प्याराग्लाइडिङको रौनक

- राजाराम पौडेल

पुस ५, २०७५

 

साहसिक खेल प्याराग्लाइडिङ नेपाल भित्रिएको २० वर्षभन्दा बढी भयो । नर्वेको एक समूहले सन् १९९५ मा पोखरामा प्याराग्लाइडिङसम्बन्धी कार्यशाला सञ्चालन गरेको थियो । उक्त कार्यशालामा पोखराका पर्यटन व्यवसायीहरू सहभागी थिए । तीमध्येका एक थिए— बिरु बमजन तामाङ । कार्यशालामा प्याराग्लाइडिङसम्बन्धी जानकारी पाएपछि बमजनले पोखरामा प्याराग्लाइडिङको राम्रो सम्भावना देखे अनि नेपालमा प्याराग्लाइडिङ भित्र्याउन कस्सिए । 

तामाङले सन् १९९५ मा नेपालमै पहिलो पटक प्याराग्लाइडिङ उडान गरी प्याराग्लाइडिङको आकर्षण बढाउने काम गरे । त्यतिबेला कास्की जिल्लाको घार्मीमाथिको ढिकिडाँडाबाट प्याराग्लाइडिङ उडान सुरु गरिएको थियो । त्यसको केही समयपछि सराङकोटबाट उडान भर्न थालिएको हो । त्यतिबेला विदेशीलाई पोखरा ल्याउने र एकल उडान भर्न लगाउने चलन थियो । यद्यपि यसलाई व्यवसायिक रुपमा अघि बढाउन समय लाग्यो । सन् २००० मा पोखरामा पहिलो पटक सनराइज प्याराग्लाइडिङ कम्पनी दर्ता भयो । ५ वटा प्याराग्लाइडरबाट स्थापित उक्त कम्पनीले सोही वर्षदेखि व्यवसायिक उडान भर्न थालेको हो । 

त्यतिबेला प्याराग्लाइडिङमा विदेशी मात्र उड्थे । नेपालीहरू भने प्याराग्लाइडिङ देखेरै डराउँथे । बिस्तारै प्याराग्लाइडिङतर्फको आर्कषण बढ्न थाल्यो । नारायण पराजुलीले ब्ल्यू स्काई नामक प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा ल्याए । विस्तारै अन्य कम्पनी स्थापित हुँदै गए । बिरु बमजनले प्याराग्लाइडिङ सुरुवात गर्ने काम गरे पनि उनले आकाशमा उड्ने साहस भने गरेनन् । यसैक्रममा उनले छोरा राजेश बमजन तामाङलाई सन् १९९७ मा आकाशमा उड्न हौस्याए । त्यतिबेला राजेश १८ वर्षका थिए । बुबाकै प्रेरणा एवं हौसलाले राजेश उडान गर्न तयार भए । सराङकोटबाट उडान गरेका राजेशले पहिलो दिनमै ५ घण्टा ४५ मिनेट उडान गरी पहिलो सोलो नेपाली प्याराग्लाडिङ पाइलटको कीर्तिमान कायम गरे । राजेश हाल आफ्ना बुबाले सुरु गरेको प्याराग्लाडिङ व्यवसायलाई निरन्तरता दिइरहेका छन् । 

अहिले सराङकोटबाट उडान भर्न २० वटा कम्पनीले इजाजत पाएका छन् । बाँकी कम्पनिले तोरीपानी पुगेर उडान भर्छन् । अहिले यसमा नेपाली युवायुवतीहरूको समेत आकर्षण बढ्दै गएको छ । विदेशी पर्यटकको हकमा चिनियाँ पर्यटकको आकर्षण बढी पाइन्छ । नेपालीहरूमध्ये १८ वर्षदेखि ४० वर्षसम्मका युवा बढी मात्रामा यसतर्फ आकर्षित छन् । विदेशी पर्यटकको हकमा भने उमेर बढी भएकाहरूको आर्कषण समेत देखिन्छ । प्याराग्लाइडिङका लागि १५ देखि ३० मिनेटको ५ हजार रुपैयाँ, ३५ देखि ६० मिनेटको ८ हजार रुपैयाँ तथा फोटो र भिडियो डिभिडिको १ हजार ५ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । 

सराङकोट र तोरीपानीबाट उडान गरी फेवाताल किनार खपौदीमा अवतरण गरिन्छ । फ्लाइटका लागि बिहान १० बजे, ११.३० बजे तथा दिउँसो १.३० बजेको समय तोकिएको छ । 

केही समयअघिसम्म राज्यले प्याराग्लाइडिङलाई खेल मान्दैनथ्यो । यसलाई व्यवसायका रुपमा मात्र लिइन्थ्यो । १८ औं एसियाली खेलकुदमा पहिलोपटक यसलाई समावेश गरिएपछि बल्ल यसले नेपालमा खेलको मान्यता पायो । यसरी खेलको मान्यता पाएपछि उत्साहित प्याराग्लाइडिङ खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै एसियाली खेलकुदको क्रस कन्ट्री इभेन्टमा रजत पदक जित्दै देशको इज्जत राखे । त्यसैले पनि अहिले यो खेलको चर्चा ह्वात्तै बढेको छ ।

प्रकाशित :पुस ५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्