गहिरो प्रेममा परेको छैन : स्वप्न सुमन

- रामजी ज्ञवाली

पुस ३०, २०७५

 

‘‘म आर्मी स्कुलमा पढ्थें । बुबाआमाले त्यहाँको सिस्टम सिक्छ, डिसिप्लेनमा रहन्छ र आर्मी बन्न आवश्यक जानकारीहरू राख्छ भन्ने सोच्नुभएको थियो, तर म उहाँहरूले सोचेजस्तो आर्मी भइनँ । एसएलसीपछि मैले उहाँहरूले अपेक्षा गरेजस्तो साइन्स पढ्नतिर नलागेर होटल म्यानेजमेन्ट पढेँ । उहाँहरूको सपना भताभुङ्ग भयो । म सानैदेखि गीत गाउँथें । ठूलो भएपछि नेपाली संगीतमा केही गर्छु भन्ने थियो । म एसएलसीपछि गायनमा लागेको हुँ, तर मैले यो सपना त्यतिबेला बुनेको थिइनँ ।’’  

 

अहिलेका युट्युब सेन्सेसन हुन्– स्वप्न सुमन । स्वप्न प्रेमगीत लेख्छन् र गाउँछन् । गायनमा अहिलेसम्म चलेका धारभन्दा अलिकति फरकपन दिएका कारण उनी युवापुस्ताको मन जित्न सफल छन् । स्वप्नको उदय अलि फरक खालको छ । पहिलो सोलो गीत के साह्रो राम्री भा’की... बाट पाएको सफलताले उनलाई धेरै दर्शक/श्रोतामाझ चिनायो । उनको स्टारडम निर्माणको गतिवान उडान देखेर नेपाली संगीत क्षेत्रमा लामो समयदेखि आधिपत्य जमाइरहेकाहरूसमेत चकित भए । उनका कफी सङ, ए हेलो, कसरी भनूँ, म तिम्रो आदि गीत रेकर्डेड छन् । स्वप्न अहिले चलचित्रमा समेत स्वर दिन थालेका छन् ।

सञ्चारमाध्यमसँग खासै नबोल्ने, व्यक्तिगत जीवनलाई व्यक्तिगत ढंगबाटै चलाउन खोज्ने उनको स्वभावकै कारण हुनुपर्छ, उनी सञ्चारमाध्यममा त्यति देखिँदैनन् । गायक स्वप्न सुमनसँग साप्ताहिकका लागि रामजी ज्ञवालीको कुराकानी :

मिडिया र फ्यानहरूले निरन्तर फलो गरिरहे पनि तपाईं त्यसको वास्तै गर्नुहुन्न भन्ने आरोप छ, कारण के होला ?

म बाल्यकालदेखि नै अलिकति अन्तर्मुखी स्वभावको व्यक्ति हुँ, तर अन्तर्मुखी हुँदैमा सबै कुरा लुकाएको छैन । यात्राका क्रममा भेटिएका प्रशंसकहरूसँग गफ गर्ने, तस्बिरहरू खिचाउने आदि काम गरिरहेको हुन्छु । मौका र संयोग मिल्यो भने अन्तरवार्ता पनि दिने गरेको छु, कसैसँग नबोल्ने र नभेट्ने कुरा यथार्थ होइन ।

तपाईंलाई मिडियामा आएर, अन्तर्वार्ता दिएर, पाठक अथवा आफ्ना प्रशंसकहरूको गुनासो मेटाइदिउँm भन्ने हुदैन ?

हो, एउटा कलाकार भएपछि सञ्चारमाध्यमसँग नजिकिनुपर्छ । सञ्चारमाध्यमले पाठक एवं प्रशंसकहरूका प्रश्नहरू उठाइरहेका हुन्छन् भन्ने त बुझेको छु, तर नढाँटीकन भन्ने हो भने सञ्चारमाध्यममा बोल्नका लागि मसँग खासै केही छ जस्तो लाग्दैन । 

अहिलेसम्म आफ्नै कम्पोजमा गीत गाउनुभएको थियो, पहिलो पटक अरू कसैको कम्पोजमा गीत गाउनुभएको छ । कस्तो लाग्दैछ ?

