ट्रान्जिट बन्दै गौरीगन्ज

- अर्जुन राजवंशी

माघ ३, २०७५

 

झापाको गौरीगन्ज आपराधिक गतिविधिको ‘ट्रान्जिट प्वाइन्ट’ का रूपमा विकास हुँदै गएको छ । गौरीगन्ज क्षेत्रमा हत्या, अपहरण, शरीर बन्धक, चोरी, तस्करी, बलात्कारजस्ता घटनामा वृद्धि भएको छ ।

गत मंसिर २५ गते सात बर्षीय भारतीय बालकलाई अपहरण गरेको आरोपमा गौरीगन्ज गाउँपालिका–६ का एक दम्पतीसहित तीन जनालाई प्रहरीले पक्राउ गर्‍यो । पक्राउ पर्नेमा संघीय समाजवादी फोरमका नेता गौरीगन्ज–६, खजुरगाछीका ४७ वर्षीय बद्री यादव, ३१ वर्षीय बिटु भनिने श्रीप्रसाद मुखिया तथा श्रीप्रसादकी श्रीमती २७ बर्षीया अञ्जुदेवी मुखिया छन् । उनीहरूले भारतीय व्यक्तिको सहयोगमा बिहार राज्य सुपोल जिल्ला किसनपुर थाना चोहट्टा पञ्चायत ठाढीधता–२, पोस्ट मौजाहा निवासी मोहमद सद्दामका ७ वर्षीय छोरा महफुज आलमको अपहरण गरेको जिल्ला प्रहरी प्रमुख एसपी भीमप्रसाद ढकालले बताए । 

सुपोल जिल्लाकै राघोपुर थाना देवानगन्ज–२ स्थित मावली गाउँमा खेलिरहेका आलमलाई नामथर वतन नखुलेका दुई भारतीय नागरिकले मंसिर २० गते ललाइफकाइ मोटरसाइकलमा राखेर नेपालतर्फ ल्याएका थिए । 

उनीहरूले बालकलाई नेपालतर्फ मुखिया दम्पती र यादवलाई जिम्मा लगाएका थिए । ती बालकलाई उनीहरूले दुई दिनसम्म गौरीगन्जमै राखेको र त्यसपछि दमकस्थित देउराली होटलको कोठा नम्बर १०७ मा बन्धक बनाएर राखेको एसपी ढकालले बताए । बालकलाई अपहरण गरी उनीहरूले बालकको परिवारसँग १५ लाख भारतीय रुपैयाँ फिरौती माग गरेका थिए । उनीहरूले फिरौती रकम नदिए बालकको हत्या गरिदिने चेतावनीसमेत दिएको एसपी ढकालले बताए । घटनामा संलग्नहरूलाई पक्राउ गर्नुका साथै अपहरण गरी बन्धक बनाएर राखिएका बालकको सकुशल उद्धार गर्न सफल भएको एसपी ढकालले बताए । अपहरणमा संलग्न भनिएका बद्री यादव समाजवादी फोरमका तर्फबाट गत स्थानीय तहको निर्वाचनमा गौरीगन्ज गाउँपालिकाको अध्यक्ष पदका उम्मेद्वार थिए । 

कात्तिक १६ गते सीमावर्ती क्षेत्रको भारततर्फ गौरीगन्ज–२, केराबारीका ५५ वर्षीय अलकचन राजवंशीको शव फेला परेको थियो । परिवारजनसँग सम्पर्कविहीन भएको ५ दिनपछि स्थानीय बासिन्दाले सीमावर्ती भारतीय क्षेत्रको काँसघारीमा राजवंशीको हत्या गरी पुरेको अवस्थामा शव फेला पारेका थिए । बिहारको किसनगन्ज जिल्ला खरखरिया भन्ने स्थानमा ‘झारफुक’ गर्न गएका राजवंशी ५ दिनसम्म घर नफर्किएपछि परिवारका सदस्यले खोजतलास गर्ने क्रममा काँसघारीमा गन्हाएको अवस्थामा उनको शव फेला परेको थियो । भारतीय व्यक्तिहरूले नै उनको हत्या गरेर शव गाडेको हुन सक्ने मृतकका परिवारजनको आशंका छ । 

