ख्रीष्टमसको ऐतिहासिक तथ्य

- त्रिचन्द्र प्रतीक्षा

पुस ८, २०७५

 

सामान्यतया: मानिसहरूलाई ख्रीष्टमस किन मनाइन्छ भन्ने थाहा छैन, ख्रिष्टियनहरूलाई पनि ख्रीष्टमस के हो भनेर सोद्धामा ख्रीष्टमस प्रभु येशूको जन्मदिन हो, भन्ने जवाफ दिन्छन् । त्यसो भए के साँच्चै नै ख्रीष्टमस येशूको जन्म दिन हो ? ‘ख्रीष्टमस’ को वास्तविकता के हो त ? 

न्यू क्याथोलिक इन्साइक्लोपीडियाका अनुसार, ख्रीष्टको जन्ममितिका बारेमा एकमत हुन सकिएको छैन । बाइबलले न त ख्रीष्ट जन्मिएको दिन न महिनाका सम्बन्धमा नै केही बताउँछ । एच. उजेनरको अनुमान र आजका धेरैजसो विद्वानहरूले स्वीकार गरेअनुसार ख्रीष्टको जन्ममिति उत्तरी गोलाद्र्धमा जाडो महिना सुरु हुने बेलामा (जुलियन क्यालेन्डरमा डिसेम्बर २५, आधुनिक ग्रेगेरियन क्यालेन्डरमा जनवरी ६) तय गरियो । किनभने सूर्य विस्तारै उत्तरी गोलार्धको आकाशमा फर्कन थालेकाले यस दिन मिथ्राका गैर–ख्रीष्टियनहरूले डीस नाटालिस सोलिस इन्विक्टी (अजेय सूर्यको जन्मदिवस) मनाउँथे । २५ डिसेम्बर २७४ मा रोमन सम्राट एरेलियनले सूर्यदेवलाई रोमन साम्राज्यको मुख्य संरक्षक भएको घोषणा गरे, अनि क्याम्पस मार्टियसमा सूर्यदेवको एउटा मन्दिर स्थापना गरे पछि सूर्यदेव मिथ्राको उपासनालाई नै ख्रीष्टमसका रूपमा मनाउन थालियो भने रोमका धार्मिक मानिसहरूले सबैभन्दा पहिले ख्रीष्टमस मनाएका थिए भन्ने अपुष्ट भनाइ पाइन्छ । 

चौथो शताब्दीको उत्तराद्धतिर ख्रीष्टमस भिन्नाभिन्नै मितिमा भएपनि प्राय:जसो चर्चमा मनाइन थालिएको थियो । येशूको जन्मदिन निर्धारण गर्न विभिन्न विधिहरू अपनाइए । परिणामत: प्रारम्भिक ख्रीष्टियन चर्चहरूमा बेग्ला–बेग्लै मिति देखा परे । जनवरी २, अप्रिल १८, मे २० तथा डिसेम्बर २५ त्यस्ता मिति थिए । कालान्तरमा डिसेम्बर २५ नै ख्रीष्टमसको औपचारिक मिति हुन पुग्यो । ख्रीष्टियन इतिहासकार सेक्टस जुलियस अफ्रिकानसले सन् ३२१ मा सर्वप्रथम डिसेम्बर २५ लाई ख्रीष्टको जन्मदिनका रूपमा परिचित गराएका थिए । ख्रीष्टियन इतिहासमा आधिकारिक रूपमा पहिलो पटक ख्रीष्टमस सन् ३३६ मा रोममा मनाइएको कुरा उल्लेख छ ।

सन् १६४७ मा बेलायतमा संसद्ले एउटा कानुन पारित गरी ख्रीष्टमसलाई अवैध घोषणा गर्‍यो अनि त्यसपछि सन् १६५२ मा यसमाथि पूर्णतया प्रतिबन्ध नै लगायो । सन् १६४४ देखि १६५६ सम्म हरेक डिसेम्बर २५ मासंसद्को भेला बोलाइन्थ्यो । इतिहासकार पेनी एल. रिस्टाडका अनुसार ख्रीष्टमसका दिन अन्य सामान्य दिनमा जस्तै पसलहरू खोल्नुपर्ने नियम थियो भने त्यसदिन चर्चलाई सजाएको खण्डमा जरिवाना र जेल सजाय हुन्थ्यो । उता अमेरिकाको म्यासाचुसेट्स बे कोलनीमाडमा पनि सन् १६५९ देखि १६९१ सम्म ख्रीष्टमस मनाउन नपाउने कानुन पारित गरेर प्रतिबन्ध लगाइएको थियो । 

