बोल्ड र स्मार्ट लुकमा यसरी फसाउँछन् लेडी पकेटमार

  • सुन्दरी भेषको जालो

- साप्ताहिक संवाददाता

पुस २३, २०७५

२० वर्षीया रोशा सिन्धुपाल्चोककी हुन् । सामान्य परिवारकी रोशा १० कक्षाको पढाइ छाडेर काठमाडौं आएकी हुन् । बाहिरी आवरण हेर्दा उनी बोल्ड अनि स्मार्ट देखिन्छिन् । कलर गरिएको केश, वेल ड्रेस सेन्स, स्ट्यान्डर्ड र वेल एजुकेटेडजस्तो देखिने लुकमाथि नम्र र मीठो बोली विशेष हुने नै भयो । झट्ट हेर्दा रोशाको जेस्चरले जोसुकैलाई फिदा बनाइदिन सक्छ । त्यही स्मार्टनेस र ब्युटिनेसलाई नै उनले पिक पकेटिङका लागि प्रयोग गर्ने गतिलो अस्त्र बनाउने गरेकी थिइन् । रोशासँगै पाकेटमारीमा संलग्न उनका सबै साथी उस्तै सुन्दर र प्रभावशाली जेस्चरका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंको पाकेटमार नियन्त्रण अभियानका क्रममा पक्राउ परेका रोशासहित चाहे ती पर्वतकी बिना हुन् वा गोर्खाकी रविना वा काभ्रेकी प्रतिमा नै किन नहुन्, सबै उस्तै स्मार्ट र आकर्षक छन् । झन्डै २०–२१ वर्ष उमेर समूहका उनीहरू पढाइका हिसाबले भने ९–१० कक्षासम्म मात्र पढेका छन् । यद्यपि यी चारै जनाको सुन्दरता अनुपम छ । त्यही सुन्दरताको आडमा उनीहरू ‘पिक पकेटिङ’ गर्छन् । यी लेडी पकेटमारहरूमध्ये केही दिउँसो पकेटमारी गर्छन् भने राति डान्सबारको काममा खटिन्छन् । 

एक वर्षदेखि पकेटमारीमा संलग्न उनीहरुले ‘बाध्यतावश’ यो कार्यमा लागेको बयान प्रहरीलाई दिएका छन् । ‘अरू काम पाइएन, बाध्यता पनि छ,’ रोशाले प्रहरीसँगको बयानमा भनेकी छिन्, ‘पकेटमारी र चोरीमा राम्रो आम्दानी पनि छ भने कामसमेत सजिलो छ ।’ उनीहरू सार्वजनिक सवारीमा गाठिस्टहरू पत्ता लगाउँछन् । पैसा भएको केटा पत्ता लगाएपछि चपक्कै टाँस्सिएर सँगै बस्छन्, आफ्नो शारीरिक सुन्दरता र हाउभाउमा केटालाई मुग्ध तुल्याउँछन् । जब केटो मुग्ध भएर लट्ठिन्छ, त्यसपछि पकेट मार्छन् र टाप कस्छन् । लेडी पकेटमारहरू केटा मात्र होइन, ठेलमठेलको फाइदा उठाउँदै महिलाहरूको समेत पकेट मार्न भ्याउछन् । 

‘पकेटमारीमा राजधानीमा क्रियाशील ग्याङमध्ये एउटा ग्याङमा ४ देखि ६ जना सुन्दर युवती छन्,’ महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता होविन्द्र बोगटी भन्छन्, ‘ब्युटिपार्लर गएर केश रंगाउने, वेल ड्रेस, स्ट्याण्डर्ड र राम्रो पढेलेखेका देखिने उनीहरूलाई पकेटमार भनेर पत्याउनै मुस्किल पर्छ ।’ प्रवक्ता बोगटीका अनुसार पकेटमारीमा संलग्न युवतीहरू लामो समयदेखि काठमाडौं नै बसिरहेका देखिन्छन् । ‘कतिपय विवाहित पनि छन्, उनीहरू आफ्ना श्रीमान्सँगै बस्छन् । कतिपय श्रीमान्सँग छुट्टै बसेका पनि छन्,’ बोगटीका अनुसार कतिपय भने अविवाहित पनि छन् । 

उनीहरूले बिहान र दिउँसो पकेटमारी गर्ने प्रहरी अनुसन्धानबाट देखिएको छ । सार्वजनिक यातायातहरू बढी ब्यस्त र भीडभाड हुने समय बिहान ८ देखि ११ र साँझ ४ देखि ७ बजेसम्म पकेटमारहरू बढी सक्रिय हुन्छन् । उनीहरू काठमाडौंका चाबहिल, महाराजगन्ज, रत्नपार्क, नयाँ बसपार्क, एयरपोर्टजस्ता व्यस्त एरियामा सक्रिय देखिन्छन् । ‘हस्पिटल पर्ने एरियाहरूमा उनीहरू बढी क्रियाशील भएको पाइन्छ । उपचारका लागि मानिसहरू क्यास नै बोकेर जाने भएकाले टिचिङ, वीर आदि हस्पिटल पर्ने रुटमा पनि उनीहरू सक्रिय पाइन्छन्,’ बोगटी भन्छन्, ‘ठेलमठेल र भीडभाड हुने भएकाले अलि व्यस्त रहने ठाउँमा उनीहरूले आफ्ना गतिविधि केन्द्रित गरेको पाइन्छ ।’ 

