कफी गुरु अर्जुन चौहान

- किशोर नेपाल

पुस १८, २०७५

कफी गुरु’ अर्जुन चौहानलाई थाहा छ— मानिसले सिक्नुपर्छ । सिक्न अल्छी गर्नु हुँदैन । उनले अल्छी गरेको भए अहिलेसम्म पनि रेस्टरुमको अर्थ आरामगृह नै लगाइरहेका हुन्थे कि ? भन्न सकिन्न । भएछ के भने उनी कुनै कामले एउटा स्तरीय रेस्टुराँमा पुगेका थिएँ । त्यहाँ उनलाई च्याप्यो सूसूले । ट्वाइलेट खोजे । एउटा केटाले हातले देखाइदियो, ‘उ त्यहाँ ।’ त्यहाँ पुगेर उनले देखे, त्यसमा त रेस्टरुम पो लेखिएको छ । मानिसले आराम गर्ने ठाउँमा सूसू गर्ने ? पछि उनले थाहा पाए, सभ्य भाषामा सूसू गर्ने ठाउँलाई पो भन्दा रहेछन् रेस्टरुम । सूसूका लागि ठाउँ नपाएर आत्तिएको मानिस रेस्टरुममा पुगेर आनन्द प्राप्त गर्छन् । 

यो रमाइलो प्रसंगपछि उनी भन्छन्– मानिसले संसारमा जुनसुकै परिकार वा पेयपदार्थको स्वाद पहिले जिब्रोले लिन्छ, त्यसपछि आँखाले लिन्छ र अहिलेको युगमा स्वाद लिन पनि सजिलो भएको छ— त्यस्तो स्वाद क्यामेराको लेन्सले लिन्छ ।

अक्सर बरिष्टाहरू किन बनाइन्छ कफीको फिँजमाथि पूmलको आकृति ? यस्तो आकृतिले स्वाद सिर्जना गर्छ । अक्सर बरिष्टाहरू क्याप्पचिनो, लट्टेलगायतका मिठासपूर्ण कफीको कपमा पानको पात बनाउँछन् । पानको पात बनाउँदा कफीको स्वाद पनि खस्किँदैन । जे सजिलो हुन्छ, जे स्वादिलो लाग्छ, त्यही बनाउने हो । कमल र गुलाफको पूmल पनि बनाउन सकिन्छ । यस्तो पूmल क्याप्पचिनो र लट्टेको सतहमा मात्र बन्छ ।

(२०४७ सालमा रामेछापको पुलासी गाउँपालिकामा जन्मिएका अर्जुन कसरी भए त कफी गुरु ? मान्छे बन्न पनि बेर लाग्दैन । बिग्रिन त झन टाइम लाग्दै लाग्दैन । पिताजी नेपाली सेनामा, दाजुहरू नेपाली सेनामा, एक्ला अर्जुन कसरी लागे त कफीमा ? पिताजी अर्जुनलाई पढाउन चाहन्थे । बच्चैदेखि चलाख र जेहेन्दार अर्जुन पनि पढ्न चाहन्थे । उनलाई पिताजीले पढाइ खर्च दिने बताएका थिए, तर अर्जुन सरासर काठमाडौं आएर काम खोज्न थाले । उनका भिनाजु काम गर्थे जाभा कफीमा । उनी त्यही वेटरको काम गर्न थाले । साला–भिनाजु दुवैले घरमा नभन्ने सल्लाह गरे । अर्जुनको भाग्यको ढोका खुलिसकेको थियो । जाफा कफीको वातावरणले पनि उनलाई उत्साहित तुल्यायो । उनी अभिन्न बने अभि सुवेदी सरहरूको । संगतले प्रेरित ग¥यो उनको जीवनलाई ।) 

कफी डेकोरेसनको चर्चापछि अर्जुन बताउँछन्— कफी दुई प्रकारका हुन्छन्, क्लासिक र मोडिफाइड । क्लासिक कफीमा एक्सप्रेसो, डोप्पियो, लुंगोे, अमेरिकानो पर्छन् भने मोडिफाइड वर्गमा पर्छन् क्रिमलगायत चकलेटको मिश्रणसहित बनाइएका कफीहरू । नयाँ पुुस्ताका साथीहरू यस्तै कफी रुचाउँछन् । 

सुरु–सुरुमा जाभा कफी हाउसमा दुई जना बरिष्टाले दिनहुँ १५ सयजति ग्राहकलाई कफी पिलाउ“थे । तालिमप्राप्त बरिष्टा थिएनन् । क्याप्पचिनो कफी बन्थ्यो, तर जति फिंज आयो त्यति राम्रो क्याप्पचिनो कफी मानिन्थ्यो ।

अर्जुन भन्छन्, ‘त्यो समय चुनौतीको थियो । हाम्रा क्याप्टेन थिए गगन प्रधान । उनैको हौसला र प्रेरणामा मैले बरिष्टा तालिम लिएँ । म जाभाको पहिलो व्याचको बरिष्टा हुँ भन्दा गर्व लाग्छ ।’ उनी काममा गम्भीर थिए । गगनको आँखाले अर्जुनमा रहेका सम्भावनाहरू पत्ता लगाइहाल्यो । प्लस टु सकेर अर्जुन कफी अध्ययन र तालिमका लागि अमेरिकाको स्पेसियालिटी कफी एसोसिएसनमा पुगे । सन् २०११ र २०१३ गरेर अठार महिना बिताए अमेरिकामा । 

अमेरिकामा अर्जुनले नेपाली कफीको बजार प्रवद्र्धनको कामसमेत गरे । स्वादका हिसाबले नेपाली कफी दुनियाँ दस स्वादिला कफीमा पर्छ । अर्जुनको अनुभवमा ‘कफीको बजार अमेरिकामा छ । स्कोपचाहीं नेपालमै छ । यो स्कोपको उपयोग त्यतिबेला हुन्छ जब नेपालीले नाफा–नोक्सानको क्यालकुलेटर चलाउन छाड्छन् । व्यापारमा रिस्क हुन्छ । केही दिनअघि एउटा अनलाइनले लेखेछ, कफी बेचेर करोडपति । अहिले त मसँग लाख रुपैयाँ पनि नहोला । भविष्यमा करोडपति होइन, अरबपति बन्ने हिम्मत दिएको छ कफीले ।’

अर्जुन भन्छन्, ‘हो त । आशालाग्दो हिसाबले गति बढाउँदैछ कफी संस्कृतिले । त्यो संस्कृतिले स्थायित्व पाइसकेको छैन । परिवर्तन भएको छ । हिजोसम्म बत्तीसपुतलीको मानिस कफी पिउनैका लागि ट्याक्सी चढेर ठमेल पुग्नुपथ्र्यो । हामीले यहाँ हाइल्यान्ड बिन्स खोल्यौं । अब जाभा पनि यहीं नजिक आउँदैछ । कफी भनेको हातको सीपले तयार हुने स्वाद हो । हामी प्रतिस्पर्धासँग खुसी छौं । यो प्रतिस्पर्धा कफीको स्वादका बीच हुने हो । जाभा कफीको स्वादको विकल्पमा अरू स्वादको पनि पहिचान हुनेछ । यो राम्रो संकेत हो । काठमाडौंमा अहिले १ हजारभन्दा बढी एक्सप्रेसो मसिन छन् भने ५ वटा बरिष्टा स्कुल छन् ।’

प्रकाशित :पुस १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्