पुरातन चर्चहरूले ख्रीष्टको जन्मोत्सव मनाउने कुनै धर्मशास्त्रीय आधार पाएनन् र मनाएनन् । एक स्रोतका अनुसार डिसेम्बर २५, १७७२ मा मात्र न्युपोर्टको रोड आइल्याण्ड ब्याप्तिस्ट चर्चले सर्वप्रथम ख्रीष्टमस मनाएको थियो । यो उत्सव न्यु इंग्ल्याण्डमा प्रथम ब्याप्टिस्ट चर्चको स्थापना भएको झन्डै १३० वर्षपछि मात्र मनाइएको थियो । बेलायत तथा राष्ट्रमण्डलीय देशहरूमा ख्रीष्टमस लगत्तै डिसेम्बर २६ मा बक्सिङ डे मनाइन्छ । केही क्याथोलिक मुलुकमा यसलाई सेन्ट स्टिफेन्स डे वा फिस्ट अफ सेन्ट स्टिफेन्स पनि भनिन्छ ।

ख्रीष्टमस (Christmas) शब्दको उत्पति पुरानो अङ्ग्रेजी शब्द Cristesrnaesse बाट भएको हो, जसको अर्थ हुन्छ Christian Mass । ख्रीष्टमसको सङ्क्षिप्त शब्द हो Xmas हो, जुन छापा माध्यममा बढी प्रयोगमा ल्याइएको छ । ख्रीष्टमससँग सम्बन्धित लोकप्रिय तर काल्पनिक व्यक्ति हुन्– सान्ता क्लाउस (Santa Claus)     । यो शब्द डच शब्द सिन्तेरक्लासबाट आएको हो, जसको अर्थ सान्ता निकोलस हुन्छ ।

सातौं शताब्दीको मध्यतिर क्रिसमस वृक्ष सजाउने परम्परा जर्मनीबाट आरम्भ भयो । मानवाधिकारवादी लेखक सेवास्टियन ब्राण्डले सन् १४९४ मा लेखेको मूर्खहरूको जहाज शीर्षकको कृतिमा घरहरूमा देवदारको वृक्षको हाँगा राख्ने चलनलाई अभिलिखित गरेका छन् । ख्रीष्टमसमा सजाउनका लागि देवदार वृक्ष नै छानिएको थियो । यतिबेला शिशिर ऋतु सुरु भैसकेको हुन्छ । सबै वृक्षको पात झरिसक्ने भए पनि देवदार सदाबहार हुन्छ । ख्रीष्टमस वृक्षको परम्परा सुनिश्चित मिति र उत्पत्तिको सम्बन्धमा केही अनिश्चितता भएपनि यस्ता रुखहरूमा प्रयोग गरिएका मैनबत्तीहरू सन् १६६१ मा सायलसियन अभिलिखित गरेका छन् । 

थोमस एडिसनका सहायक एडवर्ड जोन्सनले सन् १८८२ मा ख्रीष्टमस वृक्षका लागि विद्युतिय प्रकाशको सोच ल्याएका थिए भने ख्रीष्टमस वृक्षमा लगाइने बत्तीको आमउत्पादन पहिलो पटक सन् १८९० मा भएको थियो । सन् १८४३ मा पहिलो ख्रीष्टमस कार्ड बेलायतका सर हेनरी कोलका लागि जोन क्यालकोट हर्सनद्वारा डिजाइन गरिएको थियो । यो आधुनिक पोष्टकार्डजस्तै थियो र त्यसमा लेखिएका शब्द थिए– मेरी ख्रीष्टमस एण्ड ह्याप्पी न्यु इयर ।

 

प्रकाशित :पुस ८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्