कि यो एउटा खुला चर्पी हो !

- किशोर नेपाल

पुस २८, २०७५

राजनीतिमा लागेको मानिस असल र ज्ञानी भएर मात्र पुग्दो रहेनछ, राम्रो देखिएर मात्र हुँदो रहेनछ, सुदृढ देखिएर मात्र पुग्दो रहेनछ । अब काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई नै हेरौं । मेयर पदमा चुनिएको पहिलो दिनदेखि नै उहाँलाई सहरको फोहोरले निरन्तर पछ्याइरहेको छ । उहाँ जता गए पनि फोहोरले उहाँको पिछा छाडेको छैन । अरू कुनै पनि विषयको वस्तुगत वा समष्टिगत विकास नभए पनि, राजधानी सहर समावेशी हुन नसके पनि एकताको प्रतीकका रूपमा फोहोरका डुंगुर थुप्रिन थालेका छन् । 

काठमाडौंका उपभोक्ताहरूले उत्पादन गरेको फोहोर फाल्ने ल्यान्डफिल साइटहरू भरिइसकेका छन् । अर्को ल्यान्डफिल साइट फेला परिसकेको छैन । स्थानीय विकासका लागि गठन भएको तथा जनताको दैलोमा आएको सिंहदरबारले फोहोरको समस्यालाई कसरी हेर्नेछ ? नागरिक समाजका कसैले पनि ल्यान्डफिल साइटहरू यति छिटै भरिने कल्पना गरेका थिएनन् होला । फोहोर दशकसम्म निरन्तर चलेको हिंसात्मक आन्दोलनभन्दा पनि प्रभावकारी भएछ । 

अचेल सहरमा पानी अनियमित भएको छ । पानीजस्तै फोहोर उठाउने काम पनि अनियमित छ । यसले धेरै सहरवासीको आँखा खोलिदिएको छ । जनता प्लास्टिकका थैलाहरू थोक भाउमा खरिद गर्न बजारतिर दौडिने गरेका छन् । फोहोर समाचारको विषय हुन सक्दैन । त्यसमाथि सहरका सबै मुख्य सम्पादकहरूको नाक साँझैदेखि पिनासले टालिएको हुन्छ । कुनै पनि सञ्चार प्रतिनिधिले फोहोरको संकटलाई समस्याका रूपमा उठाउने दायित्व बोध गर्नुपरेको छैन । मेयर साहेबको यात्रा फोहोरको डुंगुरबाटै सुरु भएकाले सहरमा फोहोरका डुंगुरहरूको उपस्थिति स्वाभाविक नै हो । 

संसारका सबै देश कतै न कतै संलग्न भैसकेको अवस्थामा मेयर साहेब संसारका सबै देशका नेताहरूको क्लबको बैठकमा सरिक हुन थाल्नुभएको छ । मोबाइल फोनको जमानामा प्रविधिका कारणले पनि हुने–नहुने कुरा भैरहेका हुन्छन् । जस्तो, मलामी गएका बेला हँसिलो र चहकिलो गीत बजिदिन्छ मोबाइलमा— त्यो आँखाले लौ न मलाई मार्‍यो, तिमी मलाई जिन्दगीमा कस्तो प्यारो । त्यस्तै भयो । 

मेयर साहेबले संसार घुमि सक्नुभयो र पनि आफ्नै सहर घुम्नुभएको छैन । आफैं जन्मिएको र खोपी खेलेर हुर्किएको सहर घुम्नु नै किन पर्‍यो र ? फोहोरको डुंगुर नेपाली राजनीतिको स्थायी र स्थिर तत्व बनिसकेको अवस्थामा राजधानी सहरमा त्यसले पार्ने प्रभावको आँकलन गर्नु सजिलो नभएको थाहा छ मेयर साहेबलाई । खास गरेर कम्युनिस्ट नेताहरूमा फोहोर र खराब भनिएका तत्वहरूसँग लडदै जाने अत्यन्तै सकारात्मक हुटहुटी देखिन्छ । हिजोको अवस्थामा नेता वामदेव गौतम पुष्पकमल दाहाल प्रचण्डका गृहमन्त्री थिए । अहिले पनि गृहमन्त्रीभन्दा कम छैनन् । नेपाली जनताको आचरणमा सुधार ल्याउन नाइट क्लबमा नाइटो हल्लाउने र जुवाघरमा जुवा खेल्ने प्रवृत्तिसँग लड्ने मनसुवाका साथ देखा परेका गौतम आफैं बेली डान्समा परेर पो कुरा बिग्रियो । 

