बल्ल मिस नेपाल भएको अनुभव गरिरहेकी छु

- साप्ताहिक संवाददाता

पुस ९, २०७५

श्रृंखला खतिवडा चीनको सान्यामा सम्पन्न मिस वल्र्ड–२०१८ मा नेपाललाई प्रभावकारी ढंगले प्रतिनिधित्व गरेर अघिल्लो साता स्वदेश फर्किइन् । स्वदेश फर्किएको दुई दिनपछि पत्रकार सम्मेलनमा प्रस्तुत भएर उनले आफ्ना भनाइहरू सार्वजनिक गरिन् । मिस वल्र्डका १ सय २१ प्रतिस्पर्धीमध्ये उत्कृष्ट १२ (टप ट्वेल्भ) मा पुग्न सफल हुँदै श्रृंखलाले ब्युटी विद अ पर्पोज तथा मल्टी मिडिया गरी दुईवटा सब–टाइटलसमेत जितिन् ।

सामाजिक सञ्जालमार्फत विश्वभर रहेका नेपाली मात्र होइन विदेशीहरूको समेत माया र सद्भाव कमाएकी श्रृंखलाको अबको यात्रामा सम्पूर्ण देशको ध्यान जाने निश्चित छ । उनी स्वयं पनि त्यसका लागि तयार छिन् । गत आइतबार मिस नेपालको आयोजक संस्था हिडन ट्रेजरको कार्यालयमा साप्ताहिकका कृष्ण भट्टराईसँगको कुराकानीमा श्रृंखलाले मिस वल्र्डको आफ्नो यात्रादेखि भावी योजनाका सम्बन्धमा समेत बेलीबिस्तार लगाइन् । 

यतिबेला के भन्न मन लागेको छ ? 

नेपालीहरूको माया गरेपछि बिछट्टै माया गर्ने शैलीदेखेर दंग परेकी छु । एक्कासि एक जना चेलीका लागि पूरै देश नै उर्लेर आयो । नेपाल फर्किएपछि मैले ज–जसलाई भेटिरहेकी छु, हरेकले फेसबुक खोल्यो कि तिमी मात्र हुन्थ्यौ भन्नुहुन्छ । मेरा लागि त्यो सबैभन्दा अप्रत्यासित थियो । मैले यति धेरै माया पाउँछु भन्ने सोचेकै थिइन् । त्यसका लागि म हृदयदेखि नै आभारी छु । मलाई यति माथि पुर्‍याइदिनु भएको छ, यसबाट मैले आफूलाई थप जिम्मेवार समेत महसुस गरिरहेकी छु । 

कस्तो जिम्मेवारी महसुस गरिरहनु भएको छ ? 

सबैले ममा केही देखेरै माया गरिरहनु भएको छ । मैले पनि म जुन उत्साह लिएर मिस वल्र्ड–२०१८ मा गएकी थिएँ, त्यसलाई मर्न दिनुहुँदैन, त्यसलाई निरन्तरता दिनुपर्छ भन्ने महसुस गर्दै थप जिम्मेवारी महसुस गरिरहेकी छु । आज आएर मलाई साँच्चिकै मिस नेपाल भएको महसुस भैरहेको छ । 

मिस वल्र्डको सहभागिताले नेपाललाई के फरक पारेको अनुभव गर्नुहुन्छ ? 

विगतका वर्षहरूमा मिस नेपाल एउटा निश्चित वर्गसम्म मात्र सिमित थियो । मिस वल्र्ड–२०१८ को मेरो सहभागितापछि भने मिस नेपालका बारेमा सुन्दै नसुनेका, रुचि नै नभएका समाजका हरेक तप्काका मानिसहरू, अझ बालबालिकादेखि वृद्ध–वृद्धासम्मलाई नै मिस नेपाल तथा मिस वल्र्डका बारेमा जानकारी भएको छ जस्तो लागेको छ । त्यसबाहेक काठमाडौंबाहिर पूर्वदेखि पश्चिमसम्म बसोबास गर्ने सबै नेपालीले यसरी मिस नेपाल, मिस वल्र्डलाई फलो गर्नु भएको पहिलो पटक नै हो कि जस्तो लाग्छ । त्यसका लागि म अत्यन्त आभारी छु र आफूलाई भाग्यमानी समेत मानिरहेकी छु । 

श्रृंखलाको अबको यात्रा कसरी अघि बढ्नेछ ?

