नेपालबाहिर बसेर साहित्य सिर्जना गर्नेहरू

- नरेन्द्र रौले

मंसिर २२, २०७५

 

विदेशको बसाइ, दिनभरिको काम, शारीरिक एवं मानसिक थकान उस्तै तर पनि मन भने साहित्यमा । केही कमाउन, केही बन्न, केही सिक्न देश छोडेर परदेशका कुनाकन्दरा पुगेका नेपालीहरूको संख्या ठूलो छ । तीमध्ये केही लेखनमा समेत सक्रिय छन् । जस्तो कि अमेरिकामा निलम कार्की ‘निहारिका’ ।

घर होस् कि परदेश नारीलाई जहाँ पनि कठिन हुने उनको अनुभव छ । विभिन्न जिम्मेवारीले ब्यस्त बनाए पनि लेखनका लागि बचेको समय सदुपयोग गर्दै आएको उनले बताइन् । ‘निद्रासँग र तमाम आफ्ना इच्छाहरूसँग सम्झौता गरेर समय छुट्याउँछु ।’ नीलमले भनिन्, ‘राति र प्राय: घरमा कोही नभएका बेला लेख्छु ।’ नीलमले हरेक दुई वर्षमा एउटा पुस्तक प्रकाशित गर्दै आएकी छिन् ।

अमेरिकामै रहेर लेखनमा सक्रिय अर्को नाम हो— शिव प्रकाश । विदेसमा काम गर्दै लेख्न कत्तिको गार्‍हो हुन्छ ? नेपालका पत्रपत्रिका तथा अनलाइनहरूमा तिखो टिप्पणि गर्ने शिव प्रकाशसँग सोधियो । ‘गाह्रो केलाई भन्ने ? कति मान्छेलाई पढ्न गाह्रो हुन्छ, जो पढ्न जान्दछन् । कतिपयलाई आफ्नै कट्टु धुन गाह्रो हुन्छ, जुन नसक्ने काम होइन ।’ उनले तिखो टिप्पणी गरे, गाह्रो भन्ने कुरा स्टेट अफ माइन्ड हो ।’ शिवको मान्यता छ, समयले हरेकलाई समय दिन्छ । उनी लेख्नका लागि समय छुट्याउदैनन् । बरु समयले उनलाई छुट्याउँछ । उनी समयको अधीनमा हुँदैनन् । अमेरिकामा बसेर गोलमाल र घागी पुस्तक लेखिसकेका शिव भोक, भोग र सम्भोग पुस्तक प्रकाशनको तयारीमा छन् ।

शिव प्रकाशका कुनै प्रिय पुस्तक छैनन्, किनभने उनका लागी अप्रिय पनि कुनै छैनन् । प्रिय हुनका लागि अप्रिय पनि हुनु पर्छ भन्ने उनको तर्क छ । उनको नजरमा त्यतिसारो प्रिय लेखक कोही छैनन् । किनभने उनलाई कोही अप्रिय लाग्दैनन् । सबै प्रिय छन् तर पनि प्रियभित्रको उनको सबैभन्दा प्रिय लेखक एउटा छ, त्यो उनी आफैं हुन् । कुनै नेपालीबाट विदेस बसेर उत्कृष्ट पुस्तक लेखिन बाँकी छ जस्तो लाग्छ उनलाई । 

परदेशको व्यस्तताबाट बचेको समयमा नेपाली भाषा साहित्यमा थोरबहुत योगदान दिदै आएका छन्— बिमल गिरीले । झापा स्थायी ठेगाना भएका गिरी बेल्जियम बसेको १८ वर्ष भयो । विदेशमा बस्दा लेख्ने समय कम हुन्छ । अध्ययनका लागि नेपाली साहित्यका पुस्तक तथा पत्रिकाहरू हुँदैनन् । ‘हामीले जे लेखिरहेका छौं त्यसका बारेमा समालोचना र टिप्पणी गरेर सही बाटो देखाउने कोही हँुदैनन् ।’ बिमल भन्छन्, ‘गाह्रो अवश्य हुन्छ तर पनि केही न केही समय उबारेर लेखिरहन्छु ।’ उनका लागि साहित्य साधना ‘अम्मल’ जस्तो भएको छ । खाने मुखलाई जुँगाले छेक्दैन भनेझैं उनले लेखनको गति रोकेका छैनन् । बिमलका सम्झनाका तरेलीहरू (गीति सङ्ग्रह), गोधूलि मन, स्पन्दनका छालहरू, विभाजित मनजस्ता पुस्तक प्रकाशित छन् ।

