मिथिला आर्ट : रेखाहरूको खेल

- किशोर नेपाल

मंसिर १५, २०७५

 

जुनसुकै रूपमा भए पनि कलाकारिता रेखाहरूको खेल हो । चाहे त्यो मिथिला आर्ट होस् अथवा अरू कुनै । विश्वभर फैलँदै गएको यथार्थवादी शैलीमा आकर्षक कलाकृति हो मिथिला आर्ट । ऐतिहासिक मिथिला क्षेत्रका हजुर आमा र आमाहरूले आफना सन्ततिलाई सिकाउँदै आएको चित्रकला । हरेक कालखण्डमा मिथिला कला महिला, खास गरेर गृहिणीहरूको अभिव्यक्तिको माध्यम बन्दै आएको छ । 

गोबरले लिपेको भित्तामा गाउँघरमा पाइने प्राकृतिक रंगले बनाइएका मिथिला चित्र सामाजिक परिवर्तनका मानक मानिन्छन् । जनकपुरधाम नेपालमा मिथिला कलाको केन्द्र हो । जनकपुरधामलाई भारतीय सीमानाको जयनगरसँग जोडन सानो ‘छुकछुके’ रेल मार्गको निर्माणपछि परिवर्तनको गति तीव्र भयो । त्यसपछि नै जनकपुरधाममा प्रयोग भएको मिथिला कला बाह्य संसारमा लोकप्रिय भएको थियो । भारतको बिहार राज्यको राजधानी पटना नजिक रहेको दरभंगा र मधुवनीसँगै जनकपुरधाम मैथिली कला केन्द्रका रूपमा स्थापित भैसकेको थियो ।

जनकपुरधाममा मधुवनी कलाको गुरुका रूपमा परिचित निर्मला झा विगत अढाई वर्षदेखि मैथिली कलाको सिर्जना एवं विकासमा तल्लीन छिन् । मैथिली कलामा उनको गहन रुचि थियो, तर घरव्यवहार धान्दाधान्दै उनले समय पाइनन् । सासू–ससुराको स्याहारसुसार उनका दिन बितिरहेका थिए । अहिले पनि नेपालको मिथिला क्षेत्रमा पारिवारिक विघटनको समस्या देखिएको छैन । अन्यत्र जस्तो, यहाँका युवा–युवतीले परिवर्तनका नाममा आफना सीमाहरूको उल्लंघन गरेका छैनन् । पारिवारिक मर्यादाको पालना यो क्षेत्रको उदाहरणीय विषय हो ।

आफ्ना पतिको निधनपछि एक्लिइन निर्मला । उनको समय त्यत्तिकै खर्च भैरहेको थियो । घरमा आम्दानीको बाटो सीमित थियो । उनले आफ्नी सासूसँग मिथिला कलामा लाग्ने प्रस्ताव राखिन् । सासूले अनुमति दिएपछि निर्मला मैथिली कलाकारितामा हाम फालिन् । उनले आफ्नै प्रयत्नमा दरभंगामा मैथिली कलाको प्रशिक्षार्थीका रूपमा अध्ययन गरेकी थिइन् विवाह हुनुभन्दा पहिले नै । निर्मलाको माइती दरभंगा भएकाले उनले त्यो सुविधा प्राप्त गरेकी थिइन । दरभंगा मिथिला सभ्यता र संस्कृतिको केन्द्र भएकाले सहरमा मैथिली कलाका राम्रा प्रशिक्षक थिए ।

निर्मला अहिले ६ जना कलाकारलाई मिथिला कलाको प्रशिक्षण दिंदैछिन् । पेसाले पनि उनी शिक्षक हुन । उनी कला प्रशिक्षणलाई महत्व दिन्छिन्, तर देशमा कला र मेहनत गर्ने कलाकारहरूको महत्व घट्दै गएको देखेर उनी दु:खित हुन्छिन् । हालै मात्र जानकी मन्दिरमा राख्न मैथिली पेन्टिङ बाहिरबाट ल्याइएकोमा उनको गुनासो छ । निर्मला निकै व्यस्त रहन्छिन् ।

निर्मलाको अनुभवमा : कलाकृति निर्माणका लागि आवश्यक सामानहरू महँगो भएकाले पनि मानिसहरू हम्मेसि यो कलामा आउन चाहँदैनन । बाँच्नु नै समस्या भएका मानिसहरूले धेरै ठूलो रुचि राख्न नसक्नु स्वाभाविक हो । अहिले मिथिला आर्ट निकै लोकप्रिय भएको छ हामीकहाँ । सरकारले अलिकति ध्यान दिने हो भने हामी विदेशमा पनि मौलाउन सक्छौं । मैले एक्लो प्रयासमा अहिले काठमाडौं र हङकङतिर केही पेन्टिङ पठाउँदै आएकी छु । यसको गतिलो ढंगले प्रवद्र्धन हुने हो भने विश्व बजारमा पक्कै माग बढ्नेछ । किनभने कलाका रूपमा मिथिला आर्टको बजार सानो छ, त्यसैले हामी खुम्चिएका छौं । 

भारतमा मधुवनी कलाको विकासमा सरकारी तहबाट निकै ध्यान दिइएको छ । मधुवनी कलाको विकास एवं बजार प्रवद्र्धनमा जुन हिसाबले मानिस जुटेका छन्, त्यसैगरी यतातिर काम गर्ने हो भने हामी अगाडि बढ्न सक्छौं । मधुवनी कला मैथिली कलाको एउटा ‘सिगमेन्ट’ हो । मधुवनी कला र पारम्परिक मैथिली कलाको भिन्नता छुट्याउँछ रेखाले । मधुवनी कलामा सूक्ष्म र मसिनो रेखा प्रयोग हुन्छ । नेपालको मैथिल क्षेत्रमा मोटो रेखा प्रयोग हुन्छ । निर्मला भन्छिन्, ‘रेखा मसिनो–मोटो जेसुकै होस्, सिर्जना गर्नु मानिसको जीवनको पहिलो सर्त हो । हाम्रा कलाकारलाई तालिमको आवश्यकता छ । विद्यार्थीले तालिम लिए भने प्रशिक्षकलाई हौसला हुन्छ । प्रशिक्षार्थीहरूलाई बिनाभत्ता तालिम लिन लगाउनु निकै कठिन काम हो । अहिले बनेको प्रदेश सरकारले यो कुरा बुझेकै होला ।’

प्रकाशित :मंसिर १५, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्