नेपाल फर्किए पछिको पहिलो साता घर–परिवार, साथीभाइ तथा सञ्चारकर्मीहरूकै वरिपरि रहें । अब भने मलाई नेपालका केही वरिष्ठ कानुनविद्हरूसँग भेट्न मन लागेको छ । उहाँहरूलाई भेटेर महिलाहरूसँग सम्बन्धित कानुनका साथै महिला हक–अधिकारका बारेमा जानकारी लिन मन छ । अलि–अलि ज्ञान त मलाई छ, यद्यपि नेपालका गरिब, निमुखा, पिछडिएका महिलाहरूको हक–हितका लागि के–के गर्न सकिन्छ भन्ने कुराको अध्ययन गर्न थालेकी छु । त्यसबाहेक मैले समाजका हरेक क्षेत्रका बारेमा धेरैभन्दा धेरै जानकारी लिने योजना बनाएकी छु । ती सबै कुराको जानकारी लिएर सामाजिक सञ्जालमार्फत आफ्ना धारणा जनसमक्ष ल्याएर समाजलाई जे जस्तो योगदान दिन सक्छु, त्यसमा केन्द्रित हुनेछु । मलाई एक पटक देशमा विद्यमान सम्पूर्ण विषयको ज्ञान लिने चाहना छ । यसबाहेक म त एउटा माध्यम मात्र हुँ । आफू मार्फत समाजलाई सुधार्न सकिने जे–जस्ता कामहरू गर्न सकिन्छ, म त्यसमा लागिपर्नेछु । यी सबै मेरा दीर्घकालीन योजना हुन् । अहिले तत्कालका लागि भने मैले मकवानपुरमा प्रारम्भ गरेको चेपाङ बस्तीको स्वास्थ चौकीको योजनालाई अघि बढाउनेछु । 

चेपाङ बस्तीको प्रोजेक्ट कहाँ पुग्यो ? 

मकवानपुरको कैलाश गाउँपालिकाको ताम्लाङ भन्ने गाउँ भौगोलिक रूपमा नजिकै भए पनि अति नै विकट छ । त्यो गाउँका मानिसहरू कतिसम्म दु:खमा हुनुहुन्छ भन्ने कुरा मैले ब्युटी विद अ–पर्पजको भिडियोमा समेत चित्रण गरिसकेकी छु । त्यो गाउँमा पुगेर मैले थालेको स्वास्थ चौकी निर्माण गर्ने योजना करिब–करिब पूरा हुन लागिसकेको छ । त्यसका लागि धेरै जनाले सहयोग गर्न खोजिरहनु भएको छ । म झन्डै आठ महिनादेखि त्यही गाउँमा स्वास्थ चौकी बनाउने काममा छु । 

त्यहाँ कहिले जाँदै हुनुहुन्छ ? 

ब्युटी विद अ–पर्पोजको मेरो प्रोजेक्ट बनाउन सहयोग गर्नु हुने सिसन बानिया आफैं एउटा अभियान चलाएर उक्त बस्तीका लागि अहिले एक हजारवटा म्याट्रेस तथा ब्लाङ्केट तयार पारिरहनु भएको छ । अर्को हप्ता नै हामी जाडोका ती सामग्री लिएर उक्त गाउँ पुग्दैछौं । उक्त कार्यको सम्पूर्ण श्रेय सिसन बानियाँ तथा यो अभियानमा स्वस्फूर्तरुपमा सहभागि हुनु भएका सम्पूर्ण स्वयंसेवकहरूलाई जान्छ । 

प्रसंग बदलौं, मिस वल्र्ड–२०१८ को ग्राण्ड फिनालेको अन्तिम चरणको उत्कृष्ट ५ मा आफ्नो नाम नपर्दा कस्तो अनुभव गर्नुभयो ? 

