विश्वविजेता महेश्वर

- जनक तिमिल्सिना

पुस २८, २०७५

जब मलाई विश्वविजेता घोषित गरियो । अगाडि हेरें, त्यहाँ कोही पनि नेपाली देखिनँ । लगत्तै हाम्रो राष्ट्रिय गीत बज्न थाल्यो । श्याम श्रेष्ठले नेपाली झन्डा ओढाइदिए । रिप्ले भएझैं एकाएक पुराना कुरा  आँखामा सलबलाउन थाले । आमा, सहयोगी एवं प्रशंसकहरूलाई सम्झिएँ । मिस्टर वल्र्डमा सहभागी हुनुअघि फेसबुकमा गरेको पोस्टमा आएका हजारौं लाइक, कमेन्ट र विशहरू सम्झिएँ । आँखा टिलपिलाएर आँसु छचल्कियो ।

‘मिस्टर वल्र्ड बडी बिल्डर’ अर्थात् विश्वविजेता महेश्वर महर्जन विश्वस्तरीय प्रतियोगितामा आफूले स्वर्ण पदक जितेको सुन्दर क्षणको बयान शब्दमा गरिरहेका थिए । कुनै पनि नेपालीले विश्व खेलकुदमा स्वर्ण पदक जित्नु सपना हो, त्यही सपना पूरा गर्ने सौभाग्यशाली भए उनी । २०७५ मंसिर २९ गतेको त्यो ऐतिहासिक क्षण । थाइल्यान्डको च्याङमाई सिटीमा भएको १० औं विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्टस च्याम्पियनसिपमा च्याम्पियन घोषित भएसँगै ३५ वर्षीय महेश्वर महर्जन विश्वमञ्चमा नयाँ सम्भावनाका रूपमा उदाएका छन् । 

संसारभरका ५५ किलोदेखि १ सय किलोसम्म विभिन्न तौल समूहका विजेता खेलाडीहरूबीच प्रतिस्पर्धा गराएर त्यसको विजेतालाई ‘मिस्टर वल्र्ड बडी बिल्डर’ घोषित गरिन्छ । ४८ देश सहभागी उक्त प्रतियोगितामा महेश्वरले सबैलाई पछार्दै विश्व बडी बिल्डिङको मञ्चमा नेपाली झन्डा फहराएका हुन् । उक्त प्रतिस्पर्धामा भारत दोस्रो तथा सिंगापुर तेस्रो भएका थिए । विश्वविजेता भएसँगै महेश्वर निरन्तर सञ्चारमाध्यम एवं सार्वजनिक समारोहहरूमा व्यस्त छन् । सामाजिक सञ्जाल एवं फोनमा उनलाई बधाई दिनेहरूको ओइरो लागेको छ । त्यही व्यस्तताका बीच महेश्वर महर्जनले आइतबार विहान साप्ताहिकसँग झन्डै एक घण्टा गफिए ।

लामो संघर्ष र प्रतीक्षापछि प्राप्त ऐतिहासिक सफलताले उनलाई कस्तो अनुभव गराइरहेको छ ? ‘३ करोड नेपालीका लागि स्वर्ण पदक ल्याउन सफल भए,’ उनको अनुहार गौरवले फुल्यो, ‘यो नेपालको ऐतिहासिक सफलता हो । रमाइलो लागिरहेको छ ।’ महर्जन सम्भवत: यो स्तरको स्वर्ण पदक जित्ने पहिलो नेपाली खेलाडी हुन् । 

खेलकुदका सौखिन

२०४० सालमा काठमाडौंको ढोकाटोलमा मध्यवर्गीय परिवारमा जन्मिएका हुन्— महेश्वर महर्जन । बुवा नेपाल बैंकका जागिरे थिए । उनले स्थानीय गौरीशंकर माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा पूरा गरे । खेलकुदप्रतिको अभिरुचिकै कारण उनी विद्यालयले आयोजना गर्ने सबैजसो खेल गतिविधिमा संलग्न हुन्थे । बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन, भलिबलदेखि जम्प, कंगारु रेससम्म भाग लिएकै हुन्थे । ‘खेलकुद भन्नेबित्तिकै मेरो ध्यान तानिन्थ्यो, म लगभग सबै खेलमा सहभागी हुन्थे,’ उनले स्कुले दिन सम्झिए, तर बाल्यकालमा उनको सपना होटल क्षेत्रमा काम गर्ने थियो । 