प्रकाश पौडेल स्टुडेन्ट भिसामा जापान प्रवेश गरेको १३ वर्ष भयो । चार वर्षको अध्ययनपछि उनी रेस्टुराँ व्यवसायमा लागे । अहिले पनि रेस्टुराँ व्यवसायमै सक्रिय पौडेल साहित्यमा पनि रुचि राख्छन् । जति व्यस्त भए पनि विदेशमा बसेर लेख्नुको मजा बेग्लै हुने उनको अनुभव छ । देश बाहिर रहँदा स्वदेशको सम्झना र सम्मान खुलेर आउँछ भन्ने उनको धारणा छ । विगत १३ वर्षको अवधिमा उनको लेखन तथा सम्पादनमा हजार हाइकु, रातो साकुरा, तातेसिना, नेपाइ डायस्पोरा, जापानमा नेपाली कवि र कविता, हाइकुमाला, देश–विदेशबाट तथा नेपाइ हाइकु गरी आठ वटा पुस्तक प्रकाशित छन् । अब एकै पटक ३ वटा कृतीको तयारीमा रहेका पौडेल जापानमा नेपाली भाषा साहित्यको इतिहास पनि लेख्दै छन् । अहिले उनी हाइकुको सैद्धान्तिक पुस्तक तथा हाइकु सम्राट माचुओ बाशोको जीवनी लेखनमा व्यस्त छन् । 

लामो समयदेखि फ्रान्सलाई कर्मथलो बनाएका लेखक हुन्— दधि सापकोटा । चित्त नबुझेको कुरामा तिखो टिप्पणी गर्ने दधिले युरोप बसाइमा तीनवटा पुस्तक लेखे पन्छी जगत, त्यो नेपाल र दुखेको युरोप । अनावश्यक, अनुत्पादक विषय र क्षेत्रमा समय खर्च नगर्ने, अलिकति समय हँुदा लेख्न बसिहाल्ने र सुत्ने समय अलिकति घटाएर त्यो समय लेखनमै सदुपयोग गरिरहेका छन् दधिले । अलि कम काम गरौं, थोरै कमाउँ, थोरैमा आत्मसन्तुष्टि लिउँm, अलिकति कम कमाएर आफ्नो मातृभूमिका लागि पनि सोचौं भन्ने हो भने समय निकाल्न सकिन्छ भन्ने उनको धारणा छ । सापकोटाको अनुभवले भन्छ, काम, रमझम र बेकारमा बिताउने समय जोगाउने हो भने लेख्न सकिन्छ । 

गोविन्द सिंह रावत क्यानाडा बसोबास गर्न थालेको १६ वर्ष भयो । क्यानाडामा रहँदा उनले गङ्गा (कथा–संग्रह) र विश्व रङ्गमञ्चमा सडक नाटक : परम्परा र प्रयोग (अनुसन्धान कृति) लेखेका थिए । सामुदायिक नाटक (सडक नाटक) मा विद्यावारिधिका लागि अध्ययन तथा अनुसन्धान कार्य क्यानाडाबाटै गरेका रावत तत्काल एउटा समीक्षा संग्रह प्रकाशित गर्ने तयारीमा छन् । रावत अहिले नेपाली साहित्यको विश्वव्यापीकरणअन्तर्गत विश्वभरिका नेपाली साहित्यको गतिविधिका बारेमा लेखिएका नेपाली साहित्यको इतिहासको सम्पादन गर्न लेखहरू संकलन गर्ने कार्यमा तल्लीन छन् । गोविन्दको नजरमा लेखन कार्य भनेको सिर्जना हो र आफुले भनेको वा चाहेको बेला सिर्जना हुँदैन । उनको नजरमा यो आफैंमा हुने स्वत:स्फूर्त अभिव्यक्ति हो । उनी प्राय: राति लेख्छन् । बिदाको दिन दिउँसो पनि लेखिन्छ, लेख्दा मलाई एकान्त चाहिन्छ । प्राय गद्य, अनुसन्धानमूलक तथा समीक्षात्मक लेखनमा रुचि भएकाले पहिले टिपोट गरेर पछि लेख्ने उनको बानी छ ।

