बिजुली बत्तीको दु:ख छ भन्ने उसलाई थाहा छ । त्यो ब्याकप्याकको साइडमा पानीको बोतल छ । ऊ अरू पर्यटकजस्तो मूल्य तिरेर मिनरल वाटर खान्न । ऊ पहाड र खोल्साकै पानी त्यो बोटलमा हाल्छे, जसमा पराबैजनी किरण प्रयोग गरेर कीटाणु मार्ने प्रविधि छ । कम्मरमा बेल्ट लगाएझैं एउटा दुईमुखे ब्याग छ ।

एउटा मुखभित्र ह्यान्ड स्यानिटाइजर, नेपकिन र चकलेटबारहरू छन् भने अर्कोमा कुन्नी के छ । एक ठाउँमा नाक ठोक्किने उकालो सकेपछि भरियाहरूले पुठ्ठा अड्याएर भारी टेको लगाउने ठाउँ आइपुग्यो । एक ग्याङ भरिया पुन: उकालो लागे, त्यही ठाउँमा हामी फेरि पुठ्ठा अड्याउन पुग्याँै । उसले निहुरिँदै वरिपरिका चुइङ्गम र चाउचाउका फ्याँकिएका खोल हातले टिपी र कम्मरको दुईमुखे ब्यागमा हाली । 

मैले निधार खुम्च्याएर फोहोर फाल्नेमाथि आक्रोश पोख्नुअगावै उसले भनी, ‘रिसाउँदा हाम्रो मस्तिष्कले नकारात्मक हार्मोन निकाल्छ । त्यो हार्मोन शरीरभरि दगुर्छ । यसले हाम्रो शारीरिक एवं मानसिक दुवै अवस्थामा विचलन ल्याउँछ ।

फोहोर फालेर गल्ती अरू कसैले गरेको छ, सजाय किन तिम्रो मन र शरीरले भोग्ने ? त्यसका अतिरिक्त जसले फोहोर फालेको छ उसलाई तुरुन्त माफी दिने र उसको गल्ती सच्याउन प्रयास गर्ने ।’ उसले भनेझँै मैले पनि त्यस दिन हिँड्दा बाटोमा फेला परेका प्लास्टिकका टुक्रा बटुलेर राखँे । मलाई अगाध सुखानुभूति भयो र सकारात्मक सोचले मन पनि फुरुङ्ग, तर फेरि रिसले रन्का छुट्यो जब एउटा टी हाउसमा पुगेर त्यो फोहोर बिसर्जन गरेँ तब केही छिनमै पत्ता लाग्यो डोको भरिएपछि पर पहराबाट त्यो फोहोर गुल्टाइने रहेछ । सोचँे बिचरी अमान्डाले यो कुरा थाहा नपाएकै राम्रो । कत्रो आशले उसले यहाँसम्म फोहोर ल्याइपुर्‍याएकी थिई । 

पानीको युभी बोतल देखाउँदै उसले भनी, ‘सबै आगन्तुकले यस्तै भाडो प्रयोग गरे जताततै मिनरल वाटरका खाली बोतल फ्याँकिएको देख्नु पर्दैनथ्यो । एउटा फालिएको खोलले प्रकृतिमाथि गर्ने असर त अवर्णनीय छँदै नै छ, त्यसका अतिरिक्त त्यो फोहोर देख्ने कति मान्छेको दिमागमा त्यसले दिक्दारी पैदा गर्‍यो भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ । किन हामी आफू गल्ती गरेर प्रकृति र अरू धेरै जीवलाई सजाय दिँदैछौं ?’ वास्तवमै हामी प्रकृतिबाट यति धेरै चिज लिन्छौँ र बदलामा फोहोरबाहेक केही दिदैनौँ । दिने र लिने हात दोहोरो भए सम्बन्ध बढी दिगो र बलियो हुन्छ ।

थाहा भएर पनि हामी बुझ पचाएर हिँड्छाँै । हामी कालिज पोलेर खान्छौं, हिंड्नका लागि लौरा भन्दै सग्ला बिरुवा भाँच्छौं, माछा मार्छौं, कति चराका गुँड उगाल्छौँ, निउरो र कुरिलोका मुन्टा निमोठ्छौँ । हामी सबै  आनन्द प्रकृतिबाट लुट्छाँै  अनि एउटा बिरुवा रोप्नुपरे टल्कने सुट वा साडी लगाएर सामाजिक सञ्जालमा वृक्षारोपण भन्दै चर्को प्रचार गर्छौं । त्यो कुनै पौरख होइन, प्रकृतिमाथिको हाम्रो कर्तव्य हो । त्यसलाई प्रचार होइन निरन्तरता दिनु राम्रो हुन्छ । एक्लेभट्टी भन्ने ठाउँबाट अमान्डाले हामीलाई उछिन्न थाली । 

प्रकाशित :माघ ५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्