सम्झनाका चिहानहरू

- अविरल थापा

पुस ११, २०७५

 

मानिसको मस्तिष्क विगतका सम्झनाहरूको चिहान हो । केही तीता केही मीठा अनेक यादहरूले हाम्रो मन–मस्तिष्क भरिएको हुन्छ । कुनै यादले पिरोल्छन्, कुनै यादले हसाउँछन् । सम्झनै नपरे हुन्थ्यो भन्नेको अझ धेरै सम्झना आउँछ, सम्झेर बस्छु भन्नेको धमिलो सम्झना मात्र मनमा हुन्छ । सम्झनाहरू पनि केही गाढा त केही फिक्का हुन्छन् ।

जिन्दगीमा पहिलो पटक घटेका कुरा अक्सर भुल्न सकिँदैन । अझ जिन्दगीको पहिलो प्रेम त कसैले बिर्सन सक्दैन । अझ त्यो प्रेममा बिछोड भएको थियो भने त ह्दयमा सुल बनेर जिन्दगीभरका लागि गाढिएर बस्छ । जति टाढा भयो सम्झना उति गाढा हुन्छ । जसले धेरै रुवाउँछ उसैको धेरै याद आउँछ । समयसँगै केही याद धमिला भएर जान्छन् केही याद विस्मृतिमा जान्छन्, तर त्यही मानिस धेरै पछि बाटोमा भेटियो भने त्यही ठाउँमा फेरि पुगियो भने पुरानै यादहरू बल्झेर आइदिन्छन् । पुराना प्रेमिल यादहरू रसाएर आइदिन्छन् । जीवनमा घटेका नराम्रा घटनाहरू सम्झेर मानिस बेलाबखत तर्सिन्छन् । जिन्दगीमा ठक्कर नखाएको कोही हुँदैन । जति ठक्कर खायो मानिस उति परिपक्व हुँदै जान्छ । हन्डर नखाएको जीवन र ठन्डी नखाएको अन्न त्यति स्वादिलो पनि हुँदैन ।

धेरैलाई बालापनको सम्झना मीठो लाग्छ । जिम्मेवारी नभएको जीवन हाँसखेल गरेको जीवन फेरि भोग्न मन लाग्छ । दु:खी मानिसहरू विगत सम्झेर अनि भविष्यको आशामा बाँच्छन्, सुखी हुन खोज्नेहरू वर्तमानमा रमाउँछन् । विगतमा घटेको घटनालाई पाठ सम्झेर अघि बढ्यो भने त्यो मानिस ज्ञानी हुन्छ, तर त्यसैलाई मनमा लिएर बस्यो भने निराशामा डुब्छ । अघि बढ्ने कि अड्किएर बस्ने आफूमै भर पर्छ । हुने कुरा भैसक्यो, अब त्यसलाई स्वीकार गर्नुको विकल्प हुँदैन । आखिर जति नकारे पनि रोई–कराई गरे पनि अन्तत: मानिससँग सहनुको कुनै विकल्प हुँदैन । यद्यपि धेरै मानिसमा ईख लिएर बस्ने 

बानी हुन्छ । 

जीवनको कुनै मोडमा कसैले कसैको चित्त दुखाएको वा बिगार गरिदिएको हुनसक्छ र त्यो कुरालाई लिएर मनमुटाव भै बोलचाल नै बन्द भएको हुन्छ । कतिसँग झगडा नै परेर कैयन् वर्षसम्म बोलचाल हुँदैन । आफूसँग बोलचाल नभएको मानिससँग कहिलेकाहीं बाटोमा भेट हुन्छ, कहिले अचानक आँखा अगाडि परिन्छ, त्यति बेला आँखा कता हेर्नु जस्तो हुन्छ, कस्तो भाव दिनु जस्तो हुन्छ, मुन्टो कता बटार्नु जस्तो हुन्छ । आफ्ना पति वा पत्नीसँग हिंडिरहेका बेला पूर्वप्रेमी–प्रेमिका भेटिन सक्छन् । धेरै मानिसले मनन नगर्ने कुरा के हो भने कतिपय घटना भूलवश वा असमझदारीमा त्यतिबेला घटेको हुन्छ तर समय बित्दै जाँदा आफूलाई गल्ती दुवैको थिएन भन्ने महसुस भैसकेको हुन्छ वा त्यो झगडाको तुक नै हराइसकेको हुन्छ, तर बोलचाल अझै खुलेको हुँदैन । कसले पहिले बोल्ने को पहिले झुक्ने भन्ने अहंमा यहाँ कैयन् सम्बन्ध छटपटाइरहेका हुन्छन् । एकफेर आँखा जुध्दा फिस्स हाँसिदिनुस् त, सन्चै छौ भनेर सोधिदिनुस त, एकफेर भेटौं न भनिहेर्नुस् त, सबै तुष सकिन्छ, सबै घृणा समाप्त भएर जान्छ । एक–अर्कालाई अँगालेर रुनुहोस् त, कति आनन्द आउँछ, मन कति हल्का हुन्छ ? जीवनमा कोही शत्रु नहुनु जतिको मज्जा के होला र !

