विश्वकप फुटबलको वर्ष

- साप्ताहिक संवाददाता

पुस १४, २०७५

सन् २०१८ मा धेरै ठूला–ठूला खेल महोत्सव भए । त्यसमा सबैभन्दा अगाडि आउँछ, विश्वकप फुटबल । त्यसबाहेक यही वर्ष शीतकालीन ओलम्पिक्स, एसियाली खेलकुद तथा कमनवेल्थ गेम्सहरूसमेत सम्पन्न भए । यस अर्थमा ओलम्पिक्सको शैली बोकेका तीन ठूला प्रतियोगिताको साक्षी रह्यो, सन् २०१८ । 

विश्वकप फुटबल, रूस

विश्व खेलकुदले सन् २०१८ लाई विश्वकप फुटबलका लागि सम्झिनेछ । विश्वको सबैभन्दा लोकप्रिय खेल हो, फुटबल । त्यसको पनि सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप । यसपटकको विश्वकप रूसले आयोजना गरेको थियो । रूसले पहिलो पटक विश्वकपको आयोजना गरेको हो । विश्वकप सुरु हुनुअघि धेरैको अनुमान थियो, यो विभिन्न कारणले सफल हुने छैन, तर रूसले यसको सफल आयोजना मात्र गरेन्, विश्वकप इतिहासमै उत्कृष्ट रह्यो । विश्व जनसंख्याको आधाले यो विश्वकपलाई कुनै न कुनै रूपमा हेरेको मानिन्छ । यसले पनि यो प्रतियोगिता कति लोकप्रिय छ भनेर अनुमान गर्न सकिन्छ । विश्वकपको २१ औं संस्करण जुलाई १४ देखि जुन १५ सम्म सञ्चालन भएको थियो र अन्त्यमा विजेता टिम भयो, फ्रान्स ।

फाइनलमा फ्रान्सले क्रोएसियालाई ४–२ ले हराएर फेरि एकपटक उपाधि चुम्यो । जनसंख्या र क्षेत्रफल दुवैका आधारमा निकै सानो देश क्रोएसियाका लागि फाइनल यात्रा पनि आफैमा अद्वितीय रह्यो । फ्रान्सले दोस्रो पटक विश्वकप जितेको थियो र समग्रमा युरोपले लगातार चौथो पटक । त्यस आधारमा विश्व फुटबलमा युरोपको वर्चस्व बढ्दै गएको प्रमाणित भएको छ । सेमिफाइनल पुगेका अरू दुई देश बेल्जियम र इंग्ल्यान्ड पनि युरोपेली देश भएका आधारमा यो तथ्य मान्न बाध्य हुनुपर्छ । कुल ३२ देशको सहभागिता रहेको प्रतियोगितामा उत्कृष्ट खेलाडी रहे, क्रोएसियाका लुका मोडरिच । 

एसियाली खेलकुद

प्रत्येक विश्वकप फुटबलकै सेरोफेरोमा एसियाली खेलकुद पनि सम्पन्न हुन्छ । १८ औं संस्करणको एसियाली खेलकुदको आयोजक थिए, इन्डोनेसियाका दुई सहर जाकार्ता र पालेबाङ । एसियाली खेलकुद दुई फरक सहरले आयोजना गरेको यो पहिलो अवसर हो । अगस्टको १८ देखि सेप्टेम्बर २ सम्म आयोजित प्रतियोगिता एसियाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता हो र स्वभाविक रूपमा यसमा एसियाली देशहरूको ठूलो रूचि थियो । कुल ४५ देशको सहभागिता रहेको प्रतियोगितामा ११ हजार ७ सय २० खेलाडीको सहभागिता रह्यो ।

खेलाडीको सहभागिता संख्याले पनि यो कति ठूलो खेल महोत्सव हो देखाउँछ । त्यसमाथि यसमा समावेश गरिएका खेलको संख्या पनि ४० थियो । प्रतियोगितामा लगातार दसौं पटक सर्वाधिक पदक जित्ने टिम रह्यो— चीन । उसले १ सय ३२ स्वर्णसहित २ सय ८९ पदक जितेको थियो । त्यसपछि जापान र दक्षिण कोरिया रहे । पदक तालिकामा इन्डोनेसिया चौथो स्थानमा आयो, जुन आफैमा ठूलो उपलब्धि थियो । नेपाल पनि प्रतियोगितामा प्याराग्लाइडिङमार्फत एउटा रजत पदक जित्न सफल भयो । 