साँच्चै हो । राजनीतिमा लागेका मानिस असल र ज्ञानी भएर मात्र पुग्दो रहेनछ । मेयर साहेब साँच्चै असल छन् । संवेदनशील र सजग, तर उनी जति असल र ज्ञानी छन् फोहोरका डुंगुरहरू त्यति नै थुप्रिइरहेका हुन्छन् । यतिबेला उनी फोहोरको थुप्रोमा बसेर फोहोरकै सामना गर्दैछन् । स्वदेशीले जे–सुकै भनून् । निर्वाचनमा कम्युनिस्टले जितेकै हुन् । उनीहरूको आशा राजधानी सहरमा थुप्रिएको फोहोरको डुंगुरमा पुरिनुभन्दा अगाडि नै केही गर्न नसक्ने हो भने त्योभन्दा लज्जाको विषय अरू के हुन सक्छ ?

सबैका लागि राम्रो देखियो अहिलेको फोहोरको अवस्था । नेताहरूले कति सुन्दर ढंगले बनाएछन् संविधान । आफ्नै अयोग्यता र अक्षमताका कारण अँध्यारोमा हराउँदै गएकाहरूलाई पद, प्रतिष्ठा र सम्मान दिने व्यवस्था गरेर नयाँ नेपालले इतिहासको जस्तो सम्मान गरेको छ त्यो संसारकै लागि एउटा उदाहरणका रूपमा स्थापित हुनुपर्ने घटना हो । नयाँ ल्यान्डफिल साइट भरिदैछ । यस्ता धेरै साइट भरिइसकेका छन् । भरिने क्रम जारी छ । जसरी झाडा–पखाला एक जिल्लावाट अर्को र अर्को जिल्लामा विस्तारित हुने गरेको छ, त्यसरी नै राजधानीमा काठमाडांैबाट ललितपुर, त्यहाँबाट भक्तपुर फोहोरको विस्तार हुँदैछ ।

फोहोरहरूको यही डुंगुरमा बसेर नेताहरूले नयाँ नेपालका लागि नयाँ संविधान निर्माण गरे । नयाँ संविधानको मूल आधार दह्रो छ । नेपालका सरकारहरूको आयु राजधानीका उपभोक्ताहरूद्वारा उत्पादित फोहोरको डुंगुरहरूले नै निर्धारित गर्छन् । जहाँ फोहोर छैन त्यहाँ राजनीति छैन । यो पनि हुन सक्छ कि ल्यान्डफिल साइटमा अझै केही हजार डंगुर फोहोर थुपार्ने क्षमता छ, तर यसका लागि नेकपा अध्यक्ष प्रचण्डको जुंगा हल्लिनुपर्छ । अर्का अध्यक्ष ओली त प्रम आफैं छन् । उनलाई जुँगा हल्लाउने फुर्सद नै छैन । प्रचण्ड स्वयंमा असल र सफा व्यक्तित्व हुन् । पछिल्लो समयमा उनी धेरै यस्ता विषयहरूसँग अभ्यस्त भए जसको आवश्यकता जनताले महसुस गरेका थिएनन् । उनी फोहोरको राजनीतिसँग पनि अभ्यस्त भैसकेका नेता हुन् । आशा गरौं, प्रधानमन्त्रीका रूपमा ओलीको वैधानिक मान्यता स्थापित गर्न जसरी उनले काम गरे त्यसरी नै मेयर साहेबले पनि ल्यान्डफिल साइटको पत्तो लगाउनेछन् । हाम्रा मेयर असल र ज्ञानी छन् । उनलाई हाम्रो सहरका बारेमा थाहा नभएर के भो त ? सहरले उनलाई राम्रोसँग चिनेको छ । 

मेयर साहेबले काठमाडौंमा मोनोरेल र मेट्रोरेल एक–दुई वर्षमा चलाउने आशय प्रकट गरेका छन् । मोनो वा मेट्रो, रेल एक–दुई वर्षमा बन्ला र ? ठेकदार चीनबाट ल्याउने हो भने पनि कुन्नि ? त्यतिन्जेलका लागि मेयर साहेबबाट कुनै अंग्रेज इतिहासकारले बनाइदिएको काठमाडौं सहरको ऐतिहासिक इमेज (कि, यो एउटा खुला चर्पी हो) बदल्न सक्रिय भैदिए राम्रो हुने थियो ।

 

प्रकाशित :पुस २८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्