साल्साबाट राम्रो आम्दानी गर्न सकिन्छ

- नरेन्द्र रौले

मंसिर १९, २०७५

०५८ मा रामेछापको रामपुरबाट काठमाडौं आएका योगेशराज श्रेष्ठ साल्सा डान्सका प्रशिक्षक हुन् । नेपालमा मात्र होइन, उनी नेपालबाहिर पनि साल्सा डान्स सिकाउँछन् । नेपालमा तीनवटा साल्सा डान्स सिकाउने इन्स्टिच्युट छन्– साल्सा डान्स एकेडेमी, द डान्स फ्लोर तथा फोर्ट साल्सा स्टुडियो । योगेशराजले सन् २०१६ मा खोलेको फोर्ट साल्सा स्टुडियोबाट हालसम्म २ सय ५० जनाभन्दा बढीले साल्सा डान्स कोर्स पूरा गरिसकेका छन् । सुरुमा सिंगापुर, न्युजिल्यान्डबाट प्रशिक्षक झिकाएर काठमाडौं वर्कसप चलाएका थिए । हालै मात्र उनले काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको साल्सा फेस्टिभल पनि सम्पन्न गरे, जसमा मलेसिया तथा क्यानाडाका प्रशिक्षकलाई काठमाडौं निम्त्याइएको थियो । नेपालमा साल्साको सम्भावना, अवसर र चुनौतीका सम्बन्धमा योगेशराजसँग नरेन्द्र रौलेको कुराकानी :

तपाईंमा साल्साप्रतिको प्रेम कसरी पलायो ?

म विदेशी टिभी, चलचित्र हेरेर साल्साप्रति आकर्षित भएँ । म सानैदेखी नाच्न खोज्थें, तर आउँदैनथ्यो । एसएलसी सकेपछि एक दिन पत्रिकामा एउटा विज्ञापन देखें । १२ वर्षअघिको कुरा हो । उक्त विज्ञापनमा साल्सा डान्सको तालिम हुँदैछ भन्ने जानकारी थियो । त्यसमा भारतबाट प्रशिक्षक आएर सिकाउने कुरा उल्लेख थियो । मैले उक्त कक्षामा भर्ना हुने अवसर त पाइनँ, तर कहाँ सिकाइन्छ भन्ने थाहा भयो । पछि मैले साल्सा डान्स एकेडेमीमा तीन वर्षे कोर्स गरें । 

खासमा साल्सा डान्स के हो ? 

यो एक प्रकारको नाच हो, जसमार्फत समाजमा घुलमिल हुन सकिन्छ । नयाँ ठाउँ, नयाँ परिवेश तथा नयाँ देशमा गएर अपरिचित मानिसहरूसँग साल्सामार्फत चिनजान, घुलमिल हुन सकिन्छ । यो त्यसका लागि सजिलो बाटो हो ।

त्यो कसरी सम्भव छ ?

हरेक देशमा अचेल साल्सा पार्टी आयोजित भैरहेका हुन्छन् । कतै न कतै कुनै इभेन्ट पनि भैरहेकै हुन्छ । त्यहाँ साल्सामा रुचि भएका मानिसहरू आउँछन् । त्यहाँ गएर नाच्न सकिन्छ । अरू नाचेको हेर्न सकिन्छ । नेपालमै पनि अचेल महिनामा १० वटा जति इभेन्ट आयोजित हुन्छन्, जहाँ विभिन्न देशका नागरिक भेला हुन्छन् । यस्ता इभेन्ट सबैका लागि खुल्ला हुन्छन् जहाँ जो पनि आएर एक–अर्कासँग चिनजान गर्न सक्छन्, सिक्न सक्छन्, साथी बनाउन सक्छन् । 

साल्साको कोर्स गर्न कति समय लाग्छ ?

राम्रो स्तरको साल्सा प्रशिक्षक बन्न तीन वर्ष पनि कम समय हो । साधारण तरिकाले सिक्छु, राम्रो शिक्षक बन्छु भन्दा त्यति समय पनि लाग्दैन, सिक्ने क्रम त जीवनभर चलिरहन्छ । 

साल्सा डान्स सिकेर प्रशिक्षक बन्नुभयो । त्यसको पछाडिको संघर्ष सुनौं न । 

सन् २०११ मा साल्सा फेस्टिभल भयो । म त्यसमा सक्रिय रूपमा सहभागी भएँ । त्यो फेस्टिभल दुई दिन चल्यो । त्यतिबेला नेपालमा यस्तो फेस्टिभल मनाउने चलन थिएन । त्यही समयमा भारतीय प्रशिक्षक विनित नायडुसँग मेरो परिचय भयो । एक महिना उनी यतै बस्ने भएकाले मैले उनीसँग साल्सा सिकें । विनितसँगको चिनजानले मलाई दिल्लीसम्म पुर्‍यायो । त्यहाँ साल्सा डान्सको फेस्टिभल आयोजित गरिएको थियो । कोलकाता पुग्ने अवसर पाउँदा अझ बढी सिक्न पाइयो, जसले गर्दा नेपाल फर्केर साल्सान्डो नेपालमा आबद्ध भएर प्रशिक्षकका रुपमा साल्सा सिकाउन थालें । 

साल्सा प्रशिक्षकका रूपमा थुप्रै देश पुग्नुभयो । कसरी त्यहाँसम्मको यात्रा तय भयो ?