होमल्यान्ड सेकेन्डरी स्कुलबाट २०५८ सालमा फस्ट डिभिजनमा एसएलसी उत्तीर्ण गरेका महेश्वरले पिपुल्स क्याम्पसबाट २०६० सालमा आईकम उत्तीर्ण गरे । त्यसपछि उनी मलेसियामा साढे दुई वर्षको होटल म्यानेजमेन्ट कोर्स गर्न चाहन्थे, तर झन्डै ५ लाख रुपैयाँ तिर्नुपर्ने उक्त कोर्सका लागि पैसा जुटाउन सकेनन् । त्यसपछि उनले शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातक गरे । 

त्यसअघि स्कुल जीवनका अन्तिम दिनहरू मै उनको बाटो अलि फरक भैसकेको थियो । कुरा सन् १९९७ हो, जतिबेला उनी मात्र १५ वर्षका थिए । महर्जन पहिलो पटक जिम जान थाले । फिटनेसतर्फ आकर्षित हुनुको कारण थियो— बुवा, दाजु तथा साथीहरूले जिममा गएर बनाएको शरीर । ‘जिम गरेपछि शरीर स्मार्ट, राम्रो र फिट देखिने,’ उनले कारण सुनाए, ‘टोलका दाइहरूले ठूलाठूला आम्र्स बनाएका 

थिए, म त्यही देखेर फिटनेसप्रति आकर्षित भए ।’

 

राष्ट्रिय प्रतियोगितामा नजर

महेश्वर सन् १९९९ मा युनिभर्सल जिममा प्रवेश गरे । त्यहाँ उनले १९९९ देखि २००३ सम्म जिम गरे । ‘सुरुमा म शरीर मेन्टेन गर्न र फिट रहन मात्रै जिम गएको थिए,’ महर्जन भन्छन्, ‘जब एक्ससाइज गर्दै गए, मेरो शरीर परिवर्तन हुँदै गयो ।’

सन् २००५ मा पहिलो पटक उनको जीवनमा युटर्न आयो । युट्र्न मेकर थिए— युनिभर्सल जिमका गुरु मोहनमान जोशी । उनले नै महेश्वरको शारीरिक बनावट देखेर सन् २००५ को राष्ट्रिय बडी बिल्डर प्रतियोगिता धर्मश्रीमा भाग लिन उक्साए । महेश्वर पनि त्यसका लागि तयार भए । उनले ७० किलो वर्गमा प्रतिस्पर्धा गरे । महर्जन सहभागी १७ जनामध्ये पाँचौं भए । ‘पहिलो प्रयासमै १७ जनामध्ये पाँचांैमा पर्न सफल भएपछि म अत्यन्तै उत्साहित भए,’ उनले भने, ‘केही नभए पनि १२–१३ जनालाई त पछारे भन्ने 

अनुभूति भयो ।’ 

त्यसपछि उनको बडी बिल्डिङ प्रतियोगिताको उडान अघि बढ्दै गयो । सन् २००६ मा मिस्टर हिमालयमा दोस्रो भएँ । खर्चको जोहो गर्न केही समय वैदेशिक रोजगारीमा गएपछि उनको बडी बिल्डिङ यात्रामा ब्रेक लाग्यो । यद्यपि विदेशमा पनि उनले जिम र बडी बिल्डिङलाई छोडेनन् । सन् २०१२ मा उनी पुन: बडी बिल्डिङको मञ्चमा देखिए । राष्ट्रियस्तरको १२ औं धर्मश्रीमा ७५ किलो वर्गमा उनले स्वर्ण पदक जिते । त्यसपछि पुन: वैदेशिक रोजगारीका सिलसिलामा दुबई पुगे ।

