टफेस्ट र्‍याली विजेता दीपक

  • सेल्फ मेड म्यान

- एकराज सुवेदी

पुस ४, २०७५

 

६ दिनसम्म साढे ४ सयदेखि ५ सय किलोमिटरसम्मको दूरीमा प्रतिदिन बाइक चलाउनुपर्ने, त्यो पनि अफरोडमा । औसत गति ७५ देखि ९० किलोमिटर प्रतिघण्टा । यति स्पिड नभए प्रतियोगिताबाटै बाहिरिनुपर्ने । तापक्रम माइनस २० देखि माइनस २५ डिग्री सेल्सियस सम्म, १५ हजार फिट सम्मको उचाइ । सामान्य मानिस त लेक लागेरै मर्ने सम्भावना हुन्छ । 

सन्दर्भ भारतमा सम्पन्न रेड डी हिमालयको २० औं संस्करणको हो । गएको अक्टोबर ८ देखि १४ सम्म रेड डी हिमालयको २० औं संस्करण सम्पन्न भएको थियो । उक्त मोटर स्पोर्ट इभेन्टमा नेपालबाट दीपक साह सहभागी थिए । रोयल इन्फिल्ड विधामा सहभागी साहले रोयल इन्फिल्ड हिमालयन मोटरसाइकलमार्फत अन्य प्रतियोगीलाई पछि पार्दै आफूलाई पहिलो नम्बरमा उभ्याउन सफल भए । 

हिमालयन मोटर स्पोर्ट एसोसिएसनले आयोजना गर्ने उक्त रेसका लागि दीपकले विगत चार वर्षदेखि तयारी गरेका थिए । गत वर्ष उनले पहिलो पटक उक्त प्रतियोगितामा भाग लिएका थिए । साहले राम्रै पर्फमेन्स देखाइरहेका थिए, तर दोस्रो दिन बाइकबाट लड्दा उनको खुट्टा भाँचियो । त्यतिबेला उनलाई हेलिकप्टरले उद्धार गरेको थियो । उद्धारपछि उनी मनाली— दिल्ली हुँदै नेपाल फर्किए । 

सामान्यत: रेस सिमला वा मनालीबाट प्रारम्भ हुन्छ, तर यसपटक लेह लद्दाखबाट प्रारम्भ भएको थियो । ३ हजार ८ सय मिटर उचाइमा हुने रेसका लागि दीपक तयार पनि थिए । ८ तारिखमा रेसका लागि सबै जाँच प्रारम्भ भयो । सबै बाइक र गियर जाँच गरियो । आवश्यक डकुमेन्ट तथा शारीरिक अवस्था जाँच गरियो । 

अर्को दिन सेरेमोनियल फ्ल्याग अफ गरियो । सबै योजनाका वारेमा आवश्यक जानकारी दिइयो । बाइकरहरू लेहबाट कारगिलका लागि प्रस्थान गरे । कारगिलबाट सांखुदरास, फेरि कारगिल । अर्को दिन कारगिलबाट जन्स्कर भ्याली । यसैगरी विभिन्न रुटमा बाइक गुडाउनुपथ्र्यो । यो प्रतिस्पर्धामा 

विभिन्न सेगमेन्टका २ सय ४० जना प्रतिस्पर्धी थिए । 

दीपक भन्छन्, ‘जे भए पनि यसपटक रेस पुरा गर्छु भन्ने मनमा थियो । जित्छु नै भन्ने थिएन, तर पनि जित हार जे भए पनि रेस कम्प्लिट गर्छु । यसका लागि सडकमा लड्नु हुँदैन भन्नेमा सचेत थिए । प्रत्येक दिन त्यसैमा मेरो ध्यान थियो ।’