पकेटमारीबाट दैनिक १० हजारदेखि डेढ लाखसम्म हात पारेको देखिन्छ । एउटै व्यक्तिबाट १ लाखभन्दा बढी पकेटमारी भएको पनि घटनाक्रमले देखाएको छ । हालै मात्र पकेटमारहरूले दाङका घनिमान रोक्काको १ लाख ९ हजार रुपैयाँ पकेट मारेका थिए भने धनगढीका सुरेन्द्रबहादुर सिंहबाट पकेटमारहरूको समूहले ७५ हजार नगद लुटेको थियो । त्यतिमात्र होइन, एटीएमको पिन पनि सँगै भएकाले थप ३५ हजार उनको एटीएमबाट समेत चोरी गरेको प्रहरीको भनाइ छ । यसबाहेक महंगो मोबाइल पनि पकेटमारहरूको निशानामा पर्ने गरेको छ । 

काठमाडौंमा पकेटमारीमा झन्डै १० भन्दा बढी ग्याङ सक्रिय रहेको प्रहरीको अनुमान छ । प्रहरीका अनुसार एउटा समूहमा चार–पाँच जना लेडी पकेटमार संलग्न छन् । यस हिसाबले अनुमानित तथ्यांक निकाल्ने हो भने काठमाडौंमा ५०–६० जना महिला पकेटमार सक्रिय रहेको देखिन्छ । पकेटमारहरू आफूले पकेटमारी तथा चोरी गर्ने एरियामा बस्दैनन् । उनीहरूले मानिसहरूमाझ आफ्नो आपराधिक छवि बाहिर नआओस् भनेर यस्तो चलाखी अपनाएको पाइन्छ । व्यस्त ठाउँमा पकेटमारी तथा चोरीमा संलग्न हुने उनीहरू ललितपुर, भक्तपुर तथा काठमाडौंका बाहिरी इलाकाहरूमा बस्छन् । 

लेडी पाकेटमारहरूको छुट्टै ग्याङ भएको तथ्य अहिलेसम्म प्रहरीले फेला पारेको छैन् । उनीहरू पुरुषहरूसँगको संयुक्त ग्याङमै पाकेट मार्छन् । रोशासहित बिना, रविना र प्रतिमाको पकेटमार ग्याङको नेतृत्व काभ्रेका जंगे भनिने समबहादुर तामाङले गर्दै आएका छन् । जंगे विगत १० वर्षदेखि काठमाडौंमा पकेटमारीमा संलग्न व्यक्ति हुन् । उनले नै यी युवतीहरूलाई आफ्नो ग्याङमा 

राखेर पकेटमार बनाएका हुन् । पकेटमारीबाट आएको रकम उनीहरू दामासाहीले बाँड्छन् । 

८३ जना पाकेटमार प्रहरी फन्दामा 

सार्वजनिक यातायातमा चोरी तथा पाकेटमारीका घटना बढेपछि गएको मंसिर १५ गतेदेखि महानगरीय प्रहरी परिसर, काठमाडौंले पाकेटमार नियन्त्रण अभियान चलायो, जसमा ५० जना सादा पोसाकका प्रहरी परिचालन गरिएको थियो । यातायात व्यवसायीहरूसँगको सहकार्यमा चलाइएको उक्त अभियानका क्रममा ४ पुससम्म ८३ जना प्रहरी फन्दामा परिसकेका छन् । प्रहरीका अनुसार पकेट तथा झोलामा रहेका नगद, मोबाइल, गरगहना चोर्दाचोर्दै ८३ जना पकेटमार पक्राउ परेका हुन् । 

पाकेटमारहरू सार्वजनिक बसहरूमा विभिन्न बस स्टेसनबाट दुई–दुई जना बनाई बसभित्र प्रवेश गर्छन् । 

६ जनासम्म समूह भित्र छिरिसकेपछि पैसा भएका यात्रु पत्ता लगाउँछन् । त्यसपछि यात्रुलाई अगाडि–पछाडिबाट घेराबन्दीमा पारी ठेलमठेलको अवस्थामा सिर्जना गर्ने र त्यही मौका छोपी मोबाइल, नगद र गरगहना पकेट मारिसकेपछि पालैपाले ओर्लने प्रहरीले जनाएको छ । 

कानुनमा के छ ? 

पहिलो पटक पकेट मार्नेलाई कानुनत: १ महिना जेल तथा बिगो बराबरको जरिवाना हुने व्यवस्था छ । दोस्रो पटक दुई महिना कैद तथा बिगोबमोजिमको जरिवाना अथवा जरिवाना र कैद दुवै हुनसक्छ । 

पाकेटमारहरूको कोड भाषा 

पैसा— द

मोबाइल— कान

पकेटमारबाट पीडित— रामे

पकेटमारी गर्ने (मास्टर)— काशी 

पैसा धेरै छ— टाउको द

पैसा थोरै छ— जुटको द 

गाडी— काँचा

केटा— छापा 

केटी— भद्री 

पुलिस आयो— ठूल्दाइ आयो 

ड्राइभर— माम

खलासी— मले 

गाडीबाट झरेर भाग— टप्की 

गाडीभित्र अगाडि सर— अकल जा 

गाडीभित्र पछाडि सर— चिछल जा 

 

प्रकाशित :पुस २३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्