म सबै कुरामा पर्फेक्ट छु भन्नु हरेक व्यक्तिका लागि घातक हुन्छ । अहिलेसम्म अरूको कम्पोजमा गीत गाउने संयोग मिलेको थिएन । मैले सुरुदेखिनै आफ्नै कम्पोज र आफ्नै शब्दमा गीत गाइरहेका कारण अरूतिर चासो पनि भएन, तर अहिले चलचित्र ‘सय कडा दस’का निर्देशक रामशरण पाठकले गीतका लागि अफर गर्नुभयो र त्यसपछि मिटिङ बस्यौं । उहाँले एकपटक गीत सुन्नुहोस्, मन परे गाउनुहोस् नत्र नगाउनुहोस् भन्नुभयो । मलाई गीत राम्रो लागेपछि गाउन राजी भएको हुँ ।

तपाईंको स्वर मात्र पर्फेक्ट छैन, आकर्षक र फिजिकल फिटसमेत हुनुहुन्छ । चलचित्रबाट प्रस्ताव आउँदैन ?

नढाँटी भन्ने हो भने केही चलचित्रबाट अभिनयका लागि अफर आएको थियो, तर मेरो पेसा गायन हो । अहिलेसम्म आएका केही प्रस्तावमा मैले काम नगर्ने भन्दै पन्छिएको छु, तर अचम्मको कुरा के हो भने जति चलचित्रबाट प्रस्ताव आए, ती सबैमा मुख्य चरित्रका लागि प्रस्ताव गरिएको छ ।

भविष्यमा चलचित्रमा अभिनय गर्ने सम्भावना कति छ ?

भविष्य त कसैलाई थाहा हुँदैन, तर अहिले मैले गायनबाहेक अरू केही सोचेको छैन । 

स्वप्न सुमनको सांगीतिक यात्रा कसरी अघि बढ्यो ?

मेरो सांगीतिक यात्रा अचम्मको छ । मलाई गीत गुनगुनाउन त सानैदेखि मन लाग्थ्यो, तर कसरी गीत गाउने, कसरी दर्शकलाई सुनाउने, कसरी सेलिब्रेटी बन्ने आदि इत्यादि केही पनि थाहा थिएन । सुरु–सुरुमा फेसबुक चलाउने क्रममा गीत रेकर्ड गर्दै फेसबुकमा राख्न थालें । फेसबुकमा राख्दै जाँदा युट्युबका बारेमा जानकारी भयो । युट्युब र फेसबुकमा धेरैले मन पराएपछि अब गायक बनेर अघि बढ्नुपर्छ भन्ने सोचें । म सामाजिक सञ्जालमा प्राप्त प्रतिक्रियाबाट हौसिदै व्यवसायिक रूपमा गायन पेसामा लागेको हुँ ।

यो किसिमको स्टारडम कमाउँछु भन्ने कहिल्यै कल्पना गर्नुभएको थियो ?

म सैनिक पृष्ठभूमि भएको परिवारबाट आएको हुँ । म गायक बन्छु भन्ने कुरा आमा–बुबा र आफन्तले कसैले सोच्नुभएको थिएन । म आर्मी स्कुलमा पढ्थें । बुबाआमाले त्यहाँको सिस्टम सिक्छ, डिसिप्लेनमा रहन्छ र आर्मी बन्न आवश्यक जानकारीहरू राख्छ भन्ने सोच्नुभएको थियो, तर म उहाँहरूले सोचेजस्तो आर्मी भइनँ । एसएलसीपछि मैले उहाँहरूले अपेक्षा गरेजस्तो साइन्स पढ्नतिर नलागेर होटल म्यानेजमेन्ट पढेँ । उहाँहरूको सपना भताभुङ्ग भयो । म सानैदेखि गीत गाउँथें । ठूलो भएपछि नेपाली संगीतमा केही गर्छु भन्ने थियो । म एसएलसीपछि गायनमा लागेको हुँ, तर मैले यो सपना त्यतिबेला बुनेको थिइनँ ।

उहाँहरूबाट गाली खानुभएन ?

खाएँ नि † मेरी आमाले गाली गरे पनि मेरो इच्छामा रोक लगाउनुभएन । बुबा नेपालमा खासै नबस्ने कारण उहाँले खासै गुनासो गर्नुभएन ।

तपाईंलाई आफ्नै लोकप्रियताका बारेमा कत्तिको थाहा छ ?

