क–कसको हुँदैछ विवाह ?

- साप्ताहिक संवाददाता

पुस ३०, २०७५

अघिल्लो वर्ष बलिउड विवाहमय रह्यो । चर्चित अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोन्स, रणवीर सिंह र दीपिका पादुकोण, सोनम कपुर र आनन्द आहुजा, हास्यकलाकार कपिल शर्मा र गिन्नी चतुरथ आदिले विवाह गरे । २०१९ मा पनि बलिउडका केही चर्चित सेलिब्रेटीको विवाह हुने प्रवल सम्भावना छ ।

यो वर्ष अभिनेता बरुण धवन तथा नताशा दलालको विवाह हुने आँकलन गरिएको छ । वरुण र नताशा केही वर्षदेखि प्रेममा छन् । त्यसो त वरुणले हालै एक म्यागजिनसँगको अन्तर्वार्ताका साथै करण जोहरको कफी विद करणमा आफ्नो विवाह हुने सम्भावना व्यक्त गरेका थिए । वरुण र नताशा स्कुल उमेरदेखि नै एकअर्काको प्रेममा रहेको बताइन्छ । 

अघिल्लो वर्ष सर्वाधिक हिट चलचित्र दिएका अभिनेता रणवीर कपुर र आलिया भट्टले यो वर्ष विवाह गर्ने सम्भावना देखाएका छन् । आलियाका बुवा महेश भट्टले पनि उनीहरूलाई ग्रिन सिंग्नल दिइसकेका छन् । आलिया अहिले कपुरको परिवाससँग निकै नजिक भएको बताइन्छ । केही साताअघि मात्र आलिया रणवीरका बिमारी बुवा ऋषि कपुरसँग भेट्न न्युयोर्क पुगेकी थिइन् । बलिउडमा लभवर्डको उपमा पाएको यो जोडीले फुर्सदमा सँगै समय बिताउने कुरा बताइसकेका छन् ।

अली झजल र ऋचा चड्डाको विवाह पनि यसै वर्ष हुने प्रबल सम्भावना छ । द फुकुरेका अलि ऋचासँग एक वर्षदेखि गहिरो प्रेम सम्बन्धमा रहेको भारतीय सञ्चारमाध्यमले खुलासा गरेका छन् । उक्त चलचित्रको सेटमा भेट भएका उनीहरूको सम्बन्ध त्यसपछि निरन्तर झाँगिदै गएको छ ।

बलिउडमा पछिल्लो समय चर्चामा आएका अभिनेता राजकुमार राव र पत्रलेखा झन्डै ५ वर्षदेखि प्रेमसम्बन्धमा छन्, राजकुमार पत्रलेखाको सिउँदोमा सिन्दूर हालेर चाँडै आफ्नो बनाउन चाहन्छन् तर पत्रलेखाले केही समय कुर्न आग्रह गरेपछि उनी चुप थिए । उनीहरू पनि चाँडै वैवाहिक बन्धनमा बाँधिन चाहन्छन् । मिडियामा खुलेरै आफ्नो सम्बन्धका बारेमा बताउँदै आएका उनीहरूले सामाजिक सन्जालमा आफ्ना तस्बिर राख्नेदेखि फुर्सदमा सँगै समय बिताउने गरेका छन् ।

नरगिस फाखरी र मत एलोन्जो पनि वर्ष २०१९ मा विवाह बन्धनमा बाँधिने सम्भावना छ । उनीहरू एक म्युजिक भिडियोका क्रममा नजिक भएका थिए । अमेरिकी निर्देशक तथा भिडियो एडिटर एलोन्जो र नरगिस २०१७ देखि प्रेममा छन् । उनीहरू अमेरिकाको लसएन्जलसमा सँगै बस्छन् ।

२०१८ मा सर्वाधिक चर्चामा रहेको जोडी हो, अर्जुन कपुर र मलाईका आरोरा । उनीहरू पनि यो वर्षदेखि एक्लो जीवनमा पूर्ण विराम लगाउँदै अघि बढ्न चाहन्छन् । केही महिनादेखि उनीहरू पारिवारिक हिसाबले समेत नजिकिएका छन् । मलाइका अर्जुनको घर जाने गरेकी छिन् भने अर्जुन मध्यरातमा पनि मलाइकाकै घरमा देखिन्छन् ।

त्यस्तै, अरबाज खान र जर्जिया अन्ड्रिईको पनि विवाह हुने सम्भावना छ । केही समयदेखि डेटमा रमाइरहेको यो जोडी विवाह गर्ने सोचसम्म पुगिसकेको बताइन्छ । मलाइकाले डिभोर्स दिएपछि अरवाजले जर्जियाको मुटुमा सेफ ल्यान्डिङ गरेका हुन् । उनले आफ्नो यो सम्बन्धलाई जसरी पनि जोगाउन खोजेका छन् ।

भारतीय अभिनेत्री सुस्मिता सेन तथा रोहन सावल पनि प्रेम सम्बन्धमा परेको धेरै भैसकेको छ । भारतीय मिडियाको दाबीलाई मान्ने हो भने उनीहरूले यही वर्ष विवाह गर्ने सम्भावना छ । बलिउडमा आबद्ध सिवानी डन्डेकार र फरहान अख्तर, सिना बजाज र रोहित पुरोहित, यामी ज्याकसन र जर्ज, पूजा बनर्जी र कुनाल वर्मा, सुवुही जोशी र सिद्धार्थ सागर, अस्मित पटेल र मेहेक चावला, इलिजा डी क्रुज र अन्ड्ेरउ नेवन पनि यही वर्ष विवाह–बन्धनमा बाँधिन सक्छन् ।

 

प्रकाशित :पुस ३०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्