हट एयर बेलुनमा सरर

- राजाराम पौडेल

मंसिर १९, २०७५

पोखरामा नयाँ साहसिक खेल थपिएको छ । बेलुन नेपाल प्रालिले पोखरामा ‘हट एयर’ बेलुन मार्फत आकाशमा कावा खाँदै पोखरा, फेवाताल तथा हिमालका मनोरम दृश्यावलोकन गर्न पाइने व्यवस्था मिलाएको छ । सुरुवातमा दुईवटा बेलुनबाट सेवा थालिएको बेलुन नेपालका प्रबन्ध निर्देशक प्रवीण महर्जनले बताएका छन् । दुईवटा बेलुनमध्ये एउटाको क्षमता ८ जना र अर्कोको क्षमता ६ जना छ । कास्कीको धम्पुस तथा लौरुकबाट उडान भरिने यो बेलुन मर्दीखोला किनार तथा हेम्जामा अवतरण हुन्छ । यो बेलुनलाई पामे र हल्लनेचोक क्याम्पिङ साइटबाट समेत उडान गर्ने तयारी गरिएको छ ।

स्पेनको अल्ट्राम्याजिक बेलुन कम्पनीसँग खरिद गरिएको यो बेलुन उडानलाई सुरक्षित बनाउन भारतबाट तालिम प्राप्त पाइलट आएका छन् । ल्यान्डिङका लागि मात्र ल्यान्डिङ स्पटमा १० जना खटिन्छन् । ६० मिनेटको फ्री फ्लाइटका लागि नेपाली पर्यटकलाई प्रतिव्यक्ति ११ हजार तथा विदेशी पर्यटकलाई प्रतिव्यक्ति १ सय ६० अमेरिकी डलर शुल्क तोकिएको छ । स्पेसल फ्री फ्लाइटका लागि प्याकेजमा नेपालीले ६३ हजार तथा विदेशीको हकमा ८ सय ४० अमेरिकी डलर तिर्नुपर्नेछ । 

यसैगरी २५ मिनेटको फ्लाइटका लागि नेपाली पर्यटकले प्रतिव्यक्ति ६ हजार तथा विदेशी पर्यटकले प्रतिव्यक्ति ९० अमेरिकी डलर शुल्क तिर्नुपर्नेछ । २५ मिनेटको स्पेसल फ्लाइटका लागि प्याकेजमा नेपालीले ३३ हजार तथा विदेशीको हकमा ४ सय ५० अमेरिकी डलर शुल्क तिरे पुग्छ । उडान गर्ने व्यक्तिको २० हजार डलर बराबरको बिमासमेत हुने कम्पनीले जनाएको छ । कम्पनीसँग ५ वटा बेलुन सञ्चालनको अनुमती छ ।

१ करोड ५० लाख रुपैयाँको लगानीमा प्रारम्भ गरिएको यो बेलुन उडानमा २५ जनाले रोजगारी पाएका छन् । हट एयर बेलुनमा यात्रा गर्न बिहानको समय उपयुक्त हुन्छ । पोखरापश्चात् चितवन र लुम्बिनीमा समेत हट एयर बेलुन सम्भाव्यता अध्ययन भैरहेको कम्पनीले जनाएको छ । 

 

प्रकाशित :मंसिर १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्