पहिलो दिन उनले दोस्रो हुने भन्दा १४ मिनेट अगाडि रेस पूरा गरे । प्रतियोगिताका लागि ‘सेकेन्ड’ समय अन्तरले धेरै फरक पार्छ, तर उनी त १४ मिनेट अगाडि थिए । यसले उनमा हिम्मत बढ्यो । दीपकले भने, ‘सामान्य अवस्थामा होसियारीका साथ चलाउँदा यति धेरै फरक पाए । त्यसपछि मैले रेसको सेक्रेट थाहा पाए । अब जित्न पनि सक्छु भन्ने लाग्यो ।’

अन्त्यमा उनी विजयी भए । पुरस्कार वितरणको समयमा उनले आफ्नो खल्तीबाट नेपालको झन्डा झिकेर फहराएका थिए । ‘नेपाल ह्याज स्टार्टेड मोटर स्पोर्ट र्‍यालिइङ’ भनेर अन्तर्राष्ट्रिय मिडियाहरूका उनका बारेमा समाचारसमेत आए । 

विश्वको सर्वाधिक उचाइमा हुने एउटा रेसमा भाग लिएर विजयी भएकोमा दीपक निकै खुसी छन् । यस्तो रेसिङमा भाग लिन सामान्यत: ८ देखि १० लाख रुपैयाँ खर्च लाग्छ । रुट म्याप तथा जीपीएस मेसिन चाहिन्छ । बाइकमा विभिन्न डिभाइस राख्नुपर्छ । शरीरमा तलदेखि माथिसम्म ज्याकेट, जुत्ता आदि सेफ्टी गियर चाहिन्छ । चिसो मौसम भएकाले वेदर र इम्प्याक्ट सर्भाइभका लागि आवश्यक तयारी गर्नुपर्छ । यी सबै व्यवस्था दीपकले व्यक्तिगत रुपमै गरेका थिए । 

अन्य राइडरका बुट, बाइक, प्यान्ट, पञ्जा आदि सबैका फरक–फरक प्रायोजक हुन्छन्, तर दीपकका प्रायोजक कोही थिएनन्, तर पनि उनको गियर र बाइकको स्टाइल देखेर धेरैले सोध्थे, ‘तपाईंको प्रायोजक को हो ?’ दीपकको उत्तर हुन्थ्यो, ‘सरी, मेरा कोही प्रायोजक छैनन् । आई एम सेल्फ मेड म्यान, आइ एम हियर टु रेज माई कन्ट्रिज फ्ल्याग ।’

रेड डी हिमालयको वेबसाइट खोलेर हेर्दा माथि नै ‘स्ट्याब्लिस्ड १९९९, मेकिङ ग्रोउन मेन क्राई एभर सिन्स’ लेखिएको पाइन्छ । त्यसपछि यसलाई ‘इन्डियाज टफेस्ट र्‍याली’ भनिएको छ । यसको अर्थ सन् १९९९ मा स्थापना भएको रेड डी हिमालय भारतकै एउटा कठिन र्‍याली हो । सन् १९९९ मा स्थापना भएपश्चात् नै यसले ठूलाबडा मानिसहरूलाई रुवाइरहेको छ । यो विश्वकै सर्वाधिक उच्च स्थानमा हुने मोटर स्पोर्ट प्रतिस्पर्धा हो । 

कक्षा १० सम्म जनकपुरमा अध्ययन गरेका साहले त्यसपछि एमबीएसम्मको अध्ययन भारतको पुणेमा गरेका थिए । उनले त्यहाँको बैंक अफ न्युयोर्कमा चार वर्ष काम गरे । नेपालमै केही गर्नुपर्छ भन्ने उद्देश्यका साथ सन् २०१२ मा उनी नेपाली फर्किएका थिए । हाल उनी पार्केटिङसम्बन्धी व्यवसाय गरिरहेका छन् । साहको व्यवसायमा ४५ जना कर्मचारी छन् । 

