डिप्रेसनबाट तङ्ग्रिदै

  • साहसी नम्रता

- रामजी ज्ञवाली

मंसिर २२, २०७५

 

नम्रता श्रेष्ठ नेपाली चलचित्र उद्योगकी निकै सुन्दर अनि लोकप्रिय अभिनेत्री हुन् । नम्रता आफ्नो दमदार अभिनयका कारण बेग्लै छाप छाड्न सफल छिन् । एक दर्जनभन्दा बढी चलचित्रमा काम गरिसकेकी श्रेष्ठ अन्य अभिनेत्रीजस्तो धमाधम चलचित्र साइन गर्दिनन् । यी चुजी अभिनेत्रीले सानो संसार, मेरो एउटा साथी छ, मिस यू, छड्के, मौन, क्लासिक, नोभेम्बर रेन आदि उल्लेख्य चलचित्र दिइसकेकी छिन् । नम्रता सकेसम्म वर्षमा एउटा चलचित्रमा मात्र काम गर्छिन् । हालै मात्र उनले दुईवटा चलचित्रको छायांकन सकेकी छिन– जाइरा र प्रसाद । प्रसाद २१ मंसिरदेखि प्रदर्शनमा आउँदैछ । भेटका लागि लैनचौरस्थित एक रेस्टुराँ पुग्दा नम्रता थाई कट केश तथा सेतो वान पिसमा झुल्किइन् । नम्रताको चलचित्र यात्रा तथा जीवनसँग जोडिएका अनेकौं विषयमा साप्ताहिकका लागि रामजी ज्ञवालीले गरेको कुराकानी :

सन्चै हुनुहुन्छ ? कसरी बित्दैछन् दिनहरू ?

ठीकै छु । अहिले प्रसादको रिलिज डेट नजिकिएका कारण त्यसकै प्रमोसनमा व्यस्त छु । यो वर्ष चलचित्र जाइराको छायांकनमा पनि व्यस्त भए । त्यसबाहेक विगतमा जसरी दिन बित्थे, त्यसरी नै सामान्य ढंगबाट बित्ने गरेका छन् । विभिन्न व्यक्तिगत काम अनि भेटघाटमा पनि व्यस्त भैरहेकी हुन्छु । मेरो रेस्टुराँ एटिकको शाखा खोल्दैछु ज्ञानेश्वरमा, त्यसको काम तथा यसलाई कसरी विस्तार गर्ने भन्ने विषयमा टिमसँग सर–सल्लाह भैरहन्छ, त्यसमा पनि व्यस्त रहन्छु । प्रसादको प्रदर्शनपछि तुरुन्तै एउटा चलचित्र साइन गर्दैछु, जसको स्क्रिप्ट पढिरहेकी छु । फुर्सद भयो भने परिवार तथा साथीभाइहरूसँग भेटघाट गर्छु । म बिहान ६ बजे उठिसक्छु । साँझ समयमै घर पुग्छु । बिहान केही महत्वपूर्ण काम भएन भने जिम जान्छु ।

दिनभरिको कामको थकानपछि साँझ कसरी रिलिफ गर्नुहुन्छ ?

राती थकान फिल भयो भने मसाज जाने गरेकी छु । घर पुग्नेबित्तिकै कुकुरले गेटसम्मै लिन आउँछ, उसलाई देखेपछि त्यसै खुसी लाग्छ । कुकुरको मायाले अलिकति थकान त हटिहाल्छ । मैले स्वास्थ्यको ख्याल गरेर मात्र आफूलाई परिचालन गर्ने गरेकी छु ।

मनका यावत् दु:ख–सुख कहाँ लगेर पोख्नुहुन्छ ?

परिवार र प्रेमी नै हो । उहाँहरूले सधैं  जस्तोसुकै अवस्थामा पनि साथ दिनुभएको छ ।

थोरै तपाईंको नयाँ चलचित्रका बारेमा कुरा गरौं न, चलचित्र प्रसादमा तपाईंले एकदमै फरक भूमिका निर्वाह गर्नुभएको देखिन्छ नि ?