 

यु–टर्न 

दुबईको जागिर सकेर सन् २०१४ को मध्यतिर उनी नेपाल फर्किए । सन् २०१४ मा नेशनल वल्र्डवाइड बडी बिल्डिङ च्याम्पिनसीय (१३ औं धर्मश्री) मा स्वर्ण पदक जिते । राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शनकै कारण उनलाई नेपाल बडी बिल्डिङ एसोसिएसनका राजेशबाबु श्रेष्ठ, दिनेश राजभण्डारी, राजन श्रेष्ठ आदिले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन प्रोत्साहित गरे । उनी पहिलो पटक भियतनाममा भएको ४७ औं एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा सहभागी भए । त्यहाँ उनलाई सबै कुरा फरक लाग्यो । ‘उनीहरू र हामीबीच आकाश–पातालको फरक,’ महर्जन पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव सुनाउँछन्, ‘हाम्रो फिनिसिङ नै नआउने, उनीहरूको फ्याट बर्न भएर पूरा मसल्सहरू देखिने तर हाम्रो वाटर बडी देखिने ।’ 

त्यति बेला उनलाई लाग्यो— बडी बिल्डिङ भनेको नेपालीहरूका लागि रहेनछ । केही गर्न नसकिने रहेछ भन्ने विचार बोकेर उनी स्वदेश फर्किए । यद्यपि उनका शुभेच्छुकहरूले प्रेरित गर्न छाडेनन् । भन्थे, तिम्रो जिउको फर्म राम्रो छ, प्रयास गर्न नछाड, तिमी अवश्य सफल हुन्छौ । त्यही प्रेरणाकै कारण उनी बडी बिल्डिङमा निरन्तर सक्रिय रहे । सन् २०१४ मा भारतको मुम्बईमा भएको छैटौ मिस्टर वल्र्ड बडी बिल्डिङ च्याम्पियनसिपमा उनी ७० किलो तौल वर्गमा सातौं स्थानमा रहे भने सन् २०१५मा बैंककमा भएको सातौं मिस्टर वल्र्ड बडी बिल्डिङ च्याम्पियनसिपमा ७० किलो तौल वर्गमा चौथो स्थानमा उक्लिए । 

सन् २०१६ मा पाकिस्तानको लाहोरमा आयोजित साउथ एसियन बडि बिल्डिङ च्याम्पियनसिपमा उनले ७० किलो वर्गमा कांस्य पदक जिते । उनको खेल जीवनमा युटर्न ल्याउने काम भने सन् २०१६ को ५० औं साउथ एसियन बडी बिल्डिङ च्याम्पियनसिपमा भयो । महर्जनले ७५ किलो तौल वर्गमा स्वर्ण पदक जिते । त्यो उनको पहिलो ठूलो अन्तर्राष्ट्रिय सफलता थियो । प्राप्त नयाँ नतिजाहरूले उनमा आत्मविश्वास भर्दै गयो । ‘बडि बिल्डिङ नेपालीहरूका लागि होइन भन्ने सोच भएको मान्छे, प्राप्त सफलताहरू पछि माइण्ड मेकअप गर्दै गएँ,’ उनले भने । 

महर्जन तालिम एवं राष्ट्रिय प्रतियोगिताहरूमा निरन्तर क्रियाशील रहे । राष्ट्रिय प्रतिस्पर्धाहरूमा महेश्वरले आफ्नो तौल वर्गमा स्वर्ण पदक जिते पनि समग्रमा स्वर्ण पदक जित्न सफल हुन सकिरहेका थिएनन् । यसमा उनी स्वयंलाई अलि चित्त बुझेको थिए, तर जजहरूको निर्णयलाई उनले शीरोधार्य गरे । राष्ट्रिय मन्चहरूमा जित हात पार्न नसकेर निराशा छाइरहेको थियो । कतिपयले महेश्वरले टाइटल जित्न सक्दैन, उसका दिन सकिए पनि भने तर, धेरै प्रशंसकले अनेकन् प्रेरणादायी सुझाव दिइरहे । कतिपयले भने, ‘तिमीले अब अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरूमा पदक जितेर देखाउनुपर्छ ।’ यी सकारात्मक–नकारात्मक प्रतिक्रियाहरूलाई उनले आफ्नो उर्जा बनाए ।