सन् १९८० को दशकमा उनका बुवा बुलेट बाइक चलाउँथे । त्यही बाइक हेरेर उनमा रोयल इन्फिल्ड अर्थात् बुलेट बाइकप्रति आकर्षण बढेको हो । भारतमा अध्ययन गर्दा नै ‘साथीभाइले म रेस कम्प्लिट गरेर आएको हुँ’ भन्थे । लद्दाख घुम्न जाँदा उनले त्यस्तो कठिन सडकमा रेस पनि हुन्छ भन्ने जानकारी पाएका थिए । त्यो अवस्थामा उनका साथीहरू भन्थे, ‘यार तुम रेडमे क्यु नही जाता ?’ यहींबाट नै उनमा रेड डी हिमालयप्रति कौतूहलता प्रारम्भ भएको थियो । त्यसपछि उनले रेडका बारेमा जान्ने प्रयास गर्न थाले, वेबसाइट अध्ययन गरे । त्यसैको परिणाम नेपाल आएर अभ्यास गर्दै जाँदा विजेता बन्ने अवसर पाए । 

बाइकरहरूका लागि नेपालका रमणीय स्थल मुक्तिनाथ, उपल्लो मुस्ताङ, मनाङ आदि स्वर्ग नै हुन् । यो तथ्य बुझेका दीपक २०१० मा पहिलो पटक मुक्तिनाथ जाँदा बाइकमै गएका थिए । बाटो अहिलेको जस्तो सहज थिएन । भर्खरै ट्रयाक खुलेको थियो । साह भन्छन्, ‘अपर मुस्ताङ पनि बाइकमै गएको थिएँ । मैले रेकी गरेर आए पछि बल्ल अरू गएका थिए ।’ नेपालका त्यस्ता धेरै कठिन सडकमा बाइक चलाएर आफू नै पहिले पुगेको उनको दाबी छ । उनको मुक्ति राइड नामक क्लब पनि छ । दीपक सोही क्लबमार्फत नै भारतको बैंगलोर, गोवा, मुम्बई, पुना आदि स्थानबाट आएका साथीहरूसँग नेपालका विभिन्न स्थान घुम्न जान्छन् । 

साह भन्छन्, ‘सामान्य मानिस र राइडरमा हुने फरक भनेको फिटनेस हो । फिटनेस कायम गर्न हामी धेरै कार्य गरिरहेका हुन्छौं ।’ रेसमै भाग लिन उनले गत वर्ष आफ्नो तौल ८४ किलोबाट घटाएर ७२ किलो बनाए ।

दीपक हाल ३४ वर्ष पुगे, तर बाइक कहिलेदेखि चढ्न थाले भन्ने सम्झना छैन । दीपक भन्छन्, ‘७ कक्षामा पहिलो पटक बाइकबाट लडेको याद छ ।’ उनी घुम्नकै लागि करिब सात–आठ पटक लद्दाख पुगेका छन्, सधैं बाइकमा । मुस्ताङ–मनाङ पनि बाइकमै पुगेका छन् । धेरै पटक । कतिपटक भन्नेचाहिँ सम्झना छैन । 

अफ्रिका, स्पेन, अर्जेन्टिना, बोलिभिया आदि देशमा पनि र्‍याली हुन्छन् । आगामी दिनमा ती देशमा हुने र्‍यालीमा सहभागी हुने उनको योजना छ । त्यसैगरी नेपालमा पनि रेड डी हिमालयजस्तै मोटर स्पोर्टको विकास गर्ने उनको सपना छ । मनाङ र मुस्ताङलाई केन्द्रित गरी मोटर स्पोर्ट विकास गर्ने हो भने नेपालमा पर्यटकहरूको भीड जम्मा हुने उनले बताए । यसका लागि कुनै पूर्वाधारको आवश्यकता पर्दैन । दीपक भन्छन्, ‘हामी रेड डी हिमालयलाई नै बिर्साउने गरी मोटर स्पोर्ट विकास गर्न सक्छौं ।’ यसका लागि आफूले निरन्तर पहल गरिरहने उनले बताए ।

प्रकाशित :पुस ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्