अस्ट्रेलिया पुगेर इजलासमा लाहुरे फूल (कविता–संग्रह) तथा डार्लिङ हार्बर (उपन्यास) लेखेका निष्प्रभ सजीको हप्ताको पाँच दिन, दिनको दुई घण्टाको समय यात्रामै सकिन्छ । काम गर्दै लेख्न कठिन हुने उनको अनुभव छ । ‘परिवारको चित्त नदुख्ने गरी उनीहरूसँग बिताउनुपर्ने समय चोरिन्छ ।’ निष्प्रभ भन्छन्, जस्तो कि, मेरो हकमा, लेख्न बसेको बिदाको दिन, नानीहरू चौरमा खेल्न जान पाउँदैनन ।’ दोस्रो उपन्यासको तयारीमा रहेका निष्प्रभ काम नगरी विदेशको बसाई सोच्नै नसकिने बताउँछन् ।

फुर्सदमा कलम चलाउँछु

विदेशमा बसेर काम गर्दै लेख्न गारै हुन्छ, तर मेरो हकमा ४/५ वर्षयता म त्यति धेरै लेखिरहेको थिइनँ । नयाँ ठाउँमा घुलमिल हुने, कोर्सको पढाइ र पढाइ सकेपछि आफ्नै क्षेत्रको काम खोज्ने लगायतको कामले गर्दा । अहिले चाहिँ ४/५ वर्ष अलि सुस्ताएपछि पुरानै रफ्तारमा आउन गाह्रो भएको हो । कामले गर्दा होइन । अमेरिका आएको एक वर्ष जति स्टोरतिर काम गर्दै कलेजहरू एप्लाई गर्दा र पछि केही वर्ष पढ्दै गर्दा समय मिलाउन निकै गार्‍हो थियो, तर बिगत केही वर्षदेखि चाहिँ त्यस्तो गाह्रो छैन । हप्ताको दुई दिन बिदा हुन्छ । अरु ५ दिन पनि बिहान ८ देखि दिउँसो ४:३० सम्म मात्र कार्यालयको काम भएकाले बाँकी समय लेखनमा उपयोग गर्ने गरेको छु । 

मैले लेखेका कथा, गजल, लघुकथा तथा संस्मरणहरू फुटकर रूपमा मधुपर्क, गोरखापत्र, समकालीन साहित्य आदि पत्रपत्रिकामा आइरहेका छन् । मैले अनेसासको डिजिटल पत्रिकाको सम्पादन समूहमा बसेर काम पनि गरें । सिंगो पुस्तककै रूप दिन भने सकिएको छैन, तर ११ जना इन्जिनियरको संयुक्त गजल संग्रह ‘अन्जुलीमा अभियन्ता २’ (२०७३) मा हरेक सहभागिको झैं मेरा पनि नयाँ पुराना गरी १० वटा गजल समेटिएका छन् । मूलत : गजल र कविताको माध्यमबाट साहित्यमा प्रवेश गरे पनि म अहिले समय कथामा रमाइरहेको छु । त्यसैले कथामै केही काम गर्दैछु । प्रवासमा बसेर यतैको परिवेशमा लेखिएको प्रवासी कथाकारहरूको संयुक्त कथा संग्रह ‘प्रवासका कथा’ सम्पादनमा व्यस्त छु जुन यो वर्षको अन्त्यसम्ममा सार्वजनिक गर्ने गरी काम गर्दैछु । आफ्नै कथा–संग्रहको पनि तयारी गर्दैछु यो चाहिँ अर्को दशैं सम्ममा आउला ।

प्रकाशित :मंसिर २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्