फिक्का लिगको तीतो सत्य

- साप्ताहिक संवाददाता

पुस २८, २०७५

नेपालमा लिग फुटबलको इतिहास निकै लामो छ । हामीकहाँ २०११ सालमा लिग सुरु भएको हो । अहिलेसम्म लिगका जति पनि संस्करण भए, ती सबै उत्तिकै गतिला भने हुन सकेनन् । केही लिग सर्वथा बिर्सनलायक रहे । यसैमा एउटा लिगको संस्करण रहनेछ, यसपटकको सहिद स्मारक लिग ए डिभिजन–२०७५ । यसपटकको लिग वास्तवमै फिक्का–फिक्का रह्यो । यसका उपलब्धि नगण्य रहे । त्यसैले जति–जति बेला यो लिगलाई सम्झिइनेछ, यो लिगको कमी–कमजोरीकै लागि सम्झिइनेछ । 

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले यसपटकको लिगलाई वार्म–अप लिगको संज्ञा दिए । उनको तर्क थियो, धेरै वर्षको अन्तरमा लिग भएकाले यसलाई वार्म–अप लिग भनिएको हो । साँच्चै यो त्यस्तै रह्यो, ख्याल–ख्यालको लिगजस्तो । यसपटकको लिगमाथि लाग्ने सबैभन्दा ठूलो आरोप हो, यो स्तरहीन हुनु । पूरा लिगका क्रममा कुनै पनि खेलले प्रतियोगिता स्तरीय रहेको प्रमाणित गर्न सकेनन् । 

यसको प्रमुख कारण थियो, रेलिगेसन नहुनु । लिगको सबैभन्दा ठूलो आधार नै बढुवा र घटुवा हुन्छ । यसपटकको लिगमा त्यही थिएन, त्यसैले यसको स्पष्ट प्रभाव प्रतियोगितामा देखियो । अंक तालिकाको पुछारमा रहेका केही क्लब, जस्तै एनआरटी, फ्रेन्ड्स र मछिन्द्रले सहभागिताका लागि मात्र प्रतियोगिता खेले । न त उनीहरूले प्रतियोगिताका लागि राम्रो तयारी गरे, न त राम्रा खेलाडी अनुबन्ध गर्नमै ध्यान दिए । रेलिगेसनको डर नभएपछि यस्तो हुनु स्वभाविक पनि थियो । 

सहभागी केही टिम त्यही कारणले उमेर समूहका खेलाडीमा मात्र निर्भर रहे । केही टिम यू–१८ भन्न लायक थिए । खास–खास प्रशिक्षकले त खुलेरै भने, रेलिगेसन नभएको लिग हुनाले हामीले राम्रो तयारी र टिमका लागि खासै ध्यान दिएनौं । त्यसैले त खेलहरू आकर्षक रहेनन् र नीरस सावित भए । खासमा भन्ने हो भने जुन दिन मनाङ मस्र्याङ्दीले लिग जितेको तय भैसकेको थियो, त्यही दिन लिगको औचित्य समाप्त भएको थियो । त्यसपछिका खेलहरू औपचारिकताका लागि मात्र खेलिएका थिए । प्रत्येक लिगले देशको फुटबललाई एउटा दिशा प्रदान गर्छ । केही खेलाडी अरू भन्दा ठ्याक्कै छुट्टिने गरेर अगाडि आउँछन् र आफूलाई अब्बल सावित गर्छन् । केही युवा र नयाँ खेलाडीको पनि उदय हुन्छ । यसपटकको लिगमा त्यस्तो केही पनि भएन् । मनाङले लिग जित्ने क्रममा हार्न जानेन् । यसको एउटा कारण बाँकी टिम कमजोर भएकाले नै हो, तर यसभित्र पनि अर्को तथ्य छ, यी कमजोर टिमविरुद्ध पनि मनाङको जित प्रभावशाली र आहा भन्ने लायकको थिएन । 

मनाङले अंक तालिकाका पुछारमा रहेका टिमविरुद्ध प्राप्त गरेको जित पनि संघर्षपूर्ण नै थियो । यसपटकको लिग कमजोर हुनुका पछाडि राष्ट्रिय टिमका अधिकांश खेलाडीको कमजोर प्रदर्शन पनि मुख्य कारकका रूपमा रह्यो । राष्ट्रिय टिमका अधिकांश खेलाडी मनाङ र थ्री स्टारमा थिए । एकाध अपवादलाई छाडेर अधिकांश खेलाडीले आफूले लगाउने राष्ट्रिय टिमको जर्सीप्रति न्याय गर्न सकेनन् । लिगका बाँकी खेलाडी सरह नै उनीहरूको प्रदर्शन पनि औसत नै रह्यो, कमजोर नै देखियो । 

यसपटकको लिगको अर्को एउटा ठूलो विशेषता रह्यो, विदेशी खेलाडीको प्रभाव । विभागीय तीन टिमले विदेशी खेलाडी ल्याउने त कुरै भएन, अन्यथा बाँकी सबै क्लब धेरै हदसम्म विदेशी खेलाडीमै निर्भर रहे, त्यसमा पनि अफ्रिकी खेलाडी । विदेशी खेलाडीको आगमनपछि त केही टिमको प्रदर्शनमा आकाश जमिनको परिवर्तन आयो । यद्यपि यी विदेशी खेलाडी पनि गतिला थिएनन् । कमजोर विदेशी खेलाडी नै हाम्रो लिगका केही खेलमा निर्णायक हुँदै दमदार देखिए । 

नेपालमा खेल्न जति पनि विदेशी खेलाडी आए, त्यसमध्ये अधिकांश भारतको प्रान्तीय फुटबलमा नबिकेर आएका हुन् । केही सय डलरमा खेल्ने विदेशी खेलाडीबाट कसैले राम्रो प्रदर्शनको अपेक्षा गर्नु पनि गलत थियो । यी सबै कारणले यसपटकको लिग वास्तवमै कमजोर सावित भयो । यसले अपेक्षाअनुसार नेपाली फुटबललाई कुनै दिशा दिन सकेन । भविष्यमा खराब लिगको उदाहरण दिन यसपटकको संस्करणलाई पनि सम्झिइनेछ, यसपटकको लिगको तीतो सत्य यही नै हो । 

प्रकाशित :पुस २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्