नयाँ वर्ष नयाँ ऊर्जा

- अधिकारी रवीन्द्र

पुस २१, २०७५

डिसेम्बर ३१ मा मेरो नाममा अमेरिकाबाट एउटा पार्सल आयो । नयाँ वर्षको शुभकामनास्वरूप उसले मिठाई पठाएकी रै’छ । यसपालि ऊ फिजीमा छे । मिठाई चपाउँदा–चपाउँदै उसँगको भेट ताजा भएर आउँछ । मेरा धेरै शोखमध्ये एक हो— नयाँ वर्षमा नयाँ साथी बनाउने । बेग्लै परिवेश र कथा बोकेको बिल्कुल नौलो साथी । केही वर्षअघि मनास्लु क्षेत्रको ट्रेकिङमा जाँदा त्यो संयोग मिल्यो । बनाउँछु भनेर बनाएको साथीभन्दा घटना र व्यथाको संयोगले बनेका साथी बढी घनिष्ठ हुन्छन् । हामी नयाँ वर्षको चिसो मौसममा जीवनको गियर बदल्न हिंडेका थियौँ । 

‘मलाई भीडबाट टाढा जानु थियो । जब मानिस एउटै काममा लामो समय लीन हुन्छ, उसको दिमाग बोधो हुन्छ, तर यो सब किन हुन्छ ?’ प्रश्नको वाण मतिर सोझियो । ‘एकनासे काम त मेसिनले गर्छ, मानिस मेसिनभन्दा फरक छ,’ मैले भनें । हो, म मेसिनबाट मानिस हुन नेपाल आएको । मलाई यो ठाउँको माटो नै अर्कै खालको लाग्यो । यहाँ टेक्नासाथ बेग्लै खालको आनन्द आउने । मैले थपे– ‘त्यो अनुभूति हो । बेग्लै केही छ त त्यो केवल मनमा छ । जसरी सत्य एउटै हुन्छ तर त्यसलाई हेर्ने आँखा अनेक हुन्छन् र अनगिन्ती मगजले छुट्टाछुट्टै रूपमा त्यसलाई ग्रहण गर्छन्, अनुभूति पनि त्यस्तै हो । कसले के चिजको अनुभुति कतिबेला गर्छ पत्तो हुँदैन । केही चिजको बेग्लै अनुभुति लिनु पनि कला हो । शरीर जति नै बलिष्ठ भए पनि भित्री उर्जा छैन भने जीवन नीरस हुन्छ । नेपालले तिम्रो मनमा नयाँ ऊर्जा थपेको छ भन्ने सुन्दा म आफ्नो देशप्रति अझ बढी गर्व गर्छु ।’ 

उसले क्रिसमसदेखि नयाँ वर्षसम्म डल्लै १० दिन बिदा पाउँथी । ऊ त्यो समय पारिवारिक जमघट र रमाइलो भन्दा ट्रिप एड्भाइजरमा कुनै नामै नसुनेको सहरको होटल बुक गरी एक्लै फुत्त निस्कन्थी । हरेक नयाँ बर्षमा ऊ नयाँ देश गएकी छे । यस्तो टुरमा ऊ जहिल्यै एक्लै हिँड्छे । उसको प्रेमी पनि कान्सास सहरमै बस्छ तर ऊ अर्थात् अमाण्डा फर्किसकेपछि मात्र उसले थाहा पाउँछ कि उसकी प्रेमिका नेपाल भन्ने देशको कुनै निर्जन हिमाली उपत्यका सयर गरेर आएकी छे । ‘कम्तीमा एक हप्ता म आफूखुसी जिउन चाहन्छु जहाँ समय र सम्बन्धको कुनै बन्देज नहोस् । जब म कसैसँग हुन्छु नजानेरै कतै थिचिएको महसुस गर्छु । म यो वर्षको शुभारम्भमा आफ्नो संकुचन हरहालतमा मन पराउन्नँ ।’ ऊ अन्तर्मुखी छे तर जब खुल्छे सम्हालिन नसक्ने गरी पोखिन्छे । 

