वृद्ध नेतृत्वले थलिएको देश

- अधिकारी रवीन्द्र

मंसिर २३, २०७५

बहुदल आएपछि नेपालको राजनीतिमा हालीमुहाली गर्ने शीर्ष चेहेराहरूमाथि विचार गरौं  । समय बदलियो, व्यवस्था फेरियो तर राज्यसत्ताको वरिपरि घुम्ने अनुहार बदलिएनन् । धेरै नेताले पार्टी बदले, पार्टीको नाम बदले तर आफ्नो सत्तामोहको चाहलाई कहिल्यै बदल्न सकेनन् । पञ्चायत, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र सुन्दै आनन्द लाग्ने जुनसुकै तन्त्र आए पनि किन देश र जनताको स्थिति सधैं बेहाल ? यसको एउटा प्रमुख कारण हुन सक्छ : बूढा नेताहरूको बिगबिगी । कस्तो मोह त्यो कुर्सीको जसले गर्दा कसैले सत्र पटकसम्म प्रधानमन्त्री बन्ने आशा त्याग्दैन ? आफू धेरै पटक बहालवाला भैसक्दा पनि जतिपटक मौका आउँछ नयाँलाई अवसर दिनुको साटो त्यति नै पटक आफंै अघि सर्ने त सबै शीर्षस्थ नेताका आदतै हो । सत्तालोलुपता र सोच उही भएका त्यस्ता वृद्ध नेताहरूबाट परिवर्तनको आशा राख्नु बेकार हो । देशका जुनसुकै क्षेत्रमा राजनीतिक दलको वर्चस्व हुने र राजनीतिक दलभित्र सुशासन र प्रणालीभन्दा व्यक्ति हाबी हुने कुप्रथाका कारण वृद्धनेताहरू नेतृत्वबाट ओझेल पर्न चाहँदैनन् । सायद त्यसैले गर्दा होला, राजनीतिक दलहरूमा मुख्य नेतृत्व परिवर्तन हुन प्राकृतिक मृत्युकै प्रतीक्षा गर्नुसिवाय अरू विकल्प न्यून नै देखिन्छ । 

धेरै नेता योग्यताभन्दा पनि पूर्ववरिष्ठहरूको अनुग्रहका आधारमा वरियतामा परेका छन्, जसलाई ठूलालाई चाप्लुसी र सानालाई अनुकम्पाको राजनीति गर्नुबाहेक अरू थाहा छैन । बाँकी धेरै नेता इतिहासको कुनै बिन्दुमा केही योगदान दिएको वा जेलनेल खाएको आधारमा नेतृत्वपंक्तिमा सदैव कायम रहन्छन् ।

जहिले पनि सबै नेताको लक्ष्य मन्त्री वा प्रधानमन्त्री बन्नु नै हुन्छ जस्तो कि यो पद पालैपालो उनीहरूको रोजगारीका लागि सिर्जना गरिएको हो । कुनै दृढ विचार वा सुधारात्मक दृष्टिकोण लिएर उक्त विचारलाई कार्यान्वयन गर्न–गराउन देशको नेतृत्वमा पुग्न उत्कण्ठा राख्नुभन्दा पनि एउटा उमेरअनुसार पालो मैले पाउनुपर्छ भन्दै जागिरको हिसाबले वृद्ध नेताहरू उक्त गरिमामय पदमा पुग्नु देशका लागि ठूलो दुर्भाग्य हो । हुँदा–हुँदा देशको मुहारभन्दा मन्त्री र प्रधानमन्त्रीको अनुहार मात्र फेरिरहने भयो । बल्ल एउटा त्यो पदमा पुगेको हुन्छ अनि भोलिपल्टदेखि नै अब हुने पालो मेरो भनेर अरू नेताहरूको चक्रव्यूह सुरु भैहाल्छ । 

