राम्रो प्रहरी हुनुअघि राम्रो मान्छे बन्नुपर्छ

- साप्ताहिक संवाददाता

मंसिर १८, २०७५

सीताराम हाछेथू काठमाडौंका सेलिब्रेटी ट्राफिक प्रहरी मानिन्छन् । हालै उनले ३० वर्षे सेवा अवधिका कारण इन्स्पेक्टर पदबाट अवकाश प्राप्त गरे । ट्राफिकमै २९ वर्ष बिताउने उनी सम्भवत: एक्ला प्रहरी हुन् । २४ जना ट्राफिक इन्चार्जसँग काम गर्ने अवसर पाएका हाछेथूले काठमाडौं उपत्यकाका सडकमा मात्र २६ वर्ष बिताए । यस अवधिमा नयाँ र राम्रा कामका कारण सेलिब्रेटी ट्राफिकको छवि बनाएका हाछेथू अन्य व्यक्तिभन्दा फरक छन् । हाछेथूले सञ्चारमाध्यममा आफ्ना बारेमा प्रकाशित समाचार तथा लेख संकलन गरेर पुस्तक नै प्रकाशित गरेका छन् । विभिन्न व्यवसायी, सामाजिक संस्था तथा जनसहयोगमा उनले आफ्नो सेवा अवधिमा ४ वटा ट्राफिक भवन निर्माण गर्नुका साथै ड्राइभरदेखि सिपाहीसम्म आफूभन्दा तलका सबैलाई तपाईं भनेर सम्मान गर्दा कोही सानो नहुने उदाहरण प्रस्तुत गरे । उनले आफ्नो सेवाअवधिमा वर्षमा दुई दिन (बिस्केट जात्रामा) मात्र बिदा लिए भने सेवा अवधिभर कहिल्यै बिरामी भएनन् । हरेक विहान साढे ६ बजे ट्राफिक व्यवस्थापनमा खटिने हाछेथू राति साढे ९ बजे मात्र युनिफर्म खोल्थे । घर जाँदा होस् वा ससुरालीमा टीका थाप्न जाँदा उनी युनिफर्ममै देखिन्थे । अवकाश प्राप्त गरेपछि सबैभन्दा पहिले उनले साधारण पहिरन सिलाए अनि सामान्य जुत्ता लगाए । उनलाई यो कामले अनौठो अनुभूति दिलायो । अवकाश प्राप्त गरेपछि हाछेथुसँग साप्ताहिकले गरेको कुराकानी : 

ट्राफिकमा कहाँ–कहाँ बस्नुभयो ? 

नेपालमा २९ वर्ष लगातार ट्राफिकमा बस्ने म एक्लो व्यक्ति हुँ  । २ वर्षबाहेक सबै समय काठमाडौं उपत्यकाको ट्राफिकमै बिताएँ । भक्तपुर ४ वर्ष, कोटेश्वर ६ वर्ष, गौशाला ३ वर्ष, दरबारमार्ग ५ वर्ष, कालिमाटी ४ वर्ष तथा सातदोबाटो ४ वर्ष बसें । 

यति लामो अवधि ट्राफिकमा बिताउनुभयो । अरुतिर जान मन लागेन ? 

मलाई सिभिल प्रहरीमा जान मन लागेन, किनभने सिभिल प्रहरीमा सिट्ठी बजाउँदा खतरा हुने रहेछ । सिट्ठी हानेपछि कि लाठीचार्ज गर्नुपर्‍यो कि गोली चलाउनुपर्‍यो, तर ट्राफिकको सिट्ठीले सबैलाई समयमा घर पुर्‍याउने काम गर्छ । 

भनेपछि सिट्ठीसँग तपाईंको लभ पर्‍यो ? 

एकदम सही । सिट्ठीले चाँडै घर पुर्‍याउने र कतिपय मानिसको ज्यान बचाउने कुराले मलाई तान्यो । आज अवकाश पाएको तीन दिन भएको छ, अहिले पनि म सपनामा सिट्ठी बजाउँछु । 

२९ वर्षको ट्राफिक प्रहरी जीवनमा तपाईंका अविस्मरणीय क्षण ? 

