मेरो महान् भुँडी

- अधिकारी रवीन्द्र, बनेपा

पुस ४, २०७५

 

हामी पहिले श्री गणेशाय नम: भगवान् गणेशबाट पूजा–आराधना सुरु गर्छौं । भुँडी अर्थात् मुखबाट खाइएका खाद्यान्नलाई टुक्रा–टुक्रा पारी पाचनयोग्य आकार र पदार्थमा शरीरका सबै जीवित कोषहरूमा पुयाउने महान अगं । आउनुहोस्, एकछिन् यसको माहात्म्य गाउँ । 

भुँडी छ र त हामी छौं । भगवान्भन्दा ठुलो भुँडी हो । भुँडीकै लागि आज संसारमा तमासा भैरहेछ । भुँडी भर्नकै लागि मानिस उदायचलदेखि अस्तायचलसम्म दौडिरहन्छ । भुँडी छ र त संसार यो विघ्न चलायमान छ । भुँडी छ र त बाँच्नुको मज्जा छ ।

मान्छे सत्यानाशी जात हो । जस्तोसुकै खान्नँ भन्नेले पनि तीन छाक हसुरेरै छोड्छन् । यी प्राणीले भोक भन्ने भ्रम पालेका छन् जसले गर्दा हरबखत खानका लागि सजिलो बहाना मिलोस् । उठ्नेबित्तिकै चाहिन्छ तिनलाई चिया, कफी, ब्रेड, अमलेट आदि । यसरी बेडबाट ओर्लंदा–ओर्लंदै खाइने चिजको छुट्टै नाम छ– ब्रेकफास्ट । ब्रेकफास्टमा के मात्र खाँदैनन् उनीहरू ? नहुनेले सामान्य चियादेखि लिएर हुनेहरूले लोबस्टरसम्म खान्छन् । त्यस्तै बिहानको करिब ११ बजेतिर खाने परिकारलाई ‘एलिभेन्सेज’ भनिदो रहेछ । यसमा चिया कफी र हल्का बिस्कुट पर्दो रहेछ ।

ब्रेकफास्ट वा लन्चको सट्टा बीचको समयमा खाइने चिजलाई ब्रन्च नामाकरण गरिएको छ । ब्रन्चका रूपमा ससेज, ह्याम, प्यान्केक, व्याकोन वा अन्डाजस्ता परिकार खाइन्छ । लन्च त दिनको मुख्य खाना भैहाल्यो– रसगुल्ला, स्ट्यु, भात, सुसी वा चपाती । डिनरमा क्यासरोल, भात, रोटी, म्याकोरिनी, स्पगेट्टी, नुडल्स वा परिज खाइन्छ । मानिसले सुत्नुअघि पनि खान छोड्दैन, त्यसलाई सपर भनिन्छ जसमा फलफुल तथा हल्का खानेकुरा खाइन्छ । अझ प्रत्येक पटक खाइसकेपछि चाहे लन्च वा डिनर जे खाए पनि डिजर्ट भनेर दही, केरा, आइसक्रिम, केक वा अन्य गुलियो खानुसम्म खाइन्छ ।

६० किलो वजन भएको एउटा सामान्य मानिसले ब्रेकफास्ट, लन्च, लटर्पटर र अन्त्यमा डिनरसम्म खाँदा दैनिक कम्तीमा दुई किलो हजम पार्दो रहेछ । मानिसले अक्सर दिनमा दुई किलोभन्दा बढी नै खान्छ, अझ सित्तैमा पायो भने ५ किलो भेट्न बेर लाउँदैन । दिनमा सरदर २ किलो हसुर्नेले हप्तामा १४, महिनामा ५६ किलो सिध्याउँछ अर्थात् १ वर्षमा ६ सय ७२ किलो ।

