सबैको आ–आफ्नै संकल्प

- मनोज गजुरेल

पुस २५, २०७५

बलियो सरकार भएका देशमा पनि सरकार हल्लाउन सक्ने विरोधी शक्ति हुन्छन् । शक्तिशाली कानुन भए पनि त्यसको उल्लंघन गर्ने उल्लंघनकारी भेटिन्छन् । जतिसुकै नैतिकवान् समाजमा पनि अनैतिकको उपस्थिति रहन्छ । नियम–कानुन हुँदाहुँदै किन त्यस्ता शक्तिहरूले शिर उठाउँछन् त ? जबसम्म मान्छे आफ्नो अन्तर्मनबाटै सुध्रन चाहँदैन ऊ जुनसुकै बेला उध्रिने खतरा रहन्छ । जति औषधी ख्वाए पनि जबसम्म बिरामीले म निको हुन्छु भन्ने दृढ आत्मविश्वास जागतृ गर्दैन ऊ कहिल्यै ठीक हुन सक्दैन । डाक्टर, वैद्य, धामी, झाँक्री जतिसुकै लगाउनुहोस्, बिरामीमा बाँच्नुपर्छ भन्ने इच्छा शक्ति छैन भने उपचारले मात्र केही गर्न सक्दैन ।

व्यक्ति आफैंले संकल्प नगर्ने हो भने न कानुनले उसलाई ठीक गर्न सक्छ न त समाजले उसलाई बदल्न सक्छ । आत्मसंकल्प नै आफू सुध्रिने र समाजलाई सुधार्ने उत्तम उपाय हो । अहिले अंग्रेजी नयाँ वर्ष चलिरहेको छ । यही अवसरमा तैंले, मैले, तिमीले, तपाईंले, हामीले एक–एकवटा संकल्प लिनुपर्छ । 

संकल्प मबाटै सुरु गरौं । म संकल्प गर्छु कि आफूले आफैंलाई कमजोर मान्नेछैन । अरूका कमी–कमजोरी औंल्याएर आफू चोखो बन्नेछैन । पारिवारिक, सामाजिक एवं राष्ट्रिय दायित्वलाई प्राथमिकताका आधारमा बहन गर्ने प्रयास गर्नेछु । 

म चाहन्छु, राष्ट्रका नेताहरूले पनि केही संकल्प गरून् । व्यक्तिभन्दा माथि संस्थालाई राखून् । संस्थाभन्दा माथि देशलाई राखून् । देशभन्दा माथि मानवतालाई राखून् । मानवताभन्दा माथि सिंगो प्रकृतिलाई राखून् । प्रकृतिलाई माया गर्ने मानिसले आफू, परिवार, समाज, राष्ट्र र विश्वलाई नै माया गर्न सक्छ ।

उद्योगी–व्यवसायीहरूले संकल्प गरून्, मानव हितविरोधी कारोबार गर्नेछैन । मानव स्वाथ्यसँग खेलवाड हुनेछैन । अप्राकृतिक मूल्य खडा गरेर जनताको ढाड सेक्नेछैन । कृत्रिम अभाव देखाएर जनतालाई दु:ख दिनेछैन । मुनाफा होस् तर नाफाखोर नबनियोस् । ट्याक्स छल्नु नपरोस् । नाफाको निश्चित प्रतिशत सेवामा लाउन पाईयोस् । प्रकृतिको नियम छ, जति बांड्नु हुन्छ, त्यति नै पाउनु पनि हुन्छ ।

नयाँ वर्षमा कर्मचारीहरूले पनि नयाँ संकल्प गरुन् । सेवा दिन सकियोस् । घूस खानु नपरोस् । पदभन्दा पहिचान राम्रो होस् । पावरभन्दा प्रेम बलियो बनोस् । खान पुगोस्, ढाँट्नु नपरोस् । राष्ट्रलाई दिन पाइयोस्, लिने लोभ नआओस् । प्रकृतिको नियम नै छ, माग्ने हातभन्दा दिने हात सधैं बलियो हुन्छ ।

पत्रकारिता पनि समाजको बलियो अंग हो । यो अंगमा कहिलेकाहीं बेढंगका पित्तकारिता पलाउने गरेका छन् । चित्त राम्रो भएका मित्रहरूले सुसमाचारमात्र दिऊन् । कुसमाचारलाई साथ नदिऊन् । पत्रकारिताले मानिसको मान गरोस् । कसैको मर्दन नगरोस् । समस्यालाई सुल्झाउने प्रयोस होस् तर उल्झाउने दुष्प्रयास नहोस् । प्रकृतिको नियम नै छ, तपाईंले जस्तो रोप्नु भयो, त्यस्तै फल पाउनुहुनेछ ।

समाजसेवीहरूले पनि केही संकल्प गर्नुपर्छ । डलरको बीउ छर्ने काम मात्र नहोस्, सुधारको बाली उठाउने कार्य पनि होस् । सेवाका नाममा आएको रकम कसैको पेवा नहोस्, सीमाधन्तकृतहरूलाई टेवा पुगोस् । भोकाहरूलाई मेवा पुगोस् । समाजसेवा आत्मप्रचारको माध्यम नबनोस्, मानवसेवाको साधन बनोस् । प्रकृतिको नियम नै छ, सेवा गरे मेवा मिल्छ । 

प्रकाशित :पुस २५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्