२०५४ सालमा कालिमाटी ट्राफिकमा सईका रुपमा इन्चार्ज भएर गएको थिएँ । म त्यहाँ जाँदा एसपी ज्ञानविक्रम महत हुनुहुन्थ्यो । कालीमाटीको बाटोमा गाडी हिड्न नसक्ने गरी सडकमै तरकारी राखिएको हुन्थ्यो । म तरकारी हटाउन थालें, धादिङकी एउटी तरकारी बेच्ने बूढी आमाले मेरो टाई तानिदिइन्, घाँटी कस्सियो । बल्लतल्ल छुटाएर मैले एसपीसा’पलाई म कालिमाटीमा बस्दिनँ भनेर फोन गरे । त्यहाँ गएको चार दिन मात्र भएको थियो, त्यसैले उहाँले किन नबस्ने भनेर सोध्नुभयो । मैले सवारी दुर्घटना हुने गरी सडकमै तरकारी राखिएको छ, हटाउँदा टाइ तानियो सर भने । कसले तान्यो भनेर सोध्नुभयो । मैले २ किलो गोलभेडा बेचिरहेकी बूढी आमैले भने । उहाँले २ किलो गोलभेंडा लिएर सडकमा बसेको मान्छेलाई हप्काएर हुँदैन, कारण देखाएर हटाउनुपर्छ भनेर सम्झाएपछि म रोकिए । त्यसपछि मैले बाटोमा सामान बेच्दा दुर्घटना हुन्छ भनेर पर्चा छपाए, त्यसमा एउटा दुर्घटनाको तस्बिर पनि राखिदिए । त्यसको तीन दिनपछि तरकारी पसल सडकबाट पेटीमा सर्‍यो । डर देखाएर होइन, सम्झाएपछि काम हुँदो रहेछ भन्ने कुरा उक्त घटनाबाट सिकें । त्यहीँबाट मैले पुरस्कार पाउन थालें, सर्वसाधारण तथा व्यवसायीहरूले नै मेरो नागरिक अभिनन्दन गर्न थाले । 

नेपाली चालकहरूको स्वभाव कस्तो छ ? 

एउटा रमाइलो घटना छ, टेकुमा मैले एक जनालाई रोकें । तपाईंले यहाँ यसरी किन चलाउनुभएको भनेर सोधे । उहाँ तपाईं मलाई यसरी हेप्ने भनेर जंगिनुभयो । ‘तपाईं भनेर किन हेपेको मलाई ?’ पो भन्छन् त ? ट्राफिक प्रहरीले ड्राइभरलाई मुख छाड्ने, गाली गर्ने त्यो जमानामा तपाईं भनेको नै पो नराम्रो भएछ । पहिले–पहिले ट्राफिक प्रहरीको बोली खराब थियो । चालकलाई तिमी, तँ नभनेकै कारणले पछि धेरैले मलाई मन पराए । अचम्मको कुरा जथाभावी यात्रु हुल्ने र झार्ने क्रम चलिरहेकै छ, १५ रुपैयाँका लागि ५ सय जरिवाना तिर्न तयार हुने चालक पनि देखेको छु । पहिलेको तुलनामा अहिले चालकहरू गल्ती गरेपछि भाग्छन् । 

कतिपय ड्राइभरले सवारी साधन ब्याक गरेर मान्छे मार्छन् भनिन्छ नि ? 