मैले अहिलेसम्म धेरै प्रकारका चलचित्रमा विभिन्न प्रकारको भूमिका निर्वाह गरें । यद्यपि प्रसादमा अहिलेसम्म नगरेको क्यारेक्टरमा देखिँदैछु । सुरुमा प्रसादको स्क्रिप्ट आएपछि धेरै समय त त्यसमा साइन नै गर्न सकिनँ । केही समय घरमै स्क्रिप्ट पढेपछि चलचित्रको टिमसँग सल्लाह भयो । प्रसाद लेख्ने, निर्देशन गर्नेदेखि लिएर सबै पुरुष हुनुहुन्थ्यो, तर मैले भने मुख्य भूमिकामा न्याय गर्नुपर्ने हुन्थ्यो । मैले टिमभन्दा बाहिर गएर पनि धेरै जनासँग भेटघाट–कुराकानी गरें । वरिष्ठ रंगकर्मी सरिता गिरीसँग पनि कुरा गरें । उहाँले यसअघि यस्ता क्यारेक्टरमा काम गरिसक्नुभएकाले मलाई धेरै कुरा सिकाउनुभयो, बताउनुभयो । त्यतिबेला मैले धेरै खालका प्रश्न गरेकी थिएँ, ती जायज रहेछन् । यस क्रममा मैले गाउँ होस् वा सहर, मानिसको पीडा एउटै खालको हुँदो रहेछ भन्ने बुझें । त्यसपछि बल्ल मैले कसरी आफ्नो भूमिकाप्रति न्याय गर्ने भन्ने सोच्न थालें । अन्तत: अब गर्न सक्छु भन्ने विश्वास भएपछि काम गर्ने सोच बनाए । यो चलचित्रमा मैले एउटा दम्पतीको बीचमा सन्तान नहुँदा कति गार्‍हो हुन्छ, त्यसको केन्द्रमा रहेर काम गरेकी छु ।

रिल लाइफमा बुझ्नुभयो, सन्तान नहुँदा एउटी महिलालाई कति गार्‍हो हँुदो रहेछ ?

हो, मैले एकदमै ठूलो अनुभव गर्न पाए । मैले यसअघि चलचित्र यारमा काम गरेकी थिएँ, तर त्यो चलचित्रमा श्रीमान् र श्रीमतीबीचको झगडाका बेला मात्र सन्तान नहुँदाको पीडा देखाइएको थियो । त्योभन्दा धेरै फरक छ यो चलचित्र । मैले कहिल्यै नगरेको क्यारेक्टर छ । यो चलचित्रको सुटिङ सुरु नहुँदासम्म त्यो क्यारेक्टरप्रति न्याय गर्न सक्दिनँ कि भन्ने भैरहेको थियो । यो चलचित्रमा काम गरिसकेपछि मात्र मैले बुझें, सन्तान नहुँदा एउटी महिलालाई मात्र होइन, पुरुषलाई पनि एकदमै गार्‍हो हुँदो रहेछ । विवाह गरिसकेपछि दम्पतीले मात्र होइन, परिवारका अन्य सदस्यका साथै समाजले पनि सन्तानको आशा गर्दा रहेछन् तर विभिन्न कारणले सन्तान जन्माउने दम्पतीसँग त्यो क्षमता नहुँदा कति पीडा हुन्छ भन्ने थाहा भयो । फरक यति मात्र हो महिलाहरूको पीडा छताछुल्ल देखिन्छ तर पुरुषहरूले त्यसलाई कति हदसम्म लुकाउँछन् भन्ने मात्र हो ।

सन्तान नहुँदाको पीडा भोग्नेहरूलाई के सुझाव दिनुहुन्छ ?