त्यो क्षणसम्म आइपुग्दा म नआत्तिने भैसकेकी थिएँ । कुनै ठाउँमा मैले दिन सक्ने प्रस्तुति दिन सकिन भने मलाई आत्मग्लानी हुन्छ, मैले अझ राम्रो गर्न सक्थें भन्ने लाग्छ । कुरा रह्यो टप फाइवको घोषणाको क्षणको, त्यति बेला मैले पनि उत्कृष्ट १२ मा पर्न सफल अन्य प्रतिस्पर्धीहरूले जस्तै प्रस्तुति दिइसकेकी थिएँ । आयोजक एवं निर्णायकका सबै निर्देशनहरू प्रभावकारी ढंगले पछ्याएकी थिएँ । आत्मविश्वासमा एक प्रतिशत पनि कमि आउन दिएकी थिइन् । त्यसैले म उत्कृष्ट १२ बाट उत्कृष्ट ५ मा पुग्छु भन्ने कुरामा विश्वस्त थिएँ । विगतका रेकर्डहरू हेर्ने हो भने पनि ब्युटी विद अ–पर्पस तथा मल्टी मिडियाको एवार्ड जित्ने प्रतिस्पर्धी टप फाइवसम्म नपुग्ने भन्ने नै थिएन । ब्युटी विद अ–पर्पस त मिस वल्र्डकै सबैभन्दा ठूलो सब–टाइटल हो । मल्टी मिडिया एवार्डले त नेपालको ग्लोबल प्रजेन्ट्स यसरी स्थापित गरिदिएको थियो कि त्यसलाई आयोजक तथा निर्णायकले बेवास्ता गर्न सक्ने कुरै थिएन । मिस वल्र्डको इतिहासमा म त्यस्ती दोस्री प्रतिस्पर्धी हुँ, जसले दुईवटा प्रभावकारी सब–टायटल जितेकी छिन् । यसबाहेक ग्राण्ड फिनालेमै पनि मैले आफ्नो बेस्ट दिएकै थिएँ, त्यसका आधारमा पनि मैले आफूलाई टप फाइवमै पुग्ने आशा गरेकी थिएँ । यद्यपि अन्तिम क्षणमा एसियाबाट थाइल्याण्ड छनोट हुँदा हामी सबै आश्चर्यमा पर्‍यौं । मैले थाइल्याण्डकी प्रतिस्पर्धी टप फाइवमा पर्नु हुँदैन थियो भन्न खोजेकी होइन, उनी पनि उत्तिकै क्षमतावान् हुन्, यद्यपि अधिकांशले टप फाइवमा मलाई नै एक्सपेक्ट गरेका थिए । मेरा प्रतिस्पर्धीहरूले त मलाई विजेताकै रूपमा समेत हेरेका थिए । 

त्यो क्षण कत्तिको दु:खी हुनुभयो ? 

सबै कुरा गर्दा–गर्दै पनि त्यो स्थानसम्म नपुग्दा दु:ख मानेर पनि केही हुँदैन भन्ने कुरा तत्काल बुझेर आफूलाई सम्हालें । यसो अनुमान गर्नुस् त, के कुराले चाहिँ हामी टप फाइवमा पुग्न सकेनौं ? 

म किन त्यहाँसम्म पुग्न सकिन भन्ने कुराले म आफैं पनि छक्क परेकी छु । मलाई नै थाहा छैन, ममा के कुराको कमि भयो ? एउटा स्यास फ्याक्टर भन्ने चाहिँ हुन्छ, तर त्यो पनि नहोला कि जस्तो लाग्छ । 

स्यास फ्याक्टर भनेको के हो ? 

मिस वल्र्डको इतिहास हेर्ने हो भने पाँच–छ वटा त्यस्ता देश छन्, जसका सुन्दरीहरूले मिस वल्र्ड, मिस यूनिभर्स जस्ता सौन्दर्य प्रतियोगिताहरूमा सफलता हासिल गरिरहन्छन् । भेनेजुएला, कोलम्बिया, फिलिपिन्स, भारत, दक्षिण अफ्रिका जस्ता देश ब्युटी पेजेन्ट कम्युनिटीमा अत्यन्त स्ट्रङमा मान्छन् । फुटबलमा ब्राजिल, अर्जेन्टिना भने जस्तै । मैले उल्लेख गरेका देशहरू जहिले पनि मिस वल्र्डको दावेदार जस्तै हुन्छन् । ती देशबाट आएका सुन्दरीहरूले आफूलाई चिनाउन खासै मेहनत गर्नुपर्दैन । चिनाउनका लागि हामीले जस्तो दु:ख गर्नै पर्दैन । उनीहरू मिस वल्र्डका लागि जानुभन्दा अघि नै ती देशबाट को आउँछन् भनेर एक किसिमको कौतुहलता हुन्छ तर हाम्रो जस्तो मिस वल्र्डमा आफ्नो स्ट्याण्ड नबनाइसकेको देशका लागि भने चिनिनै गाह्रो हुन्छ । जस्तो मैले आफूलाई मिस वल्र्डको प्लेटफर्ममा चिनिनकै लागि धेरै दु:ख र मेहनत गरें । उहाँहरू खोजेर नेपाल भनेर आउनु हुन्न, नेपाल भनेर चिनिन नै संघर्ष गर्नुपर्छ । त्यो भएर पनि शायद उहाँहरूलाई थाइल्याण्डकी प्रतिस्पर्धी सुरुदेखि नै मन परेकी हुनसक्छिन् । कोरियोग्राफरहरूसँग उनको राम्रो सम्बन्ध हुनसक्छ । मैले त्यो आत्मियता बनाउन सकिन कि ? कतिपय फ्याक्टर हामीलाई थाहै नहुन पनि सक्छ । 

यसबाहेक अन्य केही कारण पत्ता लगाउनुभयो ? 