हाम्रो नेपाली समाजमा साविकको रुटिनलाई छोडेर कतै घुम्न निस्कने चलन त्यति छैन । कामको सिलसिलामा वा धार्मिक यात्रा गर्नमात्र मानिसहरू घर बाहिर निस्कन्छन् । पश्चिमाहरू घुम्ने कुरालाई जीवनको अपरिहार्य कार्यसूचीमा राख्छन् । घुम्नलाई अभावले छेक्दैन र घुम्नु मानसिक स्वास्थ्य सन्तुलनका लागि पनि अत्यावश्यक छ । अमाण्डाले जुन भित्रैदेखि नौलो उर्जा महसुस गरी त्यो संयोगवश भएको होइन । प्रकृति यति धनी छ कि साँच्चै नै यसले ८७ लाखभन्दा बढी प्रजातिका जीवलाई पाल्न सक्छ । यो विराटताले यदि सबैलाई पालनपोषण गर्न सक्छ भने नि:सन्देह साढे ७ अर्ब मानिसमध्ये सबैमा खुसी भर्न सक्छ । 

अमान्डा त्यो वर्ष नेपालको प्रकृतिसँग खुसी र आनन्द लिन आएकी थिई । उसको करुवा ठुलो छ भने उसले ठूलै सन्तुष्टि लिएर जान्छे, तर विडम्बना हामीमध्ये धेरैसँग खुसी उबाउने करुवा सानो छ । प्रकृतिले जस्तोसुकै रिक्त मनलाई पनि रिचार्ज गरिदिन सक्ने क्षमता राख्छ तर त्यसका लागि आफू पनि तयार हुनुपर्‍यो । स्वदेश फर्किएपछि ऊ आफ्नो दुईवर्षे पुरानो प्रेमीसँगको सम्बन्धमा पुनर्विचार गर्नेवाली छे । अमाण्डा स्वत: पल्टिने किताब थिई, पल्टिदै गई । यसबीच मैले उसँग एउटा सेल्फी लिन अनुमति मागें । उसले ठाडै लत्याईदिई । जाबो सेल्फीको अनुरोधलाई कसैले त्यसरी सिधै लत्याएको त्यो मेरो पहिलो अनुभव थियो । मेरो बिस्मित अनुहार हेर्दै उसले सुझाई– ‘यो मेरो अन्तर्मनको यात्रा हो । म यो एकहप्ते यात्राबाट आफूले आफूलाई थप चिन्ने प्रयास गर्नेछु । यसमा मलाई यी पहाड, कन्दरा र खोलानालाको सुसाहटले सहयोग गर्नेछन् । त्यो कुनै पलले मेरो मनमा हलचल ल्याएको हुन सक्छ जुन कुरा तस्बिरमा उतार्न सकिँदैन । 

मलाई लाग्छ, तस्बिर खिच्नु भनेको मैले टेक्ने, देख्ने, सुन्ने अनि महसुस गर्ने प्रकृतिमाथिकै अन्याय हो । तस्बिर खोक्रो आवरण हो, मापन नै गर्न नसकिने अनुभूतिको गहिराइलाई तस्बिरले फिक्का बनाउँछ तसर्थ म आफ्नो ध्याउन्न आफु र प्रकृतिबीचको सम्बन्धमा मात्र केन्द्रित राख्न चाहन्छु । संगै हिंडेको एक घण्टामै अमाण्डाले ह्वात्तै मेरो दिमागमा गहिरो प्रभाव छोडी । यसो नियालें, अरू पर्यटक जस्तो उसले क्यामेरा बोकेकी छैन । हुन पनि हो नयाँ वर्षमा मनमा उत्साह पो भर्ने त मेमोरी कार्डमा तस्बिर भर्ने हो र ? जब फिलिम भन्ने ठाउँ आयो एउटा टी हाउसमा विश्राम लिनु अगावै सबै जना ३ सय रुपैया प्रतिघण्टाको वाइफाईको पासवर्ड हाल्न लाइन लागे । अमान्डा सबैभन्दा कुनाको टेबलमा गएर बसी जहाँबाट धेरै टाढासम्मको दृश्य देखिन्थ्यो । नजिक गएर सोधौँ – इन्टरनेट नचलाउने ? उसले भनी– हामी वर्षभरि त्यही मात्र त गर्छौं । उसको मोबाइल काठमाडौंकै होटलमा छोडिएको थियो । रातिभट्टिमा छुट्टिँदा उसले भनेकी थिई– प्रकृतिभन्दा मान्छे बढी डरलाग्दा छन पृथ्वीमा । 

 

प्रकाशित :पुस २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्