२९ वर्षको करिअरमा मैले कुनै चालकले ब्याक गरेर मान्छे मारेको देखेको छैन । ड्राइभिङका क्रममा हाँस, मुसा, कमिलाहरूलाई त हामी बचाउन प्रयास गर्छौ भने मान्छे त मान्छे हो नि । दुर्घटना त दुर्घटना हो । दुर्घटना भयो भने मान्छे आत्तिने रहेछ, दिमागले काम नगर्ने रहेछ । सडकमा मैले धेरै अनुभव गरे, दुर्घटना भएपछि चालकको हंस उड्दो रहेछ । मान्छे हान्यो– मान्छे हान्यो भनेपछि ड्राइभरले म गएँ, म सिद्धिएँ भन्ने मान्दो रहेछ, उसले भाग्नलाई अगाडि गेयर हान्न खोज्दा कहिलेकाहीं ब्याक गेयर पर्दो रहेछ । अहिले त ब्याक गरेर मार्नुको अर्थ नै छैन, ५ लाख क्षतिपूर्ति, औषधी खर्च सबै बिमाले दिन्छ । त्यसबाहेक केही गरी बढी खर्च भयो भने समितिले बेहोर्छ । 

झन्डै तीन दशकको समय सेलिब्रेटीको जीवन बिताउनुभयो । सेलिब्रेटी छवि कसरी बनाउनुभयो ? 

२०५९ सालमा कोटेश्वरको इन्चार्ज हुँदा ‘जहाँ जाम त्यहाँ सीताराम’ शीर्षकको समाचार प्रकाशित भयो । उक्त समाचार पढेर धेरैतिरबाट फोन आउन थाले । त्यसपछि मैले उक्त समाचार लेख्ने पत्रकारसँग सोधे, सधैं यसरी नै समाचारमा आइरहन के गर्नुपर्छ ? उहाँले भन्नुभयो, ‘नयाँ काम, राम्रो काम’ त्यति भएपछि पत्रपत्रिका आफैं तपाईंलाई खोज्दै आइहाल्छन् । त्यो प्रतिउत्तरले मलाई ट्राफिकमा नयाँ र राम्रो काम गर्न प्रेरित गर्‍यो । अरूले नगरेको राम्रो काम र जनतालाई राम्रो हुने काम के हो ? म त्यही–त्यही गर्न थालें । भोजभतेर र पार्टीतिर पनि कहिल्यै गइनँ । छोरीको विवाहमा त मैले एक दिन मात्र बिदा लिएँ । प्रहरीका कसैलाई बोलाइनँ । 

सेलिब्रेटी हुन त्यसबाहेक अरू के चाहिँदो रहेछ ? 

राम्रो प्रहरी हुनु पहिले राम्रो मान्छे हुनुपर्छ । व्यवहार एवं काम कारबाहीमा राम्रो हुनुपर्छ, जनतालाई नचाहिने सबै काम बन्द गर्ने राम्रो मान्छे । दिइएका सबै जिम्मेवारी पूरा गर्ने । नम्र व्यवहार गर्ने, पैसा नखाने, कसैप्रति पक्षपात नगर्ने, न्यान दिने, गल्तीमा कसैलाई पनि नछाड्ने, जाम हटाउने, गाडी बिग्रियो भने ठेलेर साइड लगाउने, जाम कम गर्ने उपायहरू खोज्ने, जनचेतना जगाउने जस्ता प्रहरीबाट आम नागरिकले गर्ने अपेक्षा पूरा गर्न सकियो भने प्रहरी आफै सेलिब्रेटी हुने रहेछ । 

ट्राफिकमा यो मापसे चाहिँ कसरी भित्रिएको हो ? 

म जापानमा हुने एक महिने तालिमका लागि छानिएर त्यहाँ पुगेको थिएँ । जापान मै भएका बेला गणेश शाहीले फोन गर्नुभएको थियो, उहाँले— हाछेथू, जापानबाट नयाँ कुरा लिएर आऊ, लागू गर्नुपर्छ भन्नुभयो । जापानमा मापसे गरेको मानिसले ड्राइभ गरेको छ भने त्यसको पछाडि बस्नेलाई समेत कारवाही हुँदो रहेछ । उनीहरूको तर्क के रहेछ भने थाहा हुँदाहुँदै तपाईं रक्सी पिएको मानिसले चलाएको सवारी साधनमा किन चढेको ? त्यतिबेला मैले जापानबाट फर्कंदा नेपालमा पनि मापसे लागू गर्न पाए हुन्थ्यो भन्ने सोचें । पछि लामो गृहकार्यपश्चात् नेपालमा पनि मापसे लागू भयो ।

 मदिराप्रेमी युवतीहरू कत्तिको फेला परे ? 

