मिथिलाका रामदयालजी

- किशोर नेपाल

पुस १३, २०७५

यसपटक डा. रामदयाल राकेश । नेपाली, मैथिली, हिन्दी तथा अंग्रेजी भाषामा विशेष दख्खल भएका डा. राकेशको शारीरिक उचाइ नभए पनि विद्या र बुद्धिका हिसाबले उनको उचाई निकै अग्लो छ । खासगरी, साहित्यमा उनले आफ्नो पकड बनाएका छन् । डा. राकेश शिक्षण पेसामा लामो समयदेखि आबद्ध छन् । जीवनमा उनले धेरै पापड बेलेका छन् । सर्लाही जिल्लाको गोडैता नगरपालिकाअन्तर्गत सिसौटियामा सन् १९४२ जुलाई २५ मा जन्मिएका राकेशले माध्यमिक शिक्षा गाउामै पूरा गरे । उनी ११ वर्षको हुँदा ७ कक्षामा पढ्थे । पिताजीको निधन पाँच वर्षकै उमेरमा भैसकेको थियो । 

उनको र उनका दाजुको विवाह एकसाथ भएको थियो । विवाह गरेको तीन वर्षसम्म पत्नीसँग बोलचाल नै भएन । राकेशका दुई छोरा र एक छोरी छन् । एउटा छोरो नेपाल टेलिभिजनमा काम गर्दै थियो । अमेरिका जान्छु भन्थ्यो । उतै बसेको छ । 

राकेशले सीमावर्ती भारतीय बस्ती सोनवर्षाको उच्च विद्यालयबाट म्याट्रिक पास गरे । सीतामढीबाट स्नातक उत्तीर्ण गरेपछि उनको प्रवेश सपनाको सहर काठमाडौंमा भयो । उनी त्यतिबेला देशको एक मात्र त्रिभुवन विश्वविद्यालयमा भर्ना भए । त्यहींबाट एम.ए. गरे । इतिहासकार ढुण्डिराज भण्डारी उनका गाइड वा गुरु, जे भने पनि, थिए । 

शिक्षाको क्षेत्रमा राकेशले निरन्तर उन्नति गरे । पछाडि फर्केर हेर्नु परेन । दु:ख पनि गरे । मधेसको मान्छे । काठमाडौंमा बसेर पढ्ने आफ्नै औकात थिएन । साथी, सहयोगी पनि थिएनन् । उनले ट्युसन पढाएर बााच्ने र पढ्ने जोहो गरे । ट्युसन जीवनको एउटा अनुभव सााचेका छन् उनले । नेपालका ख्यातिप्राप्त इतिहासकार तथा लोकतान्त्रिक राजनीतिज्ञ डा. डिल्लीरमण रेग्मीकी नातिनी शोभालाई पनि ट्युसन पढाएका छन् उनले । एम.ए. उत्तीर्ण गरेपछि पद्मकन्या कलेजकी तत्कालीन प्रिन्सिपल अंगुरबाबा जोशीको अनुरोधमा पढाउन थाले त्यही कलेजमा । 

राकेशले दिल्ली विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गर्ने अवसर पाए । उनले हिन्दी–नेपाली समकालीन कविताको तुलनात्मक अध्ययन गरे । त्यसैमा शोधग्रन्थ तयार पारे । उनले मिथिला साहित्य र संस्कृतिको पनि राम्रो अध्ययन गरेका छन् । शिक्षाका हिसाबले राकेश सन्तुष्ट छन् । सम्मान पनि राम्रो पाएका छन् । डा राकेशले सन् २००४ मा जापानको फुकुओका एसिया प्यासिफिक अकाडमिक एवार्ड प्राप्त गरे भने भारतको साहित्य अकाडमीले उनलाई प्रेमचन्द फेलो बनायो । नेपालमा प्रज्ञा प्रतिष्ठानका सदस्य भए । 

