सकियो चौका दाउको चार शहरमा अन्तरक्रिया

- साप्ताहिक संवाददाता

पुस २२, २०७५

चलचित्र चौका दाउको मोफसलका चार शहरमा अन्तरक्रिया गरिएको छ । पुष २७ बाट देशव्यापी सिनेमा हलमा रिलिज हुने यो चलचित्रको मोफसल यात्रा अन्तर्गत गत मंगलबार हेटौंडामा बुधबार चितवन र बुटबलमा बिहिबार पोखरामा अन्तरक्रिया गरिएको हो । यसरी चार सहरमा सञ्चारकर्मीसँग फिल्मी बहस सकेर चलचित्र युनिट बिहिबार राती काठमाडौं फर्किएको छ । 

सो अन्तरक्रिया कार्यक्रममा कलाकार सन्तोष पन्तले बिगतका सिनेमामा १०/१५ सिनमा सिमित हुनु परे पनि चौका दाउमा सुरुदेखि अन्त्यसम्म आफ्नो रोल रहेको बताए । चलचित्रमा वर्षाको प्रेमी भएर काम गर्दाको अनुभव सुनाउँदै उनले भने,‘मेरो छोरीको उमेरकी वर्षा राउतको प्रेमी हुनुले पनि यो चलचित्रको कथा कस्तो छ भन्ने दर्शकले बुझ्नु हुन्छ । चलचित्रले दर्शकलाई दुई घन्टासम्म मज्जाले हँसाउँछ, किनकी यो पूर्ण मनोरञ्जन प्रधान सिनेमा हो ।’ आफु लामो समयको अन्तरालपछि चलचित्रमा फर्किएको जानकारी गराउँदै उनले किस्मत–२ पछि फेरी दुई वर्ष बिश्राम गरेर चौका दाउमा काम गरेको बताए ।

सञ्चारकर्मीसँग भेटघाटको क्रममा अभिनेत्री वर्षा राउतले चौका दाउ आफुले अभिनय गरेका बिगतका सिनेमा भन्दा फरक रहेको बताईन्,‘मैले मुख्य नायिकाको भूमिका निर्वाह गरेको यो दोस्रो महत्वपूण चलचित्र हो र यसमा कथा नै मेरै वरीपरी घुमेको ट्रेलरबाट यहाँहरुले अनुमान गरिसक्नु भएको छ ।’ तर ट्रेलरमा नआएका धेरैकुरा चलचित्रमा रहेको र ती दृष्यले दर्शकलाई सक्दो रमाईलो दिने पनि उनले जानकारी गराईन् । चलचित्रमा आफु केटाहरुलाई फसाउने उर्वसीको भूमिकामा रहेको र अन्त्यमा आफु  पूर्ण सकरात्मक देखिएको पनि उनले खुलाईन् । 

निर्देशक पुर्णेन्दु झाले चौका दाउमा चार चौकाको रुपमा सन्तोष पन्त, रविन्द्र झा, विल्सन विक्रम राई, तैयव शाह र पाँचौ चौकाको रुपमा अजश्र ढुंगाना रहेको बताए । यो पूर्णतया सामाजिक कथामा आधारित सिनेमा भएको पनि उनले जानकारी गराए । चलचित्रको कथाले दर्शकलाई प्रभाव पार्ने र सिनेमाले पुरा हँसाउने पनि उनले जिकिर गरे । 

सौर्यजीत बासकोटा र मनोज राजभण्डारीले निर्माण गरेको यो चलचित्रको परिकल्पनाकार, कथाकार र संगीतकार शम्भुजीत बाँस्कोटा हुन् । चलचित्रलाई काठमाडौंमा केबी फिल्मस् र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछ । 

 

प्रकाशित :पुस २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्