शुक्रबार एक्लै गरुड पुराण

- साप्ताहिक संवाददाता

माघ ४, २०७५

अहिले नेपालमा कुनै पनि चलचित्रले एक्लै प्रदर्शन हुने अवसर पायो भने त्यसलाई निकै भाग्यमानी चलचित्र मानिन्छ । यदि राम्रो चलचित्र बनेको छ र शनिबार तथा शुक्रबार दर्शकलाई हलसम्म तान्न सक्यो भने अर्को चलचित्र प्रदर्शन हुने बेलासम्म उक्त चलचित्रले आफ्नो लगानी लगभग सुरक्षित गर्न सक्छ । यस्तै भाग्यमानी चलचित्र हो— गुरुड पुराण ।

माघ ४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने यो चलचित्रमा अभिनेता कर्मा शाक्यले दुई फरक भूमिका निर्वाह गरेका छन् । अभिनेताका रूपमा युवा भूमिका निर्वाह गरेका कर्मा प्रौढ भूमिकामा पनि देखिने खुलासा चलचित्रनिर्माण टिमले गरेको छ । चलचित्रका निर्देशक सुवास कोइरालाका अनुसार ‘गरुड पुराण’ मा कर्मा २५ वर्षीय तन्नेरीका रूपमा प्रेमीको भूमिकामा छन् । कर्माले यो चलचित्रमा ६० वर्षे वृद्धको भूमिकासमेत निर्वाह गरेका छन् । यद्यपि उनको प्रौढ चरित्रका बारेमा केही बताइएको छैन ।

गरुड पुराण हास्यप्रधान चलचित्र हो । यो चलचित्रमा कर्मासँगै नाजिर हुसेन, प्रवीण खतिवडा, कामेश्वर चौरसिया, लुनिभा तुलाधर, प्रियंका सिंह, कमल देवकोटा आदिले समेत अभिनय गरेका छन् । कसम नेपालको कथामा यो चलचित्रको पटकथा आकाश बराल, विनोद खतिवडाका साथै निर्देशक कोइरालाले तयार पारेका हुन् । यो चलचित्रमा सुसन प्रजापतिको छायांकन, कोसिस क्षेत्रीको संगीत तथा उज्ज्वल ढकालको सम्पादन छ । गरुड पुराणकी मुख्य नायिका प्रियंका सिंह नवोदित अभिनेत्री हुन् । उनी यही चलचित्रमार्फत नेपाली चलचित्रमा पदार्पण गर्दै छिन् । झन्डै ८० लाख रुपैयाँ लगानी भएको यो चलचित्र काठमाडौं तथा बाहिरका केही जिल्लामा समेत खिचिएको थियो । 

यसबीच चलचित्र ‘गरुड पुराण’ लाई केन्द्रीय चलचित्र जाँच समितिले बालबालिकाले आफ्ना अभिभावकका साथ हेर्न मिल्ने गरी ‘प्यारेन्टल गाईडेड’ (पिजी) सर्टिफिकेट दिएको छ । 

यो चलचित्रमा ब्यान्ड बाजा बजाउने एउटा समुह र उनीहरूको परिवारले गरेको संघर्षको कथामा केन्द्रित छ । ‘माघ महिना विवाहको मौसम भएको र यो चलचित्र बाजा बजाउनेहरूको कथा आधारित भएकाले यसलाई विवाहकै मौसम पारेर प्रदर्शन गर्न लागिएको हो । गरुड पुराणले दर्शकलाई पूर्ण मनोरञ्जन दिनेमा हामी विश्वस्त छौं ।’ निर्देशक सुवास कोइरालाले भने ।

प्रकाशित :माघ ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्