सुरुमा थाइल्यान्ड जाने अवसर मिल्यो । त्यसपछि साल्सा डान्स फेस्टिभलका लागि टर्कीको इस्तानबुल पुगियो । यस्ता फेस्टिभलमा भाग लिँदा बनेको सम्बन्ध, सम्पर्कले नै मलाई साल्सा प्रशिक्षक बनायो । साल्सा डान्स सिकाउन म जापानसमेत पुगें । त्यसपछि बाटाहरू खुल्दै गए । मलेसिया, सिंगापुर तथा इन्डोनेसियामा पनि प्रशिक्षकका रूपमा काम गर्न पाइयो । 

 

सबैभन्दा सम्झिनलायक क्षण कहाँको रह्यो ?

जापान र सिंगापुरको । दुवै देशका इमिग्रेसनमा मलाई रोकियो । नेपालमा पनि ल्याटिन डान्स सिकाउने मान्छे र ? भनेर सोधे, केरकार गरे । पछि आयोजकहरू मलाई लिन आफंै आइपुगे । सिंगापुरका प्रहरी अधिकृत पनि साल्सा प्रशिक्षक रहेछन्, उनले मलाई चिने, त्यही कारणले मलाई सजिलो भयो ।

साल्सामा नेपालीहरूको क्रेज कत्तिको छ ?

क्रेज बढिरहेको छ । मैले सुरु गर्दा साल्सान्डोमा तीन जनाले सिकिरहेका थिए । त्यतिबेला थोरै मानिस थिए । म दाइ र बहिनीलाई लिएर जान्थें । अहिले ५०–५५ जनाले सिकिरहेका छन् । साल्सामा २२ देखि ३० वर्षका युवाको रुचि बढी पाइन्छ । 

साल्सामा के–कस्ता सम्भावना छन् ?

करिअरका हिसाबले राम्रो भएर गयो भने अन्तर्राष्ट्रिय प्रशिक्षक बन्न सकिन्छ । राम्रो प्रशिक्षक बन्छु, सिकाउँछु भन्ने हो भने ठाउँ छ । आफू राम्रो डान्सर भयो भने कर्पोरेट हाउसहरूले आयोजना गर्ने इभेन्टहरूमा शो गरेर पनि आय आर्जन गर्न सकिन्छ । अहिले साल्सा डान्स गर्नेहरूको ठूलो माग छ भने कमाइ पनि निकै राम्रो छ ।

नेपालमा साल्सा सिकाउने इन्स्टिच्युट थोरै छन् । किन यसको संख्या अझै कम भएको होला ?

नेपालमा साल्सा प्रचलनमा आएको १४ वर्षजति भयो । राम्रो प्रशिक्षक बन्न, सिक्न समय लाग्छ । सिकाउनका लागि पनि दक्ष जनशक्ति चाहियो । साल्सा सिक्न केही महँगो छ । त्यसमाथि समाजको सोच बेग्लै छ । पश्चिमेली संस्कृति भएकाले पहिल्यै डान्स क्षेत्रमा अवसर थिएनन् । अहिले रियालिटी शो, बिभिन्न इभेन्टहरू हुन थाले । सरकारी निकायबाट यो नेपाली संस्कृति होईन भनेर टारिन्छ । सरकारी स्तरबाट सहयोग भएन भने अघि बढ्न गार्‍हो हुन्छ । 

साल्सा डान्सरको कमाइ कस्तो हुन्छ ?

अरुको कार्यक्रममा जाँदा एक घण्टाको ८ सयदेखि १ हजार ५ सय रुपैयाँ आम्दानी हुन्छ । प्रशिक्षकको चाहिँ २ हजार ५ सय रुपैयाँ हुन्छ । एउटा इभेन्टकै जिम्मा लिदा १५ हजारदेखि २५ हजार रुपैंयाँमा डिल हुन्छ । समग्रमा यो राम्रो आम्दानी हो । 

तपाईं साल्सामा लाग्न कसबाट प्रेरित हुनुभएको हो ?

रोनाल्ड र एल्बा, त्यसैगरी डेनियल र डेजायरबाट । यीसँगै जोडिएका नाम साल्सा डान्स पार्टनर हुन् ।

तपाईंले काठमाडौंमा साल्सा फेस्टिभल सम्पन्न गर्नुभयो । यसको खास उद्देश्य के थियो ?

नेपालको पर्यटनमा यसले केही टेवा देओस् भन्ने हो । मलेसियाबाट काल्निस र क्यानाडाबाट गुप्चनजस्ता नामी साल्सा प्रशिक्षकलाई काठमाडौं ल्याउन सफल भए । उनीहरूलाई यहाँ ल्याउन झन्डै एक वर्ष मेहनत गर्नुपरेको थियो । दुई दिन चलेको उक्त फेस्टिभलमा चीन, क्यानाडा, अमेरिका, जर्मनी, फ्रान्स तथा स्वीजरल्यान्डबाट समेत सहभागिता थियो । 

युरोप, अमेरिकातिर साल्सा डान्सको अवस्था कस्तो छ ?

त्यहाँ स्कुल, कलेजदेखि नै यही बाटोमा लाग्छन् । साल्सा सिकाउने शिक्षकहरू छन् । त्यही क्षेत्रमा निखारिएर जाने सम्भावना हुन्छ । बजार र यसको क्षेत्र पनि फराकिलो हुन्छ । 

आफ्नो पेसाप्रति सन्तुष्ट हुनुहुन्छ ?

म एकदमै खुसी छु । भविष्यमा यसको बजार ठूलो हुन्छ भन्ने लागेको छ ।

प्रकाशित :मंसिर १९, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्