लिग फुटबलमा करोडौंको खेल

- साप्ताहिक संवाददाता

मंसिर ११, २०७५

घरेलु फुटबल विकासका लागि लिग नभै हुँदैन, तर यो उत्तिकै महँगो पनि छ । त्यसैले यसको आयोजना गर्न पनि उत्तिकै गाह्रो छ । क्लब पनि लिगमा खेल्न भनेपछि एक पाइला पछाडि नै सर्छन् । यस्तै कारणले त हो, नेपालमा नियमित रूपमा लिग हुँदैन, तर यसको विकल्प पनि छैन । लिग नहुने कुनै पनि देशको फुटबलाई पनि के फुटबल भन्ने ? लिग फुटबलको सबैभन्दा ठूलो विशेषता नै खेलाडीदेखि क्लब, क्लबका पदाधिकारीदेखि व्यवस्थापन अनि रेफ्रीसम्म व्यवसायिक हुनु हो । 

त्यसैले लिग सञ्चालन गर्न करोडौं रुपैयाँ आवश्यक हुन्छ । अहिले चलिरहेको सहिद स्मारक लिग ए डिभिजनमा पनि करोडौं रुपैयाँ लगानी भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक छ– पल्सर बाइक । यो टाइटल स्पोन्सर गरेबापत हुलास एन्ड हन्सराज कम्पनीले करोड रुपैयाँको हाराहारीमा लगानी गरेको छ । लिगको बजार व्यवस्थापनको जिम्मा पाएको छ, अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रतिनिधित्व गर्दै रामसार मिडियाले । 

यो त भयो, प्रतियोगिताको टाइटल स्पोन्सरको कुरा । यस्तै स्पोन्सर क्लबहरूका पनि छन् । मनाङ मस्र्याङ्दीलाई सिग्नेचर ह्विस्कीले प्रायोजन गरेको छ । त्यसैले मनाङ सिग्नचेरको लोगोसहित मैदानमा उत्रने गरेको छ । त्यसका लागि सिग्नेचरले २० लाख रुपैयाँ लगानी गरेको छ । थ्रीस्टारको टाइटल स्पोन्सर त्यसभन्दा पनि माथि छ । केही वर्षअघिदेखि थ्रीस्टारसँग आबद्ध रुस्लान भोडकाले क्लबका लागि २५ लाख रुपैयाँ प्रायोजन गरेको छ । 

अरू क्लबले टाइटल स्पोन्सरबापत कति रुपैयाँ लगानी गरेका छन्, खुलाएका छैनन् । विभागीय टिममध्ये आर्मीको प्रायोजक पनि पल्सर नै हो । पल्सरले निरन्तर आर्मीलाई साथ दिइआएको छ । एपीएफलाई भने अग्नी इन्कपोरेटले प्रायोजन गरेको छ । सम्भवत: यो सबैभन्दा ठूलो प्रायोजन हो, यसका लागि एपीएफले वार्षिक ४० लाख रुपैयाँ प्राप्त गर्छ । संकटा भने सीएमजी ग्रुपसँग आवद्ध छ । यस्तै फ्रेन्ड्सको साथमा छ– नेपाल इन्भेस्टमेन्ट बैंक । यो १० लाख रुपैयाँ बराबरको प्रायोजन हो ।

फ्रेन्ड्सको सह–प्रायोजकमा पञ्चकन्या समूह छ । च्यासललाई प्रायोजन गर्ने समूह भने माइभ्याली कन्स्ट्रक्सन हो । यस्तै जावलाखेललाई उसको नाम सुहाउँदो जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले प्रायोजन गरेको छ । सहभागी अरू क्लबले भने टाइटल स्पोन्सर पाएका छैनन् । ती क्लबहरू आफ्नै आन्तरिक स्रोतमा निर्भर छन् ।

 

प्रकाशित :मंसिर ११, २०७५

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्