 

खाडीदेखि कल सेन्टरसम्म 

जिम जान थालेसँगै उनले पकेटमनीका लागि काम पनि सुरु गरे । सुरुका दुई वर्ष जति प्रिन्टिङ लाइनमा काम गरे । त्यसपछि कार्गो एन्ड कुरियर्समा काम गरे । सन् २००९ मा खर्च जुटाउन साउदी अरेबिया गए । त्यहाँ उनले एक हजार रियालमा फिटनेस सेन्टरमा काम गरे । ‘त्यो बेला मासिक २२/२३ हजार हुन्थ्यो,’ उनले वैदेशिक रोजगारीको अनुभव साटे, ‘म्यानेजमेन्टमा इजिप्सियन, कामदारमा बंगलादेशीहरू थिए भने ट्रेनरमा प्राय: नेपालीहरू थिए । मअघि पाँच जना नेपाली थिए, म गरेर ६ जना भयौं । त्यहाँ हामी सिफ्टमा काम गथ्र्यौं ।’ 

मैले झन्डै डेढ वर्ष त्यहाँ बिताउदा नयाँ अनुभव मात्र हासिल गरिन्, तालिमसमेत लिए । साउदी अरेबियामा डेढ वर्ष बिताएपछि सन् २०११ मा उनी नेपाल फर्किए । नेपाल फर्किसकेपछि एक वर्ष त्यतिबेलाको स्पाइस नेपालको कल सेन्टरमा काम गरे । सन् २०१२ मा रामादा होटल एन्ड स्विटमा काम गर्न दुबई गएँ । पुराना मानिसहरूको तलब नबढाउने नयाँ मानिसहरूको तलब बढाउने किसिमको नीति भएपछि उनलाई चित्त बुझेन । म्यानेजमेन्टसँग गुनासो गरे । उनको तलब १ हजार २ सयबाट बढाएर १ हजार ५ सय दिराम बनाइयो, तर अरूको २ हजार ५ सयदेखि ६ हजार दिरामसम्म थियो । त्यसैले उनी राजीनामा गरेर सन् २०१२ मा नेपाल फर्किए । 

सन् २०१२ मा त्यहाँको म्यानेजमेन्ट परिवर्तन भएछ, नयाँ म्यानेजरले पहिलेका सबै म्यानपावरको प्रोफाइल हेरेको हुनुपर्छ, इमेलमार्फत मसँग सम्पर्क गरेर मलाई २ हजार दिराम तलब दिने खबर पठाए । त्यसपछि मैले त्यहाँ दुई वर्ष काम गरे । सन् २०१४ को मध्यमा नेपाल फर्किएपछि उनी पुन: बडि बिल्डिङमा सक्रिय भए । अहिले उनी नेपालमै साथीहरूसँग मिलेर दुई वटा फिटनेट सेन्टर चलाइरहेका छन् । 

एक दिनमै ३० अन्डा 

विश्वविजेता महेश्वर फुर्सदमा अंग्रेजी एक्सन चलचित्र हेर्छन् । अलि बढी समय भयो भने भ्रमणमा निस्कन्छन् । उनी हेटौंडा, वीरगन्ज, चितवन, पोखरा आदि ठाउँ पुगिरहन्छन् । महेश्वर केही हिन्दी तथा प्राय:जसो बडी बिल्डिङका मोटिभेसन सङ सुन्छन् । महर्जन भन्छन्– यस्ता गीतले इन्टरनल इनर्जी बुस्ट गर्ने काम गर्छन् । 