यहाँ कोही पनि पहिलेको जस्तै रहिरहन सक्दैन । हरदिन हरपल मानिसको सोच र भाव परिवर्तन भैरहेको हुन्छ । त्यही कुरालाई, त्यही मानिसलाई हेर्ने दृष्टिकोण बदलिइरहेको हुन्छ । होइन, मैले त्यसलाई राम्रोसँग चिनेको छु, त्यो कस्तो छ भनेर सामान्यीकरण गर्नु महाभूल हुन्छ । कुन मोडमा कुन ठक्कर खाएर मानिसको चेत खुल्छ, कसैले भन्न सक्दैन । जीवनको पानालाई फुर्सदमा यसो पल्टाएर हेर्नुहोस् त, कति घटना कसरी जोडिएका, कसरी जेलिएका छन् । को मान्छे भेटेर कसरी जीवन अर्कै बाटोमा लागेको छ, के पाएर के गुमाएर जीवनमा के–के भएको छ, हेर्नुस् त कति रहस्यमय लाग्छ आफ्नै जिन्दगी । 

कति कुरा त्यो समयमा घट्दा नराम्रो लागेको हुन्छ र तत्कालीन अवस्थामा त्यसले हानि समेत पुर्‍याएको हुन्छ तर कालान्तरमा त्यो नभैदिएको भए आज म यहा ँहुन्नथें, यो चिज पाउन्नथें भन्ने हुन्छ । सायद त्यसैले पनि भनिएको होला, जे हुन्छ राम्रैका लागि हुन्छ । त्यतिबेला त्यो पाइनँ भने त जिन्दगीनै बर्बाद हुन्छ भन्ने लागेको कुरा अहिले आएर सम्भँmदा सामान्य लाग्छ ।

विगतमा कतिले सन्तान गुमाएका हुन्छन्, कतिले आफन्त तर समयले घाउ पुर्दै लान्छ । हरेक मानिसले खुसीका साथै पीडा पनि भोग्छ । जिन्दगीले थप्पड हान्छ, ठक्कर दिन्छ, छिर्के हानेर लडाउँछ, घाइते बनाउँछ तर साहसी त्यो हो जसले उठेर जीवनलाई टक्कर दिन्छ र जितेर देखाउँछ । गाला छामेर जहाँको त्यहीँ रोएर बस्ने कि सम्हालिएर अघि बढ्ने आफ्नै हातको कुरा हो । चोटहरू सम्झेर मन कहिल्यै खुसी हुँदैन । बिर्सन नसकिएला तर नसम्झी बस्न सकिन्छ । 

बेलाबेलामा सम्झनाका पोकाहरू फुकाएर हेर्नुहोस्, कति बाफ बनेर उडछन्, कति छाल बनेर छचल्किन्छन् । ढुसी लागेका सम्झनाहरूलाई घाममा सुकाइदिनुहोस् । काँडाले नकोतरेको तन र पिरतीले नकोतरेको मन त कसको हुन्छ र ? भन्ने कुरा सम्झेर मुस्कुराउनुहोस् केवल मुस्कुराउनुहोस् ।

प्रकाशित :पुस ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्