२०२४ सालदेखि मिथिलाप्रति राकेशको अनुराग बढेको छ । मिथिला कला सुरुचिपूर्ण र सम्पन्न छ, –राकेश भन्छन् । राकेशले मिथिलाका लागि राम्रो बौद्धिक योगदान गरेका छन् । उनले अहिलेसम्म फोक टेल्स फ्रम मिथिला, फोक कल्चर अफ मिथिला (इन नेपाल), कल्चरल हेरिटेज अफ नेपाल तराई, फोक टेल्स फ्रम मिथिला, म्यारिज सङ्स अफ मिथिला, जनकपुर सेक्रेड ज्वेल अफ नेपाल, विद्यापति : दि ग्रेट पोएट अफ मिथिला आदि कृतिहरू तयार पारेका छन् । 

आतिथ्य र भोजन मिथिलाको परम्परा हो । मिथिलाको आतिथ्य बेजोडको छ । धेरै भयो उनी विवाहपञ्चमी मनाउन जनकपुर पुगेका छैनन्, तर, त्यहााको आतिथ्य बिर्सिएका छैनन् । विवाह पञ्चमीका दिन सीतासँग स्वयंवरका लागि अयोध्याबाट रामसँगै आउने जन्तीको पारम्परिक ढंगले सत्कार गर्ने चलन छ जनकपुरधाममा । त्यो चलनअनुुसार, यसपटक विवाह पञ्चमीमा जन्तीका रूपमा आएका भीआईपी उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र अन्य जन्तीलाई सुरुचिपूर्ण मिथिला भोजनले सत्कार गरिएको थियो । मिथिला भोजनमा ३६ प्रकारका परिकार हुन्छन् : तीमध्ये मुख्य हुन्छन् दाल, भात, तरुवा र भान्टा, आलु र केराको चोखा । मिथिलाको नास्ता पनि गजबको हुन्छ । बिहान उठेर नुहाइधुवाइ, पाठपूजा सकिएपछि मिथिलावासी दहीचिउराको खाजा (ब्रेकफास्ट) खान्छन् । मिथिलामा चिउराको परिमाण थोरै र दहीको परिमाण बढी हुन्छ ।

गरिब किसानलाई खेतबारीमा काम लगाउने महाजन र सामन्तहरू मजदुर किसानसँग मानवीय व्यवहार गर्दैनन् । उनीहरू काम गर्न आएका मजदुरलाई मडुवाको रोटी खान दिन्छन् । त्यो पनि नुन–खुर्सानीसँग । खास गरेर, गाउाघरमा जातीय भेदभाव उत्तिकै चर्को छ ।

जमिनदारको मन परी शासन रोक्न सरकारहरू असफल भएका छन् । अहिले गठन भएको प्रदेशको सरकारले गर्नुपर्ने पहिलो काम जमिनदारहरूको हैकम हटाउनु हो । जमिनदारी प्रथाको उन्मूलन भए पनि जमिनदारको उन्मूलन नहुनु बिडम्बना हो । राकेश भन्छन्, प्रदेश सरकारले जनताको पक्षमा राम्रो काम गर्न सक्छ । प्रदेश सरकारलाई कसैले झुक्याउन सक्दैन । किनभने, सरकारमा प्रदेशका मानिस नै हुन्छन् ।

प्रदेश सरकारबाट धेरै आशा राखेका छन् राकेशले । सरकारमा सबै नयाँ र जोसिला मानिस भएकाले उनीहरूमा जाागर छ । प्रदेशलाई विकसित तुल्याउन के–के गर्नुपर्छ भन्ने थाहा छ । जनतासँग निरन्तर सम्बन्ध छ । जनताको कुरा सुन्नेले विवेकपूर्ण ढंगले काम गर्न सक्छ ।

डा. रामदयाल राकेशको मनोरञ्जन सिनेमा हो । उनलाई चलचित्र वागवान निकै राम्रो लागेको थियो । त्यसलाई दोहोर्‍याई–तेहेर्‍याई हेरे । अर्को सिनेमा हाथी मेरा साथी थियो राजेश खन्नाको । कवि तुलसी दिवससँग त्यो सिनेमा दोहोर्‍याएर हेरे उनले लगातार । एउटा शो सकिनेबित्तिकै अर्को शो । डा. राकेश भन्छन्— त्यो त्यस्तै समय थियो ।

 

प्रकाशित :पुस १३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्