सुझाव दिनुभन्दा पनि एउटा कुरा भन्न चाहन्छु, सन्तान भएनन् भने तुरुन्तै डाक्टरसँग सल्लाह लिनुपर्छ । कहिलेकाहीं धेरै वर्षपछि सन्तान जन्मिएका रेकर्ड पनि छन् । लामो समयसम्म बच्चा नहुँदा डिप्रेसनमा जाने, आत्महत्या गर्ने जस्ता घटना पनि भएका छन् । यदि बच्चा भएन भने एडप्टसमेत गर्न सक्नुपर्छ । मेरी नजिककी एक जना दिदीले आफ्नो बच्चा नभएकाले एडप्ट गरेर सन्तान पाल्नुभएको छ । यो पनि बुझ्नुपर्छ सन्तान नहुनेहरू जति पीडामा छन्, बाबुआमा नहुनेहरू पनि उत्तिकै पीडामा हुन्छन् । यो हिसाबले पनि सोचेर अघि बढ्दा खासै चिन्ता नहुन सक्छ । नकारात्मक कुरा सोच्नु हुँदैन ।

चलचित्रको ट्रेलर तथा गीतअनुसार फेरि एकपटक दर्शकले तपाईंको अभिनयको जादु हेर्न पाउँदैछन् । चलचित्र छायांकनका बेला कत्तिको आँसु बगाउनुभयो ?

म यो चलचित्रको सुटिङ अवधिभर भावुक मात्र भएकी छैन, धेरै पटक आँसु झारेकी छु । एउटा यथार्थ के हो भने म कहिल्यै आँसु खसाल्न ग्लिसरिन लगाउँदिनँ, त्यस्तो दृश्यमा यत्तिकै क्षणभरमै मेरो आँसु आउँछ । जतिपटक रुनुपरेको छ त्यति बेला फिल गरेरै रोएकी छु । चलचित्र चल्छ कि चल्दैन, त्यो दर्शकको हातमा छ तर म कन्फिडेन्टका साथ भन्न सक्छु यो चलचित्र एकदमै हेर्न लायक छ ।

प्रेमिकाको भूमिकामा धेरै पटक देखिनुभयो, श्रीमतीको भूमिका पनि निर्वाह गर्नुभयो । यसपटक सन्तानविहिन आमाको भूमिकामा देखिँदै हुनुहुन्छ । खुलस्त भनिदिनुहोस् त, रियल लाइफमा चाहिँ कहिले विवाह गर्ने ?

त्यो त थाहा छैन । यसका लागि समय मिल्नुपर्ने हुन्छ । अहिले तत्कालका लागि भने कुनै सोच बनाएकी छैन ।

विवाह आफ्नै प्रेमीसँग गर्नुहुन्छ वा अन्य व्यक्तिसँग पनि हुन सक्छ ?

मैले यसअघि पनि भनिसके, यो भविष्यको कुरा हो जुन कुरा म अहिल्यै अनुमानका भरमा भन्न सक्दिनँ ।

केही वर्षअघि तपाईं आफ्नो फोन आफैं उठाउनुहुन्थ्यो । सबैसँग खुलेर बोल्नुहुन्थ्यो । सहजै जतिबेला पनि अन्तर्वार्ता दिनुहुन्थ्यो, भेटघाट गर्नुहुन्थ्यो । बिस्तारै तपाईं यसरी बेपत्ता हुनुभयो कि धेरैले तपाईंसँग सम्पर्क गर्न सकेनन् । फोन उठाउने अर्कै मान्छे राख्नुभयो । यसको कारण के थियो ? 

