म:म ब्रान्ड

- संयोजन : जनक तिमिल्सिना

मंसिर २१, २०७५

नेपालमा म:मलाई पहिलो पटक ब्रान्डिङ गर्ने श्रेय नाङ्लो बेकरीलाई जान्छ । पहिलो पटक नाङलोले आफ्नो मेनुमा म:मलाई ब्रान्डका रूपमा प्रस्तुत गरेको थियो । अहिले म:मलाई नयाँ–नयाँ तरिकाले ब्रान्डिङ गर्ने क्रम बढ्दो छ । बोताले थरिथरिका म:म सालको टपरीमा पस्केर अर्को तरिकाले ब्रान्डिङ गरिरहेको छ । त्यसबाहेक विभिन्न रेस्टुराँ तथा क्याफेहरूले पनि म:मलाई फरक र भिन्न प्रकारले ब्रान्डिङ गर्न थालेका छन् । 

होटल अन्नपूर्ण, द्वारिकाज, र्‍याडिसन, सांग्रिला, हयात आदिको मेनुमा समेत म:म अटाएको छ । ठूला होटलहरूमा बेचिने म:म केही महँगो छ । यस्ता होटलहरूले प्रतिप्लेट म:मको ३ सयदेखि १ हजार रुपैयाँसम्म लिन्छन् । यसबाहेक साना ठूला सबैजसो क्याफे तथा रेस्टुराँहरूको मेनुमा म:मले स्थान ओगटेकै हुन्छ । यस्ता रेस्टुराँहरूमा १ सयदेखि ३ सय रुपैयाँ प्लेटसम्ममा म:म पाइन्छ । 

म:म पसलका रूपमा कालिकास्थान र कमलपोखरीको एभरेस्ट म:म सर्वाधिक चर्चित छ । जिब्रो लठ्याउने खालको सुपकै कारण एभरेष्ट म:म ब्रान्डका रूपमा विकसित भएको हो । सुरुमा कालिकास्थानस्थित यो म:मपछि कमलपोखरीमा पनि खुलेको हो । म:ममा एभरेस्ट नाम चम्किएपछि काठमाडौंका अरू ठाउँमा पनि एभरेस्ट म:मको नाममा म:म पसल खुले ।

अर्को निकै पुरानो नारायण दाइको माँसगल्लीको म:म हो, जुन अहिले गौशालाबाट रातोपुल जाने ओरालोमा सरेको छ । यस्तै, डेलिसियस म:म, जमल, धरहरा म:म सुन्धारा, कमलादीको डल्लेको म:म, कोटेश्वरको शिखर म:म तथा बानेश्वरको विशाल म:म प्यालेसले दैनिक लाखौंको व्यापार गर्छन् ।

यसबाहेक लैनचौरको न्यू एभरेस्ट म:म, वसन्तपुरको फाइभस्टार म:म, ललितपुरको ठूले दाइको टपरी म:म, नारायणचौरको क्लासिक म:म, मध्यबानेश्वरको म:म मन्त्र, बानेश्वरकै शानदार म:मले पनि दैनिक हजारौं रुपैयाँको कारोबार गर्छन् । कालिकास्थानको ओम म:म भेज म:मका पारखीहरूका लागि निकै पूरानो ब्रान्ड हो, यसको शाखा कालीमाटीमा समेत छ । 

 

प्रकाशित :मंसिर २१, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्