भजन, भोजन र भोगले एकान्त खोज्छ

- किशोर नेपाल

पुस ७, २०७५

नेपालका एक धुरन्धर वित्तिय कारोबारी हरेक दिन बिहान समाचारपत्रमा आफ्नो राशिफल हेरेर दिनको सुरुवात गर्छन् । उनी आफ्नो भविष्यप्रति त्यति साह्रो संवेदनशील होइनन । भन्छन्, ‘कसो–कसो यो राशिफल हेर्ने बानी परिसक्यो । विश्वास लाग्छ पनि र लाग्दैन पनि । जोखना हेरेको जस्तै हो । धेरैजसो दिन राशिफल मिल्दैन । मिष्टान भोजन भनेको दिनमा दालमा नून नै पुगेको हुँदैन । धननाश भनेको दिनमा धनलाभ भै रहेको हुन्छ, यस्तै–यस्तै हो ।’

मानिसलाई सधैं आफ्नो भविष्यप्रति चासो रहन्छ । भविष्य अज्ञात छ भन्ने थाह हुँदाहुँदै पनि ऊ आफू र आफ्ना प्रियजनको भविष्य थाहा पाउन उत्सुक हुन्छ । मानिसको यो उत्सुकता र जिज्ञाशालाई विज्ञानको अनुमोदन रहेको हुन्छ । ज्योतिष शास्त्र संसारभरि नै प्रतिष्ठित छ । यसलाई विज्ञान मानिएको छ । यसका दुई शाखा छन् : पूर्वीय र पश्चिमी । पूर्वको ज्योतिषले हेरेपनि पश्चिमको ज्योतिषले हेरे पनि मानिसको भाग्य र भविष्य बदलिने होइन । मानिस बाँचुन्जेलका लागि यो उसको मनको सन्तोष मात्र हो । ज्योतिषले जतिसुकै वैज्ञानिक सल्लाह दिए पनि मानिसले त्यस अनुसार आफ्नो भविष्य बनाउने ल्याकत राख्दैन । अज्ञात जमिनको अज्ञात सतहमा कस्तो भविष्यका लागि कस्तो संरचना तयार गर्नु ?

भारत उत्तर बंगाल राज्यको राजधानी तथा संसारका महानगरमध्येको एक कोलकाता निवासी विकास कुमार व्यास मानिसको सरल मनमा खेल्ने अनेकौ प्रश्नसँग खेल्ने पेशामा छन् । शिक्षामा वाणिज्य शास्त्र र कम्प्युटर सफ्टवेयरमा पारंगत व्यासले अध्यात्म र ज्योतिष शास्त्रलाई किन पेसा बनाए ? यसको उत्तर उनी आफैंसँग पनि छैन । उनको कुण्डलीमा नै योग छ । मोक्षको बाटो समातेर हिंड्दा उनलाई पनि रमाइलो लाग्छ । यो पेसालाई नैतिक हिसाबले राम्रोसँग चलाउने हो भने यसबाट आफ्नो पनि उद्धार हुन्छ । संस्कृतको एउटा श्लोक समातेर उनी भन्छन् : ‘महाजनो येन गत स पन्था ।’ 

शायद यो उनका पिताजीकै आकर्षणले काम गरेर होला, उनले यो पेशा समाते । व्यास हार्दिक रूपले सन्तुष्ट छन् । उनले आफ्नो व्यवसायमा अलिकति आकर्षण पनि थपेका छन् । देव देवी पूूजा र ग्रह शान्तिको सन्दर्भमा उनी आफ्ना यजमानहरूलाई विभिन्न मठ र पीठहरूको दर्शन गराउन ठाउँठाउँको यात्रा गर्छन् । यसैकारण पनि, नेपाल उनको सूचीमा परेको छ । नेपाललाई देवभूमिका रुपमा मान्ने भारतीयहरू असंख्य छन् । ती असंख्य भारतीयहरू जसमा आध्यात्मिक र भौगोलिक तृष्णा अत्यधिक छ, त्यसलाई मेटाउन पथ प्रदर्शकका रूपमा विकास कुमार व्यासले नेपाल भ्रमण गराइरहेका छन् । उनले विगत केही दिन यता धार्मिक पर्यटनमा आउने भारतीय पर्यटकहरूलाई मुक्तिनाथको अर्चना र दर्शन गराएका थिए । ती पर्यटकले नेपाल प्रवासका क्रममा राम्रै पैसा खर्च गरे । तीनतारे होटलमा आवास व्यवस्था, यातायात, खाना र दर्शनीय स्थलहरूको भ्रमण गर्दा सोचेभन्दा बढी पैसा खर्च हुन्छ ।

