को हुन् सान्ता क्लज ?

- साप्ताहिक संवाददाता

पुस ८, २०७५

 

अहिले नेपालका विभिन्न सहर तथा अन्य स्थानमा समेत धूमधामका साथ क्रिसमस मनाइन्छ । क्रिसमससँगै सान्ता क्लजको प्रसंग पनि जोडिएर आउँछ । सान्ता क्लजको सुरुवात अहिलेको टर्की तथा त्यो बेलाको माइरा (Myra) का विशप सन्त निकोलस (St. Nicholas) बाट भएको मानिन्छ ।

निकोलस करिब चौथो शताब्दी सन् (२७०–३१०) का व्यक्ति थिए । उनी त्यस्ता व्यक्ति थिए, जो प्राय: रातको समयमा दु:खी र गरिब बालबालिकाहरूलाई उपहार बाँड्न घरबाहिर निस्कन्थे । मृत्युपछि उनको शवलाई टर्कीको माइरामा गाडियो । सन् १०८७ मा उनको अस्तु व्यापारीहरूले माइराबाट चोरेर इटाली ल्याए, जसले गर्दा उनको ख्याति युरोपभर फैलियो ।

युरोपका थुप्रै क्याथोलिक मण्डलीहरूले उनलाई सन्तको आदर दिई उनकै नाममा कैयौं मण्डली स्थापना गरे । यसैक्रममा सन्त निकोलससम्बन्धी कतिपय दन्त्यकथा पनि सिर्जना गरियो । सन्त निकोलस एकदमै कम १७ वर्षकै उमेरमा विशप भएका थिए । १६ औं शताब्दीको सुधारपछि सबै प्रोटेस्टेन्ट मण्डली भएका देशबाट सन्त निकोलसको कथा हराएर गए पनि होल्यान्डमा भने सिन्टरक्लास (Sinterklaas) को नाममै कायम रह्यो ।

सन्त निकोलसलाई डचहरूले १७ औं शताब्दीमा आफ्नो नयाँ उपनिवेश न्यू आम्र्सर्टडम New Amsterdam अहिलेको न्यू योर्क (New York) मा पनि सँगै लिएर गए । सन् १८७० मा अमेरिकी चित्रकार (कार्टुनिस्ट) थोमस नास्टले पहिलो पटक ख्रिस्टमसको नक्सा उतारेका थिए । ख्रिस्टमसलाई बेलायतमा फादर ख्रिस्टमस, अमेरिकामा सान्ता क्लज तथा फ्रान्समा पेरे नोएल भनिन्छ । 

त्यहाँ सिन्टरक्लासको कथालाई खराब बालकलाई दण्ड र असल बालकलाई उपहार दिने व्यक्तिको दन्त्यकथामा परिणत गरियो । परिणाम स्वरूप अमेरिकामा सिन्टरक्लास सान्ता क्लजको नाममा परिणत भै प्रख्यात भयो र अहिले त्यहाँबाट अरु देशतिर विस्तार हुँदै नेपालमा समेत फैलिसकेको छ । यद्यपि ऐतिहासिक रूपले आधिकारिक पुष्टि नभएका सान्ता क्लज वा सन्त निकोलसलाई प्राथमिकता दिनु त्यति उचित मानिँदैन । ख्रिस्टमसमा येशुलाई नै बढी प्राथमिकता दिइन्छ । 

नेपालमा सान्ता क्लज

२०६३ सालमा तत्कालीन व्यवस्थापिका–संसद् बैठकले नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरेपछि क्रिसमसमा सार्वजनिक बिदा दिन थालिएको हो । २०६८ को जनगणनाअनुसार नेपालमा इसाई धर्मावलम्बीको संख्या ३ लाख ७५ हजार ६ सय ९९ छ भने एक अर्को अध्ययनअनुसार ७ हजारभन्दा बढी चर्च छन् । 

नेपालमा पनि सान्ता क्लज बन्नेहरू प्रशस्तै छन् । विभिन्न डिपार्टमेन्ट स्टोर तथा पसलमा सान्ता क्लजका परिहन किन्न सकिन्छ । हिजोआज त अनलाइन सपिङ वेबसाइटहरूले समेत त्यसको होम डेलिभरिको व्यवस्था गर्दै आएका छन् । 

यसरी सान्ता क्लज बन्नेहरू काठमाडौंका साथै टाढा–टाढाका ठाउँहरूमा पुगेर सेवा गर्छन् । कुनै अनाथाश्रम वा पिछडिएको ठाउँमा गएर लुगा, कपडा बाँड्ने, खाद्यान्न बाँड्ने, स्कुले विद्यार्थीहरूलाई कापी, कलम तथा स्कुलका पहिरन वितरण गर्नु उनीहरूको प्रमुख काम हो । 

प्रकाशित :पुस ८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्