त्यसको कुनै कारण थिएन, मेरो काम हेर्ने अफिसियल टिम नै छ । मेरो व्यक्तिगत

काम गर्ने एक जना सहयोगी हुनुहुन्छ उहाँले गर्नुहुन्छ । एउटा कलाकारका हिसाबले भन्नुपर्दा यतिबेला म सँग बोल्ने धेरै विषय छन्, तर त्यसभन्दा बाहिर बसेर बोल्दा त्यसको कारण त केही हुँदैन नि ! हो, व्यापारिक हिसाबले पनि कसैले खोज्न सक्छन् तर त्यसका लागि मैले प्रत्यक्ष कसैसँग सरोकार राख्नुपर्ने देखिनँ ।यति मात्र होइन होला, त्यतिबेला भेट्दा र अहिले भेट्दा तपाईंमा धेरै फरक देखिन्छ । नम्रताको मलिन चेहरामा खुसीका रंगहरू देखिँदैछन् ।

मुस्कुराउन बिर्सिएकी नम्रता अहिले मुस्कुराएर अन्तर्वार्ता दिइरहनुभएको छ । यसका पछाडि केही त कारण पक्कै थियो !

हो, म डिप्रेसनका कारण लामो समय बाहिर निस्कन सकिनँ । चाहना त थियो बाहिरी संसारमा निस्कने, तर मनमा त्यो आँट थिएन ।

कसरी थाहा पाउनुभयो, आफू डिप्रेसनमा परेकी छु भन्ने कुरा ?

सन् २०१५ तिरको कुरा हो । सबै कुरा राम्रै चलिरहेको थियो । त्यति बेला मैले साइन गरेको चलचित्र क्लासिकको सुटिङ सुरु गर्ने कुरा भैरहेको थियो । कहिलेदेखि ज्वाइन गर्ने भन्ने पक्का भैसकेको थिएन । यता मेरो मनलाई नकारात्मक कुराले गाँजिरहेको थियो । खासै काममा इच्छा नहुने, कसैसँग बोल्न मन नलाग्ने, हल्ला र भीडभाडमा पस्नै मन नलाग्ने हुँदैथ्यो । मनभित्र कुनै आँट–हिम्मत थिएन । केही समयपछि क्लासिकको छायांकन सुरु भयो । मैले सुटिङ ज्वाइन गरें, तर विगतमा मज्जाले अभिनय गर्ने मलाई त्यतिबेला काम गर्न पनि अप्ठ्यारो अनुभव भयो । कन्फिडेन्टका साथ अभिनय गर्ने मलाई क्लासिकको छायांकनमा केही गर्न नसकेजस्तो लाग्यो । कपडा लगाउन खोज्छु मिलेको छैन जस्तो लाग्थ्यो । कसैसँग केही भन्न खोजिरहेका बेला सबै कुरा बिर्सन्थें, आफूले लगाउने ड्ेरस नसुहाएको हो कि नमिलेको हो कि जस्तो लाग्थ्यो । खानेकुरादेखि आफूलाई चाहिने कुनै पनि कुरा डिमान्ड गर्न नसक्ने भएकी रहेछु । मैले केही दिन त कसैलाई केही भनिनँ, तर त्यसपछि भने निर्देशक दिनेश राउत र आर्यन सिग्देललाई भनें— हैन, मैले पटक्कै राम्रो काम गर्न सकिनँ । उहाँहरू एकदमै राम्रो भैरहेको छ, के भो तिमीलाई ? भन्नुहुन्थ्यो । म हैन मैले राम्रो गर्न सकिनँ कि जस्तो लागेर भन्या हो भनेर कुरा अन्तै मोडिदिन्थे । अन्तत: चलचित्रको छायांकन सकेपछि म घर फर्किएँ । घरमा पनि यस्तै नकारात्मक कुराले मलाई थिलो थिलो पार्न थालेपछि परिवारमा सल्लाह गरें । नजिकका केही साथीभाइहरूसँग सल्लाह गरें अनि डाक्टरकहाँ गएँ । डाक्टरले पत्ता लगाउनुभयो, मलाई डिप्रेसनले गाँजिरहेको छ । डाक्टरले राम्रोसँग चेकअप गरिसकेपछि मलाई विभिन्न खालका औषधि दिनुभयो । त्यसपछि म डाक्टरकै सल्लाहअनुसार अघि बढें । त्यसकै परिणामस्वरूप अहिले म तपार्इंलाई अन्र्तवार्ता दिने अवस्थासम्म आउन सफल भएकी छु ।

कति समय यो पीडामा फस्नुभयो ?

