रंगीला साहित्यकार राजेन्द्र

- किशोर नेपाल

मंसिर २२, २०७५

राजेन्द्र विमल

ठेगाना : देवी चोक, जनकपुरधाम

पेसा : प्राध्यापन

राजेन्द्र विमल एउटा नाम मात्र होइन । देशको सशक्त अभिव्यक्ति हो । एउटा बौद्धिक । प्राज्ञ । कवि । कथाकार । अनुवादक । शिक्षक । पति । पिता । हजुरबुवा...

राजेन्द्र विमल कक्षामा पढाइरहेका छन् र कतै पात मात्र हल्लिएर आवाज आओस् । त्यो असम्भव कुरा हुन्थ्यो । यो त्यो जमानाको कुरा हो जब राजेन्द्र उमेरको परिपक्व क्षेत्रमा प्रवेश गरेका थिएनन् । कक्षामा उनी जब लेक्चर दिइरहेका हुन्थे, त्यो लेक्चर सुन्न आतुर युवावर्ग झ्याल, ढोकाका चौकोसमा अडेस लागेर उभिन्थे । स्तब्ध । यस्तो लाग्थ्यो, कक्षामा कुनै प्राध्यापक होइन, कोही सद्गुरु जीवनका अनमोल रहस्यहरूको गुत्थी सुल्झाउन युवावर्गलाई मद्दत गर्दैछन् । उनको त्यो धाराप्रवाह शैली अहिले पनि कायम नै छ । 

‘उतिबेला कसरी लोकप्रिय शिक्षक बन्ने ? भन्ने प्रश्न दिमागमा आइराख्थ्यो । भाषा बोधगम्य भयो भने मानिसले कुरा बुझ्छन् र मन पराउँछन् । मन पराए । पछ्याए । मलाई सुने ।’ राजेन्द्रको अनुहारमा गर्वको ताप देखिन्छ । उनको दृढता । उनको आत्मसम्मान ।

यसपटक बल्ल बल्ल मेरो उनीसँग भेट भयो । हामी दुवै पर्‍यौं विन्दास जातिका मनुष्य । हाम्रो भेट लामो विछोडपछिको मिलन जस्तो भयो । हामी दुवै एक–अर्कालाई देखेर रमायौं । उमेरको एक हद नाघेपछि मानिस कचकचे हुन्छ । धेरै गनगन गर्छ । उसका लागि सकसको कुरा हुन्छ समय बिताउनु, तर सरी, राजेन्द्रले उमेरको हद नाघेका छैनन् । शरीरमा पनि त्यस्तो कुनै परिवर्तन छैन । उनी मज्जाले बिताउँछन् आफ्नो समय । पढ्छन् । लेख्छन् र रमाउँछन् । अहिले उनी ‘पागल बस्ती’ को हिन्दी अनुवादमा लागेका छन् । साथी सरुभक्तले आग्रह गरे । राजेन्द्रले उक्त आग्रह टार्न सकेनन् । 

अनि प्रकाशन कम्पनी सांग्रिलाका स्वत्वाधिकारी मनी शर्माको अनुरोधमा उनी आफ्नै बारेमा पुस्तक लेख्दैछन् । आफूलाई ‘डिसअर्गनाइज’ बताउँछन्, तर विचारको मामिलामा छन् एकदमै संगठित । उनी आफनो बाल्यकाल, विवाह, जीवनदृष्टि र देशको राजनैतिक अवस्थाका बारेमा आफ्ना दृष्टिकोण समावेश गर्दैछन् पुस्तकमा । विमल भन्छन्— मुख्य कुरा हो विचार । मेरो जीवनी मात्र त किन पढनु र ?

‘जीवनलाई खण्ड–खण्डमा बुझ्न सकिँदैन,’ राजेन्द्रको धारणा छ, ‘यद्यपि हाम्रो जमानाको मज्जा अलराउन्डर हुनुमा थियो । मैले केही ‘त्यस्तो’ लेख्न सकेको छु जस्तो त लाग्दैन, तर मनले पनि लेखेको छैन त भन्दैन ।’ राजेन्द्रले ‘मिथिला गौरव’ नाममा एउटा बृहत् ग्रन्थ तयार पारेका छन् । संस्कृत विश्वविद्यालयले प्रकाशित गरेको उक्त पुस्तक उनी आफैंले पनि देख्न पाएका छैनन । 

जीवन कतिबेला रमाइलो छ । कतिबेला धोकाजस्तो । धोका त्यस्तो बेला जब आफूलाई मन पर्ने कुनै पनि आहारमा विहार गर्न पाइँदैन । दही वर्जित । माछा–मासु वर्जित । पिज्जा वर्जित । अब के बाँकी रह्यो त खाने ? राजेन्द्र प्रश्न गर्छन् । रंगीला राजेन्द्रलाई म मनमनै जवाफ दिन्छु : काठमाडौं आएका बेला भेटौं अनि जाउँला कोतेत्सु रेस्टुराँमा मन फुकाएर सालमोन खान अथवा जाउँला फायर एण्ड आइस पिज्जा खान ।

भाषाका बारेमा राजेन्द्रका विचार स्पष्ट छन् । भन्छन्– नेपाली भाषा लिंगुआ फ्रांका हो नेपालको । यो कुनै जातको भाषा नभएर साझा भाषा हो, तर मानिसहरूले यो कुरा बुझ्न सकेका छैनन । पिंडारी चोकमा स्थापित महाकवि देवकोटाको सालिक तोड्नेहरूले मैथिली भाषाको ऐतिहासिक महत्व पनि बुझेका छैनन् । मैथिलीमा साहित्यको सिर्जना हुन सकेको छैन । त्यत्रो इतिहास बोकेको भाषा अहिले टाउकाले टेकेर हिंड्दैछ । निगेटिभ प्रोभोकेसनले भाषाको विकास गर्दैन ।

राजेन्द्रमा चिन्ता नभएका होइनन् । समस्या नभएका होइनन्, तर मस्त छन् उनी । मस्त रहन चाहन्छन् । जीवनको महत्व बुझेका छन् उनले ।

प्रकाशित :मंसिर २२, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्