पार्टीले पनि पहिलेको विरासतका आधारमा भन्दा वर्तमान सक्रियताका आधारमा जिम्मेवारी दिने प्रथा सुरुवात गर्नैपर्छ । जो निरन्तर सक्रिय रहन्छ उसैले नेतृत्व सम्हाल्नुपर्छ । बूढा नेताहरूलाई उनीहरूको त्यागको उचित कदर गर्दै सल्लाहकारको भूमिका दिइनुपर्छ वा धेरै वृद्ध भए स–सम्मान माला लगाएर घर पठाउनुपर्छ । ए बाबा ! एउटा सामान्य कर्मचारीलाई त ५८ वर्ष उमेर हद राखेर जागिरबाट निवृत्त गरिन्छ भने सिङ्गो देश चलाउने जिम्मेवार एक मात्र पदमा रहने व्यक्तिलाई के उमेरले असर गर्दैन ? त्यो व्यक्ति पनि कुनै सुपरम्यान नभै मानव नै हो, जसले अरूजस्तै उमेर अनुसार बिर्सिने रोग (सेनाइल डेमेन्सिया) वा अन्य अनेकन शारीरिक दुर्बलता तथा मानसिक समस्याको सिकार हुन सक्ने प्रबल सम्भावना बोकेको हुन्छ । समय छउन्जेल प्रयास गर्ने हो, समय गुज्रिएपछि अरूलाई अवसर दिनुपर्छ । प्रकृतिको नियम सबैले मान्न हुने हाम्रा नेताले चाहिँ किन नहुने ? यसरी देशलाई बारम्बार दोहोरिरहने दुर्घटनाबाट जोगाउन उमेर हदबन्दीको नियम–कानुनै बनाएर अघि बढ्नुपरे पनि पछि हट्नु हुँदैन । 

आँखा कम देख्ने, अल्जाईमर्सले ग्रसित वा उठबस गर्नै गाह्रो हुने व्यक्तिलाई मुख्य नेता मानेर सभापति वा प्रधानमन्त्री नै दिइरहने पार्टीका अरू नेताहरूको मौनता वा फितलो संघर्षले पनि देशलाई पछाडि धकेलिरहेको छ । वृद्ध नेताहरूले वा आउने दिनहरूमा वृद्ध हुन लागेका नेताहरू किन विकास र समृद्धिको बाधक भैरहने ? वृद्धवृद्धाहरूको योगदानको कदर गर्नैपर्छ तर यथार्थ कुरा वर्तमानमा देश चलाउने युवा फौजले हो । देशको अर्थतन्त्रलाई सुचारु गराइरहेका युवा जमातलाई प्रतिनिधित्व गर्ने पंक्ति किन उनीहरूजस्ता लाग्दैनन् ? कतिन्जेल त्यस्ता प्रतिनिधिपात्रहरू कपाल फुलेकै वा खुइलिएकै, अनुहार चाउरी परेर झोलिएकै वा दाँत झरेकै हुनुपर्ने ? नवजवानहरूको चाहना के ती वृद्ध मनस्थितिले सम्बोधन गर्न सक्लान् ? नेपाल छोड्ने युवाहरूको लर्को दिन दुईगुना रात चौगुना गरेर बढ्दै जानुको कारण कतै यो पनि हो कि ?

त्यसैले नेतागिरी गर्ने सम्पूर्णलाई सुझाव : एउटा मूल मुद्दा लिएर राजनीतिमा लाग्नुहोस् । सदैव आफूले विश्वास गरेको मुद्दालाई साकार गर्न लागिपर्नुहोस् र नेतृत्वपंक्तिमा पुगेको १० वा बढीमा १५ वर्षमा स्वघोषित अवकाश लिनुहोस् । नेतृत्वमा हुँदासमेत आफ्नो मुद्दालाई पूर्ण कार्यान्वयन गराउन सक्नुभएन भने त्यसका लागि पार्टीमा आबद्ध नयाँ पंक्तिलाई उत्तराधिकारी बनाई समयसापेक्ष सुझाव दिइरहने अभिभावकको भूमिकामा बस्नुहोस् अथवा त्यही मुद्दालाई सामाजिक अभियानमा परिणत गर्न कुनै ट्रस्ट वा सामाजिक संस्था खोल्नुहोस् । सधैं लिसो टाँसिएजस्तो पार्टी र अन्तत: देशलाई नै कमजोर बनाएर नेतृत्व लिइरहनुपर्छ भन्ने छैन । क्षणिक पदीय फाइदाभन्दा दीर्घकालका लागि आफ्नो नाम अमर बनाउने दिशातर्फ लाग्नुहोस् ।

                                                           ravinems@iom.edu.np 

प्रकाशित :मंसिर २३, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्