म धेरै महिना घर बाहिर निस्कन सकिनँ । क्लासिकको छायांकनभन्दा अघिदेखि नै मलाई यस्तो समस्या भैरहेको थियो । लामो समय मैले यो समस्या आफ्नो मनमै राखें । कसैले के भएको छ भन्दा सामान्य कुरा गरिदिन्थे । मलाई के भैरहेको छ भन्ने कुरा मलाई नै थाहा थिएन । कोसँग भनौं भन्ने थाहा थिएन । यस्तो कुरा कसैलाई भन्ने हो भने पागल भन्लान् कि, साइको भई भन्लान् कि भन्ने सोच आउँथ्यो । यद्यपि अन्तत: परिवार र साथीभाइको सल्लाहमा डाक्टरसँग भेट गरें । म कति समय यो पीडामा फसे त भन्न सक्दिनँ, तर अहिले म विस्तारै निको हँुदैछु । अहिले पूर्ण ठिक भयो कि भएन भन्ने पनि भन्न सक्दिनँ, तर विगतको जस्तो समस्या छैन ।

कसरी निको हुनुभयो केही भन्न सक्नुहुन्छ ?

डाक्टरका अनुसार डिप्रेसनको समस्या ठ्याक्कै यति समयमा निको हुन्छ भन्ने हुँदैन । डाक्टरले मलाई डिप्रेसनका बारेमा जे बताउनुभयो, त्यसअघिसम्म मलाई यो समस्याका सम्बन्धमा केही थाहा थिएन । जब डाक्टरले भन्नुभयो अनि मैले निरन्तर औषधि सेवन गर्दै विभिन्न साइट रिसर्च गरें । कसरी निको हुन सकिन्छ भन्ने कुरा खोज्दै गएँ । डाक्टरले दिएको औषधि सेवन गर्दा पनि मलाई डर लाग्थ्यो । जतिबेला पनि डरले असाध्यै पीडामा पाथ्र्यो । म बिस्तारै आफूलाई निको गराउन लागिपरें । न्युजिल्यान्डसहित विभिन्न देश गएँ । केही हप्ता हिमाली भेगको भ्रमणमा पनि पुगेँ । कहाँ जाँदा आफूलाई खुसी प्राप्त हुन्छ त्यहाँ गएँ, गुम्बा आदि गएँ । यति गर्दा मैले के बुझें भने यो समस्या म आफैंले मात्र ठीक गर्न सक्छु । त्यो यस्तो लाइफस्टाइल रहेछ कि कल्पनाभन्दा बाहिरको डरलाग्दो संसार । ती दिन सम्झँदा आज म यसरी कसरी बोलिरहेकी छु, मलाई थाहा छैन ।

डिप्रेसनका कारण रातभरि निद्रा नलाग्ने, नकारात्मक सोच आउनेदेखि विभिन्न समस्या उत्पन्न हुन्छन् भनिन्छ, तपाईं त्यो पीडाका केही त्यस्ता घटना सम्झन सक्नुहुन्छ ?

