चार वर्षमा १४ हजार लागूऔषध कारोबारी पक्राउ
पुस ५, २०७५
काठमाडौं र नेपालका विभिन्न भागबाट पक्राउ पर्ने लागूऔषध कारोबारीहरूको संख्या लगातार बढिरहेको छ । पछिल्ला चार वर्षमा नेपालभरबाट १४ हजार २२ जना लागूऔषध कारोबारी पक्राउ परेका छन् । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको तथ्यांकअनुसार पछिल्ला चार वर्षमा लागूऔषध कारोबारमा सबैभन्दा बढी १३ हजार ४ सय ६४ जना नेपाली जेलमा छन् ।
तथ्यांक केलाउने हो भने नेपालीपछि सबैभन्दा बढी भारतीय नागरिक पक्राउ परेका छन् । यो अवधिमा ४ सय ९३ भारतीय नागरिक पक्राउ परेको तथ्यांकमा छ । लागूऔषध ओसार–पसारका साथै यससँग सम्बन्धित अरू गतिविधिमा संलग्न अन्य विभिन्न मुलुकका ६५ जना पक्राउ परेका छन् ।
जेल पर्ने लागूऔषध कारोबारीमा महिलाको तुलनामा पुरुष नै बढी छन् । यो अवधिमा १२ हजार ८ सय ९५ नेपाली पुरुष जेल गएका छन् भने ५ सय ६९ महिलाले जेल सजाय काटिरहेका छन् । यस क्रममा ४ सय ६९ भारतीय पुरुष पक्राउ परेका छन् भने २४ जना भारतीय महिला पक्राउ परेका छन् । यस्तै, अन्य देशका ५१ पुरुष तथा १४ महिला लागूऔषध कारोबारीलाई प्रहरीले गिरफ्तार गरेको छ ।
यो अवधिमा प्रहरीले कारोबारीहरूबाट ३१ किलोभन्दा बढी कोकिन बरामद गरेको छ भने १ सय ५० किलोभन्दा बढी ओपियुम, १९ किलोभन्दा बढी हिरोइन, ६ हजार किलोभन्दा बढी चरेस तथा १८ हजार किलोभन्दा बढी गाजा बरामद गरेको छ ।
प्रकाशित :पुस ५, २०७५
तपाईको प्रतिक्रिया
कमेन्टको लागि यहाँ click गर्नुहोस्
फेसबूक कमेन्ट गर्नुहोस्
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्