कोर्सका पुस्तकभन्दा दर्शन र धर्मका पुस्तक पढ्छु

- नरेन्द्र रौले

माघ ४, २०७५

कविका रूपमा देखा परेका सन्तोष लामिछानेले पहिलो उपन्यास अल्टिमेट आकाश बजारमा ल्याएका छन् । यसअघि उनको कविता–संग्रह ‘चामल खानेहरू र चौलानी पिउनेहरू’ प्रकाशित छ । अमेरिकाको विस्कन्सिन राज्यको म्याडिसन सहर उनको कर्मथलो हो । उनले अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिनमा पब्लिक पोलिसी अध्ययन गरेका हुन् । लामिछानेसँग साप्ताहिकका लागि नरेन्द्र रौलेले गरेको कुराकानी :

तपाईं लेखनमा कसरी प्रवेश गर्नुभयो ? 

म सानैदेखि कविता लेख्थें । कान्तिपुरको कोसेली, साप्ताहिक, गोरखापत्र संस्थानले निकाल्ने मुना पत्रिकामा मेरा कविता छापिएका छन् । कविताबाट कथा, निबन्धमा हात हालें । सन् १९९९ मा सेन्ट जेभियर्स कलेज माइतीघरमा आईएस्सी पढ्दा त्यहाँको साहित्यिक त्रैमासिक पत्रिका ‘प्रवाह’ को कार्यकारी सम्पादक बन्ने मौका मिल्यो । २००२ मा स्नातक गर्न अमेरिका आएपछि पढाई, काम गर्दै स्नातकोत्तर सकेपछि बल्ल सन् २०१४ मा पहिलो पुस्तक ‘चामल खानेहरू र चौलानी पिउनेहरू’ प्रकाशित गरें । 

स्कुल, कलेज पढ्दा जीवनमा के बन्ने सपना पाल्नुभएको थियो ?

म दार्शनिक बन्न चाहन्थें । आईएस्सी पढ्दादेखि अमेरिका अध्यनयका करिब १२ वर्षको समयमा आफ्नो कोर्सका पुस्तकभन्दा बढी मैले विविध दर्शन र धर्मका पुस्तकहरू पढें । 

लेख्न बस्दाका आनिबानीबारे बताइदिनुहोस् न । 

लेख्न वा पढ्न बस्दा म एकाग्र हुन्छु । एकान्त मन पराउँछु । प्राय: म सबै सोचिसक्छु र एकै बसाइमा लेखन पूरा गर्न रुचाउँछु । ‘अल्टिमेट आकाश’ कसरी लेख्ने होला भनेर मैले करिब तीन वर्ष सोचें, तर लेख्नचाहिं एक महिना मात्र लाग्यो ।

कुन समयमा लेख्न मनपर्छ ? 

राति सबै सुतेपछि ।

तपाईंको प्रिय विधा कुन हो ?

कविता ।

तपाईका प्रिय लेखकहरू को–को हुन् ?

कविमा दुर्गालाल श्रेष्ठ, भूपि शेरचन, लालगोपाल सुवेदी । आख्यानमा धनुषचन्द्र गोतामे, पारिजात, राजन मुकारुङ ।

अरूलाई कुन पुस्तक पढ्न सिफारिस गर्नुहुन्छ ?

दर्शनमा निसर्गदत्तको ‘आइ.एम. द्याट’, एकहार्ट टोलेको ‘द पावर अफ नाउ’ । साहित्यमा चाहिँ धेरै छन्, आ–आफ्नो रुचि हुन्छ, यसै भन्न सक्दिनँ । पछिल्लो समयमा नेपाली उपन्यासमा ‘दमिनी भीर’ मलाई मन परेको कृति हो । जगदीश घिमिरेको ‘अन्तर्मनको यात्रा’ र रमेशनाथ पाण्डेको ‘कूटनीति र राजनीति’ पनि मलाई खुब मन परेका पुस्तक हुन् ।

विदेशमा काम गर्दै लेख्न कत्तिको गार्‍हो हुन्छ ?

काम र पारिवारिक जिम्मेवारीले समय मिलाउन निकै मुस्किल हुन्छ 

लेख्नका लागी समय कसरी छुट्याउनुहुन्छ ? 

लेख्छु भनेर समय निकाल्ने भनेर योजनाबद्ध भएर मैले अहिलेसम्म लेखेको छैन । सायद व्यवसायिक लेखक नभएकाले होला । मनभित्रका भाव कहिलेकाहीं यसरी उर्लिएर आउँछन् कि लेख्ने समय कसरी–कसरी निक्लिदो रहेछ अनि लेखिसकेपछि लाग्छ आफूले लेखेको भन्दा पनि आफूद्वारा लेखाइएको हो कि ? अचम्म पनि लाग्छ ।

नेपालीले विदेशमा बसेर लेखेका पुस्तकमध्ये कुन–कुन उत्कृष्ट लागे ?

योगमाया, भाया साक्रा । अरू कति पुस्तक पढ्न चाहेर पनि पाउन सकेको छैन ।

अब कुन पुस्तक ल्याउने तयारीमा हुनुहुन्छ ?

अर्को उपन्यास लेख्न मनमै कथा रच्दैछु । यसका लागि अनुसन्धान पनि गर्दै छु ।

 

प्रकाशित :माघ ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्