म अपटुडेट भएर बस्दिनँ । आफैं काम गरिरहेको हुन्छु । कसले के भनिरहेको छ भन्ने खासै मतलब राख्दिनँ । मलाई के लाग्छ भने मैले जुन स्तरमा काम गरिरहेको छु त्यो सुरुवात हो । नेपाली संगीतमा एकदमै राम्रो काम गरिरहनुभएका धेरै हुनुहुन्छ । उहाँहरूले मैले भन्दा धेरै काम गरिसक्नुभएको छ । उहाँहरूलाई देख्दा म सुरुवातको अवस्थामा छु भन्ने लाग्छ ।

सानो छँदा कसका गीत धेरै गुनगुनाउनुहुन्थ्यो ?

त्यतिबेला मलाई नारायणगोपालका गीत अति नै मन पर्थे । उहाँका गीत सुन्दै र गाउँदै धेरै समय बिताएको छु ।

नेपालमा पछिल्लो पुस्ताका गायकहरूको निकै ठूलो चार्म देखिन्छ, पुराना कलाकारहरूलाई च्यालेन्ज भएको हो त ?

होइन, नारायणगोपाल, गोपाल योन्जनजस्ता वरिष्ठ कलाकारका गीत कहिल्यै पुराना हुँदैनन् । संगीत भनेको संस्कृति हो, यो परिवर्तन हुँदै जाने विषय हो । म के भन्छु भने पुराना कलाकारको आफ्नै ठाउँ छ, तर नयाँसँग प्रतिभाको एकदमै ठूलो भकारी छ । यो प्रमाणित पनि भैरहेको छ ।

जीवनप्रति कत्तिको खुसी हुनुहुन्छ ?

एकदमै खुसी छु । मैले जे गरिरहेको छु, त्यसमा खुसी लाग्छ । परिवारको इच्छाविपरीत संगीतमा आए पनि परिवारको साथ सधैं रह्यो । फर्किएर हेर्दा म आफ्नो जीवनप्रति निकै सन्तुष्ट छु ।

सामाजिक सञ्जालबाट उदाएर एकाएक चर्चामा आउनुभयो । यो स्थानसम्म आउन कति संघर्ष गर्नुपर्‍यो ?

सबै मानिसका आ–आफ्नै किसिमका कथा हुन्छन् । मेरा पनि केही कथा–व्यथा छन् । जब म गायक बन्छु भनेर पूर्ण रूपमा यसमा केन्द्रित भएँ, संघर्षको समय त्यसपछि सुरु भयो । 

गीत गाउन थालेपछि मलाई तनाव, स्ट्ेरस, एन्जाइटी सबै भयो । ११ कक्षा पढ्दा डिप्रेसनको सिकारसमेत भएँ ।

डिप्रेसन भएको कसरी थाहा पाउनुभयो ?

केही शंका लागेका कारण म डाक्टरलाई देखाउन गएँ । उहाँहरूले समस्या र समाधानको बाटो देखाउनुभयो । अन्तत: मेडिटेसन र विभिन्न उपचार गरेपछि निको भएँ ।

नेपालमा धेरै युवा डिप्रेसनमा परेका छन्, यो समस्या कसरी समाधान गर्न सकिन्छ ?

म जुन बेला डिप्रेसनमा थिएँ त्यतिबेला हप्तामा ६ दिन नै चौबीसै घण्टा स्टुडियोमा व्यस्त हुन्थें । नराम्रो कुरा सोच्ने समय नै थिएन । गीत रचना भए पनि, नभए पनि म केही न केही लेखिरहन्थें । केही न केही गाइरहन्थें । चलचित्र हेर्ने र मन पर्ने काममा ध्यान दिएपछि निको भयो । यदि यस्तो समस्या जो कसैलाई छ भने तुरुन्त डाक्टरको सल्लाह लिनुपर्छ । कुनै पनि कुरामा फोकस हुनुपर्छ । दिनदिनै राम्रो र सधैं नराम्रो भन्ने हुँदैन, सकेसम्म आफूलाई व्यस्त राख्न सक्नुपर्छ ।

गीत गायनका सुरुवातका के–के कुरा सम्झनुहुन्छ ?