मैले बुझेको अर्को कुरा के हो भने मिस वल्र्डको प्रतियोगिता अवधि झन्डै एक महिनाको हुन्छ । त्यो अवधिमा हामीले गर्ने हरेक क्रियाकलापको मूल्यांकन भैरहेको हुन्छ । किनभने ग्राण्ड फिनालेको एक रातले त केही पनि डिफाइन गर्न सकिँदैन । त्यहाँ सबै एक–से–एक देशका सुन्दरी थिए । जो कोहीले जित्दा पनि यसले जित्नै नहुने भन्ने थिएन । जसले जिते पनि उ त राम्रै हो भन्ने अवस्था थियो । सबै जना आ–आफ्नो देशको प्रतिनिधि । यद्यपि, म थाइल्यान्डभन्दा कम थिएँ चाहिँ भन्दिन, सँग–सँगै उनी टप फाइवमा पुगेर गलत भयो पनि भन्दिन । एक महिनाको मूल्यांकनमा थाइल्यान्ड मभन्दा उत्कृष्ट भएको हुनसक्छ । यद्यपि, टप फाइवमा चाहिँ म पर्नै पथ्र्यो भन्ने अहिले पनि लागि नै रहेको छ । शायद, अरू कुनै काममा राम्रो हुने लेखिएको छ कि ? एउटा कुरा चाहिं के हो भने आगामी वर्षहरूमा मिस वल्र्डमा नेपाललाई चिनाउन भने गाह्रो पर्ने छैन । 

सान्याको एक महिने बसाईका क्रममा अनि १ सय २१ सुन्दरीको भीडमा तपाईंले आफूलाई कहाँ पाउनुभयो ? 

१ सय २१ जनाको भीडमा मैले कहिले पनि आफूलाई तल पाइन् । म जहिले पनि माथि नै थिएँ । त्यसबाहेक नेपालमा त्यति राम्रो लुगा पाइँदैन, गाउनहरू पाइँदैन, एसेसरीजहरू हुँदैन, विदेशमा जस्तो प्रशिक्षण पाइँदैन भन्ने जुन हल्ला छ नि, मलाई ती सबै कुरा गलत हुन् जस्तो लाग्यो । शायद मैले पूर्व तयारी राम्रोसँग गरेकाले होला, ती अभावहरू खड्किन दिइन् । पहिरनले धेरै ठूलो म्याटर गर्ने कुरा मलाई थाहा थियो, त्यसैले मैले पहिरनकै लागि स्पोन्सर खोज्नेदेखि लिएर लुगा खोज्नैका लागि लण्डन समेत पुगें । मिस वल्र्डको त्यो विशाल माहौलमा आफूलाई कमजोर महसुस गर्नु नपरोस् भनेरै मैले नेपालमै प्रसस्त होम वर्क गरेकी थिएँ, एकदमै धेरै दु:ख गरेकी थिएँ, जसले मलाई १ सय २१ को भीडमा तल पर्न दिएन । त्यहाँ पुग्नुअघि नै म कोहीभन्दा कम छैन, कोहीभन्दा कम देखिनु पनि हुँदैन भन्ने दृढ आत्मविश्वासका साथ गएकी थिएँ । म नेपाल भन्ने बित्तिकै एउटा गरिव देशकी प्रतिनिधी हुन् भन्ने देखाउन चाहन्नथिएँ । हामी नेपाली हरेक क्षेत्रमा अब्बल छौं भन्ने प्रमाणित गर्न चाहन्थें,र त्यसमा धेरै हदसम्म सफल समेत भएँ । मैले आफूलाई कुनै पनि दिन अरूभन्दा कम महसुस गरिन् । उल्टो, नेपाल भन्ने बित्तिकै एउटा प्रभावशाली दावेदार छिन् भन्ने कुराको छनक प्रारम्भदेखि नै देखाउँदै गएँ । 

मिस वल्र्ड–२०१८ को घोषणालगत्तै विजेतासँग तपाईंको कुनै संवाद भयो ? 