महेश्वरलाई मन नपर्ने खानेकुरा केही छैनन् । तै पनि, उनलाई सबैभन्दा मनपर्ने दालभात नै हो । गुलियो मन नपराउने महर्जन स्टीम गरिएको तीते करेला रुचिपूर्वक खान्छन् । ‘सबैभन्दा बढी खाने त दालभात नै हो,’ उनी भन्छन्, ‘कहिलेकाहीं दिनमै तीन पटकसम्म दाल–भात खाइरहेको हुन्छु ।’ 

बडी बिल्डिङको उनको छुट्टै फर्मूला छ । वर्कआउटका दौरान कार्डियो गर्छन् । त्यसपछि वेट टेनिङ गर्छन् । त्यसपछि उनी डाइटमा अन्डा, कुखुराको मासु आदि खान्छन् । एकछिन आराम गरेपछि फिजिकल ट्रेनिङ गर्छन् । साढे दुईदेखि तीन घण्टामा उनको विहानको वर्कआउट सकिन्छ । उनी हरेक साँझ वेट ट्रेनिङ गर्छन् । त्यसपछि जिउलाई फर्ममा ल्याउन १०–१५ मिनेट साउना र स्ट्रिम गर्छन् । त्यसले जीउ राम्रो बनाउनुका साथै अनावश्यक पानी बहिर फाल्छ । कट डाउनमा ४ देखि ६ महिनामा ४ महिनासम्म हप्ताको एकदिन मात्र साउना स्ट्रिम गर्छन्, डाइट पनि त्यही अनुसार मिलाउँछन् । अन्तिमतिर हप्ताको तीन चार दिन साउना बस्छन् । 

डाइटमा हरेक दुई घण्टामा उनको एउटा खाना हुन्छ । बिहान ६ बजे उठ्नेबित्तिकै ब्रेकफास्ट लिन्छन् । ब्रेकफास्ट वेटअनुसार फरक पर्छ । ७५ किलोको वेटअनुसार उनको ब्रेकफास्टमा पोर्क मिल थ्री स्पुन, विन्स (चना, केराउ आदि) एक गिलास, वोयल अण्डा सामान्यतया ४ देखि ५ वटा, माछा अथवा कुखुराको मासु र ब्ल्याक कफी हुन्छ । कार्डियो, हिप र एप्सको वर्कओभर सकिएपछि उनी जिममै त्यही खानेकुरा दोहोर्‍याएर खान्छन् । त्यसपछि लन्चमा उनी ब्राउन राइस, कुखुराको मासु तथा चम्सुर–पालुङ्गो खान्छन् । उनको चौथो खानाका रूपमा केरालगायतका फलफूल हुन्छन् । त्यसबाट पनि इनर्जी आएन भने उनी कफी पिउँछन् । त्यसपछि दुई तीन घण्टा आराम गर्छन् । दिउँसो तीन चार बजेतिर फोर्थ मिल लिन्छन्, जसमा बिहानैको मेनु हुन्छ, प्रोटिनबार आदि खानेकुरा थपिन्छन् । त्यसपछि वेट ट्रेनिङ गर्छन् । आफट्र वर्कआउट फिप्थ मिलका रुपमा उनी सामान्य खानेकुरा, सलाद र कफी खान्छन् । राति डिनरमा ब्राउन राइस, रोटी र ढिडोमध्ये एक तथा त्यसमा भेजिटेबल सलाद वा फ्रुट सलाद, कुखुराको मासु आदि खान्छन् । 