म मध्यमवर्गीय परिवारको सदस्य हुँ । सुरुमा गीत गाउँदा पैसाको समस्या हुन्थ्यो । गीत रेकर्ड गर्नुपर्‍यो भने मसँग पैसा हुँदैनथ्यो । आमाले सहयोग गर्छु भने पनि मलाई चाहिएजति पैसा उहाँसँग हँुदैनथ्यो । आर्थिक समस्यासँगै के गरौं, कसो गरौं, कसरी अघि बढौं जस्ता विभिन्न समस्या बेहोरें । गीत गाएर पनि जीवन चल्छ भन्ने कुरा परिवारलाई बुझाउन समय लाग्यो । मैले गितार बोकेर हिँड्दा ट्यापे भयो, बिग्रियो भनेर गाउँभरि हल्ला हुन्थ्यो । गाउँमा कसैले यो कुरा भन्दा आमाको चित्त एकदमै दुख्थ्यो । मैले संघर्ष गर्न थालेको थिएँ, मलाई थाहा थियो, मेरो सपना सहजै पूरा हुन्छ भन्ने निश्चित थिएन । मेरो इच्छा र रहरकै कारण परिवार, समाज, कलेज र आफैसँग द्वन्द्व सिर्जना हुन थाल्यो । परिवारको इच्छाविपरीत काम गरेको थाहा हुँदा परिवारलाई रिझाउन सहज भएन । म के गर्दैछु, आफैलाई थाहा हुँदैनथ्यो । गायक बन्ने भन्ने थियो तर कहाँसम्म पुग्छु, कसरी निरन्तरता दिने भन्ने कुरामा अन्यौल थियो ।

युवतीहरूलाई कत्तिको जिस्क्याउनुहुन्छ ?

म त खासै त्यस्तो काम गर्दिनँ, तर साथीहरूचाहिँ जिस्क्याइरहन्छन् ।

एउटा कुरा नढाँटी भनिदिनुस् न । जिन्दगीमा कति युवतीसँग प्रेममा पर्नुभयो ?

सायद दुई जना थिए विगतमा, त्यो क्षणिक आकर्षण थियो कि जस्तो लाग्छ । गहिरो प्रेममा भने आजसम्म परेको छैन ।

अहिले प्रेममा हुनुहुन्छ कि हुनुहुन्न ?

छैन । अहिले म आफ्नो करिअर स्थापित गर्न खोजिरहेको छु ।

खानामा कत्तिको चुजी हुनुहुन्छ ?

छैन, सामान्य हो । दाल, भात तरकारी भए खासै केही चाहिँदैन ।

बिहान कतिबेला उठ्नुहुन्छ ?

५ देखि ६ बजेसम्म उठिसकेको हुन्छु ।

उठेपछि के गर्नुहुन्छ ?

सामाजिक सन्जालहरू चेक गर्छु । फोन चेक गर्छु, कसैको मिसकल छ भने अथवा कसलाई रिप्लाई गर्नुपर्‍यो भने कलब्याक गर्छु ।

पहिरनमा कत्तिको सचेत हुनुहुन्छ ?

ड्ेरसअपका बारेमा खासै सोच्दिनँ । मलाई मनपर्ने पहिरन भए जुनसुकै पनि लगाउँछु ।

सवारी कुन चढ्नुहुन्छ ?

मलाई स्कुटरनै सजिलो लाग्छ, चलाउन सजिलो, कुनै महत्वपूर्ण सामान राख्न पनि मिल्ने भएकाले स्कुटर नै चढ्छु । यद्यपि पछि एउटा कार किन्नुपर्छ भन्ने सोचचाहिँ पलाएको छ ।

लामो केश छ, स्याहार्न कत्तिको गाह्रो हुन्छ ?

गाह्रो त भैहाल्छ नि † यसलाई राम्रोसँग केयर गर्न सकिएन भने विग्रने सम्भावना हुन्छ । जाडो अथवा गर्मी, जहिले पनि यसलाई धुनुपर्छ । नियमित रुपमा केशमा स्याम्पु प्रयोग गर्दै आएको छु ।

प्रकाशित :पुस ३०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्