नेपालका शक्तिपीठहरूमा भारतीयहरूको रुचि बढ्दै गएको छ । नेपालमा संस्थापित विभिन्न भैरवहरूको पूजा अर्चनाका लागि यहाँ आउने श्रद्धालुहरू बढ्दै गएका छन् । इन्द्रचोकका आकाश भैरव, दरबार स्क्वायरका काला र सेता भैरव, ज्ञानेश्वरका भैरव लगायत नेपालमा थुप्रै पीठहरू छन् जहाँ पर्यटकको राम्रो पहूँच छैन । यस्ता पीठको सोधखोज र अनुसन्धान गरेर भारतमा प्रचार गर्न सकेको खण्डमा पर्यटन व्यवसायबाट ठोस योगदान पुग्नेछ देश विकासमा, तर सरकारले समृद्धिको नारामात्र लगाउन जानेको छ । त्योभन्दा पर अर्को ‘एक्सन’ देखिएको छैन । व्यासजीको विचारमा, ‘नेपालका व्यवसायिक समुदायका मारवाडी र अन्य जातजातिका सदस्यहरू नेपालको धार्मिक पर्यटनको विकासमा सहयोग गर्न चाहन्छन् । उनीहरूको सहयोग कसरी लिने ? त्यो नेपाल सरकारको कुरा हो ।’

अहिले नेपालका पर्यटन व्यवसायीले भारतीय पर्यटकमा खासै ध्यान दिएका छैनन । तिनका लागि आवास र भोजनको राम्रो ब्यबस्थागर्न सकेका छैनन । पशुपतिनाथको दर्शनका लागि आएका धार्मिक पर्यटकहरू मन्दिरको वरपर स–साना होटल र धर्मशालामा बस्छन् । सकेसम्म कम खर्चमा धेरै देवी देवताको दर्शनगर्न चाहन्छन् । यस्ता पर्यटक त आएका छन् नै । ती भन्दा माथिल्ला वर्गका धेरै पैसा खर्चगर्ने क्षमता भएका पर्यटक धर्म र आनन्द एकै पल्ट लिन चाहन्छन् । तिनका लागि प्याकेज खोइ ? सरकार सीएनएन र बीबीसीजस्ता संचार माध्यममा बिज्ञापन दिएर पर्यटक तान्न चाहन्छ, तर त्यस्ता संचार माध्यमबाट जानकारी लिएर नेपाल घुम्न आउने पर्यटकको संख्या नगण्य नै छ ।

विकासकुमार व्यासका विचारमा समाजमा नकारात्मक प्रवृत्ति बढदै गएको यो समयमा सकारात्मक बिचार ताजा हावाको झोंक्का जस्तै हो । मानिसहरू शरीरभन्दा पैसालाई महत्व दिन्छन् । एकातिर, अन्धबिश्वासमा लाग्छन्, अर्कातिर, नास्तिक र अनैतिक जीवन शैली पछ्याउँछन् । तपाईं नै भन्नुहोस्, आफ्ना वृद्ध आमाबाबुलाई धर्मशालामा थन्क्याउने मानिस कसरी सुखी होला ?

व्यासजी कसैलाई कहिल्यै रत्न लगाउने सिफारिश गर्दैनन् । उनी मूल रुपले हिन्दूहरूको कर्मकाण्ड विधिमा सहयोग पुऱ्याउँछन् । महारुद्र र शतचण्डीजस्ता विशाल आयोजन उनको खुबी हो । व्यासजीको बिचारमा अहिले भैरव आराधनाको लहर नै चलेको छ, किनभने एक त बाल भैरवले कसैको हानि गर्दैनन् । भैरव शिवका अर्का स्वरूप हुन् । पशुपतिनाथ नेपालका इष्टदेव हुन् । आकाश भैरव जो इन्द्रचोकमा छन् ती नेपालका राजा हुन् । उनले इष्टदेवको आदेशको पालनागर्दै नेपाल राज्यको रक्षा गरेका छन् । व्यास देवी देवताको बिशेष पूजा विधि र तत्सम्बन्धी प्रक्रियाका लागि पटक–पटक नेपाल आउँछन् । त्यसबाहेक बर्षको दुइ पटक उनी आकाश भैरवको बिशेष पूजाका लागि काठमाडौं आउने गरेका छन् ।

व्यास भन्छन् – कलियुगमा सन्यास हुँदैन । सन्यास धर्म नै वर्जित गरिएको छ कलियुगमा । सन्यास अत्यन्त दुष्कर मार्ग हो । संन्यासीले लगाउने जस्तो कपडा लगाउँदैमा कोही संन्यासी हुँदैनन् ।

अध्यात्ममा रुचि राख्नेहरूका लागि केही टिप्स छन् व्यासजीका – कपडामा रंगको महत्व हुन्छ । त्यो महत्वलाई बुझेर कपडा लगाउँदा शान्ति मिल्छ । शिवजी सेतो वस्त्रमा रमाउँछन् । देवी रातोमा रमाउँछिन् । मानिसले तीन कुरा एकान्तमा गर्नुपर्छ– भजन, भोजन र भोग ।

व्यासजी कर्मयोगी हुन । उनीसंगको वार्ता आनन्ददायक हुन्छ । उनी जबर्जस्ती कसैलाई आफ्ना कुरामा सही ठोक्न लगाउँदैनन्, तर मानिसहरू उनका सारगर्भित विचारसँग सहमत हुन्छन् ।

प्रकाशित :पुस ७, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्