सक्किगो नि !

- रामजी ज्ञवाली

माघ २, २०७५

मानिसका आ–आफ्नै दु:ख छन् । कसैलाई नभएर दु:ख, कसैलाई भएर, कसैलाई नपुगेर दु:ख, कसैलाई पुगेर । हास्य टेलिश्रृंखलाबाट परिचित कुमार कट्टेल अर्थात् जिग्री ब्रोले नाम र दाम दुवै कमाएका छन् । उनका फ्यान फलोईङ टन्नै छ । उनलाई के–को दु:ख होला ? कुमार कट्टेल यसै साता रामजी ज्ञवालीसँग गफिए ।

दिनहरू कसरी बिताउँदै हुनुहुन्छ ?

बिहान उठेदेखि साँझ सुत्ने बेलासम्म विभिन्न काममा व्यस्त हुन्छु । हिजो भद्रगोल मात्र थियो, अहिले चारखालमा यो रेस्टुराँ चलाउन थालेका छौं । चाँडै क्रिकेट स्टेडियमको काम पनि सुरु हुँदैछ । मैले कल्पना गरेको क्रिकेट स्टेडियमको काम धुर्मुस–सुन्तली फाउन्डेसनमार्फत अघि बढ्दैछ । त्यसबाहेक मेरा दाजुभाउजूले निर्माण गर्न लागेको चलचित्रको स्क्रिप्टको काम पनि हेरिरहेको छु ।

भनेपछि दु:खै रहेछ ?

यति दु:ख नगरे त सुख कहाँ पाइन्छ र ?

भद्रगोल टिमले चलचित्र निर्माणमा पनि हात हाल्दैछ भन्ने कुरा सही हो ?

सही हो । हामी चाँडै चलचित्र घोषणा गरी छायांकनमा जाने तयारीमा छौं ।

त्यो कस्तो चलचित्र हुनेछ ?

सामाजिक कमेडी ।

बजारमा यस्ता चलचित्र चलेका आधारमा त्यस्तै विषय छान्नुभएको हो ?

किन ढाँट्नु ? अहिले हास्य चलचित्रको बजार राम्रो छ । त्यही भएर यता हात हाल्न लागेको हो ।

माघ लाग्दैछ, विवाह गर्ने बेला भएन ?

तपाईंले भनेको कुरा ठीकै हो, तर कहिले हुन्छ ठ्याक्कै भन्न सक्दिनँ ।

फेला त पार्नुभएको होला ?

भेटिएकी छैनन् । भेटिइन् भने जानकारी गराइहाल्छु ।

तपाईंकी ड्रिम गर्ल कस्ती छिन् ?

मसँग जिन्दगी बिताउन सक्नुपर्‍यो । मेरो पारिवारिक एवं व्यवसायिक सबै जिम्मेवारीमा एडजस्ट हुनुपर्‍यो । त्यति भए, भैगो नि, अरू के चाहियो र ?

बिहान कति बेला उठ्नुहुन्छ ?

ढिलो सुत्ने बानी छ । सधैं जसो १–२ बजे सुत्छु । त्यसैले उठ्न ढिलो हुन्छ । अझ यो जाडोमा त बिहान १० बजेसम्म सुतिन्छ ।

खाना घरमै खानुहुन्छ कि बाहिर ?

मन पर्ने खाना त घरकै हो । आमाले बनाएको खानाको त वर्णन नै गर्न सक्दिनँ । यद्यपि कामका कारण प्राय: बाहिरकै खाना खानुपर्छ ।

कस्तो खाना मन पर्छ ?

टिपिकल दाल, भात, तरकारीसँगै थोरै चटनी ।

चिया–कफी के पिउनुहुन्छ ?

कालो चिया पिउने बानी छ ।

जाडो मौसम छ, गर्मी मन पर्छ कि जाडो ?

गर्मीमा जाडो मन पर्छ, जाडोमा गर्मी, तर दुवैलाई दाँज्ने हो भने जाडोनै मन पर्छ ।

तपाईंले बोल्ने थेगो सक्किगो नि निकै हिट भयो, यसको आइडिया कसरी आयो ?

भद्रगोलको सुटिङ भैरहेको थियो । सुटिङ सकिनै लाग्दा अन्तिममा अन द स्पट सक्किगो नि भन्दिएछु, सबैले दामी भो भन्नुभयो । त्यो दृश्य जस्ताको तस्तै प्रसारण भयो । मिस्टेकमा बोलिएको त्यो शब्द यति हिट भयो कि, अचम्मै लाग्यो । त्यसपछि सक्किगो निको गीतै बन्यो, जसलाई सबैले गुनगुनाउँदै हिँडे ।

प्रकाशित :माघ २, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्