भारतलाई छाडेर अरू दक्षिण एसियाली देशको प्रदर्शन निकै कमजोर रह्यो । भारतले 

१५ स्वर्णसहित आठौं स्थान सुरक्षित गर्‍यो । 

शीतकालिन ओलम्पिक्स, सन् २०१८ ओलम्पिक्सको पनि वर्ष रह्यो, तर फरक के भन्दा यो वर्ष भएको ओलम्पिक्स शीतकालीन थियो । विश्व खेलकुदमा गृष्मकालीन ओलम्पिक्सको जति चर्चा हुन्छ,, त्यति शीतकालीन ओलम्पिक्सको हुँदैन, तर धेरै देश यस्ता पनि छन्, जहाँ शीतकालीन 

ओलम्पिक्स निकै लोकप्रिय छ । यही शीतकालीन ओलम्पिक्सको २३ औं संस्करण दक्षिण 

कोरियाली सहर, प्योङचाङले आयोजना गर्‍यो । 

शीतकालीन खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिताको सञ्चालन फेब्रवरी ९ देखि २५ सम्म भयो । दक्षिण कोरियाले शीतकालीन ओलम्पिक्सको आयोजना गरेको यो पहिलो अवसर थियो । यसअघि उसले सन् १९८८ मा गृष्मकालीन ओलम्पिक्सको आतिथ्य गरेको थियो । प्रतियोगितामा कुल ९२ देश सहभागी रहे र तिनका २ हजार ९ सय २२ खेलाडीले आफ्नो चुनौती पेस गरे । जति सुकै चिसो सम्बन्धका बावजुद पनि उत्तर कोरियाले प्रतियोगितामा भाग लियो । त्यति मात्र होइन, दक्षिण र उत्तर कोरियाले महिला आइस हक्कीमा एउटै टिम मैदानमा उतारेका थिए । डोपिङ विवादका कारण रूसले देशका रूपमा सहभागिता जनाउन पाएन । नर्वे कुल २९ पदकसहित सर्वाधिक सफल टिम सावित भयो भने त्यसपछि जर्मनी र क्यानाडा रहे । आयोजक दक्षिण कोरिया सातवटा पदक जित्न सफल भयो । 

कमनवेल्थ गेम्स

विश्व खेलकुदमा कमनवेल्थ गेम्सलाई पनि निकै ठूलो खेल महोत्सवका रूपमा लिइन्छ । 

बेलायतले कुनै न कुनै समय शासन गरेका देशहरूले यो प्रतियोगितामा सहभागिता जनाउँछन् । त्यस अर्थमा यसमा सहभागी हुने देश निश्चित छन् । बेलायती उपनिवेश बेहोरेका देशले मात्र भाग लिने हुनाले यसको राजनीतिक रूपमा विरोध गर्नेहरू पनि उत्तिकै छन् । यद्यपि खेलकुदमा भने यसको छुट्टै महत्त्व छ र उत्तिकै लामो इतिहास पनि । कमनवेल्थ गेम्सको २१ औं संस्करण अस्ट्ेरलियाली सहर गोल्डकोस्टले आयोजना गर्‍यो । बाहिरी विश्वका लागि खासै चर्चामा नआउने गोल्डकोस्टले आफ्नो फरक पहिचान बनाउन नै यो प्रतियोगिताको  आयोजना गरेको थियो ।

यसपटकको प्रतियोगितामा ७१ देशका ४ हजार ४ सय २६ खेलाडी सहभागी भए । ती खेलाडीले कुल १९ खेलमा सहभागिता जनाएका थिए । अप्रिलको ४ देखि १५ सम्म सञ्चालित प्रतियोगितामा सबैभन्दा बढी पदक जित्न सफल टिम आयोजक अस्ट्ेरलिया नै रह्यो । उसले कुल १ सय ९८ पदक जितेको थियो, जसमा ८० स्वर्ण रहे । पदक तालिकामा बेलायत दोस्रो तथा भारत तेस्रो स्थानमा आए ।

प्रकाशित :पुस १४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्