शृङ्खला खतिवडा सद्भावना दूतमा नियुक्त

- साप्ताहिक संवाददाता

पुस १९, २०७५

व्यापार प्रवद्र्धन गर्ने लक्ष्यका साथ राष्ट्रिय वाणिज्य बैंकले आफ्नो सद्भावना दूत (ब्राण्ड एम्बास्डर)मा शृंखला खतिवडा (मिस नेपाल २०१८) लाई नियुक्त गरेको छ । 

बैंकमा बुधबार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको सेवालाई अझ विस्तार गर्दै लैजान मिस नेपाल खतिवडालाई ब्राण्ड एम्बास्डर बनाएको जानकारी दिए । यसले नेपालको बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकको साख अभिवृद्धिमा सहयोग पुग्ने विश्वास उनको छ । 

बैंकले युवा जनशक्तिलाई प्रोत्साहन गर्नुपर्छ भन्ने हेतुले खतिवडालाई सद्भावना दूतमा रोजेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ । सद्भावना दूत नियुक्तिसम्बन्धी सम्झौतामा बैंककोतर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले हस्ताक्षर गरेका थिए । 

सो कार्यक्रममा मिस नेपाल २०१८ शृङ्खला खतिवडाले आफू सरकारी स्वामित्वमा रहेको वाणिज्य बैंकको सद्भावना दूत हुन पाउँदा असाध्यै खुशी लागेको बताइन् ।  

विसं २०२२ माघ १० गते स्थापाना भएको बैंकले हाल ७७ जिल्लामध्ये ७४ जिल्लामा आफ्नो सेवा दिइरहेको छ । हाल देशभर २१० शाखा कार्यालय, १६५ एटिएम, १७ एक्टेन्शन काउन्टर, ९३ शाखारहित बैंकिङ सेवा दिइरहेको छ । बैंकको २०७५ असोज मसान्तसम्म कूल निक्षेप रु एक खर्ब ६४ अर्ब छ ।

यस्तै बैंकले रु एक खर्ब २३ अर्ब ऋण लगानी गरेको छ । गत असोज मसान्तसम्म बैंकले रु एक अर्ब १२ करोड खुद मुनाफा गरेको छ । विसं २०७४ असोजमा भने रु ७० करोड ८७ लाख मुनाफा गरेको थियो । बैंकले एनआइडिसी डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी २०७५ वैशाख १९ गतेदेखि एकीकृत कारोवार गर्दै आएको छ । 

                                                                                                  रासस

 

प्रकाशित :पुस १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्