दरबारमार्गमा बस्दा सरदर दिनको नौ जना मापसे गरेका युवती भेट्थ्यौ । सुरु–सुरुमा मापसे जाँच्ने मेसिन थिएन त्यसैले साह्रै अप्ठ्यारो भयो । बेलुका ९–१० बजेपछि अलि हाइफाई भएर निस्कने कोही पनि नपिएका हँुदैनथे । त्यति बेलासम्म काठमाडौंमा केटीहरूले खुला रूपमा पिउने चलन सुरु भैसकेको थियो । 

मापसे गरेकाहरूसँगका रमाइला क्षण पनि होलान् ?

मैले आफू मातहतका सबैलाइ भनेको थिएँ, कसैप्रति पनि नराम्रो व्यवहार नगर्नु । एक पटक के भयो भने एक जना सिपाहीले सर मेरो गाला समायो भन्नुभयो वाकीटकीमा । किन भनेर सोधे ? हा गर भन्दा गर्दिनँ, लाइसेन्स देऊ भन्दा पनि दिन्नँ भन्दै गाला समातिन्, तपाईं आउनुपर्‍यो भन्नुभयो । म गएर बोल न बैनी भनेको बोल्दै बोलिनन् बोलेपछि थाहा पाउँछ भनेर मुन्टो मात्र हल्लाइरहिन् । 

ट्राफिक जीवनका अन्य केही रमाइला घटना छन् कि ?

एकपटक त्यस्तै मापसे गरेकी युवतीलाई समाएर ल्याइएको थियो । लाइसेन्स लिएर चिट काट्ने बेला सम्म चुप्प लागिरहेकी युवतीले एक्कासि दौडँदै आएर लाइसेन्स खोसिन् । सबैले हल्ला गरे— लाइसेन्स खोसीे, लाइसेन्स खोसी भनेर । मैले सोधें— किन लाइसेन्स खोसेको ? ती युवतीले भनिन्— मैले विवाह गर्नु पर्दैन ? म छक्क परें, राति १० वजे विवाह गर्नुपर्ने ? विवाह र लाइसेन्सको के सम्बन्ध छ ? मैले सोधे । चिट काटेपछि भोलि तपाईंहरूले मलाई बग्गी खाना पठाउनुहुन्छ, लाइसेन्समा प्वाल पार्नुहुन्छ, भोलि विवाह गर्ने बेलामा जँड्याहा केटी भनेर मसँग कसैले विवाह गर्न मानेनन् भने त्यसको जिम्मेवार को हुन्छ ? अर्को त्यस्तै केस थियो, दुई युवती मापसे गरेर स्कुटरमा आएका थिए, मैले समाएर चौकीमा ल्याएँ । उनीहरूले लाइसेन्स राख्नुहोस्, स्कुटर लिएर जान्छांै भने । मापसे गरेका व्यक्तिलाई स्कुटर दिने कुरै भएन, मैले नै ट्याक्सी बोलाएर पठाइदिएँ । बाहिर पुगिसकेकी एउटी युवती फेरि आएर हामी मातेका छौ यो ट्याक्सीले घर पुर्‍याइदिन्छ भन्ने के ग्यारेन्टी ? भनिन्, म त झसंग भए । त्यसले मलाई एउटा पाठ सिकायो । साँच्चै हो, एक त तरुनी, त्यसमाथि मातेका अनि मैले त्यो ड्राइभरको लाइसेन्स नम्बर, ट्याक्सी नम्बर आदि लिएर उहाँहरूलाई घर पठाएँ । बाहिरबाट हेर्दा मापसे जाँच सहज जस्तो लाग्छ, तर मातेका मानिससँग डिल गर्नु भनेको अर्धवेहोस मानिससँग डिल गर्नु बराबर हो । 

पावरवालाको कल कतिको आउँथ्यो ?

