कथा कला र कलाकारको

- किशोर नेपाल

मंसिर २९, २०७५

मदन चित्रकार । उनलाई खानदानी चित्रकार भन्दा खासै फरक नपर्ला । उनका पिता तेजबहादुर चित्रकार प्रतापी कलाकार हुुनुहुन्थ्यो । त्यस्ता पिताका पुत्र मदन चानचुने कलाकार हुने कुरै भएन । उनी प्रारम्भिक रूपमा ललितकलाको पद्धतिबद्ध अध्ययन गर्ने पिंढीका कलाकार हुन् । उनका समकालीन साथीहरूमा प्रमुख रहे : शशि शाह । मदन चित्रकार जे.जे. स्कुल अफ आर्ट्सका विद्यार्थी थिए । कला क्षेत्रका प्रमुख लेखक एवं सिर्जनाकारका रूपमा उनको नाम स्थापित छ । जापान, भारत र बांगलादेशबाट प्रकाशित हुने जर्नल अफ आर्ट्सहरूमा नेपाली कलासँग सम्बन्धित उनका रचनाहरू पढ्न सकिन्छ । ‘तेजबहादुर चित्रकार– आइकन अफ ट्रान्जिसन’ (२००४) तथा ‘नेपाली आर्ट– इस्सूज मिसेलानी’ (२०१२) उनका दुई प्रमुख पुस्तक हुन ।

समकालीन समयमा उत्तम नेपाली, शशि शाह, मदन चित्रकार, रागिनी ग्रेला उपाध्याय, किरण चित्रकार, के.के. कर्माचार्यलगायतका प्रमुख कलाकार नै ललित कला अभियानको नेतृत्वपंक्तिका सदस्यका रूपमा रहेका छन् । यिनीहरूले आफूले पाएको ज्ञान, शिक्षा र परिवेशका विविध अनुभवका आधारमा नयाँ पुस्ताका कलाकारलाई विधि, प्रविधि एवं ज्ञान हस्तान्तरण गर्दैछन् । 

‘नयाँ पुस्ताका कलाकारहरू अघि बढ्न, आफ्नो प्रतिभा देखाउन, आफूलाई वन्धनविहीन अभिव्यक्त गर्न चाहन्छन्,’ मदन भन्छन्— यो नै अहिले कला क्षेत्रमा पाइने ‘आशालाग्दो’ कुरा हो ।

‘विगत एक–दुई दशकभित्र नेपाली कलामा आधुनिक प्रवृत्ति देखिएको छ । भारतबाट आधुनिक कलाको अध्ययन गरेर आएका, तालिम प्राप्त र खरो अभिव्यक्ति दिन सक्ने कलाकारको छाप कहीं न कहीं देखिएको छ । शशि शाहको व्यक्तित्वको अध्ययन गरौं । त्यहींबाट सबै कुरा छर्लंग हुन्छ,’ मदन भन्छन् ।

एक समय थियो, जब काठमाडौं सहरमा आर्ट्स ग्यालरी थिएनन् । कलाकारहरू आफ्नो साँघुरो घरको साँघुरो कोठामा आफू अझै साँघुरिएर हातमा कुची समाउँथे । एकताका यिनै कलाकारको प्रयासमा ‘युव कलाकार समूह’ गठन भयो । यसको कार्यालय खोलियो रत्नपार्कको खुलामञ्चमा रहेको सानो कोठामा । कलाकार वैकुण्ठमान श्रेष्ठको अथक प्रयासमा स्थापित यो समूहको उत्प्रेरणामा नै अहिलेको ‘सिर्जना फाइन आर्ट कलेज’ स्थापनाको बीजारोपण भएको थियो । त्यो एक प्रकारको हुटहुटी थियो— कलाकार र नेपाली कलाका पारखीहरूको मनमा चलेको । यो हुटहुटी जब यथार्थमा परिणत भयो त्यसपछि खुल्यो सिर्जना कलेज ।

कला व्यवसायिक कि गैरव्यवसायिक ? सजिलो लाग्ने यो प्रश्नले जवाफ पाएको छैन । विश्वभरका कलाकारको जीवनी अध्ययन गर्ने हो भने अनौठो लाग्छ । संसारमा यस्ता कलाकार पनि छन् जो आफ्नो नाडी काटेपछि बगेको रगतबाट लेखिएको प्रेमपत्र प्रेमिकालाई दिएर प्रेम प्रस्ताव राख्छन् । भ्यानगगले जीवनभर दु:ख पाए । उनी बाँचुन्जेल नबिकेका उनका चित्र उनी मरेपछि बिके । विश्वबजारमा बिक्नका लागि, पहिलो त कलाकारको नाम र ‘अपील’ चाहिन्छ । अलिकति भरोसा भाग्यमा पनि राख्नुपर्छ ।

मदनले अहिलेसम्म एउटा चित्रको २ लाखसम्म लिएका छन् । त्योभन्दा बढी हात परेको छैन । अहिलेको समयमा २ लाखको त्यत्ति महत्व छैन । अहिले त दुई लाखले रंग र कुचीको गुजारा पनि चल्दैन ।

नेपालका बिक्ने कलाकारमा अमर चित्रकारको नाम टड्कारो आउँछ । डीबी चित्रकारका तस्बिर पनि ग्राहकका नजरमा चढिहाल्छन् । मनुजबाबु मिश्रका भयंकर चित्रहरू लोकप्रिय छन् । उनको जस्तो चित्र कतिमा बिक्ला ? यो अनुमान असहज हुन्छ ।

कला क्षेत्र देशको राजनीतिबाट अछूत रहन सकेको छैन । साहित्य र संगीत नाटक एकेडेमीमा जसरी राजनीतिक संलग्नताका आधारमा मनोनयन र नियुक्ति हुने गरेको छ, त्यही ताल छ ललित कलाको । साहित्य, संगीत र कलालाई दलगत हिसाबले बाँडफाँड गर्न नहुने हो, तर अहिले त्यही भएको छ । प्रज्ञा–प्रतिष्ठानको एक विभागका रूपमा रहेको ललितकला एकेडमीकै रूपमा स्थापित हुनु सुखद थियो । दु:खको कुरा राजनीतिक प्रभावको आधारमा यसको गठन भएको हुँदा यसले डेलिभरी गर्न सकेन ।

मदनको विचारमा— नेपालको ललित कला क्षेत्रको उत्थानका लागि गर्नुपर्ने काम धेरै छ । हामीकहाँ भारतको प्रान्तमा भएजस्तो एउटा ग्यालरीसम्म पनि छैन । एकेडेमिक अभ्यास भएको छैन । अनुसन्धान कुन चराको नाम हो ? कसैलाई हेक्का छैन । एकेडेमीले आयोजना गरेको कलाकारहरूको कार्यशालाको उदघाटन कसले र कसरी गर्ने भन्ने बहसमा दिन बितिरहेको छ । संस्था भएपछि स्रोतको प्रबन्ध पनि गर्न सक्नुपर्छ संस्था चलाउनेले । त्यो ल्याकत भएको मानिस पदमा आएका छैनन् ।

मदनको घरमा एउटा चित्र छ उनका पिताजीले बनाउनुभएको । त्यो चित्र ५ फिट ३ इन्चको छ भने घरको भित्ता ५ फिटको । त्यसैले त्यो चित्रलाई अहिले बाध्यतावश अलिकति खुम्च्याएर राखिएको छ ।

नेपाली कला यस्तै–यस्तै बाध्यतामा उनिएको छ ।

 

प्रकाशित :मंसिर २९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्