घोषणा लगत्तै त बधाई दिने काम मात्र भयो । यद्यपि मेक्सिकोकी सुन्दरी भेनेसाले मेरी बेस्ट फ्रेण्ड (मलेयियाकी प्रतिनिधि) लाई श्रृंखला टप टाइवमा नपर्ने बित्तिकै मेरो कन्फिडेन्स ह्वात्तै बढेको थियो भनेर मेरो प्रशंसा गरिछन् । मलाई के लाग्छ भने, भेनेसाले पनि मलाई नै मुख्य प्रतिद्वन्द्विका रूपमा हेरेकी थिइन् । उनले मलाई थाहा थियो, कि मैले कि त नेपालले नै जित्छ भन्ने कुरा गरेकी रै’छिन् । उनको यो प्रतिक्रियाले मलाई असाध्यै खुसी तुल्यायो । वास्तवमा टप फाइवमा पुग्न सफल भएका सुन्दरीहरूमध्ये भेनेसा नै सबैभन्दा योग्य थिइन् । नेपालबाट पनि मलाई जिज्ञासा राख्नेहरूले को–को छ दावेदार ? तिम्रो कोसँग बढी प्रतिस्पर्धा छ ? भन्दा म मेक्सिकोकी सुन्दरीकै नाम लिन्थें । अन्तत : उनैले जितिन् । 

भेनेशाको विनिङ फ्याक्टर के थियो ? 

उनी मोडल हुन्, यद्यपि दुई वर्षअघि उनले मोडलिङलाई चटक्कै छाडेर शतप्रतिशत भोलेन्टरिङमा लागेकी रैछिन् । उनको व्यक्तित्व नै स्ट्रङ छ । उनको बोल्ने शैली तथा प्रजेन्टेसन स्किल शक्तिशाली छ । उनले जित्दा म आफैं असाध्यै खुसी भएकी थिएँ । 

अरू प्रतिस्पर्धीहरूले चाहिँ श्रृंखलालाई कसरी हेरेको पाउनुभयो ? 

मलाई उनीहरूले फ्रेण्डली, हम्बल, सहयोगी, सकारात्मक सोच भएकी युवतीका रूपमा पाएको मैले बुझेकी छु । म सधैं हाँसिरहने स्वभावकी छु । खाना खाँदा समेत म हाँसी नै रहेकी हुन्थें । अधिकांशले मलाई हंसमुख पनि भने । ‘तिमी त एकदमै पोजेटिभ, जहिले हाँसिरहने’ भन्ने कुरा त मैलै धेरै पटक सुनें । अझ मिस वल्र्डको ग्राण्ड फिनालेपछि त मैले झन् धेरै प्रसंसा पाएँ । टप फाइवमा परिन भनेर म एक थोपा पनि दु:खी भइन । यो कुराले धेरैलाई अचम्ममा पारेको रहेछ । म स्टेजबाट फर्किंदा सबै प्रतिस्पर्धी मलाई अंगालो मार्न आएका थिए । सबैको आँखामा ‘टप फाइवमा तिमी डिजर्भ गथ्यौं’ भन्ने भाव थियो । त्यसपछि पनि म ठूलो–ठूलो स्वरमा एसिया भनेर, थाइल्याण्ड भनेर, मेक्सिको भनेर चेयर गरिरहेकी थिएँ । म नै हुनुपर्छ भनेर मैले कहिल्लै गुनासो गरिन् । पछि आ–आफ्नो घरमा पुगेर पनि मलाई कति जनाले लामा–लामा वाक्यमा तिमीले मलाई कति उत्साहित गरेकी छौ, तिमीलाई धन्यवाद भन्दै म्यासेजहरू पठाइरहेका छन् । समग्रमा मैले प्रतिस्पर्धीहरूको समेत मन जितेर फर्किएँ कि जस्तो लागिरहेको छ ।

 

अन्त्यमा, आगामी वर्षकी मिस नेपाललाई के सन्देश दिन चाहनु हुन्छ ? 

वर्ष २०१९ की मिस नेपाल को बन्ने छिन्, त्यो भविष्यको कुरा हो । यद्यपि म उनलाई मिस वल्र्ड–२०१९ को प्रवल दावेदार बनाउन व्यक्तिगत रूपमै प्रशिक्षण दिनेछु, ममा भएका कमी–कमजोरी तथा मैले गरेका स–साना गल्तिहरू उनीबाट नहोस् भन्ने कुरामा सचेत गराउनेछु । 

 

प्रकाशित :पुस ९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्