आउँदैनथ्यो, एकपटक स्यामसुङको नेपाली डिलर हाकिमले त्यतिबेलाका डिआइजी उपेन्द्रकान्त अर्यालको रिफरेन्स दिँदै मापसेमा परेका व्यक्तिको कागजात छोडीदिन फोन गर्नुभयो । मैले सरी सर कागजात हामीले राख्नुपर्छ । उहाँलाई कहाँ पुर्‍याउनुपर्ने हो, म सुरक्षित साथ पुर्‍याइदिन्छु भनेपछि फोन राख्नुभयो । पछि एउटा मिटिङमा उपेन्द्र सरले मसँग भन्नुभयो, मैले हुन्न भनेको, तिमीले पनि त्यही भन्छौ भन्ने मलाई थाहा थियो ।

नेताहरूको दबाब कतिको आउँथ्यो ?

मलाई आउँदैनथ्यो । मैले नेता त के मेरो दाइ, मेरो छोरासम्मलाई छोडिनँ ।

 

छोरालाई किन कार्बाही गर्नुभयो ? 

मेरो छोराले लेन क्रस गरेछ, ट्राफिकले समाएछ । ट्राफिकले सर, हजुरको छोरा रहेछ के गरौं भने । मैले चिट काट्नु, क्लास लिन बाध्य पार भनें । भोलिपल्ट आफंै छोरालाई लिएर गएर क्लास लिन लगाए । 

अरूबाट कत्तिको प्रेरणा पाउनुहुन्छ ? 

आइजीपी सर्वेन्द्र खनालले पनि मेरो जोशको प्रशंशा गर्नुभयो । जनार्दन शर्मा गृहमन्त्री भएका बेला मसँग हात मिलाउन सातदोबाटो चोकमा गाडीबाट ओर्लिएर आउनुभयो । उहाँले ट्राफिक भनेको तपाईं जस्तै हुनुपर्छ, केही छ भने मलाई भन्नुहोस् भन्नुभयो । सातदोबाटोमा रहँदा एक वर्षमा मैले ट्राफिक कारबाही मार्फत १ करोड ८५ लाख रुपैयाँ राजस्व उठाएँ । यो आफैंमा एउटा रेकर्ड हो । 

कमिसन कति पाउनुभयो ? 

एकपटक मैले १ हजार २ सय रुपैयाँ बुझें, अर्को पटक ५ हजार रुपैयाँ बुझें । मैले बुझेको कमिसन त्यति नै हो । कमिसन हटाएको मलाई राम्रो लागेको छ । 

आफैं कति पटक दुर्घटनामा पर्नुभयो ? 

दुई पटक दुर्घटना भयो । म कालिमाटीमा छँदा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो, सीतापाइलामा म नै उहाँको स्कर्टिङमा थिएँ । त्यतिबेला म सामान्य रूपमा लडें, खासै केही भएन । अर्को एकपटक कुलेश्वरमा स्पिडमा आएको मोटरसाइकलले मलाई हान्यो, चोटपटक केही लागेन । रोचक त के भने गिरिजाप्रसादले हाछेथूलाई के भयो भनेर हेर्न मान्छे नै पठाउनुभयो । उहाँले माया दर्साउनुभयो, मलाई प्रेरणा भयो । 

तपाईंलाई खान–रमाउन मन लाग्दैन ? 

किन नलाग्नु ? मेरो चाहिँ मन होइन र ? जाडोमा ह्विस्की, गर्मीमा बियर पिउन कसलाई मन नहोला र ? कतिपय युवतीले समेत अफर गर्थे, आउनुहोस् न भन्थे, तर मेरो र मेरो संस्थाको मर्यादा ठूलो कुरा हो भनेर म त्यस्तोमा लागिन ।

तपाईंका कस्ता–कस्ता फ्यान थिए ? 