मानसिक रूपमा फिट हुनुका पछाडि उनको खेलप्रतिको अभिरुचि, सपनाका पछाडि दौडने र चुनौतीसँग लडन सक्ने बानी नै हो । उनी जुन कुरामा लाग्छन्, त्यसलाई पूरा नगरेसम्म विश्राम लिँदैनन् । खेलाडीका लागि बल्की र कटिङ फेज ६/६ महिनाको हुन्छ । बल्की चरणमा जे खाए पनि हुन्छ । कटिङ चरणमा ४ देखि ६ महिना कडा मेहनत हुने भएका कारण उनी बढी रिसाउँछन् । ‘कटिङ चरणमा उसिनेका खानेकुरा खाने, नो पार्टी नो ग्यादरिङ, नो मुभी केही पनि छैन लाइफमा,’ महर्जन थप्छन्– ‘जिम गर्‍यो, खायो, सुत्यो । एक दिन होइन, दुई दिन होइन, सधै त्यही । अन्तिम दुई महिना नुन र पानीसमेत कम गर्नुपर्छ, त्यसपछि मानिस बौलाइहाल्छ ।’ 

परिवारलाई आफ्नो प्रेरणाको स्रोत मान्ने महेश्वर आफ्नो आदर्श राजेशबाबु श्रेष्ठलाई मान्छन्, जसले उनलाई परेका बेला मानसिक एवं आर्थिक सहयोग गर्दै आएका छन् । त्यसो भए यी मिस्टर वल्र्ड बडी बिल्डरको सबैभन्दा खुसीको क्षण कुन होला त ? भन्छन्– ‘सन् २०१६ मा भुटानमा पदक जितेको क्षण र अहिले स्वर्ण पदक जित्दाको क्षण जीवनकै सबैभन्दा खुसीका क्षण हुन् ।’ 

सर्वाधिक ठूलो उपलब्धि 

आफूभित्रको सारा ऊर्जा लगाएर उनले १० औं विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनसिपका लागि तयारी थाले । ‘६ महिना समय थियो, राम्रो तयारी गर्ने अवसर पाए,’ महेश्वरले भने, ‘बडी भनेको आजको भोलि चेन्ज हुँदैन, मसल्स गेन तथा फ्याट बर्न हुन समय लाग्छ ।’ उनले बैंककबाट एभोकाडो, किबी, स्ट्रबेरी आदिका डाइट मगाए । झन्डै ७० देखि ८० हजार मासिक खर्च गरे ।

 ‘हाम्रो डाइट साधारण मानिसले खाने डाइटभन्दा अलि फरक हुन्छ,’ महर्जन भन्छन्– ‘त्यसैले डाइटमा मात्र सबै गरेर ८ देखि १० लाख रुपैयाँ खर्च गरे ।’ यस क्रममा उनले आफ्नो बैंंक ब्यालेन्स सके, त्यसपछि साथीभाइबाट सापटी लिए । राम्रो तयारीले प्रतिफल पनि राम्रै दिनेमा ढुक्क हुँदै उनी थाइल्यान्ड हान्निए । ‘इन्टरनेसनल मेडल टच नगरी नफर्कने वाचा गरेरै गएको थिए,’ उनले भने । कडा परिश्रम कै प्रतिफल मान्नुपर्छ, सिंगो देशलाई खुसी बाँड्दै उनी १० औं विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोटर््स च्याम्पियनसीपमा विश्वविजेता बन्न सफल भए ।

अब उनको ध्यान बडी बिल्डिङको सबैभन्दा ठूलो प्रतियोगिता मिस्टर युनिभर्समा छ । ‘त्यो सबैभन्दा ठूलो प्रतियोगिता हो, त्यसका लागि दसौं गुणा ठूलो खर्च चाहिन्छ,’ महेश्वर भन्छन्, ‘जुन सरकार र व्यवसायिक घरानाहरूले सहयोग गरे मात्र सम्भव छ ।’ उनले आफू २०२० को मिस्टर युनिभर्सको तयारीमा लाग्ने कुरा बताउँदै त्यसका लागि सरकारबाट सकारात्मक सहयोगको अपेक्षा राखेको बताए । ‘यो एकदमै सही समय हो,’ उनले भने, ‘यही खेलबाट नेपाल विश्वविजेता भएको छ, अब सरकारले गहिरो रूपमा ध्यान दिनुपर्छ । आशा गरेको छु, अब केही हुन्छ ।’

       तस्बिर सौजन्य महेश्वर महर्जन

प्रकाशित :पुस २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्