ग्रासरुट क्रिकेट सिकाउँदै स्टिभ 

- स्वस्तिक श्रेष्ठ

माघ १, २०७५

कपिलवस्तु बहुमुखी क्याम्पस परिसरको खेलमैदानमा अस्ट्रेलियाका स्टिभ एल रोबर्ट कपिलवस्तुका विभिन्न विद्यालयका केटाकेटीहरूलाई समेटेर क्रिकेट सिकाइरहेका छन् । अहिले उनी क्याम्पसको मैदानलाई क्रिकेट खेल्न र सिक्न मिल्ने गरी सम्याउन जुटेका छन् । ‘मैदानको पूर्वतर्फ दुईवटा ट्रेनिङ नेट बनाउने तयारी छ,’ रोबर्टले भने । रोबर्टले कपिलवस्तुस्थित निर्भाना क्रिकेट क्लबमार्फत खेल पूर्वाधार र उमेर समूहका खेलाडीलाई एक वर्षदेखि प्राविधिक सहयोग गर्दै आएका छन् । उनले क्लबमा रहेका १० छात्रा एवं ३५ छात्र गरी ४५ जनालाई जर्सी तथा खेलकुद सामग्रीसमेत उपलब्ध गराएका छन् । नेपाल क्रिकेट संघ (क्यान) अहिले निष्क्रिय अवस्थामा छ । क्रिकेट खेलको गतिविधि शून्यको स्थितिमा छ । यस्तो अवस्थामा एक जना विदेशीले नेपाली क्रिकेटमा योगदान पुर्‍याउनु निश्चय नै प्रशंसनीय छ । 

सामाजिक सञ्जालमा नेपालको क्रिकेटका सम्बन्धमा सुनेका रोबर्ट नेपालमा क्रिकेटको राम्रो सम्भावना भएको बताउँछन् । यहाँको हावापानीसमेत क्रिकेट खेललाई साथ दिने खालको भएको उनले बताए । रोबर्टको पहलमा अहिले कपिलवस्तु बहुमुखी क्याम्पसको मैदानमा २२ यार्डको पिच निर्माण भैरहेको छ, जहाँ अत्याधुनिक बलिङ मेसिन जडान गरिनेछ । एक जना साथीसँग घुम्न आउँदा नेपाली क्रिकेटका बारेमा बुझ्ने अवसर पाएका रोबर्टले यसअघि बर्दिबासमा बर्दिबास नोबेल एकेडेमीलाई ग्रास रुट क्रिकेटका लागि सहयोग गरिसकेका छन् भने दाङमा समेत ग्रास रुट क्रिकेटका लागि आवश्यक सहयोग अघि बढाएका छन् ।

कुनै समय क्रिकेटका बारेमा अनभिज्ञ रोबर्ट अहिले भने यही खेलको विकास एवं प्रचारमा सक्रिय छन् । प्रिन्टिङ, रेसिङ कार एवं प्रोपर्टी किनबेचको काम गर्दै आएका रोबर्टमा क्रिकेटप्रति रुचि जगाउने काम उनका छोराले गरेका हुन् । रोबर्टले अस्ट्ेरलियामै क्रिकेट कोचको तालिम लिएका छन् । लेभल–२ सम्मको तालिम पूरा गरेका रोबर्ट अहिले क्रिकेट सिकाउन र चिनाउन जुटेका छन् । नेपालमा क्रिकेटको क्रेज धेरै भएको र युवाहरूमा समेत राम्रो लगन देखेको उनी बताउँछन् । नेपालका ७७ वटै जिल्ला घुम्ने र क्रिकेटका लागि आवश्यक पूर्वाधार एवं प्राविधिक सहयोग गर्ने चाहना राख्ने रोबर्ट राष्ट्रिय टिमका लागि खेलाडी उत्पादन गर्ने काम ग्रास रुट लेभलबाट मात्र सम्भव हुने बताउँछन् ।

 हरेक खेलमा समान अवसरको खाँचो रहेको बताउने रोबर्ट उमेर समूहको खेलाडीलाई साथ दिनुपर्ने बताउँछन् । पुरुष–महिला सबै खेलाडीले समान अवसर पाउनुपर्छ, –उनले बताए । रोबर्ट निकट भविष्यमा तीन जना अन्तर्राष्ट्रिय प्रशिक्षक तथा क्रिकेट खेलाडीलाई नेपाल ल्याएर युवाहरूलाई क्रिकेट सिकाउने योजनामा छन् । त्यसका लागि कुबेतका क्रिकेट प्रशिक्षक मेरियन ओभा, अस्ट्रेलियाका ग्लेन म्याक्सवेल तथा प्रशिक्षक रिचर्ड नेपाल आएर सहयोग गर्न तयार रहेको उनले बताए । 

प्रकाशित :माघ १, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्