ठ्याक्कै मितिचाहिँ बिर्सिएँ, महादेवस्थानमा गाडीबाट झर्ने क्रममा अगाडि स्कुटर ल्याएर एक युवतीले नमस्कार गरिन् । परैदेखि पछ्याउदै अटो लिन आएकी रहिछन् । कहाँ चिनेको भनेर सोधे । २०६३ सालमा गौशालामा चिनेको भनिन् । त्यही हुँदा मलाई मन पराएको रे अनि विवाह गरिसकेको भनेपछि आफैं साइड लागेको रे । चन्द्रनिगाहपुर बस्दा पनि तपाईं मन पर्नुहुन्छ भन्दै केही युवती आएका थिए । 

तपाईं वर्षमा दुई दिनमात्र बिदा लिने, श्रीमतीलाई घुमाउन लानुभएन ? 

जागिरे जीवन अवधिभर मैले श्रीमतीलाई चार ठाउँ मात्र घुमाउन लगें । उनी अहिले मौसम विभागमा उपसचिव छिन् । शुक्रबार बेलुका घर गएर शनिबार बसेर आइतबार काममा फर्किहाल्थें, बिदा नै लिइन मैले । सौराहमा एक दिन बसे, शुक्रबार गएर शनिबार फर्किहालें । त्यसबाहेक तातोपानी र पलान्चोक भगवती गएँ । छोराछोरीलाई कहिल्यै होमवर्क गराउन र स्कुल पुर्‍याउन सकिनँ । २०६१ सालमा परिवारका चारै जना पलान्चोक भगवती गयौं, छोराछोरीसँगै घुम्न गएको त्यो मेरो एक्लो घटना हो । मैले कहिल्यै उनीहरूलाई रेस्टुराँ लगिनँ । मेरा छोराछोरी दुवै इन्जिनियर छन् । छोराले पहिले पुल्चोकमा छात्रवृत्तिमा पढ्यो, अहिले एमई पढ्न पनि जापानको स्कलरसिप पाएको छ । मैले छोराछोरीलाई विदेश नपठाउने भनेको छु, ऊ पनि पढेर दुई वर्षभित्र नेपाल नै फर्किन्छ । श्रीमतीसँग अहिलेसम्म तीनवटा चलचित्र मात्र हेरेको छु, छक्का पन्जा, जबतक है जान र सन्जु । 

श्रीमतीसँग कत्तिको झगडा हुन्थ्यो ? 

मैले अहिलेसम्म श्रीमतीसँग झगडा गरेको छैन । 

तपाईंको लभ म्यारिज हो ? 

हो, मैले प्रेम विवाह गरेको हुँ । मेरी श्रीमती बिएस्सी उत्तीर्ण, म आईए अनुत्तीर्ण । ससुराली जान पनि लाज लाग्थ्यो । मेरो काका लेक्चरर हुनुहुन्छ । उहाँले श्रीमती बिएस्सी उत्तीर्ण, तँचाहिँ एसएलसी पास मात्र भनेर जिस्क्याएपछि आईएको ब्याक लागेको एउटा विषयमा परीक्षा दिएँ । राम्रो हुनुपर्छ भन्ने ईख त्यहीँबाट बढ्यो । 

कसरी पर्‍यो लभ ?

खै कसरी पर्‍यो भन्नु ? हेराइले नै माया लाग्दो रहेछ । प्रेममा परेको तीन महिनापछि मात्र मैले उनको हात छोएको थिएँ, त्यो पनि बसमा उभिएर यात्रा गर्ने क्रममा । म पछाडि थिए उनी अगाडि, बिस्तारै हात लगेर छोएको मात्र के थिएँ, उनले कर्के नजर लगाउँदा मेरो त सातै गयो । 

सम्मान र पुरस्कारचाहिँ कति पाउनुभयो ? 

मैले १ सय २९ वटा पुरस्कार पाए । 

प्रकाशित :मंसिर १८, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्