केही काम नगरे पनि एकदमै थकान अनुभव हुन्थ्यो । मनमा विभिन्न कुरा खेल्थे । आफूमाथि कन्फिडेन्ट हँुदैनथ्यो । रातभरि निद्रा लाग्दैनथ्यो । मेरो मनमा आत्महत्या गर्ने विचारले पनि नराम्रोसँग डेरा जमायो । फिजिकल्ली समस्या भएको मान्छे त तुरन्तै अस्पताल गए निको हुन्छ वा के भएको हो, थाहा हुँदो रहेछ तर यस्तो समस्या हुँदा के भएको भन्ने अनुमान गर्नसम्म गार्‍हो हुँदो रहेछ । पछि बिस्तारै सबैको माया पाएपछि मैले पनि आफैंलाई माया गर्न थालें । सहर बिस्तारै निदाउँथ्यो । अन्धकार हुँदै जान्थ्यो, तर मलाई निद्रै लाग्दैनथ्यो । निदाउँछु भनेर एकदमै प्रयास गर्थे तर निद्रा लाग्दैनथ्यो । पछि डाक्टरले दिएको स्लिपिङ ट्याबलेट खाएपछि निद्रा त लाग्थ्यो तर अरू समस्या ठीक हुन सकिरहेको थिएन ।

यो समयमा नजिक मानिने मानिसको साथ भएन भने एकदमै गार्‍हो हुन्छ भनिन्छ, तपाईंलाई सबैभन्दा प्रेमपूर्ण ढंगले कसले साथ दियो ?

हो, त्यो बेला मलाई मेरो घरपरिवार अनि प्रेमी दावाले साथ दिनुभयो । उहाँहरूले निरन्तर आर यू ओके ? भनेर प्रश्न गरिरहनुहुन्थ्यो । म सकेसम्म एस भन्थे । उहाँहरूको माया नभएको भए म यति स्ट्रोङ हुन्नथे ।

तपाई जुन समस्यामा फस्नुभयो, त्यसको कारण के थियो केही थाहा छ ?

म साँच्चिकै के कारणले यो समस्यामा परें थाहा भएन । मेरो हातमा सधै चलचित्रको लाइन थियो । दर्शकको माया थियो । रेस्टुराँ पनि राम्रोसँग चलिरहेको थियो । यद्यपि के कारणले यस्तो भयो, म अहिले केही बताउन सक्दिनँ ।

तपाईं यो ठूलो खाल्डोबाट बाहिर निस्कनुभएको छ, तर यस्तो समस्या अहिलेको युवापुस्तामा निकै बढिरहेको छ । एउटा सेलिब्रेटी तथा तपाईंको व्यक्तिगत हिसाबले यो पनि भनिदिनुहोस् न, युवापुस्तालाई किन डिप्रेसनले दु:ख दिइरहेको होला ? 

डिप्रेसनको कारण र यसबाट जोगिने उपायका विषयमा डाक्टरहरूले धेरै जानकारी दिइरहेका छन् । यद्यपि यो किन हुन्छ र आजको युवापुस्तालाई किन यो समस्याले दु:ख दिइरहेको छ भन्ने कुरामा केही कारण त पक्कै छन् । धेरै सोच्ने, असफलतालाई सहज रूपमा लिन नसक्ने, हार खाने, कसैबाट लगातार अपमानित भैरहने, बढी सपना देख्ने आदि कारण पनि हुन सक्छन् । जीवनलाई जतिसक्दो सरल हिसाबले अघि बढाउन सक्नुपर्छ । जे हुन्छ राम्रो हुन्छ अनि राम्रैका लागि हुन्छ भन्ने सोच्नुपर्छ । जहिले पनि हरेक काममा प्रयास गर्नुपर्छ तर त्यसमा दुवै कुरा स्वीकार गर्न सक्नुपर्छ, सफल हुन पनि सकिन्छ, नहुन पनि सकिन्छ । स–साना सफलतामा पनि खुसी हुन जान्नुपर्छ ।

डिप्रेसनबाट पीडित अथवा यसको शंका लागेकाहरू पनि धेरै हुनुहुन्छ, डिप्रेसनबाट मुक्त हुन के गर्नुपर्ला ?

