लेखनलाई विद्रोहको माध्यम बनाए

- साप्ताहिक संवाददाता

मंसिर २९, २०७५

रमेश सायनले युवा कविका रूपमा आफ्नो बलियो पहिचान बनाइसकेका छन् । अनलाइन र केही पत्रपत्रिकामा फाट्टफुट लेखिरहने रमेश यसपालि निबन्धकारका रूपमा झुल्किएका छन् । बजारमा आएको केही समयभित्रै उनको छुटेका अनुहारले बेग्लै छाप छोडिसकेको छ । रमेश कुनै कुरा नलुकाई नढाँटी सत्य कुरा लेख्न चुकेका छैनन् ।

 

छुटेका अनुहार शीर्षक कसरी जुराउनुभयो ?

यो पुस्तक, म बाँचेर आएको समयबाट निर्मित भएको हो । पुस्तकभित्र यस्ता अनुहारहरू छन् जो सधैं सँगै हिंड्न सकेनन्, छुटिगए । कोही राजनैतिक हिसाबले छुटे, कोही शैक्षिक हिसाबले छुटे, कोही सामाजिक, अर्थिक हिसाबले छुटे । कुनै न कुनै हिसाबले छुटे । त्यही भएर पुस्तकको शीर्षक छुटेका अनुहार भयो । 

पुस्तक बजारमा आएपछि कस्तो प्रतिक्रिया पाउनुभयो ?

एकदमै राम्रो प्रतिक्रिया पाइरहेको छु । थोरै सोचेको थिएँ, धेरै पाएँ । थोरै सोचेर धेरै पाउनुको खुसीमा छु अहिले ।

प्राय: कुन समयमा लेख्नुभयो ?

मेरो लेख्ने निश्चित समय छैन । लेख्ने विषय धेरैजसो यात्राका क्रममा सोचें । सोचेको कुरा घरमा जुनसुकै बेला पनि लेखें । 

लेखनमा कसरी प्रवेश गर्नुभयो ?

अरूसँग रिसाउने तर झगडा गर्न नसक्ने । समाजमा भएका अनेक विषयसँग रिसाउने तर चिच्याएर अभिब्यक्त गर्न नसक्ने । यस्तो बेला लेखेर शान्त हुन्थें । सुरुका दिनमा लेखनलाई रिस वा विद्रोहको माध्यमका रूपमा प्रयोग गरें । पछि लेखन बानी भयो ।

कस्ता खालका पुस्तक पढ्न रुचाउनुहुन्छ ?

समयअनुसार रुचि पनि फेरिँदो रहेछ । पहिले–पहिले फिक्सन पढ्थें । अचेल ननफिक्सन पढ्छु । इतिहास तथा यात्रासम्बन्धी पुस्तकमा रुचि छ । 

स्कुल, कलेज पढ्दा जीवनमा के बन्ने सपना पाल्नुभएको थियो ?

म यस्तो परिवारमा हुर्किएँ कि स्कुल पढुन्जेल के बन्ने भनेर सपना देख्नुपर्छ भन्ने नै भएन । कुनै सपनै थिएन । पछि समयले जे–जे बनाउँदै गयो त्यही–त्यही बन्दै गएँ । 

लेख्न बस्दाका आनिबानीबारे बताइदिनुस् न । 

लेख्न बस्दा कहिलेकाहीँ एकदमै छट्पटी हुन्छ । लेख्दा–लेख्दै एक दुइ लाइन राम्रो लेखें भनें जुरुक्क उठेर घरका कोठाहरू चहार्छु । भान्सा पस्छु । चिया पकाउँछु । कहिलेकाहीं एक चक्कर गाउँ पनि डुल्छु । अनि फेरी आएर लेख्न थाल्छु । 

तपाईको प्रिय विधा ?

कविता, कविता भएन भने अरु कुनै बिधाको स्वाद हुँदैन । 

तपार्इंका प्रिय लेखक को हुन् ?

लेखक भनेको व्यक्ति हो । ब्यक्ति मन पर्नु–नपर्नु फरक कुरा हो । एउटै लेखकबाट लिखित फरक–फरक पुस्तकमध्ये कुनै एउटा वा दुइटा पुस्तक मात्र पनि मन पर्न सक्छ । जस्तै मलाई नयनराज पाण्डेको लू असाध्य मन पर्छ । मोहन मैनालीको उपल्लो थलो तथा मान्ठा हराएको जुग मन पर्छ । यी उदाहरण मात्र हुन् ।

अरूलाई कुन पुस्तक पढ्न सिफारिस गर्नुहुन्छ ?

यो आफ्नो रुचिमा भर पर्ने कुरा हो । मेरो सिफारिस खासै छैन । मेरो रुची यात्रा सम्बन्धी पुस्तकमा छ, त्यसैले नेपाली पुस्तकमा मोहन मैनालीका पुस्तकहरू पढ्नुस् भन्छु । 

लेख्न चाहेको तर लेख्न नसकेको विषय केही छ कि ?

थुप्रै छन् नि । जस्तै एउटा शरणार्थीको संघर्षको कथा लेख्न रहर छ । 

प्रकाशित :मंसिर २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्