हङकङका नानीहरु, क्यान्टोनिज फरर

- अनोज रोक्का

पुस १२, २०७५

 

हामी जुन देशमा बस्छौँ, त्यो देशको भाषा, संस्कृति, मुल्यमान्यता र अनुशासन पालन गर्नु हाम्रो कर्तब्य हो । भाषा त्यो माध्यम हो, जसले हाम्रो दैनिकीलाई सहज बनाईदिन्छ । 

हङकङमा चालिस हजारको हारहारीमा नेपालीहरु बसोबास गर्छन । नेपालीहरुले निर्माण, सेक्युरिटी, सरसफाई लगायतका क्षेत्रहरुमा बढिजसो काम गरेको पाईन्छ । त्यसो त नेपालीहरुले हङकङकै प्रतिष्ठित क्षेत्रहरुको उच्च ओहोदामा पनि आफुलाई प्रमाणित गरिरहेका छन् । 

हङकङमा नेपालीहरुको प्रमुख समस्या के हो ? कसैले यो प्रश्न गरे त्यसको सहज उत्तर आउँछ भाषा । चीनको स्वशाशित क्षेत्र हङकङमा चाईनिज भाषाको प्रभुत्व छ, चाईनिज भाषाहरु क्यान्टोनिज, म्याड्रिन र पुतुङ्वा मध्ये हङकङमा क्यान्टोनिज बढि मात्रामा बोलिन्छ । 

भाषाको ज्ञानकै कारण कतिपय नेपालीहरुले राम्रो काम पाएका छन्, दैनिक जनजीवन सहज बनेको छ । कतिपय नेपालीहरुको क्षमता भएपनि भाषाकै असहजताको कारण कार्यक्षेत्रमा कष्ठ बेहोर्नु परेको दृष्टान्त हामी माझ छ । नेपालीहरुलाई भाषाकै कारणले विभेदको शिकार हुन नपरोस भनेर विभिन्न संघसस्थाहरुले पहल र सहयोगका कार्यक्रमहरु निरन्तर आयोजना गरिरहेका छन् । 

नेपाली संघ सस्थाहरुको छाता संगठन हङकङ नेपाली महासंघले विगतबाटै नेपाली वृद्धवृद्धा, युवायुवती, बालबालिकाहरुका लागि विभिन्न प्रकारका सीप, क्षमता अभिवृदिका कार्यक्रमहरुको आयोजना गरिरहेको छ । यहि क्रममा कम्युनिटी सपोर्ट टिम अफ नेप्लिज कम्युनिटी कार्यक्रम अन्र्तगत होम अफियर्स डिपार्टमेन्टको सहयोगमा हङकङ नेपाली महासंघले क्यान्टोनिज स्पीकिङ् कन्टेस्ट एण्ड आर्ट कम्पिटिशनको आयोजना सम्पन्न गरेको छ । कार्यक्रममा ५ देखि १० बर्षसम्मका नानीहरुले क्यान्टोनिज भाषामा गीत, कविता र आफ्नो भनाईहरु राखेका थिए । कार्यक्रममा नानीहरुको हौसलाको लागि अभिभावकहरुको पनि उल्लेख उपस्थित थियो । 

सोहि कार्यक्रमकै अर्को आकर्षण थियो, नानीहरुको आर्ट कला । हङकङका नेपालीहरुमा माझ चिनिएका एक मात्र चित्रकार दिपेन्द्र राईको प्रशिक्षणमा नानीहरुको आकर्षक आर्टहरु प्रर्दशनीमा राखिएको थियो । 

स्पीकिङ र आर्टको प्रतिस्पर्धाका लागि मिस चोई योङ् लिङ ईभा वमन सरजेन्ट याउचिमोङ डिष्ट्रिक पुलिस, दिपेन्द्र राई बलपेन आटिस्ट, मन सु वईल पेन्टिङ एण्ड क्यारिकेचर, ग्रेई क्वाक क्वाईन शिक्षक तथा करिकुलम डिभलपमेन्ट प्रमुख, लियुङ टिक लुन चाईनिज टिचर, अस्मी ग्वान्डे युर्निभरसिटी विद्यार्थी निर्णायक थिए । 

क्यान्टोनिज स्पीकिङ् प्रतियोगितामा प्राईमरी ५ मा अध्ययनरत १० बर्षका राएन गुरुङ प्रथम, प्राईमरी २ मा अध्ययनरत ७ बर्षकी रीहाना गुरुङ् दोश्रो, प्राईमरी ५ मा अध्ययनरत १० बर्षकी प्रशन्ना राई तेश्रो भए । त्यस्तै आर्टको स्पर्धामा प्राईमरी ५ मा अध्ययनरत १० बर्षका नोयल राई प्रथम, प्राईमरी ६ मा अध्ययनरत ११ बर्षका अतिग थापा दोश्रो, प्राईमरी २ मा अध्ययनरत ७ बर्षका रिहाना गुरुङ तेश्रो र प्राईमरी ३ मा अध्ययनरत ८ बर्षका सम्पोन लिम्बु चौथो भए । 

हाम्रो प्रतिविम्ब हाम्रा नानीहरु हुन्, उनीहरुले पाएको शिक्षा र आर्जन गरेको सीप नै भोली नेपाललाई प्रतिनिधीत्व गर्ने महत्वपुर्ण हिस्सा बन्छ । महासंघले निरन्तर यस्ता कार्यक्रमहरुको आयोजना गरिरहेको र आगामी दिनमा पनि नेपाली समाजको हितमा विभिन्न कार्यक्रहरुको सार्वजनिक गर्ने नेपाल क्लव हङकङकी अध्यक्ष एवंम हङकङ नेपाली महासंघकी निवर्तमान अध्यक्ष रीता गुरुङ बताउँछीन । 

हङकङमा हुर्किरहेका तेश्रो पुस्तालाई अव भाषाको समस्या नहुने देखिन्छ । यहि जन्मेका र शिक्षा आर्जन गरेका नानीहरुलाई सानो बाटै बिद्यालयमा समेत भाषाको ज्ञान दिईन्छ, र सामाजिक सस्थाहरुबाट पनि यस्ता प्रकृतिका कार्यक्रमहरु आयोजना हुनुले अझ थप सुधार र सकारात्मकताको शन्देश दिन्छ । 

प्रकाशित :पुस १२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्