सुरुमा त आफूलाई शंका लागेको छ भने तुरुन्त परिवार र नजिकका साथीभाइहरूसँग सल्लाह गरेर के गर्ने निधो गर्नुपर्छ । यदि अति नै भएको हो भने चिकित्सकको परामर्श लिनुपर्छ । यो समस्या हामीले सकेसम्म चाँडै ठीक गर्न सकेनौं भने यसले गम्भीर रूप लिन सक्छ भन्ने त धेरैलाई थाहै छ । यदि डिप्रेसन अथवा एन्जाइटीलगायतका मानसिक रोगको शंका छ भने त्यसलाई सहज रूपमा रियलाइज अर्थात् स्वीकार गर्नुपर्छ । मलाई पनि कसलाई भनौं कि कसैलाई नभनौं भन्ने दोधार भएको थियो, यदि मैले पनि यो घटना नजिकका आफन्तलाई नभनेको भए सायद मेरो समस्याले अर्कै मोड लिन सक्थ्यो । एउटा कुरा के बुझ्नुपर्छ भने यो जतिबेला पनि, जसलाई पनि हुन सक्छ । मलाई यस्तो भएको छ के गर्नेहोला भनेर सहयोग माग्नुपर्छ । सुरुमा आफ्नो परिवारमा कुरा गर्नुहोस्, नजिकका अनि आफ्नो कुरा बुझ्ने र सकारात्मक सुझाव दिने साथीहरूका अगाडि कुरा खोल्नुहोस् र यदि मानसिक समस्या हो भन्ने पक्का छ भने तुरुन्तै डाक्टरको परामर्सअनुसार अघि बढ्नुहोस् । चिन्ता लिनु पर्दैन, यो समस्या ठीक हुन्छ, ठीक हुँदो रहेछ ।

साहसी नम्रता 

आफ्नो छोटो जीवनकालमै धेरै उतारचढाव देखेकी छिन् प्रतिभाशाली अभिनेत्री नम्रता श्रेष्ठले । उनको जीवनको आरोह–अवरोहकै पछिल्लो उपक्रम हो— डिप्रेसन । यद्यपि नम्रताले यथार्थततालाई स्वीकार मात्र गरिनन्, त्यसका विरुद्ध दृढतापूर्वक संघर्ष गरिन् र आफूलाई पुरानै अवस्थामा फर्काउन सफलता प्राप्त गरिन् । यो कुनै पनि सेलिब्रेटीका लागि चानचुने कुरा होइन । त्यति मात्र होइन, अहिले उनी यसलाई सार्वजनिकसमेत गर्दैछिन्— विभिन्न टीकाटिप्पणी हुने सम्भावनाका बीच, किनभने उलाई थाहा छ— नेपाली युवापुस्ताको एउटा ठूलो जमात डिप्रेसनको सिकार छ र उसले त्यसबाट पार पाउन सकिरहेको छैन । डिप्रेसनकै कारण युवा पुस्तामा लागूऔषध जस्तो महामारीले समेत स्थान पाएको छ । 

यस्तो अवस्थामा नम्रताले साहस देखाउँदै आफूलाई अगाडि ल्याएकी छिन् आफ्नो डिप्रेसनको कथा भनेर । यो एउटा उदाहरण मात्र होइन, नम्रताको कथाब्यथा तमाम ती नेपाली युवाका लागि प्रेरणा र मार्गदर्शन सावित हुन सक्छ, जो डिप्रेसनको सिकार छन् वा निराशामा जीवन गुजारिरहेको अवस्थामा आफूलाई के भएको छ, स्वयं अनभिज्ञ छन् । नम्रताको यो कथाले युवाहरूलाई अलिकता पनि बाटो देखाउन सक्यो, जीवनप्रति उत्प्रेरणा जगाउन सक्यो, संघर्ष गर्न सिकायो अनि बलियो आत्मविश्वास जगायो भने उनको प्रयास सार्थक हुनेछ । 

प्रकाशित :मंसिर २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्