औसत आयु ६५ वर्ष हिसाब गर्ने हो भने प्रत्येक व्यक्तिले जीवनभरमा लगभग ४४ टन स्वाहा पार्ने रहेछ । ४४ टन धान एकै बालीमा उमार्न कति हेक्टर जग्गा चाहिन्छ, सोच्दासमेत पागल भइन्छ । हिसाबमा आउँछ कमसेकम ४ हेक्टर, जसमा हुन्छ— ४० हजार वर्गमिटर । हो, क्विन्टलका क्विन्टल प्राकृतिक स्रोत हामी पेटभित्रै हालेर सिध्याउँछांै । यो भुँडी पनि वास्तवमै अजीवको चिज हो । कस्तो बना’को भगवान्ले ? कहिले एक कप चिया र दुनोटले अघाउँछ, फेरि लौत भनेर दुईवटा समोसा पेलौं भने पनि जान्छ ।

अघाउन त अघाएकै हुन्छ, त्यसमाथि बल गरे एक प्लेट पकौडा, एक प्लेट चना र दुईवटा अन्डा अनि एउटा सेल पनि अटाउँछ । कसैले खीर र अचार ल्यायो भने हामी त्यो पनि आधा घण्टा कुरेर फुलेको पेट हल्का घटाएर खाइदिन्छौं । पेटभन्दा बढी लोभी हाम्रो मन छ । चलनको उखानै छ, पेट त भरियो तर मन भरिएन । मन भरिएन भने जति खाँदे पनि खाँदिने कस्तो अचम्मको धोक्रो रहेछ यो पेट । त्यसैले त बाल्यकालमा स्याप्रो परेको पेट देखेजत्तिका खानेकुरा क्रमश: भर्दै जाँदा उमेरसँगै पुटुस्स पार्दै हामी घ्याम्पे बनाउँछौँ  । घ्याम्पे पेट हुनु ठूलो सानको कुरा हो । पुगिसरी आएको लक्षण आखिर ठुलो पेटले नै त देखाउँछ । 

रबरझैं निस्फिक्री तन्किने मानवभुँडीलाई के–के हालेर तन्काइन्छ त ? चिया, कफी, दूध, निम्की, पाउरोटी, अन्डा, चना, भात, दाल, अचार, तरकारी, दही, घिउ, मही, ढिंडो, जाउलो, खिचडी, सातु–सर्बत, हलुवा, खीर, पनिर, चिज, रोटी, पुरी, सेल, पानी, कोक, फ्यान्टा, रेडबुल, बियर, भोड्का, छोयला, हाँस, बारा, माछा, कचिला, सेकुवा, ह्याकुल्ला, आलुतामा, चिउरा, भट्मास, फलफूल, चट्पट, भुजिया, पानीपुरी— यो सूची बढ्दै गएर समुद्रसम्म पुग्छ ।

भुँडीको माहात्म्य नै कथ्ने भैसकेपछि छोटकरीमा अब यसको एनाटोमी पनि जानाँै । पेटमा हुन्छ आमाशय, सानो आन्द्रा र ठूलो आन्द्रा । मुखमा आएको खानालाई दाँत र थूकले टुक्र्याएको खाना आमाशय पुगेर सञ्चित हुन्छ, जहाँ थप पाचन रसहरू मिसिएर खानेकुरा अझ गल्छन् । सानो आन्द्रा पेट्को मूल घट्ट हो जहाँ टुक्रे खानेकुरा पिसिन्छ अनि सोसिन्छ पनि । ठूलो आन्द्रामा पनि थप रस सोसिन्छ र अन्त्यमा विकारयुक्त वस्तु उत्सर्जनका लागि स्टोर गरेर राखिन्छ । सानो आन्द्राले करिब ६ मिटर लामो हुन्छ भने ठूलो आन्द्रा त्यसको एक चौथाइ हुन्छ, अर्थात् ठूलो आन्द्रा घाँटीमा दुई फन्को माला लगाउन पुग्छ ।

ravinems@iom.edu.np 

प्रकाशित :पुस ४, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्