बान्तवा राई समुदाय र संस्कृति बजारमा

- साप्ताहिक संवाददाता

पुस २, २०७५

अनुसन्धानदाता राजु कुमार राईद्वारा लिखित ‘बान्तवा राई समुदाय र संस्कृति’ सार्वजनिक भएके छ । जमलस्थित राष्ट्रिय नाचघरमा प्रमुख अतिथिका रुपमा उपस्थित प्रदेश नम्बर १ का मूख्यमन्त्री शेरधन राईद्वारा उक्त कृति सार्वजनिक गरिएको हो । 

प्रदेश नम्बर एकका ओखलढुङ्गा, खोटाङ, भोजपुर, सोलुखुम्बु, इलाम लगायतका विभिन्न जिल्लाको स्थलगत अध्ययन र करिब एक दशकको विस्तृत अनुसन्धान पश्चात यो कृति प्रकाशित गरिएको अनुसन्धाता राईले बताएका छन् । पुस्तकमा किरात इतिहास, किरातको अर्थ, राई शब्दको अर्थ, प्रयोग र बहस, सामाजिक जनजीवन, भाषा, धर्म, नुवाङ्गी पुजालगायतका विविध संस्कृतिबारे उल्लेख गरिएको छ । 

किरात राईका २८ थर मध्येका बान्तावा थरमा केन्द्रीकृत भएर लेखिएको पुस्तकले यस समुदायको सांस्कृतिक सभ्यताको परिचय, अध्ययन तथा अनुसन्धान पद्धति, किराात सौन्दर्यशास्त्र तथा इतिहास, सामाजिक जनजीवन र संघठन, चाडपर्व, भाषा, पूजा आदि सामाजिक विषयमा आधारित यस कृतिले आम पाठकहरूलाई परिवर्तनको विश्वरुपसँग साक्षात्कार गराउने कुरा  समालोचकले बताएका छन् । 

कार्यक्रमममा समाजशास्त्र  केन्द्रीय विभाग, त्रि.वि.का प्रमुख प्रा. डा. तुलसीराम पाण्डे, किरात राई यायोक्खा केन्द्रीय समितिका कार्यवाहक अध्यक्ष, दिवस राई, समाजशास्त्रिय समाज नेपालका अध्यक्ष, प्रा.डा. सन्ध्या बस्नेत, समाजशास्त्र विभाग, पाटन संयुक्त क्याम्पसका विभागीय प्रमुख, राम बहादुर के.सी., लेखक तथा संस्कृति अनुसन्धाता, चन्द्रकुमार हतुवाली, नेपाल कलेज अफ म्यानेजमेन्टका प्राचार्य तथा राइजिङ स्टार स्कुलका प्रिन्सिपल, राम बहादुर अधिकारी, एकेडेमिक बुक सेन्टरका प्रोपाइटर, रविन कार्की, राइजिङ स्टार कलेजको व्यवस्थापन समितिका अध्यक्ष, ज्ञानु श्रेष्ठ, समाजशास्त्री तथा सामाजिक अभियन्ता, कविता राई लगायत सयौाको संख्यामा विशिष्ट शिक्षाविद्, संस्कृतिविद्, साहित्यकार तथा अनुसन्धाताहरूको उल्लेख्य उपस्थिति रहेको थियो । 

समुदायको इतिहास, सिद्धान्त, संरचना, संस्कृति, पहिचानका विषयलाई समेटेको प्रा सन्ध्या बस्नेतले प्रस्तुत विषयवस्तुहरु निकै खोजमुलक र ओजमुलक रहेको बताइन् । ’बान्तावाहरुको जीवन र जगतलाई पर्याप्त अनुसन्धान गरिएको छ, समाजशास्त्रका विद्यार्थीहरुका लागि काम लाग्ने गरी सन्दर्भ सामाग्री समेटिएको छ ।’ उनले भनिन्,’लैंगिक पक्षमा विभेदहरु उल्लेख छन् । तर बान्तावा राईहरुले छोरीका लागि विवाह प्रथा र जिम्मेवारीका विषयमा सकरात्मक छन् ।’ 

संस्कृति अध्यता चन्द्रकुमार हतुवालीले पुस्तकले बान्तावा संस्कृति र पहिचान समेटेको बताए । बान्तावा राईका बारेमा फुटकर लेखहरु आए पनि समग्रलाई समेटेर पुस्तकका रुपमा पाठकमाझ ल्याएको छ । जातिविशेष सम्बन्धि लेखिने पुस्तक मध्ये यो पुस्तक सैद्वान्तिक रुपमा मजाले समेटिएको उनले बताए । 

कार्यक्रममा बोल्दै, एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले किरात राईका २८ थर मध्येका बान्तावा थरमा केन्द्रीकृत भएर लेखिएको विमोचित कृतिले एक नम्बर प्रदेशको राई समुदायको संस्कृतिको गहन अध्ययन तथा अनुसन्धान गरेको र यसले प्रदेश नम्बर एकको प्राज्ञिक र बौद्धिक विकासका लागि एउटा नैतिक दवाव समेत सिर्जना गरेको बताएका थिए । मुख्यमन्त्री राईले राष्ट्रले देखेको समृद्धिको सपना पूरा गर्न यस प्रकारका अनुसन्धानात्मक कृति र क्रियाकलापको ठूलो महत्व हुने बताउँदै अनुसन्धाता राईले किरात सौन्दर्यशास्त्र, समुदाय र संस्कृतिका बारेमा गरेको प्राज्ञिक र बौद्धिक योगदानको खुलेरै प्रशंसा गरेका थिए । विमोचन कायृक्रममा बोल्दै मुख्यमन्त्री राईले पुस्तकले प्रदेश नम्बर–१ को पहिचान बोकेको बताए । 

कृति विमोचन पश्चात राई समुदाय र संस्कृतिको बारेमा लेखिएको यो पहिलो पुस्तक भएको विज्ञहरुले बताएका थिए । यस कृतिले नेपाली समाजको बहुसांस्कृतिक पक्षलाई झल्काएको मात्र छैन यसले अन्य समुदाय र संस्कृतिको पनि अध्ययन र अनुसन्धान गर्न उत्प्रेरित गरेको छ । 

 

प्रकाशित :पुस २, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्