स्ट्रिट म:मका पारखीहरू

- संयोजन : जनक तिमिल्सिना

मंसिर २०, २०७५

बुटवलका विनोद भट्टराई नयाँ बानेश्वरस्थित संसद भवनको पश्चिमपट्टि रहेको ठेलामा म:मको स्वाद लिइरहेका थिए । एक कलेजमा बीबीएस अध्ययनरत भट्टराई शान्तिनगरबाट कहिले एक्लै त कहिले साथीहरूसँग म:म खानकै लागि नयाँ बानेश्वर आइपुग्छन् । हुनत, पहिले शान्तिनगरमै सडक पेटीमा म:मको स्वाद लिन पाइन्थ्यो । अहिले भने त्यहाँ सडकमै बसेर स्वाद लिन नपाइने भएपछि उनी बानेश्वर आइपुगेका हुन् । आखिर म:मकै लागि उनी हरेक साँझ किन शान्तिनगरबाट नयाँ बानेश्वर पुग्छन् त ? भट्टराई भन्छन्, ‘सडक पेटीमा राखिएका म:ममा जुन स्वाद छ, त्यो क्याफे र रेस्टुराँका म:ममा पाइँदैन । सडकमै खुल्ला आकाशमुनि भीडभाडका बीच म:म खानुको आनन्द बेग्लै हुन्छ ।’ 

विनोद त एक प्रतिनिधि पात्र मात्र हुन्, सुविधासम्पन्न क्याफे र रेस्टुराँको म:मलाई छाडेर सडकपेटीमा म:मको आनन्द लिने जमात ठूलै छ । म:मबाहेक ससेज, आलु, चाटजस्ता परिकारसँग झर्रोपिरो अचार पाइने भएकाले पनि स्ट्रिट फुडका पारखीहरू बढेका देखिन्छन् । 

काठमाडौंमा स्ट्रिट म:म झन्डै २० वर्षअघि सुरु भएको मानिन्छ । म:म पारखीहरूका अनुसार त्यतिबेला एक जना व्यक्ति वसन्तपुर दरबार स्क्वायरमा स्टोभमा म:म पकाउँथे । मानिसहरू त्यो म:म स्वाद मानेर खान्थे । झन्डै दुई दशक नबित्दै अहिले स्ट्रिट म:मको स्वादिलो संसार काठमाडौंका धेरै ठाउँमा फैलिइसकेको छ । 

अहिले सिभिल मल, सिटी सेन्टरलगायतका ठूला मल तथा सपिङ सेन्टर अगाडिका सडकपेटीमा बेचिने म:ममा मानिसहरूको उल्लेख्य घुइँचो हुन्छ । अझ रोचक त के भने नयाँ बानेश्वर, न्युरोडलगायतका केही ठाउँमा सडकमै म:म बेचिन्छ । म:मका पारखीहरू अहिले पनि सडकमै म:मको मज्जा लिइरहेका हुन्छन् । सडकपेटीमा म:म बेच्नेहरूले पनि दैनिक हजारौं रुपैयाँको कारोबार गर्छन् । व्यवसायीहरूका अनुसार सडकपेटीमा म:मबाट हुने आम्दानी पनि नपत्याउने किसिमको छ ।

 

म:मको इतिहास 

म:मको पहिलो प्रयोग तिब्बतमा भएको मानिन्छ भने कतिपय आख्यानमा यसलाई चीनको हुनान प्रान्तसँग जोडिएको छ, जहाँ म:मलाई डम्पलिङ भनिन्छ । 

मल्लकालमा तिब्बतसँग नेपालको व्यापारिक सम्बन्ध उच्च तहमा थियो । त्यही बेला यो तीब्बतीय परिकार नेपाली व्यापारीका भान्सामा भित्रिएको अनुमान गरिन्छ । त्यसकारण मल्लकालीन व्यापारीहरूले नै नेपालमा म:म भित्र्याएको हुन सक्ने तर्क बलियो छ, तर त्यतिबेला म:म सम्बन्धित व्यापारीकै भान्सामा सीमित थियो । 

ममलाई व्यवसायिक रुपमा नेपाल भित्र्याउने श्रेय भने त्यतिबेला तिब्बतमा व्यापार गर्ने अहिलेको ज्योति ग्रुपका संस्थापक भाजुरत्न कंसाकारलाई दिइएको छ । भनिन्छ, उनी साथीभाइहरूलाई घरमै बोलाएर म:म ख्वाउँथे । 

नेपालको पहिलो म:म पसल भने न्यूरोड रन्जना गल्लीको आरसी म:मलाई मानिन्छ । पहिले म:मलाई ममचा भनिन्थ्यो । नेवारी भाषामा माया गरेर चा भन्ने चलन छ, म:मलाई माया गरेर म:म पारखीहरूले ममचा नाम दिएका थिए । त्यतिबेला म:म अहिलेको जस्तो ठूलो नभएर सानो गुच्चा आकारमा तयार पारिन्थ्यो । प्रचलित म:मको अचार माँसगल्लीको सानदार म:मले सुरु गरेको हो । अहिले यो गौशालामा नारायण दाइको म:म पसलका रूपमा चर्चित छ । पहिले काठमाडौंमा म:मको अचार गोलभेंडा पकाएको झोलका रूपमा पाइन्थ्यो । बजार विस्तारसँगै म:मको अचारमा समेत विविधता आयो । 

त्यसो त सुरुवाती दिनहरूमा नेपालमा म:म बनाउने भाडा पाइँदैनथ्यो । माटाको हाँडी, कसौडी अथवा डेक्चीको मुखमा मलमलको कपडा बाधेर त्यसमाथि म:म राखेर बफ्याइन्थ्यो । पछि नेपालकै भाँडा उद्योगीहरूले तामाको म:म बफाउने भाँडाको आविष्कार गरे । कालान्तरमा त्यस्तै शैलीका सस्ता सिलाबर र स्टिलका म:म बफाउने भाँडाहरू पनि बजारमा उपलब्ध हुन थाले । अहिले बजारमा म:म बफ्याउने हाइजेनिक तथा डिजाइनर सिसाका भाँडासमेत पाइन्छन् ।

प्रकाशित :मंसिर २०, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्