मंसिर १७ गते प्रहरीले गौरीगन्ज–२, बघाहाचौधरी बस्ने २० वर्षीय उपेन्द्र मिश्रलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गर्‍यो । मिश्रले २५ किलोमिटर टाढा दमक घर भएकी १८ बर्षीया शारीरिक अपांगता भएकी युवतीलाई गौरीगन्ज लगेर बलात्कार गरेको प्रहरीको आरोप छ । राम्रोसँग बोल्न नसक्ने अपांगता भएकी युवतीलाई मिश्रले ललाइफकाइ गौरीगन्ज लगेर रातभर बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

कात्तिक १३ गते प्रहरीले भारत पश्चिम बंगाल उत्तर दिनाजपुर जिल्लाको इस्लामपुर ग्राम पञ्चायत थाना बस्ने २० वर्षीय कृष्ण रोयलाई चोरी गरेको आरोपमा पक्राउ गर्‍यो । प्रहरीका अनुसार रोयले १२ गते राति गौरीगन्ज बजारस्थित लक्ष्मी मोबाइल सेन्टरबाट ५५ थान साधारण मोबाइल, २५ थान एन्ड्रोइड मोबाइल, २ थान ल्यापटप, ४० थान मोबाइलका ब्याट्री, ५ थान बनाउन राखिएको मोबाइल सेट, १ थान इन्टरनेट राउटर तथा नगद ३५ हजार रुपैयाँ चोरी गरेका थिए । उनले दिउँसो चोरी गर्ने स्थान पत्ता लगाएर राति पछाडिको पर्खाल भत्काएर चोरी गरेको बयान प्रहरीलाई दिएका थिए ।

भदौ २६ गते दमकका कपडा व्यवसायी ३८ बर्षीय खेमराज पौडेलको आफ्नै साझेदारबाट वीभत्स हत्या भयो । स्थानीय बासिन्दाले गौरीगन्ज ६ देवीगन्जस्थित नेपाल–भारत सीमा नजिक खेतको नालामा पौडेलको विभत्स शव देखेका थिए । उनको घाँटी, छाती, पाखुरा, पिढ्युसहित शरीरका विभिन्न भागमा धारिलो हतियारले काटेको गहिरो चोट थियो । पौडेलको गौरीगन्ज–६ का २८ वर्षीय सद्दाम हुसेनले हत्या गरेको स्वीकार गरेका छन् । पौडेलको पसलबाट उधारो कपडा लगेर गौरीगन्ज क्षेत्रमा व्यापार गर्ने हुसेनले बाँकी रहेको पैसा लिन बोलाएर पौडेलको हत्या गरेका थिए । 

भदौ १० मा प्रहरीले भन्सार छलेर चोरी तस्करीको माध्यमबाट सुर्ती भित्र्याएको आरोपमा गौरीगन्ज–२, केराबारीकी २५ वर्षीया मुना राजवंशीलाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार उनले भारतबाट चोरी निकासीको बाटो प्रयोग गरि सुर्ती भित्र्याउने गरेकी थिइन । प्रहरीले विशेष सूचनाका आधारमा पछ्याउँदा मोटरसाइकलमा एक बोरा सुर्ती लोड गरी नेपाल भित्र्याइरहेको अवस्थामा राजवंशीलाई पक्राउ गरिएको थियो । 

गत साउन ९ गते प्रेमिकाले भेट्न नमानेपछि भारत बिहार किसनगन्ज जिल्ला दिगलबैंक गाउँ पञ्चायत–२ का २५ वर्षीय ओमप्रसाद सिंहले गौरीगन्ज ३ का १० वर्षीय बालक सुजन ताजपुरियालाई बन्धक बनाई हत्याको प्रयास गरेका थिए । भारतीय युवक सिंहले घाँटीमा चक्कु राखेर बन्धक बनाएका बालकलाई प्रहरीले घाइते अवस्थामा उद्दार गरेको थियो ।

 

प्रकाशित :माघ ३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्